सुनामी गतिमा प्रज्वल बोहरा, चुनावी माहोल बनाउँदै


भैरहवा– दलहरुमा आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलाई लिएर दौडधुप छ । दल निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न विभिन्न रणनीति बनाउन लागिपरेका छन् भने उम्मेदवारका आकांक्षी टिकट हत्याउन । तर, उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सम्भावित उम्मेदवारको सूचिमा रहेका युवा नेता प्रज्वल बोहरालाई भने टिकट भन्दा जनताको घरदैलोमा पुग्ने, सुखदुःख साटासाट गर्ने, पार्टी र आफ्नो एजेण्डा सुनाउन ध्यान बढी केन्द्रित छ ।
२०७९ को निर्वाचनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै प्रज्वलका बुवा दीपक बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, दीपक बोहराको गत चैत्र १९ मा निधन भएपछि यो क्षेत्रमा कार्तिक १७ मा उपनिर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले मिति घोषणा गरेसँगै दलहरुमा दौडधुप छ ।
आफ्ना बुवा दीपक बोहरा उम्मेदवार बन्दा युवा परिचालनदेखि समग्र भित्री र बाहिरी कमाण्डरको भूमिका निभाएका प्रज्वल कार्तिकमा हुने निर्वाचनमा राप्रपाबाट उम्मेदवार बन्न चाहेका छन् । हुनतः राप्रपा रुपन्देहीले पार्टीका जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगर प्रमुख सागरप्रताप राणा, केन्द्रीय सदस्यद्वय वसन्तविक्रम शाही, स्वाती थापा, जिल्ला सदस्य ई.प्रज्वल बोहरा, जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक र सिद्धार्थनगर सदस्य क्याप्टेन गौरव बोहराको नाम सम्भावित उम्मेदवारको सूचिमा राखेर केन्द्रमा सिफारिस गरेको छ । तर, केन्द्रले अझै कसलाई उम्मेदवार बनाउने भनेर निर्णय गरेको छैन ।

यद्यपि प्रज्वलले केन्द्रमा उम्मेदवारका लागि ‘लबिङ’ भन्दा जनताकै घरदैलो चहारिरहेका छन् । ‘हुनतः उम्मेदवार नभई चुनाव लडिँदैन तर मलाई जनताको भरोसा बढी लाग्छ, त्यसैले सबैलाई भेटिरहेको छु, प्रतिक्रिया लिइरहेको छु’, प्रज्वलले भने । २०७९ को निर्वाचन अघिदेखि नै क्षेत्रमा निरन्तर खटेर काम गरिरहेका उनलाई अधिकांश मतदाताले चिन्छन् ।
‘बुवा (दीपक बोहरा) मा स्वास्थ्य समस्या भयो, मैले बुवाको सट्टा जनताको घरघरमा पुगेर सुझाव लिने, गुनासाहरु सुन्ने, योजना तर्जुमा र क्षेत्रमा बजेट ल्याउन लागिपरेँ’, उनले भने, ‘यही भएर होला जुन टोल र वडामा जाँदा पनि सहजै चिन्नुहुन्छ ।’ उनले आफूले बुवाले जीवन विताएको पार्टी र हलो चिन्ह छाडेर अन्यत्र जान नसक्ने जनाए ।
‘जहाँ जाँदा पनि बुवालाई सम्झिने मतदाता भेटिनुहुन्छ, बुवाले यस क्षेत्रमा मात्रै होइन् सिंगो रुपन्देही जिल्लामा गरेको योगदान, विकास निर्माणका योजना र हरेक व्यक्तिलाई गरेको सहयोगबारे चर्चा सुन्छु’, उनले भने, ‘जसले केही भावुव बनाउँछ, केही उत्साह थप्छ भने केही गरेर बुवाको मार्गलाई पछ्याउनुपर्छ भन्ने आत्मविश्वास बढाउँछ ।’

प्रज्वल अहिले बिहान ८ बजेदेखि राति १० बजेटसम्म फिल्ड (निर्वाचन क्षेत्र)मै खटिन्छन् । यतिबेला मात्रै होइन्, उनी २०७९ देखि नै आमनागरिकको घरघरमा पुग्ने गरेका थिए । क्षेत्रभरका नागरिकका समस्या, अलपत्र योजना र गर्नुपर्ने कामबारे फाइल बनाएर मन्त्रालय–मन्त्रालय चहारेको उनी सम्झन्छन् । ‘हाम्रो पार्टी सरकारमा नभएकाले कति काम भए, कति भएनन्’, उनले भने, ‘तर, जनभावनाअनुसार बुवाको ठाउँमा मैले निरन्तर पहल गरेँ ।’
उनी काठमाडौं र काम विशेषले भैरहवा बाहिर जाँदाबाहेक अन्य समय क्षेत्रमै दिन्छन् । युवासँग राजनीति, विकास निर्माण, रोजगारीका सम्भावना, उद्यम, चुनौती र आगामी भविष्यबारे कुरा गर्छन् । बृद्धबृद्धा, खेलाडी, व्यापारी र सर्वसाधारसँग उनीहरुको मनोभावना अनुसार कुरा गर्छन्, केही सिक्छन्, केही सिकाउँछन् । ‘मैले पछिल्लो करिब तीन वर्षको अवधिमा जति क्षेत्र घुमेँ, सबैको चिन्ता अस्थिर राजनीति, विकास निर्माण्मा भइरहेको ढिलासुस्ती, रोजगारी, मल अभाव, भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबारे चिन्ता देख्छु’, उनले भने, ‘यदि मैले अवसर पाएँ भने यी क्षेत्रमा योजनाबद्ध काम गर्नुछ ।’ उनले निर्वाचन लड्ने–नलड्ने भन्दा जनभावनाको सम्मान र योजनाबद्ध विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।

धेरैले प्रज्वलको क्षेत्रबासीसँगको लगावलाई देखेर खुशी व्यक्त गर्छन् । पछिल्ला वर्षहरुमा उनले क्षेत्रमा गरिरहेको दौडधुप र भेटघाटलाई केहीले ‘सुनामी गति’ भन्ने गर्छन् । हुन पनि हो, उनले हरेक दिन कम्तिमा १०–१२ वटा टोल तथा संघसंस्थासँग भलाकुसारी गर्दै आएका छन् । भैरहवा आउँदा उनले यसरी भेटघाट, कार्यक्रमहरुमा सहभागिता, विकास निर्माणको निरीक्षण र जनताका कुरा सुन्ने गरेको लामो समय भइसक्यो । ‘जहाँ जाँदा पनि यति धेरै माया, आशीर्वाद पाउँछु,’, उनले भने, ‘मेरो बुवाले जीवनभर यही रुपन्देहीबासीको सेवा गर्नुभयो । मैले पनि यही सेवा गर्छु ।’ उनले क्षेत्रबासीको चाहना राप्रपाले जितोस् र स्वर्गीय दीपक बोहराले जस्तै क्षेत्रको विकासमा ध्यान दिओस् भन्ने रहेको पाएको बताए ।









प्रतिकृया दिनुहोस्