कथाः चित्रेभन्ज्याङ


आज पनि सुत्ने बेलामा छोरीले उही जिज्ञासा दोहोर्याइन्, “ममी ! म मेरो बाबाले सहादत प्राप्त गरेको ठाउँ हेर्न चाहन्छु ।” आफू जान्नेबुझ्ने भएदेखि नै छोरीले यो जिज्ञासा राख्न थालेकी हुन् यद्यपि मैले “ल, ल, समय मिलाएर जाउँला नि” भनेर टार्दै आएको पनि आज पन्ध्र–सोह्र वर्ष भइसकेको छ । यस पटक भने मैले उनलाई जसरी भए पनि त्यस ठाउँमा पुर्याउने सोच बनाएकी छु । तर चियाको पसल थापेर बसेकी एक्ली मान्छे, मलाई समय मिलाउन भने निकै कठिन छ ।
“अहिले चाहिं म तिमीलाई लान्छु छोरी । तिमीलाई त्यस ठाउँमा पुर्याएरै छोड्छु ।” यही भनेर विश्वास दिलाएँ ।
मूल सडकबाट केही भित्रपट्टिको मेरो यो सानो घर, सडक छेउकै एउटा घरको सटर कोठा भाडामा लिएर चलाएकी छु चिया पसल । लगभग पाँच मिनेटको पैदल दुरीमा छ मेरो यस घरबाट चिया पसल । पसलमा भएका एकादुई ग्राहकहरू नौ बजेसम्ममा खाइपिई हिँडिसकेका थिए । हामी आमाछोरीले खाना खाएर जुठोभाँडो गर्दा दश बजेको थियो । त्यसपछि सटर तानेर घर आई साढे दश बजेतिर ओछ्यानमा पल्टेका थियौँ ।
मैले यसपटक जसरी पनि लान्छु भन्ने कुरा गरेको हुनाले शायद छोरी आश्वस्त भइन् र आफ्नो बाबुले सहादत प्राप्त गरेको ठाउँ देख्न पाउने आशामा मीठो कल्पनाका साथ निदाइन् ।
म भने निदाउन सकिनँ । छोरीको जिज्ञासाले मेरो विगतलाई झल्झली सम्झायो । मनमा नानाथरि कुरा मडारिन थाले । सम्झनामा विगतका ती दिनहरू अटेसमटेस भएर आए–
बुबाआमाका तीनवटा छोरीमध्ये कान्छी म ! लगातार तीनवटा छोरी पाएपछि आमाको निधन भएछ । आमा गुमाउँदा म सानै थिएँ, जम्मा दुई वर्षकी । दूध चुस्न पनि छोडेकी थिइनँ रे ।
आमाले हामी तीन जनालाई लगभग दुईदुई वर्षको अन्तरमा जन्माउनुभएको । सानैमा आमा गुमायौं । बुबाले अर्को विवाह गर्नुभयो । बाहिर फेरबाट हेर्दा हाम्रो हेरविचार तथा घर सम्हाल्नका लागि बुबाले अर्की आमा ल्याउनु स्वाभाविक थियो । धार्मिक संस्कारमा हुर्किएको र धर्मकर्ममा आस्था राख्दै पुरेत्याइँ गर्न पनि अगाडि सर्ने मेरा बुबालाई आन्तरिक रूपमा छोराको चाहना पनि थियो कि ! धर्मभीरु पितृसत्तात्मक समाजको उपज हुनुहुन्थ्यो मेरो बुबा । यद्यपि छोरो जन्माउने लालसामा बुबाले अर्को विवाह गर्नुभयो अथवा हाम्रो मायाले हामीलाई राम्रो स्याहारसुसार होस् भन्ने उद्देश्यले; यो चाहिं यसै भन्न सक्दिनँ म ।
उनै अर्की आमाले हुर्काइन् हामीलाई । उनले सौतेनी आँखाले कहिल्यै हेरिनन्, आफ्नै कोखबाट जन्मेका छोरीहरूकै रूपमा हाम्रो हेरविचार गरिन् । आफूलाई जन्माएकी आमा मरेर गए पनि हामीले आमाको अभाव महसूस गर्नु परेन । अर्की आमाबाट दुई भाइहरूको जन्म भयो ।
बुबाले हामीलाई नपढाउनु भएको पनि होइन, पढाउनु भएकै हो । गाउँभन्दा केही माथि देउरालीमा रहेको हाइस्कूलमा पढेका थियौं । ठूली दिदीले सात कक्षासम्म पढ्नुभएको हो । सात कक्षामा लगातार दुई वर्षसम्म फेल भएपछि पढ्न छोडिदिनुभयो । अर्की स्यानी दिदीले पनि एसएलसीको परीक्षा त दिनुभएको थियो तर तीन वर्षसम्ममा पनि पास गर्न नसकेपछि उहाँले परीक्षा दिन छोड्नुभयो । मैले भने जेनतेन एसएलसी त पास गरें तर त्यसपछिको पढाइका लागि भने मलाई अनुकूलता मिलेन ।
