June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देही–३ उपनिर्वाचनः भैरहवाका युवा गुप्ताले गरे उम्मेदवारी घोषणा

Advertisement

भैरहवा– स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले स्थानीय नै क्षेत्रको प्रतिनिधि हुनुपर्ने बताउँदै उम्मेदवारी घोषणा गरेका हुन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवारी घोषणा गर्दै रैथाने, यहाँको क्षेत्र र माटो बुझेको भएकाले आफू चुनावमा होमिएको जनाए ।

Advertisement

उनले क्षेत्र नम्बर ३ ले स्थानीय नेता नपाउँदा जनता र क्षेत्रको समस्या जहाँकोतही रहेको बताए । ‘विगतमा यहाँबाट निर्वाचितहरु को–कहा हुनुहुन्छ, सबैलाई जानकारी भएकै कुरा हो’, उनले भने, ‘क्षेत्रमा नआउने, जनताका समस्या नसुन्ने, सम्भावना भएको यो ठाउँलाई बेवास्ता गर्ने काम हुँदै आयो । त्यसैले यसपटक मैले आफूलाई योग्य ठानेर उम्मेदवार बन्न लागेको हुँ ।’

आफूले अहिले उम्मेदवारी घोषणा गरेको तर भोलिका दिनमा अन्य दल तथा समूहसँग सहकार्य हुन सक्ने बताए । ‘राजनीति सहमती र सहकार्यबाट चल्ने हो’, उनले भने, ‘उपनिर्वाचन हुँदै गर्दा भोलि कुनै दल वा समूहसँग सहकार्य भने हुनसक्छ । त्यो सम्भावना जिवितै छ ।’ गुप्ताले गत बैशाखमा मात्रै राप्राप रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्ररुपमा आफ्नो राजनीतिक गतिविधि बढाउँदै आएका थिए ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढीरहेको छ । दलहरुले भने उपयुक्त उम्मेदवार खोजिरहेका छन् । गुप्ताले आफू राजनीतिक चेत भएको व्यक्ति भएकाले सबैसँगको सहकार्य, सहमती र सहअस्तित्वलाई स्वीकार्दै अघि बढ्ने बताए ।

उम्मेदवारीसँगै गुप्ताले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । ‘अबको नेतृत्व रैथाने’ भन्दै गुप्ताले ६ वटा बुँदामा आफूले अघि सार्ने एजेण्डा तय गरी सार्वजनिक गरेका हुन् । जसअनुसार पर्यटन क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रमहरु गर्न पहल गर्ने उनले बताए । ‘यो क्षेत्र र समग्र रुपन्देहीलाई पर्यटनबाटै समृद्ध बनाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सही नेतृत्व, सही नीति, कार्यक्रम र योजनाहरु हुनुपर्छ । यी सबै कुराहरु मसँग छन् । यसमा मैले काम गर्नेछु ।’

यस्तै, कृषितर्फ कृषकको आर्थिक सुधारका लागि मल, बीउ एवं सिंचाईका लागि सुविधा र उत्पादित सामाग्रीहरुको बजारीकरण गर्ने उनले योजना अघि सारेका छन् । यसैगरी उद्योगतर्फ उद्योगी–व्यवसायीहरुले हाल भोगिरहेको समस्याहरु समाधान लागि उच्च प्राथमिकता दिने उनको भनाई छ । ‘उद्योगमैत्री नीति र कार्यान्वयन गर्न पहल गरी रुग्ण उद्योग संचालन, रोजगारी सिर्जना र लगानीकर्तालाई प्रोत्साहन गर्न मैले भूमिका खेल्नेछु’, उनले भने ।

गुप्ताले गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि नै समाधानको पहल गर्ने, जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरुलाई विश्वबजारसम्म जोड्नका लागि सुरुवात गरी रोजगारीमा बढोत्तरी गर्ने जनाए । यस्तै, अन्तर्राष्ट्रियरुपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्रविस्तार गरी उपमहानगर बनाउन पहल गर्ने र समानुपातिक रुपमा क्षेत्रको विकास गर्ने बताए ।

सिद्धार्थनगर–३ निवासी गुप्ता बौद्धिक युवाका रुपमा गनिन्छन् । विद्यार्थीकालबाटै विभिन्न पार्टीका कमिटीहरुमा रहेर काम गरेका उनी सफल युवा उद्योगीसमेत हुन् । ४३ वर्षीया गुप्ता लुम्बिनी ईंटा उद्योग ब्यवसायी संघ, रुपन्देहीको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । रोटरी क्लब अफ भैरहवा, साहु कल्याण समिति, रूपन्देहीका सल्लाहकार, काशी नोबल एकेडेमीका संचालक समिति उपाध्यक्ष समेत रहेका उनी संचार उद्यमी पनि हुन् । उनले भैरहवाका आधा दर्जन संघसंस्थामा रहेर काम गर्दै आएका छन् । उनी आर एण्ड एन ईंटा उद्योगका संचालक, नेपाल–भारत अवध मैत्री समाज, रुपन्देहीका अध्यक्ष, दुर्गा सामुदायिक प्रहरी सेवा केन्द्र, सिद्धार्थनगर अध्यक्ष छन् ।

गुप्ताको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छ । रुपन्देहीका युवाहरुमाझ लोकप्रिय उनी शिक्षित र योजनाकारका रुपमा चिनिन्छन् । उनका बुवा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर समेत हुन् । रतनकुमार २०४९ देखि २०५४ सम्म सिद्धार्थनगरको उपमेयर भएर काम गरेका थिए । आफूले राप्रपा छाडेपछि आफ्नो पार्टीमा भित्र्याउन विभिन्न दलहरुले प्रस्ताव गरे पनि स्वतन्त्ररुपमा काम गर्दै आएको जनाए ।

रूपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कस्तो छ विगतको इतिहास ?

रूपन्देही–३ मा उपचुनावको चर्चा, कुन पार्टीमा कस्ता दाबेदार ?