रूपन्देही–३ उपनिर्वाचनः एमालेमा भदौ १५ भित्र एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन


भैरहवा– नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका लागि भदौ १५ भित्र एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन गरेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते यो क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।
निर्वाचनको तयारीका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् । महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ ।
पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ । केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिन भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।
मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारीले बताए । सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका बोहराको गत चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ ।








प्रतिकृया दिनुहोस्