आफैँसँग नजिकिन टाढा जाँदैछु

गत चैत्र २६ गते, सामाजिक सञ्जालबाट ३ महीनाका लागि टाढिने निर्णय लिएँ । आज चैत्र २९, दिमाग चक्राइसकेको छ । म सोच्थेँ, सामाजिक सञ्जाल र मोबाइलभन्दा पर पनि मेरो जिन्दगी छ, तर म गलत रहेछु । दिनमा ४ देखि ५ घण्टा मोबाइल चलाउने मलाई मोबाइल नचलाउँदाको फुर्सद या भनौँ बोरियतले साह्रै अप्ठ्यारो पारेको छ । बिहान उठेर केहीबेर हिँड्नका लागि निस्कन्छु । फर्कन्छु र एकछिन कुकुरलाई खेलाउँछु । अनि शुरु हुन्छ बोरियतको सिलसिला । पढ्ने बानी छ, पढ्छु । हिजो सआदत हसन मन्टोको “स्याह हाशिये और अन्य कहानियाँ” पढेँ । पढिनै रहेँ …… धेरैबेर । आज लागिरहेछ, म एउटा लतबाट निस्किएर अर्को लतमा फस्नु हुँदैन । लेख्ने मानिस भएकाले पढ्नु आवश्यक छ तर पढिहरने लत पनि राम्रो हैन । निजा फाजलीको एउटा शेर छ:
धूप में निकलो घटाओं में नहा कर देखो
ज़िंदगी क्या है किताबों को हटा कर देखो ।
यसलाई पनि मनन् गरिरहेको छु । यो ३ दिनमा फुर्सदलाई कसरी तह लगाउने होला भनेर अनेक कुरा दिमागमा आए । ३० मिनेट जति गीतार बजाएँ । केही शब्द गुनगुनाएँ । कोठामा छरपस्ट भएका लुगालाई दराजमा मिलाएँ । झ्यालमा लागेको धुलो पुछेँ । अँ.. एकाध पल्ट हुत्तिदै युट्युबमा नपुगेको हैन तर अर्को लत लाग्न दिनु थिएन, आफैँलाई सम्झाएँ । मोबाइल मात्र हटाउँदा जीवन कति खालि हुने रहेछ बल्ल अनुभव गर्दैछु । अहिले बेला बेला शून्य भएर कोठाको भित्तालाई पनि हेरिबस्छु । बेग्लै शान्ति छ । बोरियत प्रशस्त छ । यसलाई सही ठाँउमा प्रयोग गर्न सके उचित हुन्छ । यही एउटा अठोटका साथ बाँचिरहेछु ।
सोच्न बाध्य छु, यदि हरिवंश आचार्य सानो छँदा हामी जसरी सामाजिक सञ्जालमा अल्झिएको भए उनी हरिवंश आचार्य बन्थे ? कुकुरको आवाज निकाल्न सिक्ने समयमा उनी कोहीसँग च्याट गर्दै हुन्थे होलान् । मोबाइलको स्क्रीनमा निउरिँदा उनले आफू वरपरका मानिसलाई नियाल्न सक्दैनथे, शायद । मानिसलाई नियाल्न नपाएका हरिवंशले खै कसरी जीवन्त बनाउन सक्थे होला र आफू निभाएका पात्रहरूलाई ? महात्मा गान्धी सामाजिक सञ्जालको लती भएको भए भारतको के हुने थियो ?