दिदीहरू विवाह भएर आआफ्नो घर गइसकेका थिए । बुबाले मलाई पनि पारिपट्टिको गाउँमा बिहे गरेर पठाउनुभयो । एउटा जेठाजु र एक देवर थिए । ससुरा बुबाले मधेसमा अलिकति खेत किन्नुभएको रहेछ । म र मेरा श्रीमान् मधेस अर्थात् नवलपरासीको यही चोरमारा झर्यौं । खेतको एउटा छेउमा सानो घर बनायौं र खनिखोस्री गरी जीविकोपार्जन गर्न थाल्यौं । काम गर्ने जोशजाँगर थियो । दुःख गरेपछि अन्नबाली पनि राम्रै उब्जनी हुन थाल्यो । एक मानो खान हामीलाई गाह्रो भएन ।
दिनहरू क्रमशः बितिरहेका थिए । त्यस समयमा माओवादीले शुरू गरेको जनयुद्ध गतिशील हुँदै थियो । गाउँगाउँमा युद्धले विस्तारित रूप लिएको थियो । मेरा ठूलोबुबा स्कूलको मास्टरी छोडेर जनयुद्धमा होमिनुभएको थियो । उहाँ त्यस क्षेत्रको ठूलै नेता हुनुहुन्थ्यो र भूमिगत रूपमा विभिन्न ठाउँहरूमा चेतनाको विस्तार गर्दै हिंड्नुभएको थियो । पार्टीमा उहाँको नाम ‘लालसिंह’ थियो । गरीबहरूको राज ल्याउनुपर्छ भन्दै हिंड्नुहुन्थ्यो । कहिलेकाहीं हाम्रो घरमा आउनुहुन्थ्यो र वरिपरिका कार्यकर्ताहरूका साथै सर्वसाधारणहरूलाई पनि रातको समयमा बोलाएर प्रशिक्षण दिनुहुन्थ्यो । रातकै समयमा हाम्रै घरमा पार्टीको बैठक राख्नुहुन्थ्यो । बाहिरफेरको सुरक्षाको चाजोपाँजोमा मेरा श्रीमान् खट्नुहुन्थ्यो ।
ठूलोबुबाको सङ्गत र सम्पर्कले श्रीमानलाई माओवादी बन्न प्रेरित गरेको थियो । टोलछिमेकीहरूले हाम्रो घरलाई माओवादीको घर भन्न थालेका थिए । हाम्रो घर प्रहरीको शङ्काको घेरामा थियो । जब एक रात हाम्रो घरमा प्रहरीहरू आएर अगाडिबाट घेरा हाले तब श्रीमान् पछाडिको ढोकाबाट भाग्न सफल हुनुभयो । त्यसपछि नै त हो उहाँ भूमिगत हुनुभएको । भूमिगत भएपछि भने वर्षमा एकदुई पटक भन्दा बढी उहाँको यस घरमा आउजाउ भएन । उहाँ प्रायः मध्य पश्चिमतिर खटिनुभयो । पार्टीले जहाँ र जता भन्यो त्यतै त्यतै हिंड्नुपर्ने । उहाँ पार्टीको निर्देशनअनुरूप नै चल्नुभयो ।
भूमिगत भएपछि उहाँलाई केही महिनाको अन्तरालमा रातको समयमा आउने र उज्यालो नहुँदै घरबाट निस्कनुपर्ने बाध्यता थियो । अन्यथा जे पनि हुन सक्थ्यो । यही समयमा म भारी जीउकी भएँ । यद्यपि दुई वर्ष पहिले एउटा सन्तान खेर गएको थियो । टोलछिमेकमा कुरा काटेर बस्ने केही अबुझहरूले “घरमा लोग्नेको बास छैन, यसले अरू कसैको पेट बोकेकी हो” भनेर गाइँगुइँ हल्ला चलाएको पनि मेरो कानमा पर्यो । तिनीहरूलाई के थाहा– कहिलेकाहीं रातको समयमा श्रीमान् आएर घरव्यवहारको चाँजोपाँजो मिलाई उज्यालो नखस्दै हिंड्नुहुन्छ भन्ने यथार्थ । कुरा काटेरै दिन बिताउने र अर्कालाई उडाएर मनोरञ्जन लिने तथा आत्मरतिमा रमाउनेहरूको मुख टाल्न गाह्रो थियो । मैले सहेरै बसें ।
