June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कस्तो छ विगतको इतिहास ?

Advertisement

भैरहवा– रुपन्देहीको क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा उपनिर्वाचन हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि क्षेत्र खाली छ । २०७९ को निर्वाचनमा बोहराले कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । बोहराको निधनपछि क्षेत्र नम्बर ३ मा दलहरुले कसलाई उम्मेदवार बनाउने भनेर आन्तरिक गृहकार्य गरिरहेका थिए ।

Advertisement

मिति नै घोषणा भएपछि उम्मेदवार बन्नेहरुले आ–आफ्नो पार्टी तीव्र लबिङ थालेका छन् । सत्ताघटक नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरतकुमार शाह, प्रमोदकुमार यादव, रामचन्द्र ढकाल उम्मेदवार बन्न खोजेका छन् । यस्तै, नेकपा एमालेबाट खिमलाल भट्टराईले तयारी थालेका छन् । माओवादीमा त्यति धेरै आकांक्षी देखिएका छैनन् भने रास्वपाले उपयुक्त उम्मेदवार खोजिरहेको बताइन्छ ।

यस्तै, स्वर्गीय बोहराका छोराहरु इन्जिनियर प्रज्वल बोहरा र पाइलट गौरव बोहरा उम्मेदवार बन्न खोजेका छन् । मधेश केन्द्रित दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्ने जनाएका छन् । सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउंपालिका, सियारी गाउंपालिकाको वडा नं १ देखि ३, ६ र ७, ओमसतिया गाउंपालिकाको वडा नं २, मायादेवी गाउंपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं १४ देखि १९ वडा समेटिएको क्षेत्र नम्बर ३मा मिश्रित समुदायको बसोबास छ ।

२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहां ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसाल विजयी भए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जित्दा २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि कांग्रेसकै बालकृष्ण खाँण निर्वाचित भए ।

२०७० सालमा दीपक बोहरा राप्रपाबाट विजयी भए भने २०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खांणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले चुनाव जिते । २०७९ सालमा बोहोरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।

२०७९ सालको निर्वाचनमा रुपन्देही ३ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने ९ हजार १८३ मत पाएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७ सय, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए ।

रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?