June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

झोला

Advertisement

कहिलेकाहीँ चेतन-अवचेतन मनमा अनेकौं कुरा खेलिरहेका हुन्छन् । आकाशमा दौडिरहेको बादल, अलिक तल उडिरहेका चरा, बगिरहेको नदी, बहिरहेको हावा, हल्लिरहेका रूखका पात, उभिएको पहाड, लस्करै बनेका घर, लमतन्न सडक, गाडीको ताँती, गाउँ, शहर, नगर, वनजङ्गल, पशुपङ्क्षी, मानिसको भीड, हरिया फाँट, सफा हिमाल, फोहोर पोखरी, रेडियोमा बजिरहेको गीत, मन्चमा चिच्याइरहेको नेताको भाषण, नीलो आकाश, समथल धर्ती…. आदि इत्यादि ।

Advertisement

यस्तै अनेकौं सोच्ने सिलसिलामा कहिलेकाहीँ म झोला बोकेर हिँडिरहेका मान्छेका बारेमा पनि सोच्दछु । अझ धेरै त झोलाको बारेमा सोच्दछु । त्यो झोला भन्ने वस्तुका बारेमा निक्कै घोत्लिन्छु, जसको उपयोगबिना मान्छेको जिन्दगी नै अपुरो छ ।  देखिन्छ जताततै – मान्छेहरू झोला बोकेर हिंडिरहेका । लामो या छोटो यात्राका यात्रीहरू, घरबाट बजार हिँडेका महिला गृहिणीहरू अथवा कार्यालय हिँडेका पुरुषहरू – जो पनि झोला बोकेरै हिँडेको देखिन्छ । हवाइजहाजमा होस् या बसमा, मोटरसाइकल होस् अथवा पैदल यात्रामा – मान्छेका हातमा/साथमा एउटा न एउटा झोला हुन्छ नै ।

झोला दृष्टिबाट मन थाक्नु र फेरि यसको अपरिहार्यता महसुस गर्नुको दोसाँधमा पुगेर सोच्दछु – जे भए पनि झोला मान्छेका लागि अत्यावश्यक वस्तु  रहेछ । यसले मानव जीवनशैलीलाई सहज बनाउन मद्दत पुर्याइरहेको हुँदोरहेछ । झोलाको आविष्कार अथवा उत्पादन नभइदिएको भए मानव जीवन कति रित्तो हुनेथियो होला ! अनुमान गर्छु, र आफैं छक्क पर्छु ।

‘झोला महिमा’ गाउने लहड चलेको छ अहिले । यसको बयान र बखान गरेर नथाक्ने मौसम छ यतिबेला । यसको इतिहास खोतल्न मन लाग्छ । यो ‘झोला’ शब्द संस्कृत वा अन्य भाषिक मूलबाट आएको नभई नेपाली तथा हिन्दू-आर्य भाषाहरूमा प्रचलित तद्भवीकरण प्रक्रियाबाट निर्मित शब्द हो । यसको अर्थ कुनै वस्तु राख्ने थैली वा बोरा भन्ने  हुन्छ । ‘झोला’ सामान राखेर बोक्न छाला अथवा कपडाबाट बनाइने थैलो हो जो दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री हो भनेर विकिपिडियाले झोलालाई परिभाषित गरेको छ । त्यसैगरी नामपद वर्गमा पर्ने झोलालाई बृहत् नेपाली शब्दकोशले ‘काँधमा भिर्न वा हातले समाउन मिल्ने उझिन्डो भएको कपडा आदिको थैलो” भनेर चिनाएको छ । यसको प्रयोग परापूर्व कालदेखि नै हुँदै आएको छ । यकीन रूपमा यति नै बेलादेखि झोलाको प्रयोग हुन थालेको हो भनेर भन्न सकिने ठोस प्रमाण केही पनि भेटिँदैन । तथापि  झोलाको इतिहास भने पुरानो छ । मलाई भने यसको महत्त्वपूर्ण उपयोगमा रमाउनुछ ।