पछिल्लो समय म एकाध कुराबाट पिरोलिएर सामाजिक सञ्जालसँग दूरी बनाइरहेको छु । कोभिडताकाको कुरा हो, लगभग ६ महीना सामाजिक सञ्जालबाट विश्राम लिएको थिएँ । त्यही दौरान ९० वटा जति कवितालाई समेटेर कवितासङ्ग्रहको पाण्डुलिपि बनाएँ । दुई वर्षअघि त्यही पाण्डुलिपि कवितासङ्ग्रह “समयका खुकुला चप्पल” बनेर प्रकाशनमा आयो ।
त्यस्तै, पोयट आइडलको मञ्चभित्र हुनुपूर्व पनि १३ दिन सामाजिक सञ्जालबाट बाहिरै रहेको थिएँ । आइडलको प्रतिस्पर्धी रहँदै गर्दा पनि दुई दिनका लागि हामीबाट मोबाइल खोसिन्थ्यो, र कविता लेख्न लगाइन्थ्यो । त्यही समय हो मैले आफैँलाई चित्त बुझ्ने एकाध कविता लेखेको ।
यसपालि सामाजिक सञ्जालबाट पर रहनुले मलाई जीवन , कविता र आफ्ना उपलब्धिहरूलाई धोरिएर हेर्ने मौका दिएको छ । सामाजिक सञ्जाल छोडेपछि बिहानै उठेर हिजो भोगटेको रुखमा बसेर ‘कुक्कु, कुक्कु’ गरिरहेको कुक्कुचरोलाई सुनेँ । टेबलमा पानी नपुगेर काकाकुल भएका बिरुवालाई थोरै पानी पिलाएँ । नारायण गोपालका गीत झन् गहिरो गरी गाडिएका छन् अन्तःकरणमा, एकाग्र भएर सुन्न थालेको छु । लाज लागे पनि मलाई नाँचुनाँचु लागेको छ । गाउँ थर्कने गरी गीत गाइदिन मन लागेको छ । कहिलेदेखि पढौँ लागेका तर नभ्याएका किताब छन् कोठामा, पढ्ने उर्जा भरिएको छ । खाटकै छैउमा मेरो कुकुर ‘भोलु’ पल्टिरहन्छ । हिजो आज समय दिन्छ मलाई भनेर होला, अलि धेरै झ्याम्मिन थालेको छ । म भोलुलाई निक्कै मिनेट सुम्सुम्याउन थालेको छु, रहरैले । ६ हजार १०० हाराहारी साथी छन् फेसबुकमा । इन्स्टाग्राममा २ हजार १०० हाराहारी । त्यसले अचेल खासै महत्त्व राख्दैन मेरो जीवनमा ।
कविता किन लेखिरहेछु ? एउटा जिम्मेवारीबोधले ? मेरा कविता मन पराउनेहरूलाई कविता लेख्दै छु है भन्नलाई ? आफैँलाई सोध्छु । मनले हैन, अचेत लेख्नैपर्छ भनेर समाजिक सञ्जालको अल्गोरिदमले भनिरहन्छ । किन हो को नि, हिजोआज अल्गोरिदम कला मार्ने विष लाग्छ । कला करले हैन आवश्यकताले जन्मिनु पर्छ – म यस्तै सोचिदिन्छु । ‘मलाई केही भन्नु छ’ भनेर जन्मिएको कला ‘मैले केही भन्नै पर्छ’ भनेर जन्मिएको कलाभन्दा हजारौँ गुणा बलियो हुन्छ, आफ्नो पनि हुन्छ – म यही सोचिबस्छु । फेम भन्ने कुराले पनि मलाई अचेल खासै आकर्षित गर्दैन । विप्लव प्रतीक सरको एउटा कवितांश छ:
मलाई मन छ, म भएको
कसैलाई थाहै नहोस्
मलाई मन छ, म गएको पनि
कसैलाई थाहै नहोस्
मलाई कसो कसो त्यस्तै हुन मन छ । मैले पनि एउटा सानो कविता लेखेको छु पढ्नुहोस् है ।
याद त आउनु पर्ने थियो
बाले काँधमा बोकेर बजार डुलाएको
