कथा: अप्रिय पिताजी !


अप्रिय पिताजी, प्रणाम ! आरामै हुनुहुन्छ ? भनेर सोध्ने ठाउँ छैन । अस्पतालमा भएको मानिसलाई कसरी आराम हुन्छ र ? आफ्नै कारणले आफ्नो जन्मदाता अस्पताल पुगेको सुन्दा कुन छोरीले सहज रूपमा लिन सक्छे ?
अप्रिय पिताजी, (माफ गर्नुहोला, तपाईं मेरा लागि अप्रिय नै हुनुभयो । तपाईंका लागि अन्तिम पत्र भएकाले सत्य बोल्नुपर्छ । कतै अप्रिय लेखिन गयो भने क्षमा दिनुहोला । आलो घाउमा नूनचुक परे माफी चाहन्छु ।)
सीधा बोल्न पनि हच्कने, अति संस्कारित, सबैले मानेकी छोरीबाट यति कडा पत्र पाउँदा तपाईं छक्क पर्नुहोला, यदि पढ्नुभयो भने । खासमा तपाईंले मबाट आशा गरेको माफिनामा होला । तर यो माफिनामा होइन । तपाईंले तस्वीरमा नग्न देख्नुभएकी यी छोरी, तपाईंकै कारण नग्न भएकी हो । राम्रै भयो, तपाईंले मेरा स्तन देख्नुभयो । जवान छोरीका गुप्ताङ्गका रौं देख्नुभयो । सम्पूर्ण नग्नताबीच पनि हाँस्न खोजेको तपाईंकै बान्की परेको आफ्नै छोरीको अनुहार देख्नुभयो । एउटी संस्कारित, धर्मभीरू, आत्मीय छोरीको नग्नता ? गाह्रो भयो, सहनै गाह्रो भयो । त्यसैले त आत्महत्याको प्रयास गर्नुभयो ।
तपाईंका ईश्वर कति निर्दयी मर्न पनि दिएनन् । फेरि मेरो नग्न तस्वीर हेर्दै रुनुभयो रे । मायाले त पक्कै होइन होला । नत्र फोनमा बोल्न किन अस्वीकार गर्नुहुन्थ्यो ? आफूले जन्माएकी छोरीप्रति एउटा पिताजीले यति घृणा कसरी गर्न सक्छ, त्यो पनि समाजसेवक, धर्मसेवकले !
धर्मले त प्रेम सिकाउँछ । होइन र ?
फेरि पनि राम्रै भयो । शायद फोनमा सबै कुरा भन्न सक्तिनथें । पत्र नै ठीक छ । कम्तीमा विस्तारपूर्वक लेख्न त सक्छु ।
अप्रिय पिताजी,
जन्मेदेखि मैले थाहा पाएको कुरा, म कन्या हुँ। पूजनीय हुँ । मैले टीका लगाए पैसा पाउँछु । खुट्टामा ढोगिन्छु । ब्राह्मणपुत्री, ज्ञानयोग मेरो लक्ष्य । संस्कारित कर्म मेरो दैनिकी ।
‘सानैदेखि ज्ञानी । अहो, चेहरा नै कति भाग्यमानी !’ आमा भन्ने गर्नुहुन्थ्यो, ‘हरेक बिहान तैले माझ्ने भाँडा र पूजाकोठाको सेवा गरेकै कारण लक्ष्मीले पनि तँमाथि बास गर्नुभएको छ । आफ्नो धर्म-कर्म र संस्कार कहिल्यै नछाडेस् ।’
आमाका वचनले मलाई हौसला दिन्थे । मनमनमा प्रण गर्थें, ‘म ईश्वरले देखाएको बाटोमा हिँड्नेछु । बाबुआमाको इज्जत राख्नेछु । साक्षात् देवीका रूपमा आफूलाई मन, वचन र कर्मले पोषित गर्नेछु ।’
***
‘छोरी ! उठ्, आज कन्यापूजा छ । आज तँलाई देवी भगवती बनाउने,’ कपाल पन्छाउँदै निधारमा चुम्मा दिनुहुन्छ आमाले ।
म ब्यूँझन्छु । अर्धनिद्रामै उठ्छु ।