झोलाको जन्म कुन्डली अझै नियाल्दैछु म । प्राचीन समयमा बोरा या छाला आदिबाट भिर्न मिल्ने फिता राखेर बनाइने भए पनि अहिलेको समयमा ल्यापटप, मोबाइल, पैसा, विभिन्न निर्माण समाग्री लगायत हरेक क्षेत्रमा प्रयोग गर्न मिल्नेगरी झोला निर्माण गरिन्छ । प्लास्टिकजन्य झोलाहरू स्वास्थ्य तथा वातावरणका लागि हानिकारक हुने हुँदा विभिन्न देशहरूले यसमाथि प्रतिबन्ध लगाएका छन् । झोला नाममा विभिन्न साहित्यिक रचनाहरु, कथाहरू र चलचित्र समेत निर्माण गरिएका छन् । यसो भएपछि त अझै झोलाको बारेमा थप बुझ्न मन लालायित हुन्छ ।

झोला भन्ने चिज अचम्मको छ । यो मान्छेको जीवनको एउटा अभिन्न अङ्ग  बनिसकेको छ । विद्यालयको पहिलो दिनको शुरूवात झोला बोकेरै हुन्छ । झोलाभित्र के छ भन्ने झोलाधनीले नभनेसम्म कसैलाई पनि थाहा हुँदैन । यो जहिले पनि मानिससँगै हिँड्छ र आफ्नो मालिकको निर्देशनमा रहन्छ । नेपाली समाजमा कुनै नेताको पछिपछि हिँड्नेलाई झोला नै नबोके पनि ‘झोले’ भन्ने गरिन्छ । नेताले जे भने पनि ‘हो हो’ भनी  स्वीकार गरी पछिपछि हिँड्ने कार्यकर्तालाई पनि ‘झोले’ भनिएको हुनुपर्छ । झोला शब्दको मर्ममा गतिलै प्रहार भएजस्तो लाग्छ यहाँनेर ।

झोलामा नूनदेखि सुनसम्मका सामग्रीहरू बोकेर हिँड्ने गर्छन् मानिसहरू । दिन प्रतिदिन अनेक थरीका, विभिन्न प्रकारका झोलाहरूको आविष्कार भइरहेको छ । फरकफरक मूल्यका र  गुणस्तरका झोलाहरू बजारमा  यत्रतत्र किन्न पाइन्छन् । कुनै झोला वर्षौं टिक्छन् भने कुनै सामान राखेर एकपटक गाडीबाट ओराल्न नपाउँदै ध्यार्रै… च्यातिन्छ्न् । पहिला-पहिला डोको र पोको बोकेर हिँड्थे मानिस । तर, अहिले विकासको फड्कोसँगै  झोलाको उत्पादनमा पनि व्यापक वृद्धि भैरहेको छ । जुनसुकै प्रकारका झोलाहरू यत्रतत्र देख्न सकिन्छ । टलक्कै टल्कने प्लास्टिकका झोलाहरूले बजार पिटेका छ्न् । उपहार दिनदेखि हरेक कामका लागि प्लास्टिक प्रयोग नभएको कुनै ठाउँ नै देखिँदैन । फेसन नै भैसक्यो प्लास्टिकका झोलाको प्रयोग ।

अति नै धेरै भएर होला, अहिले सर्वत्र प्लास्टिकजन्य पदार्थ नै देखिन्छन् । यिनीहरू पनि झोला अथवा थैलाकै प्रकार हुन् । वरिपरिको वातावरण नियाल्दा बिहानैदेखि, केहीछिनको सुविधाका लागि, प्लास्टिकका झोलाहरूको व्यापक प्रयोग देखिन्छ । जुनसुकै सामान किन्दा सामानैपिच्छे प्लास्टिकका झोलाहरू सहजै दिन्छन् पसलेहरूले । उनीहरूको पनि आफ्नै बाध्यता छ- प्लास्टिक नदिँदा ग्राहक रिसाउँछन् । ‘जाबो एउटा प्लास्टिक पनि नदिने’ भनेर ग्राहकले गुनासो गर्लान् कि भन्ने  डर हुन्छ पसलेहरूलाई पनि ।

