June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

भैरहवा निबासी रास्वपा नेतृ महर्जनको उपनिर्वाचनमा उम्मेदवार बन्ने आकंक्षा

Advertisement

भैरहवा– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उप निर्वाचनका लागि दलहरुमा उम्मेदवार बन्न इच्छुकको रस्साकस्सी सुरु भएको छ । यसपटक उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बन्ने उम्मेदवार र उनीहरुका गतिविधि चासोका बिषय बनेका छन् । यसैक्रममा उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहित रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन् ।

Advertisement

रास्वपा प्रवक्ता मनिष झाले समानुपातिकको सूचीबाट नाम हटाउन पार्टीमा उनको निवेदन परेको बताए । कुसुमको निवेदनमाथि मंगलबार दिउँसो तीन बजे बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ । उनी सिद्धार्थ नगरपालिका–८ की स्थानीय वासिन्दा हुन् । व्यवसायको सिलसिलामा उनी काठमाडौं नै बस्छिन् । उनले आफू नै उम्मेदवार बन्ने सम्भावना पनि व्यक्त गरिन् ।

‘उहाँको निवेदन आएको छ । आज बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ । यो एउटा प्रक्रियाको कुरा हो,’ उनले भने । केन्द्रीय सदस्य महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताइन् । समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध छ ।

आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको उनले बताइन् । ‘अहिले देशव्यापी रूपमा रास्वपा आकर्षणको केन्द्रमा छ । रूपन्देही–३ मा पनि पार्टीको राम्रो अवस्था छ,’ उनले भनिन्, ‘समानुपातिकको सूचीबाट नाम हटाउने मेरो व्यक्तिगत चाहनाको कुरा होइन । पार्टीकै कुरा हो ।’ तर रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको कार्यविधिअनुसार उम्मेदवार तय हुने बताए ।

‘उहाँको पनि आकांक्षा हुनसक्छ । त्यही हिसाबले कानुनी कुरा मिलाउन खोज्नु भएको पनि हुनसक्छ । तर हाम्रो उम्मेदवार चयन पार्टीले पारित गरेको कार्यविधिअनुसार नै हुन्छ । हामी कार्यविधिप्रति इमान्दार बन्छौं,’ उनले भने । कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि रास्वपाले उम्मेदवार आह्वान गरेको छ । गत साउन ७ गते रास्वपाले उम्मेदवार आह्वान गरेको थियो । साउन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । जसअनुसार करिब १० जनाको आवेदन पर्ने सम्भावना रहेको उनले बताए । त्यसपछि उम्मेदवार छनोटको प्रक्रिया सुरू हुने उनले बताए ।

रास्वपाले पार्टी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रूपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मा दिएको छ । उनैको नेतृत्वको कार्यदलले उम्मेदवार कार्यविधि तयार पारेको थियो ।

महर्जन केही दिन अघि लामो समय रुपन्देही ३ मा आएर मदतादा र शुभेच्छुक भेटेकी थिइन् । उनले केही अगुवा व्यापारी, स्थानीय बासिन्दा र नजिकका साथीहरुलाई भेटघाट गरेकी थिइन् । त्यस्तो भेटमा उनले सुझाव संकलन गरेर काठमाडौं फर्किएकी थिइन् । क्षेत्रमा रास्वपाको माहोल राम्रो भएको निचोडमा पुगेकी महर्जनले उम्मेदवार बन्न त्यसपछि इच्छा देखाएकी हुन् ।