आधाआधा बाँडिएको प्रेम



सृष्टिको सबैभन्दा मिठो भावना भनेको प्रेम हो । प्रेम कुनै वस्तु होइन, अनुभूति हो । देखिँदैन, तर महसुस हुन्छ । प्रेमले जीवनलाई रंगीन बनाउँछ भने सम्बन्धलाई गहिरो बनाउँछ ।
एक किशोर र किशोरीका बीचमा हुने प्रेम अत्यन्त संवेदनशील, उत्सुकतापूर्ण र भावनात्मक हुन्छ । किशोर अवस्था प्रेमको पहिलो स्वाद हो । यसमा हर्ष, डर, उत्साह र अनिश्चितता मिसिएको हुन्छ ।
यस्तैयस्तै अवस्थामा थिए चितवन, कविलासका सुशील हमाल र सन्जु पौडेल ।
उनीहरू एउटै गाउँका । सँगै स्कुल जाने आउने । यी दुवै गाउँको चौरमा हाँस्दै खेल्दै बिताउने बालसखा थिए । घर नजिकै भएकोले एकार्कालाई नजिकबाट चिन्थे ।
किशोरावस्थाको उमेरमा पुग्दा उनीहरूको मित्रता प्रेममा परिणत भयो । दुवै जीवनको उत्साहित रंगमा रंगिएका थिए । तर, यो प्रेम लुकाउनुपर्ने बाध्यता थियो ।
शिक्षक र साथीहरूको आँखा छलेर लुकीछिपी भेट्थे । घर पनि नजिकै भएकोले परिवार र समाजसँग पनि लुक्नुपर्ने हुन्थ्यो ।
त्यसैले मकैघारीमा घिस्रीघिस्री मनका भाव पोख्न चिठी आदानप्रदान गर्थे । यदाकदा मनका भावना कागजमा पोख्थे ।
लुकीछिपी समय पनि निकाल्थे । तर, समय आफ्नो रफ्तारमा दौडन्छ, रोकिँदैन ।
स्कुलको पढाइ सकिएपछि सुशील उच्च शिक्षाका लागि काठमाडौं आए । सन्जु भने गाउँमै रहिन् । उनले घरपरिवारकै काममा सघाउन थालिन् ।
सन्जुको परिवारले उनको बिहेको कुरो चलायो । उनले आफूले मन पराएको व्यक्तिसँग बिहे गर्ने कुरा आमाबाबुसँग गर्न सकिनन् । यहाँ अन्तरजातीय झमेला पनि थियो । त्यसैले उनले चुपचाप आमाबाको प्रस्ताव स्वीकारिन् ।
कालान्तरमा सुशीलले पनि पढाइ सकाएर बिहे गरे । उनी काठमाडौंमा नै बस्न थाले ।
समयक्रमसँगै दुवै आआफ्नै घरगृहस्थीमा भिजे । तथापि, उनीहरूले एकार्कालाई बिर्सन सकेका थिएनन् । पहिलो प्रेम मनको एउटा कुनामा अदृश्य रूपमा दबिएर बसेको थियो । तर, उपस्थितिको अनुभूति जीवन्त रहिरहेको थियो ।
हुर्कंदै गरेका छोराछोरीको पढाइका निम्ति सन्जुको परिवार पनि काठमाडौं नै बसाइँ सर्यो । छोराछोरी स्कुल जाने अनि श्रीमान् काममा । उनी घरमा एक्लै हुन्थिन् ।
एक दिन बजार जाँदा अचानक बालसखा सुशीलसँग उनको जम्काभेट भयो । दुवै एकार्कालाई देखेर हर्षित भए । चियाकफी सँगै बसेर खाए । निकै बेर गफिए । यसरी केही बेरको साथमा खुम्चिएर बसेका अनगिन्ती भावना प्रस्फुटित भए । कति बाँकी पनि रहे ।
दुवैले फोन नम्बर साटासाट गरे । त्यो क्षण उनीहरूलाई त्यहीँ रोकिए हुन्थ्यो भन्नेजस्तो लाग्यो । तर, वास्तविक जिन्दगी र आफ्ना जिम्मेवारीहरू सम्झेर फेरि भेट्ने वाचासहित छुट्टिए ।
उप्रान्त उनीहरूबीच फोनवार्ताको क्रम बढेर गएको थियो । सहर र रहर मिलेपछि उनीहरूबीचको सुषुप्त प्रेम फेरि अंकुरित भएको थियो ।