अझ गाह्रो त के थियो भने बेलाबेलामा सेना प्रहरीहरू आएर धम्क्याउने गर्थे, “तेरो पोइलाई कहाँ लुकाएर राखेकी छस् ? निकाल् ।” उनीहरू निकै रुखो स्वरमा मलाई हकार्थे । उनीहरू सिभिल ड्रेसमा हुन्थे । ज्याकेटभित्र पिस्तोल लुकाएर राखेका हुन्थे । “साँचो साँचो भन्, होइन भने तेरो खैरियत छैन ।” उनीहरूको यस्तो कर्कश स्वर सुन्दा मभित्र विद्रोहको ज्वाला दन्कन्थ्यो । तर नम्र भाषामा बोल्थें म, “उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा मलाई केही थाहा छैन ।” मैले यसो भन्दा तिनीहरू रिसले आँखा राताराता पार्दै ज्याकेटबाट पिस्तोल झिकेर सुम्सुम्याउन थाल्थे ।
अझ एकपटक त “हामी माओवादी छापामार हौं” भन्दै राज्यका एक हूल सेना पुलिसको संयुक्त टोली नै आएर जबरजस्ती गर्न खोजेको घटनालाई कहाँ बिर्सेकी छु र मैले । मानसिक यातना त यति पाएँ कि भनेर साध्य पनि छैन ।
यही छोरी जन्मेको समयमा उहाँ गण्डक क्षेत्रमा खटिनुभएको थाहा पाएकी थिएँ । यता यो छोरी जन्मिई, उता उहाँ युद्धभूमिमा हुनुहुन्थ्यो । तनहुँ र स्याङ्जाको सिमाना चित्रेभन्ज्याङमा भएको तत्कालीन शाही नेपाली सेनासँगको युद्धमा उहाँले सहादत प्राप्त गर्नुभएको कुरा मैले सहादत प्राप्त गरेको दोस्रो दिनमा रेडियो नेपालको समाचारबाट थाहा पाएकी थिएँ ।
त्यतिबेला रेडियो नेपालले फुकेको थियो– “स्याङ्जा जिल्लाको चित्रेभन्ज्याङमा भएको दोहोरो भिडन्तमा माओवादी भनिने आतङ्ककारी जत्थाका एरिया कमान्डर हर्कध्वज लगायत सात जनाको मृत्यु भएको छ ।” उहाँलाई पार्टीले राखिदिएको नाम थियो ‘हर्कध्वज’ । यो समाचार सुनेपछि म छाँगाबाट खसे जस्तै भएकी थिएँ । मैले वेदना पोख्ने ठाउँ पनि पाइनँ । त्यस समयमा यही छोरीको कलिलो अनुहार हेरेर मन बुझाएकी थिएँ ।
घरमा दाजुभाइका बीच छुट्टभिन्न भएपछि अलिकति खेत र हामी दुई बुढाबुढीले दुःखसुखसँग बनाएको यही सानो घर मेरो भागमा थियो । जेनतेन यसैबाट गुजारा गर्दै आएँ । स्कूल राख्ने उमेर भएपछि छोरीलाई राम्रोसँग शिक्षा दिनुपर्छ भन्ने ठानी शान्ति सम्झौताको लगत्तै शहीद, घाइते तथा बेपत्ता परिवारजनको सन्तानका लागि खुलेको ‘शहीद स्मृति आवासीय विद्यालय’मा छोरीलाई राखिदिएँ । छोरी त्यहीँ बसेर अर्थात् आवासीय रूपमा रहेर पढ्न थालिन् ।
छोरीलाई पढाइका लागि बोर्डस गरेपछि भने म घरमा एक्लै थिएँ । अब मैले पनि केही गर्नुपर्छ भन्ने ठानेर यही चिया पसलको शुरूवात गरें । बिहान उठेर चिया बसाल्नु, चना–तरकारी पकाउनु, ग्राहकका जुठा प्लेट र गिलासहरू माझ्नु नै मेरो दिनचर्या बन्न पुग्यो । राम्रो आम्दानी नभए पनि मलाई दिन बिताउने बाटो यही नै बन्न पुग्यो । आफ्नो कामबाट म सन्तुष्ट नै रहेँ ।
देशमा लोकतान्त्रिक परिवेश आएपछि कहिलेकाहीं ठूलोबुबा लगायत माओवादीका अन्य केही स्थानीय नेताहरू पनि आएर सान्त्वना दिने गर्थे । पार्टीमा क्रियाशील हुनुपर्छ, सक्रिय रूपमा लाग्नुपर्छ भनेका थिए । तर म चाहिं पार्टीमा आस्था राख्दै र विचारमा विचलित नभई आफ्नै खुट्टामा उभिनुपर्छ भन्नेमा सचेत थिएँ । सबै कार्यकर्ताहरू नेता बनेर अग्ला कुर्सीमा बिराजमान हुन थालेपछि तल जमीनमा बसेर उत्पादनका काम कसले गर्ने त ? यही सोचेर नै म आफू र आफ्नो परिवारको पालनपोषणमा अरूको भर पर्नुभन्दा आफ्नै पौरखको कमाइ खानुपर्छ भन्ने ठान्दथें । यही सोचाइको मूर्त रूप त हो नि मेरो यो चिया पसल ।