याद त आउनु पर्ने थियो
बाले पहिलो जमेट्री बक्स दिलाएको
कलेज जाँदा गोजीमा हालिदिएको पाकेट खर्च
अनि पास हुँदा काँधमा मारेको मीठो धाप
तर बाको किरिया बसुन्जेल
मोबाइलले मलाई चलाइरह्यो
बालाई सम्झिने फुर्सद नै मिलेन …
यो कवितालाई काल्पनिक मानिदिनुभए बेस हुन्छ । मलाई पनि यो कविता स्वीकार्न सकस भइरहेको छ । के के लेखिदिन्छु, आफैँलाई मन पर्दैन । कल्पनाले पनि के के जाती गराउँछ गराउँछ ।
क्याल निउपोर्टले आफ्नो किताब ‘डिप वर्क’मा लेखेका कुराहरूको निचोड छ – सिर्जनशीलता बोरियत (Boredom) को उपज हो । यो एकाध दिनमा मलाई यस कुरामा गहिरोसँग विश्वास हुन पुगेको छ । म प्लसटु पढ्ने बेलाको कुरा हो । एक जना दाइले विदेशबाट मोबाइल पठाइदिन्छु भन्नु भएकाले मैले नेपालमा मोबाइल किनिनँ । दुई वर्षसम्म नोकियाको पुरानो मोडल चलाएँ । त्यस समय अरु आफ्नो भर्खर आएको एन्ड्रोइड मोबाइलमा क्यान्डी क्रस खेल्थे, म भने सोनु निगम अनि महोमद रफीका गीत सुन्थेँ । १५ सय गीत त मोबाइलमा राखेर हिँड्थेँ । शंकर महादेवनको ब्रेथलेस गाना कण्ठ पार्थेँ अनि बाबाको दराजबाट ‘चपाइएका अनुहार’ झिकेर एकै बसाइमा सकाउथेँ । त्यो समय अर्कै थियो ।
कलेजमा खाजा खान पाएको पैसाले किताब किन्थेँ, नयनराज पाण्डेलाई त्यसैबेला पढेको हुँ । स्नातकको पाँच सेमेस्टरसम्म पनि म केवल किताबमै थिएँ, आफैँसँग थिएँ । त्यसपछि नै हो मैले आफ्नो समय सामाजिक सञ्जालसँग बाँड्न थालेको । साला, समय खाँदो मात्र रहेछ, खुशी दिन भने नसक्ने रहेछ ।
‘सङ्गत असल साथीको मात्र गर्नुपर्छ भाइ, नत्र उँभो लाग्न दिँदैनन्’ भन्नु हुन्थ्यो बाले । मलाई बाको यो कुरामा रत्ती विश्वास थिएन । तर सामाजिक सञ्जालले उहाँको कुरालाई साँचो सावित गरिदियो । ‘धत् ! यस्ता साथीलाई त लात हानेकै बेस’ भनेर उम्किएको छु यसको जालबाट । सोचेको छु, ३ महीना सामाजिक सञ्जालबाट टाढा रहँदा पनि मलाई यसको साथ आवश्यक लागेन भने म कहिले पनि नफर्कने गरेर यसको सङ्गत छोड्नेछु । यो आफैँसँग गरेको वाचा हो ।
म सोच्छु, कवि हुनु वा मैले लेख्नु प्लसटु पढ्दा मोबाइल नभेट्नुको कारण सम्भव भएको हो । जब समय खालि हुन्छ तब मात्र नयाँपन वा प्रयोगले जीवनमा ठाउँ पाउँछ, यो कुरामा म विश्वस्त भएको छु । समय नै नभएपछि वा मोबाइले चोरिदिएपछि के पो होला र … के ले पो भरिएला र जीवन ? यो लेख आफैँमा बोरियतको उपज हो । केही काम नभएपछि लेख लेख्ने हुटहुटी लाग्यो । लेखिदिएँ ।
तपाईँ सोच्नुस् त, मोबाइल हातमा भएको भए म अहिले के हेर्दै हुन्थेँ होला ? -sahityapost
प्रतिकृया दिनुहोस्