रूपन्देही–३ उपनिर्वाचनः मतदातामा प्रभाव र दलहरूमा दवाव बढाउँदै सन्तोष गिरी


भैरहवा– ‘देश परिवर्तनको मोडमा उभिएको छ । नेतृत्वमा प्रतिबद्धता, दूरदृष्टि र इमानदारीको खाँचो तीव्र बन्दै गइरहेको अवस्थामा, नयाँ पुस्ताले राजनीति सम्हाल्नुपर्ने समय आइसकेको छ । रूपन्देही क्षेत्र नं. ३ का सम्भावित उम्मेदवार सन्तोष गिरी युवाको आवाज मात्र होइन, समाधानमुखी सोच बोकेको नेतृत्वको प्रतिक हुन् । अब समय आइसक्यो पुराना अभ्यासलाई परिमार्जन गर्ने, सच्चा जनप्रतिनिधि छान्ने, अनि परिवर्तनको बीउ रोप्ने । अब समय आएको छ– आवाज उठाउने, जिम्मेवारी लिने, र नेतृत्व गर्ने ।’
औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि स्वतन्त्र उम्मेदवार बन्ने उद्देश्यसहित मतदाताको घरदैलोमा पुगिरहेका सन्तोष गिरीले बुधबार आफ्नो सामाजिक संजाल फेसबुक पेजमा लेखेको स्टाटस हो यो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका सल्लाहकार समेत भइसकेका गिरी आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । तिलोत्तमाका बासिन्दा गिरी युवाहरुमाझ बौद्धिक, सरल र मिठो स्वभाव भएका युवाका रुपमा परिचित छन् ।
उम्मेदवार बन्ने उद्देश्यसहित अहिले गिरीले क्षेत्रका मतदाता भेटिरहेका छन् । उद्योगी–व्यवसायी, सबै दलका स्थानीय नेता, सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, खेलाडी र सर्वसाधरणलाई भेटेर उनले रायसुझाव लिइरहेका छन् । भैरहवादेखि शुद्धोधन र बुटवलसम्म समेटिएको क्षेत्रमा गिरी लगभग सबै ठाउँका अगुवासँग भलाकुसारी गरिरहेका छन् । भेटमा शान्त तरिकाले सबैका सुझाव सुन्छन्, आवश्यक सुझाव टिपोट गर्छन् ।

गिरीले चुनावी माहोललाई तिव्रता दिएका छन् । बिहानदेखि राति अबेरसम्म संघसंस्था र जनताको घरघरमा पुगिरहेका उनले विस्तारै मतदाताको मन जितिरहेको भैरहवाका युवा उद्यमी राजकुमार गुप्ता बताउँछन् । ‘दलहरुले सही ढंगले जनभावना अनुसार काम नगर्दा मतदाताको सोंच बदलिरहेको छ’, उनले भने, ‘स्पष्ट योजना, क्षेत्रगत विकास र युवा उम्मेदवार मतदाताले खोजिरहेका छन् । यसैले होला सन्तोषजीकाे माहोला राम्रै बन्दै गएको जस्तो लाग्छ ।’
संघसंस्था भेट्ने दौडमा रहेका गिरीले नव टिकुलीगढ युवा क्लबद्वारा आयोजित यु–१८ नकआउट फुटबल प्रतियोगिताको शुभारम्भ समेत गरेका छन् । ‘प्रतियोगिता शुभारम्भ गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । नव टिकुलीगढ युवा क्लवको आयोजक साथीहरुको काम प्रशंसनीय छ । खेलकुदले युवा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना उजागर गर्छ । नेपालमा खेलकुदको अपार सम्भावना छ । हामीकहाँ प्रतिभाको कमी छैन, अभाव छ त केवल उचित संरचना, लगानी र दीर्घकालीन योजनाको’, उनले भने ।
कुनै बेला राष्ट्रिय टिममा रुपन्देहीबाट ५ जनाले एकै पटक प्रतिनिधित्व गरेको इतिहास रहेको उनले स्मरण गरे । ‘विश्वका धेरै देशहरूले खेल क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाएका छन्, अब नेपालले पनि त्यो बाटो लिनैपर्छ । यस्ता प्रतियोगिताहरूले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने जग तयार गर्छन् । खेलमा लगानी गरौँ, खेलाडीलाई सम्मान गरौँ, राष्ट्रलाई गौरव दिलाऔँ’, उनले भने ।