आजभन्दा तीस वर्ष अगाडिको समयमा प्लास्टिकका झोलाको प्रयोग अत्यन्तै न्यून हुने गर्दथ्यो । किनमेल गर्न जाँदा पसलमा प्लास्टिक दिन पसलेले गाह्रो मान्थे, र दिनै परे पनि प्लास्टिकका झोलाको अलग्गै पैसा लिन्थे । किनमेल गर्न जाँदा प्लास्टिकको अलग पैसा बचत होस् भनेर आफूसँगै एउटा झोला लिएर किनमेल गर्न जाने चलन थियो । त्यो बेलाको वातावरण अहिलेको जस्तो प्रदूषित थिएन । घरघरमा किनमेल गर्न जाने झोलाहरू हुन्थे । कागजका साना-ठूला थैला बन्दथे ।

अत्यन्तै सस्तो रूपमा बिक्रीवितरण हुँदै आइरहेको झोलारूपी थैलाहरू अहिले वातावरण प्रदूषणको सबैभन्दा ठूलो कारक तत्त्व बन्दै गइरहेका छन् । सानो देश, प्राकृतिक सुन्दरताले भरिपूर्ण देशलाई प्रत्यक्ष रूपमा प्लास्टिकजन्य फोहोरले गिजोलिरहेको छ । नदीमा तैरिरहेका, यत्रतत्र जमीनमा फिजारिएका साना-ठूला प्लास्टिकजन्य वस्तुहरू सजिलोसँग देख्न सकिन्छ । पहिला-पहिला जस्तो घाँसे मैदानहरू आजभोलि देखिंदैनन् । प्लास्टिकजन्य झोलाहरूले मैदानहरू उजाड-उराठ बन्दै गइरहेका छन् ।

ठूलो झोला अथवा ठूल्ठूला बोरा काँधमा बोकेर यिनै पुनः प्रयोग गर्न मिल्ने प्लास्टिकजन्य वस्तुहरू संकलन गर्न आउने व्यक्तिहरूले यसैबाट आफ्नो गुजारा पनि चलाएका छ्न् । तर, पुनः प्रयोग नहुने प्लास्टिकका झोलाको व्यापक प्रयोग र यसको उचित व्यवस्थापन नहुँदा अहिले नेपालका सुन्दर ठाउँहरू प्रदूषित बन्दै गैरहेका छ्न् । अहिले घर-घरमा खानेकुराको मात्रा भन्दा धेरै प्लास्टिकका झोलाहरू भित्रिरहेका छ्न् । मानिसहरूले सजिलै प्लास्टिकको प्रयोग गर्छन् । यसले पार्ने विकराल असरको अध्ययनकै क्रममा यसको हानिबारे कुरा उठाउँदा ट्वाल्ल पर्छन् । यस सन्दर्भमा पढेका, नपढेका सबै एउटै व्यवहार देखाउने गर्दछन् । दैनिक साढे सात मिलियन टन, चालीस माइक्रोनभन्दा पातला प्लास्टिकको फोहोर नेपालका डम्प्पिङ्गसाइटमा र अन्यत्र समेत गरी यत्रतत्र  थुप्रिरहेका छ्न् । यो निकै विकराल अवस्था हो ।

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० मा ४० माइक्रोनभन्दा कम पातलो प्लास्टिकका झोलाहरूलाई २०७८ श्रावण १ गतेबाट पूर्णरूपमा देशैभर प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । तर उक्त घोषणा कार्यान्वयनमा आउन अझै सकेको छैन । वास्तवमा यो अत्यन्तै राम्रो निर्णय थियो । अहिले डम्पिङसाइड क्षेत्रमा असी प्रतिशत फोहोरका रूपमा चालीस माइक्रोनभन्दा पातला प्लास्टिकहरू देख्न सकिन्छ । सम्भव भएका ठाउँमा पनि प्लास्टिकका झोलाको विकल्प खोज्ने इच्छाशक्ति  नहुँदा यसले वातावरणमा प्रत्यक्ष असर पारिरहेको छ । यो एउटा भयावह समस्या हो । यी कुरा बुझेरै पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको देख्दा अचम्म लाग्दछ ।

हरेकले आफ्नो घरबाट निस्कँदा एउटा वातावरणमैत्री झोला मात्रै बोकेर निस्कने हो भने पनि  नेपाललाई प्लास्टिकको प्रदूषणबाट धेरै हदसम्म जोगाउन सकिन्छ । प्लास्टिकको विकल्प नभएको पनि होइन । दूना-टपरीदेखि हरेक सामान वातावरणमैत्री उत्पादन गर्न सक्ने देशमा छौं हामी । तर, पर्यावरणीय चासो र चिन्ता कसैको मनमा नहुँदा तिनै प्लास्टिकका झोला बोक्न अभिशप्त छौं ।