छोरीले दश कक्षासम्म त्यही ‘शहीद स्मृति आवासीय विद्यालय’मा पढेपछि कक्षा एघार र बाह्र पढ्न घरमै ल्याएँ । उनले घरमै बसेर नजिकैको प्लस टुमा पढी बाह्र कक्षा पास गरिन् । प्लस टु सकेपछि विदेश जान्छु कि जान्छु भनेर हैरान पारेपछि अलिकति भएको त्यही खेत बेचेर विदेश पठाउन बाध्य भएकी हुँ । मेरो त एक रत्ति पनि चाहना थिएन छोरीलाई विदेश पठाउने तर उनको जिद्दीका अगाडि मेरो केही सिप लागेन । अहिले दुई वर्षको जापान बसाइपछि फर्केकी हुन् । केही समयपछि पुनः जाने हिसाबले आएकी ।
××× ××× ×××
दशैंको समय, मानिसहरूको चहलपहल कम हुने अवस्था । कतिपय शिक्षक–कर्मचारी र मजदूरी गर्नेहरू पनि आआफ्नै जन्मथलोतिर फर्कन थालेका थिए । पसलमा ग्राहकको उपस्थिति पातलो हुँदै जान थालेको थियो । मैले छोरीलाई दिएको वचन पूरा गर्नका लागि यही समय उपयुक्त थियो ।
मलाई यहाँबाट स्याङ्जाको चित्रेभन्ज्याङ पुगेर आउन तीन दिनको समय आवश्यक थियो । पहिलो दिन तनहुँको खैरेनीटार वा भिमादमा पुगेर बास बस्ने । दोस्रो दिन चित्रेभन्ज्याङमा पुगेर साँझ भिमाद वा खैरेनीटार नै फर्की बस्ने र तेस्रो दिनमा घरमा आइपुग्ने भनेर मनमनै योजना बनाएँ ।
योजनाअनुरूप नै हामी आमाछोरी दशैंको टीकाको पर्सिपल्ट चोरमाराबाट हिंड्यौं । घरबाटै खाना खाएर हिंडेका थियौं । नारायणघाट, मुग्लिनको बाटो हुँदै तनहुँको खैरेनीटार पुग्दा बेलुकाको पाँच बज्यो । त्यहीँबाट बाटो छुट्टिन्थ्यो चित्रेभन्ज्याङका लागि । दिन ढल्किसकेपछि चित्रेभन्ज्याङ जाने सवारी साधन पाउन कठिन थियो । कच्ची र साँगुरो बाटो हुनाले दुई बजेभित्रै छुटिसक्थे चित्रेभन्ज्याङका लागि ससाना चारपाङ्ग्रे बस तथा जीपहरू ।
स्यानी दिदीको घर थियो खैरेनीटार बजारको केही माथिपट्टि गाउँमा । हामी त्यतै लाग्यौं र त्यस रात दिदीकै घरमा बास बस्यौं । भोलिपल्ट सबेरै उठेर हामी खैरेनीटार बजार झरी सेती गण्डकीको किनारैकिनार भिमाद बजारतिर लाग्यौँ । भिमाद बजारबाट चित्रेभन्ज्याङ हुँदै स्याङ्जाकै ज्याग्दीखोला जानएउटा जीप छुट्दै रहेछ । त्यही जीपमा चढ्यौं हामी । भिमादबाट बङ्सानको उकालो चढी अरुणोदय, तारेपहरो, किहुँ, खुदेपानी, धरमपानी, जौपानी, झ्याप्पुले कटुस हुँदै हामी तनहुँ छाडेर स्याङ्जा जिल्लामा प्रवेश गर्यौं । तनहुँ र स्याङ्जाको सिमानाबाट लगभग डेढ किलोमिटर जतिको दूरीमा रहेछ चित्रेभन्ज्याङ ।
चित्रेभन्ज्याङमा पुग्दा बिहानको एघार बजेको थियो । ड्राइभर भाइले हामीलाई त्यहीँ ओराले । त्यहाँ एउटा माध्यमिक तहसम्म पढाइ हुने विद्यालय, एउटा स्वास्थ्य चौकी, केही परपट्टि गाउँपालिकाको कार्यालय भवन र केही होटल एवं केही किराना पसलहरू रहेछन् । बिहानको खाना खाने समय भइसकेको थियो । हामीले त्यहींकै एउटा होटलमा सादा दालभातका लागि अनुरोध गर्यौं ।
खाना खाँदै गर्दा मैले होटलवाला बहिनीलाई सोधें, “यहाँ माओवादी र शाही नेपाली सेनाको लडाईं भएको ठाउँ कहाँनेर हो नि बहिनी ?”