उनले शुद्धोदन गाउँपालिका–६, गुरौली र वडा नम्बर १, बेलवा जोड्ने पुल समेत निरीक्षण गरे । करिब १३ वर्षअघि करोडौंको लगानीमा दानव खोलामा बनाइएको यो पूल, सम्पन्न भयो तर व्यवहारमा कहिल्यै प्रयोगमा आएको छैन । ‘दुई पाङ्ग्रे सवारी साधन बाहेक अन्य ढुवानीका साधनले पुल प्रयोग गरेका छैनन् । पूलको दुवैतर्फ बाटो छैन, अस्थायी बाटो छ, त्यो पनि प्रयोगका लागि अयोग्य । पुल यति अग्लो छ कि गाडी चढ्न सक्दैनन्’, उनले भने, ‘पुलमा बिरलै हिँड्ने दुई पाङ्ग्रे सवारी साधन पनि बारम्बार दुर्घटना भएका छन् ।’
स्थानीयको भनाई अनुसार यस्तो पुल बन्नुको कारण यो पूलको डिजाइन अर्को पुलको डिजाइनसँग साटिएर हो । ‘यदि पूल अहिलेको ठाउँभन्दा ४–५ सय मिटर दक्षिणमा बनाइएको हुन्थ्यो, दुवै तर्फको सडकसँग सजिलै जोडिने थियो र प्रयोगमा आउने थियो । यो केवल पूलको समस्या होइन, गहिरो प्रणालीगत बेथितिको नमूना हो’, गिरीले भने ।
गिरीले पछिल्ला केही हप्ता यता आफू क्षेत्रका अगुवा मतदातासँग भेटघाटमा रहेको सुनाए । ‘जनताको भावना, समस्या र अपेक्षालाई आत्मसात गर्दै हामी निरन्तर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट र संवादमा छौं । गाउँबस्ती, चोकचौतारीमा पुगेर जनताको अनुभव, आवाज र दृष्टिकोण सुन्ने प्रयास गरिरहेका छौं’, उनले भने, ‘हरेक भेटघाटमा जनताले राखेका गुनासो, माग र सुझावहरूलाई गम्भीरताका साथ लिएका छौं । अबको आवश्यकता केवल आश्वासन होइन, जनजीविकामा प्रत्यक्ष असर पार्ने ठोस नीति, योजना र निर्णयहरू हुन् । हामी विश्वास गर्छौं, जनताको आवाज नै सच्चा मार्गदर्शक हो । यही मार्गदर्शनलाई आत्मसात गर्दै, जनभावनाअनुसार भावी कार्यदिशा तय गर्दैछौं । जनतासँगै, जनताको बीचबाट रूपान्तरणको यात्रामा लागिरहेका छौं ।’

गिरीको क्षेत्रमा भइरहेको दौडधुपले उनले विस्तारै मतदातामा प्रभाव जमाउँदै गएका छन् । किसानले मल र सिंचाई अभाव, पर्यटन व्यवसायीले सही पर्यटन नीति र गौतमबुद्ध विमानस्थल संचालन, उद्योगी व्यवसायीले व्यवसायमैत्री नीति र राज्यको संरक्षण अभाव, सर्वसाधारणले रोजगारी, शिक्षा, स्वास्थ्यमा सुधारका साथै विकास निर्माणको आवाज उठाइरहेको गिरी बताउँछन् । ठूला दलप्रति आमसर्वसाधारणको वितृष्णा बढीरहेका बेला गिरीको स्वतन्त्र उम्मेदवारी दिने तयारीले काँग्रेस, एमाले, माओवादी, रास्वाप, राप्रपा र मधेश केन्द्रित दलहरुमा दवाव समेत बढेको छ ।
भैरहवा निबासी रास्वपा नेतृ महर्जनको उपनिर्वाचनमा उम्मेदवार बन्ने आकंक्षा
रूपन्देही–३ को उपनिर्वाचनका लागि राप्रपाबाट ६ जनाको नाम सिफारिस
रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा
रूपन्देही–३ उपनिर्वाचनः एमालेमा भदौ १५ भित्र एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन
रूपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कस्तो छ विगतको इतिहास ?
रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?








प्रतिकृया दिनुहोस्