अब अलिकति कुरा गरौँ जलवायु परिवर्तनको असर बारे । अहिले विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनको असरबाट कोही पनि अछुतो रहन सकेको छैन ।  नेपालको सन्दर्भमा यहाँको बिग्रँदो वातावरणलाई सन्तुलनमा राख्न वातावरणमैत्री झोलाको भूमिकाबारे घोत्लिँदा एउटा उदेकलाग्दो तथ्यांक देखिन्छ । एउटा घरमा दूधको थैलादेखि तरकारी लगायतका सामग्रीका झोला दैनिक रूपमा दशवटाभन्दा माथि नै भित्रिने गर्दछन् । आफैं अनुमान गर्नुहोस् त – यसरी हिसाब गर्दा दिन प्रतिदिन पुनः प्रयोग नहुने प्लास्टिकका झोलाले बढाइरहेको प्रदूषण !

निस्कर्षमा भन्न सकिन्छ; एउटा घरमा झोलाको चर्चा मात्रै गर्ने हो र यसका फाइदा-बेफाइदाको बारेमा छलफल गर्ने हो भने नेपाललाई प्लास्टिकका झोलाको प्रदूषणबाट मुक्त गराउन सकिन्छ । नत्र भावी पुस्ताले स्वच्छ हावा खान र पानी पिउन नपाउने जर्जर अवस्थाका पूर्वसंकेतहरू हाम्रै वरिपरि काल बनेर घुमिरहेका छन् । प्लास्टिकको झोला बोक्नुको विकल्प अहिल्यै नखोजे भविष्य झन् विकराल अनि भयावह हुने कुरा केवल सम्भावना मात्रै होइन, अवश्यम्भावी छ ।

‘झोला’ बोक्नु हाम्रो आवश्यकता, दैनिकी र जीवनशैली भएको छ, तर आवश्यकतालाई अनावाश्यक साधनको बोझले थिच्नु चाहिं आफ्नै लागि घातक हुनजान्छ । हामी किन यति धेरै उपभोक्तावादी हुँदैछौं ? खाने कुरादेखि प्रयोग गर्ने सामानसम्म हामीलाई छिटो, छरितो र सजिलो चाहिन्छ । हामी आफ्नै वरिपरि उपलब्ध अर्गानिक वस्तुभन्दा ज्यादा कतैबाट आयात हुने कुनै विषादीयुक्त खाद्यवस्तु र प्रयोगसामग्रीमा किन लट्ठिन्छौं ? हाम्रा यस्ता प्रकारका स्वभाव, आचारण र व्यवहारले पार्ने दूरगामी असरबारे किन हेक्का राख्दैनौं ? प्रश्न सङ्गीन छ, तर उत्तरको खोजी गर्दै गर्दैनौं । हामीलाई त प्लास्टिकका झोला बोक्यो, हिंड्यो, पुग्यो । अनि, काम सकेपछि जथाभावी फाल्यो, भइगयो । ‘झोला’ शब्दको पर्याय नै प्लास्टिक भइसकेको जर्जर युगको एकछेउमा बसेर जबर्जस्त आव्हान गर्दछु – प्लास्टिकका झोला पूर्णरूपमा निषेध गरौँ !

आज पसलमा ग्राहक त्यत्ति आएनन् । फुर्सदको समयमा पुस्तक पढ्न, केही लेख्न र थोरै पर्यावरणीय चासो र चिन्ता गर्न मन लाग्यो । एक कप दूध चिया पिइसक्दा मनमा यति कुरा खेले । अनि मनबाट उकुसमुकुस भएर उठेका ती विचार अनि भावलाई लिपिबद्द गरेँ । झोला मान्छेको अभिन्न साथी हो तर दुरुपयोग गर्नु चाहिँ नाजायज हो भन्ने तर्कको कट्टर पक्षपाती भएर उभिएको मेरो मनले कलम समाएपछि झोला शब्दमा यति बखान लेखिएको जाहेर गर्दछु । र, जाँदा-जाँदै: म झोला बोक्छु, तर प्लास्टिकको होइन । -sahityapost