“कैलेको लडाइँ ? त्यो उइलेको लडाइँको कुरा गर्नुभा’को ? त्यो मुख्य लडाइँ भा’को ठाम् त उ पर त्यो देखिएको गिरेकोटको थाप्लाँ हो नि !” उनले पसलभित्रैबाट पश्चिमतिर देखिएको केही परको डाँडाको थाप्लातिर सङ्केत गरिन् ।
“यहाँबाट त्यहाँ पुग्न कति समय लाग्ला बहिनी ?” मैले पुनः सोधें ।
“तपैंहरू सहरबजाराँ बस्या मान्छेलाई एक घण्टा जति लाउला । हामी त ४५ मिनेटमै पुग्छम् केरे !” अगाडि थपिन्– “अघिको जीप पनि त्यै बाटो हुँदै ज्याग्दीखोला गा’को त हो, ह्याँ नझरेर त्यसैमा गा’को भा’त तपैँहरूलाई सजिलो हुन्थ्यो नि ।”
“हामी त जीप चढ्ने बेलामा चित्रेभन्ज्याङसम्म मात्र भनेर चढ्यौँ । अनि फेरि अन्यत्र खाना खाने व्यवस्था नमिल्न पनि सक्छ भनेर यहीँ झरेका हौँ । अब हिँडौँला नि एक घण्टा जति त ।” मैले यति कुरा गरेपछि होटलवाला बहिनीले जिज्ञासा तेर्स्याइन्, “कोटमा पूजा गर्न आउनुभा’को त होला नि तपैँहरू !”
“त्यहाँ पूजा गर्ने ठाउँ पनि छ र ?” छोरीले मुख खोलिन् ।
“छ नि, भैरमथान मन्दिर छ त्यहाँ । दशैंको अष्टमीका दिन ठूलो पूजा हुन्छ । मेला लाउँछ । बाजागाजासहित पञ्चबलि दिनेहरूको भीड हुन्छ । पर्सि पूर्निमाका दिनमा पनि बलि दिनेहरूको त ठूलै भीड हुन्छ नि !” होटलवाला बहिनीले गिरेकोट स्थित भैरवथानमा लाग्ने मेला र त्यहाँ गरिने पूजाका बारेमा बताइन् ।
हामी खाना खाएपछि पश्चिमतिर देखिएको गिरेकोटका लागि मोटर गुड्ने बाटो पैदलै लाग्यौं । केही हिंडेपछि थोरै मात्र पानी बग्दै गरेको एउटा खोल्सो आयो । खोल्सामा रहेछन् दुईतीनवटा सिमलका रूख । ती रूखभन्दा केही तलपट्टि बाँसघारी । खोल्साको आडैमा एउटा कुवा । कुवामा सङ्लो पानी । कुवाभन्दा केही माथिपट्टि एउटा पार्क रहेछ । भक्ति थापालगायत अङ्ग्रेजहरूसँग लडेका वीर पुर्खाहरूका सालिक रहेछन् । हामी आमाछोरीले श्रद्धास्वरूप सालिकहरूमा शिर निहुर्याएर पुनः बाटो ततायौं ।
हिंड्दै गर्दा केही माथिपट्टि खुइलो पाखाको बीचमा एक्लो शमीको रूख भएको चौतारी भेटियो । चौतारीको आडैमा पानीको पोखरी रहेछ । पोखरीमा पानी थिएन । शायद बर्खामा त्यहाँ चरनमा आउने गाईवस्तुका लागि पानी हुन्थ्यो तर अहिले चाहिं सुकेको हुन सक्छ ।
अब भने हामी कोटको मन्दिरभन्दा केही तलपट्टि पुग्यौं । वरिपरि चिलाउने र कटुसको जङ्गल । बीचमा भन्ज्याङ । भन्ज्याङमा रहेछ एउटा लाँकुरीको बोटसहितको चौतारो । हामी बाटोभन्दा केही माथिपट्टिको त्यही चौतारामा बस्यौं । पश्चिमतिर हेर्दा स्याङ्जा जिल्लाका ठूलाठूला पहाडहरू र पूर्वतिर हेर्दा तनहुँ जिल्लाका पहाडहरू देखिए । उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरू शृङ्खलाबद्ध रूपमा उभिएका देखिए ।