आङ तन्काउँदै खाटबाट उत्रँदै गर्दा चन्दनको वासना नाकमा आउँछ । घरमा धूपबत्ती भइसकेछ । नुहाउन जाँदा बाटोमा पारिजात, सयपत्री, चमेली सबै जम्मा गरिसक्नुभएको रहेछ । धुपौरोमा कपुर जलिरहेको छ । पर पूजा कोठामा तपाईंको लयात्मक संस्कृत मन्त्रोच्चारण आइरहेको छ, ‘मङ्गलम् भगवान् विष्णु मङ्गलम् गरुडध्वज । मङ्गलम् पुण्डरीकाक्ष मङ्गलाय तनोहरि ।’
साथमा घण्टीको आवाज ।
म बाहिरतर्फको स्नानघरमा आमाले ठीक पारेर राख्नुभएको मनतातो पानीमा नुहाउँछु । आमा र दिदीहरूले कन्याको सिँगारपटार गरिदिनुहुन्छ । रातो चोली, रातो फरिया र पटुकीमा बेहुली झैँ सजिन्छु । छमछम चुरा र पाउजुले मेरो हिँडाइको ताललाई थप शृङ्गार गरिदिन्छ । मगमगिएको पूजाकोठामा जान्छु, जहाँ तपाईं एकनासले चण्डी पाठ गरिरहनुभएको छ ।
‘नेपालतिर फर्केर प्रणाम गरिस् ?’ तपाईंले सोध्नुभयो ।
घरमा पूजाआजा हुँदा सबैभन्दा पहिले उत्तरतर्फ फर्केर प्रणाम गर्ने चलन छ । नेपाल पितृदेश, उत्तरतिर फर्केर उनलाई नमस्कार गर्नु, तपाईंको यो वचन पनि सुन्दै आएकी हुँ । देवी दुर्गा जस्तै पितृदेश पनि कुनै देवता होलान् । यो पूजाकै अभिन्न अङ्गका रूपमा बुझेकी छु ।
तपाईंको पाठ सकियो । घरभरि छिमेकीहरू जम्मा भए । साथमा मसँग पूजिने अन्य देवीहरू पनि आइपुगे । मन्त्रोच्चारणसहित हामीलाई पानीले अभिषेक गर्दै टीका लगाइदिनुभयो ।
‘निधारको टीका, भाग्यको टीका, सधैँ लगाइराख्नू । आफूभन्दा ठूलाको वचन कहिल्यै नकाट्नू । धर्मशास्त्रका वचन ख्याल राख्नू ।’
घरमा पूजा चल्दै रह्यो तर हामीलाई स्कूल जान हतार । नजिकिँदै गएको नौ कक्षाको परीक्षाका कारण मात्र होइन, स्कूलमा अनिवार्य उपस्थित हुनुपर्ने नियमका कारण पनि हामीले विद्यालयको पोसाक लगायौं । तर निधारको अक्षता, तिलक र चन्दन मेट्न मन लागेन । पवित्रताको चिह्न कसरी मेटौं !
कक्षाकोठामा छिरेकी मात्र थिएँ, साथीहरूले मेरो निधारको टीका, चन्दन र तिलकको हुर्मत लिए, मजाक उडाए । कतिसम्म भने, दश कक्षाका विद्यार्थीसमेत हेर्न बराम लागे । बर्मेलीहरूमाझ म कक्षामा एक्ली गोर्खाली थिएँ । धर्मको प्रतीक मेरो भरिएको निधार उनीहरूका लागि कला (पाखे विदेशी) बनिदियो । लगातारको जिस्क्याइले म पिलपिलाउन थालें ।
यसैबीचमा योगराज कक्षाकोठामा आए । उनी दश कक्षाको परीक्षा सकेर विद्यालयमा स्वयम्सेवी काममा खटिएका थिए । ममाथि भइरहेको अपमान देखेपछि उनले सबैलाई गाली गर्दै धपाए । अप्ठ्यारो अवस्थामा एकै पटक कुनै गोर्खालाई देवदूत झैँ बचाउन आएको देख्दा मैले मन थाम्न सकिनँ । उनलाई अँगालेर रुन थालें ।
अपमानबोधले थिचिएका वेला यसरी उद्धार गर्ने व्यक्ति मेरा लागि सिनेमाको हिरोभन्दा कम भएनन् । यसअघि पनि उनीमाथि मेरो ध्यान नगएको त होइन तर यस घटनापछि उनी मनमा गहिरो गरी बसे । स्कूलबाट घर फर्कंदा मेरो मनमा योगराज मात्रै थिए ।