दिनहरू बित्दै गए । फोनमा कुराकानीभन्दा भेटघाटले गति लियो । बेलाबेला चियाकफी खान कहिले मलतिर त कहिले सिनेमा हलतिर दुईबीच भेट हुन थाल्यो ।
उनीहरूलाई समय बितेको पत्तै हुन्न थियो । यी दुई प्रेमको गुलाबी रङमा रमाइरहेका थिए । कर्तव्य र परिवारिक जिम्मेवारीबीच पनि उनीहरू एकार्कालाई छोड्न नसक्ने अवस्थामा पुगिसकेका थिए । यही प्रेमले उनीहरूको पारिवारिक जिम्मेवारीलाई छायामा पार्न थाल्यो ।
सुशीलकी श्रीमतीले यो कुरा चाल पाइन् । उनी अलि शंकालु स्वभावकी पनि भएकोले सुशीलसँग यो सम्बन्धलाई लिएर किचकिच गर्न थालिन् ।
सुशीलले श्रीमतीलाई सम्झाउन खोजे । तर, उनले अरू केही बुझ्नै चाहिनन् । फलतः दुईबीच किचलो बढ्यो । झगडा हुन थाल्यो ।
दायित्व र पहिलो प्रेमको उत्कर्षबीचको मानसिक द्वन्द्वमा सुशील परेका थिए । उनकी श्रीमतीसँग सामाजिक परिणय, समय, समर्पण र जिम्मेवारीको सम्बन्ध रहेको छ । घरको शान्ति, सामाजिक संरचना र पारिवारिक मर्यादाको दबाब पनि छ ।
जिम्मेवारी, कर्तव्य र सम्बन्धको हरपक्षले उनलाई बाँधेको छ भने सन्जुसँग आत्माले महसुस गरेको प्रेम सम्बन्ध पनि विद्यमान छ । सन्जुसँगको सम्बन्ध, प्रेम र चाहना अनन्त यात्रामा बगिरहेको छ ।
यस्ता मानसिक द्वन्द्वले सुशीलको जीवनलाई अस्थिर बनाउन थाल्यो । उनलाई काममा मन लाग्न छोड्यो । बेलाबखत हाकिमहरूको खप्की पनि खानुपर्ने अवस्था सिर्जना भयो ।
दुवैलाई एकसाथ गुमाउने डरले उनलाई थला पार्यो । निराशाले घेर्यो । उनी एकोहोरिन थाले ।
उनलाई लाग्यो– म दुईतिर बाँचेको छु । दुईतिर आधाआधा बाँडिएको छु । कुनै एकको छनोट गर्न सकिरहेको छैन ।
यसरी बाँडिएको प्रेमले सुशीललाई पीडा दिइरहेको थियो । मानसिक र भावनात्मक रूपमा प्रभावित भएको उनको प्रेम र आन्तरिक द्वन्द्वले पेन्डुलमजस्तो अवस्था सिर्जना गर्यो ।
उनको मानसिक स्वास्थ्य प्रतिकूल भयो । उनले चिकित्सकसँग सल्लाह लिए । औषधि खाए । औषधिको सेवनले केही ठिक पनि भयो ।
तर, सन्जुसँगको लगाव छुट्न सकेन । प्रेम त सधैँ चराजस्तै स्वतन्त्र रहन्छ । नदीजस्तै सललल बगिरहन्छ । यद्यपि, विवाहेतर प्रेम दुई डुंगामा दुई खुट्टा राखेर हिँड्नुजस्तै त हो । जुनै बेला पनि दुर्घटना हुनसक्छ ।
अवस्था अर्को पनि सिर्जना भयो । सन्जुका श्रीमान्ले पनि उनीहरूबीचको सम्बन्धबारे थाहा पाए । तर, उनले केही गर्न सकेनन् ।
जहाँ प्रेम छ त्यहाँ अर्कै परिवार छ र जहाँ परिवार छ त्यहाँ प्रेमको अभाव छ । यो कस्तो जटिल सम्बन्ध भयो !
यतिखेर सुशील र सन्जुको जीवन प्रेम र परिवारप्रतिको जिम्मेवारीमा सामञ्जस्य र सन्तुलन खोज्दै अघि बढिरहेको थियो ।
यो आधाआधा बाँडिएको प्रेमको यात्रा कहाँ कसरी पुग्छ, अनिर्णीत र अनिश्चित छ । –baahrakhari








प्रतिकृया दिनुहोस्