हामी चौतारामै बसिरहेको समयमा एक जना बूढा मानिस स्याउलाको भारी बोकेर आइपुगे । उनी चौताराको छेवैमा भारी बिसाएर हामी बसेभन्दा केही परको छपनीमा बसे ।
“काहाँबाट आउनुभ’को हो नि तपैँहरू ?” अन्दाजी पैँसट्ठी–सत्तरी वर्षका देखिने ती बूढाले आफ्नो शिरबाट झुत्रे टोपी निकालेर त्यसैले अनुहारको पसिना पुछ्दै हामीलाई सोधे ।
“हामी मधेसबाट आएका ।” मैले सङ्क्षिप्तमा जबाफ फर्काएँ ।
“यता काहाँ पुग्नी हो त ?” उनको यस प्रश्नमा छोरीले जवाफ फर्काइन्, “हामी अन्त कतै पनि जान आएका होइनौं । यही ठाउँसम्म मात्रै आएका । यही ठाउँ हेर्नका लागि आएका ।”
“के हेर्न छ र ह्याँ ! हामी गाम्लेहरूले उकालोओरालो गर्ने भीरपाखा, हामी गाम्लेहरूका दुःखभन्दा अरू त के पो छ र ह्याँ हेर्न पर्ने ठाम् !” बूढाले निराशामिश्रित स्वर निकाले ।
बूढा यहींका स्थानीय भएको बुझेपछि मैले कुराको सिलसिला मिलाउँदै सोधें, “उहिले माओवादीहरू र शाही नेपाली सेनाको लडाइँ भएको मुख्य ठाउँ कहाँनेर हो नि बुबा ?”
बूढाले केही बेरसम्म हामी आमाछोरीको अनुहार नियालेर भने, “यै भन्जिङ र त्यो माथिको कोटमा त हो नि, त्यो बेला माओवादीहरू यै तलको गाम्मा थे’ । उता भिमादतिरबाट शाही सेनाको फौज आयो, अनि माथि फेरि अक्कासमा पोखराबाट सैनिक हेलिकप्टर पनि आ’र गोली बर्साम्न थाल्यो । भइँबाट नि हान्न थाले, अक्कासबाट नि हान्न थाले । हाम्लाई त घरबाट बाहिर निस्कन पनि गारो ।”
बूढाले केही परको घना जङ्गल देखाउँदै अगाडि थपे, “ऊ त्यो ठूलो जङ्गल, हरिनासको जङ्गल । सुरुसुरुमा माओवादीहरूले बन्दुक पड्काउन सिकेको जङ्गल हो नि त्यो । त्यसै कारनले पो हो कि कुन्नि ! शाही सेनाले यो ठाम्लाई अलि बढी नै निग्रानीमा राख्या’थ्यो ।”
“अनि त्यो लडाइँ त पूरै देख्नुभयो नि हगि तपाईंले ?” छोरीको यस जिज्ञासामा बूढाले आफ्नो अनुभूति पुनः सुनाउन थाले, “त्यति बेलाको लडाइँ सम्झिँदा त अब बाँचिन्छ जस्तो लाएकै थे’न । यतै बम खसाल्या’छ, उतै बम खसाल्या’छ ! मेरो गोठैमा पनि त झरेको हो नि एउटा बम ! दुइटा भैँसी ठहरै परेका हुन् मेरो गोठका । धन्न घरमा आगो सल्किएन, गोठ मात्रै जल्यो । गोठ घरभन्दा अल्लि पर भा’को हुनाले घरमा आगो आउन पाएन । गाईगोरु र बाख्रा भने चराउन वनतिर लएको हुनाले बाँचे । छापामारहरू कति त भागाभाग हुँदा ऊ त्यही भीरबाट खसेर मरेका थिए नानी !”
बूढाले यही भन्ज्याङमाथि भैरवथान भएको कोटबाट पश्चिमतिरको डरलाग्दो भीर देखाए र अगाडि थप्दै गए उनी, “यै चौतारामा त हो नि नानी ! तीन जना माओवादी छापामारहरूलाई भिमातिरबाट आएका शाही सेनाले गोली हानेर मारेको ।”
“भिडन्त त डरलाग्दै भएको रहेछ नि बुबा ! अनि यहाँ यस गाउँका मान्छेहरू कोही परे कि परेनन् नि ?” छोरीको जिज्ञासामा बूढाले कुरालाई अगाडि बढाए, “त्यो तलको हाम्रो कामी गाम्लाई सेना पुलिसले ‘माओवादीहरूको गाम्’ भन्थ्यो । त्यतिबेला हाम्रो गाम्मा अलि बढी नै गोली बर्सायो । कसो कसो हामीहरूको चाइँ त्यति बढी खति भएन नै भन्न पर्च । त्यै बेला बाख्रा चराम्न गा’का हाम्रा कान्छा बा ऊ त्यो पारिको पाखाँ गोली ला’र मर्या’ हुन् । कान्छा बाबाहेक ह्याँका अरू गाम्लेहरूले चाइँ ज्यानै गुमाम्न परेन भनम् । मर्नेहरू सबै हाम्ले नचिनेका, बाहिरबाट आ’काहरू नै बढी थे’ ।”
मैले अनुमान लगाएँ, मेरा श्रीमानको सहादत यही चौतारामा भएको थियो । मेरो यो अनुमान यस मानेमा सही थियो कि मैले धेरैपछि यहींको लडाइँबाट फर्केको एक योद्धाको मुखबाट सुनेकी थिएँ, “चित्रेभन्ज्याङ स्थित गिरेकोटको लाँकुरी चौतारामा हर्कध्वजले सहादत प्राप्त गर्नुभयो ।”
बूढाले “हाम्रो घराँ हिन्नुस्, धेरै हिन्न पर्दैन, एक्कै छिनमा पुगिन्च, चियापानी खा’र जानुहोला” भन्दै थिए । हामीले अहिले जान नभ्याउने कुरा गरेपछि उनी पुनः स्याउलाको भारी बोकेर आफ्नो घरतिर लागे ।
बूढा भारी बोकेर आफ्नो घरतिर लागेपछि मैले उनी हिंडेकै बाटो हुँदै चौताराबाट क्रमशः पश्चिम र दक्षिणतिर नियालें । पारि स्याङ्जाको मनकामना, तल ज्याग्दीखोलाको फाँट, दक्षिणतिर पाल्पाको रामपुर र त्यसमाथिको पहाडलाई पनि ठम्याउन सकें । मेरी आमाको मामाघर अर्थात् मेरो बूढामावली ज्याग्दीखोलामा म सानै छँदा दुईपटक दिदीहरूसँग पुगेको सम्झना छ । यद्यपि यो बाटो चाहिं म पहिलोपटक हिंडेकी थिएँ । त्यतिबेला त्यो बूढामावली जानका लागि हामीलाई यो बाटाको प्रयोग मिल्दैनथ्यो अर्थात् उल्टो पर्थ्यो । हामी तनहुँकै ढोरफिर्दीबाट साँखे हुँदै पैदल गएका थियौं । त्यतिबेला आजको जस्तो बाटो र गाडीको सुविधा पनि थिएन । अहिले चाहिं हामी यहाँबाट ज्याग्दीखोलातिर झर्नुको कुनै अर्थ थिएन किनभने उहिलेकै जमानामा हाम्रा बूढामावलीका परिवार बुटवलतिर बसाइँ सरिसकेका थिए ।
मनमा विगतका दिनहरू आइरहेका थिए । मैले छोरीतिर दृष्टि पुर्याएँ । उनी त एक मुठै अगर बत्ती अर्थात् सिन्के धूप बाल्दै रहिछन् । धूपमा बलेको आगो निभाएर उनले त्यही लाँकुरीको फेदमा गाडिन् । बास्ना चारैतिर फैलन थाल्यो । उनका आँखामा आँसु भरिएको देखेपछि मेरा पनि आँखा रसाउन थाले । कतिबेला धूप र सलाई किनेर झोलामा राखेकी रहिछन् कुन्नि, मलाई त थाहा पनि थिएन ! आफ्नो बाबाप्रतिको श्रद्धालाई उनले धूप बालेर जीवन्त राख्न चाहेकी रहिछन् । उनलाई शायद आफ्नो बाबुले सहादत प्राप्त गरेको ठाउँमा पुगेर धूप बाल्ने सानैदेखिको चाहना थियो र त्यही चाहना पूरा गर्न मसँग पटकपटक यस ठाउँमा ल्याइदिन अनुरोध गरेकी थिइन् ।
धूप बालेको केही समयपछि उनले निरासामिश्रित सानो स्वरमा मलाई सोधिन्, “हाम्रो बाबाको सपना आजसम्म पनि किन होला ममी पूरा हुन नसकेको ? के हाम्रो बाबाले कहिल्यै पनि पूरा हुन नसक्ने सपना देख्नुभएको हो त ?”
“हुन्छ नि छोरी ! बाबाको सपना अवश्य पूरा हुन्छ । जुन सपना देखेर उहाँ युद्धमा होमिनुभएको थियो त्यो सपना पूरा हुने क्रममै छ छोरी ! बीचमा बाधा–व्यवधानका पर्खालहरू खडा भएका छन् । सर्वसाधारण जनताका चाहनामाथि कुठाराघात भएको छ । दुईचार सीमित मान्छेहरूले आम मान्छेहरूको अस्तित्वमाथि लात हानिरहेका छन् । लडाइँ लडेकाहरूमध्ये कतिपयले आफ्नो धरातल बिर्संदै गएकाले पनि यस्ता खराब दिनहरू आएका हुन् छोरी; अवसरवादी र फटाहाहरूले सलबलाउने मौका पाएका हुन् ।”….
म बोल्दाबोल्दै छोरीले पुनः जिज्ञासा राखिन्, “अनि ममी यिनै नेता र यिनै पार्टीबाट बाबाको सपना पूरा हुन्छ र समाजमा आमूल परिवर्तन सम्भव छ भनेर तपाईं विश्वस्त हुनुहुन्छ त ?”
छोरीको यस किसिमको गम्भीर प्रश्नले मलाई भावुक तुल्यायो । उनको मन बुझाउने प्रयत्नस्वरूप मैले थपें, “छोरी ! अहिले हाम्रो देशमा भ्रष्टाचारको जालो फैलिएको छ । अधिकांश नेता र कर्मचारीहरू दलाल बनेका छन्; माफिया बनेका छन्; तिनीहरू आफ्नो स्वार्थभन्दा माथि उठेर जनताको सेवामा जुट्न सकिरहेका छैनन् । एक किसिमले भन्ने हो भने अहिले अन्धकारकै राज छ । सर्वहारा जनताका पक्षमा लडेका माओवादीहरू पनि केही विलासी बन्न पुगेका छन् यद्यपि सबै माओवादीहरू भोगीविलासी छैनन् । केही त गरीबनिमुखा जनताकै पक्षमा लाग्नुपर्छ भन्नेहरू पनि छन् । अति भएपछि खति हुन्छ भन्छन् ! यी भ्रष्ट अत्याचारीहरूको अत्याचार अति भएको हुनाले अब यिनीहरूको खति निश्चित छ भन्नेमा म त विश्वस्त छु छोरी !”
“लोकतन्त्र आएको पनि यतिका वर्ष भयो । माओवादीहरू सरकारमा पनि पुगेकै छन् तर पनि किन होला ममी, जनताको जीवनस्तर माथि उठ्न नसकेको ? किन अझै पनि देशमा अन्धकारकै साम्राज्य फैलिरहेको होला ?” छोरीले देश र जनताप्रति चिन्ता व्यक्त गर्दै सोधिन् ।
“अन्धकार सधैंभरि रहँदैन छोरी ! चौबिसै घण्टा अन्धकार त कहाँ हुन्छ र ! रातपछि दिन त आउँछ नि ! अन्धकार सकिएपछि सूर्योदय अवश्य हुन्छ । मलाई त यस्तो लाग्छ कि– अहिलेका यी तस्कर र भ्रष्टहरूले भ्रष्टाचारको पनि सीमा नाघिसकेका छन् । यिनीहरूको यही कर्तुतबाट पनि झन् छिटो सुनौलो बिहान उदाउनेछ भन्नेमा म त विश्वस्त छु छोरी !”
मैले यसो भन्दै गर्दा छोरीको अनुहारमा केही आशाको भाव सञ्चार भएको अनुमान लगाएँ । अघि धूप सल्काउँदा आँसुले भरिएका उनका आँखामा अहिले आँसु थिएन । मैले छोरीको अनुहारबाट आफ्ना आँखा निकालेर पश्चिमतिर ओरालो लाग्दै गरेका घाममा पुर्याएकी मात्र के थिएँ नजिकैको मोटरबाटामा भिमादतिर फर्कंदै गरेको एउटा जीपले हर्न बजायो । हामी हतारहतार बाटामा झरेर जीप चढी आफ्नो गन्तव्यतिर लाग्यौं । –sahityapost








प्रतिकृया दिनुहोस्