***
तिहार आयो । त्यसताका तपाईं कतै पनि धार्मिक कर्मकाण्ड गराउन जानुभएन । करीब एक महिना परिवारसँगै रहनुभयो ।
हो, यहीबीचमा तपाईंले मलाई धार्मिक, सांस्कृतिक कथाहरू र तिनका अर्थ राम्रोसँग बुझाउनुभयो, जुन मैले सानैदेखि सुन्दै र महसूस गर्दै आइरहेकी थिएँ । छोरी मान्छेले गर्न हुने र नहुने कुरालाई राम्रोसँग व्याख्या गरिदिनुभयो । स्त्रीको एउटै पति, त्यही पति नै परमेश्वर, उनैद्वारा पालितपोषित हुँदै उनकै घर सम्हालेर स्वर्ग बनाउने सूत्र पनि दिनुभयो ।
***
अप्रिय पिताजी, अर्को वर्ष प्रवेशिका सकेपछि स्कूलको नियमबाट पूर्ण रूपमा स्वतन्त्र भएँ । त्यही वर्ष तपाईंले पहिलो पटक मलाई स्वस्थानीको औपचारिक व्रत शुरू गराउनुभयो । मैले शिवजीको तस्वीरलाई साक्षी राखेर योगराजको नाममा व्रत शुरू गरें । कथा पढ्ने वेलामा वरपरका केही गोर्खालीहरू पनि सुन्न आउँथे । बर्मेली केटाकेटीहरू भने पञ्चामृत खाने वेलामा हात थाप्दै आउँथे । कथा जतिजति बढ्दै जान्थ्यो, मेरो मनमा योगराज उतिउति बस्दै गए । योगराज बर्मेलीहरूको बीचमा मन मिल्ने, उमेर मिल्ने र जातसमेत मिल्ने एक मात्र गोर्खाली थिए । स्वस्थानीमा पतिपत्नीका बीचमा वर्णन गरिएका जति शब्द छन्, वाक्य छन्, करीबकरीब ती याद थिए । अहिले ती सबैको अर्थ छर्लङ्ग भए जस्तो लाग्यो । श्रीमान्लाई गाली गरे मुख बाङ्गो हुन्छ, परपुरूषसँग सम्पर्क गरे घोर नरकमा जान्छे । झुपडीमा राखे पनि, अति गरीबीमा भए पनि त्यही थोत्रे घरलाई सम्हालेर बस्नुपर्छ । जसरी गोमा ब्राम्हणी बसिन् । आदि-इत्यादि । मलाई शिव र सतिदेवीको कथाले भावविह्वल बनायो । पार्वतीले तपस्या गरेर शिवजी प्राप्त गरेपछि प्रेमविजयले हर्षका आँसु झरे ।
महिना दिनपछि आमाले तपाईंलाई आठ रोटी खान दिनुभयो । मलाई भने भोलिपल्ट त्यो आठरोटी पैस्वेको खोलामा बगाउन छुट्टै राख्न अह्नाउनुभयो । मैले मनमनमा त्यो आठरोटी योगराजलाई दिने प्रण गरे ।
तपाईंलाई के ढाँट्नु, मैले विद्यालय छाडेपछि हामीबीच प्रेम जस्तो केही शुरू भइसकेको थियो । उनले प्रेमपत्र पठाएका थिए । जसको उत्तर दिन पटकपटक लेख्दै, च्यात्दै गर्दा एकदुई ओटा कापी सकिसकेकी थिएँ ।
धेरै दिनयता योगराजलाई देखेकी थिइनँ । उनी रोजगारीका लागि थाइल्यान्ड जाने तयारी गरिरहेको सुनेकी थिएँ । मेरो आठरोटी नखाई उनी हिँडिसके कि ? रातभर खूबै चिन्ता लाग्यो । भोलिपल्ट बजार जाने निहुँले तरकारी किन्ने झोलामा जतनका साथ आठ रोटी, आठ दाना काशी वयर, आठ दाना मिठाई राखे । त्यसमाथि लुकाउन केही घरेलु सामग्री बाहिरबाट खाँदे ।
योगराजको घर पुग्दा थाहा भयो, उनको थाइ यात्राको तयारी शुरू भएको रहेछ । उनले ठूलो ब्यागमा आफ्ना कपडा, किताब र अन्य बन्दोबस्तीको सामान राखिसकेका रहेछन् । ‘यो हजुरलाई । मैले व्रत लिएकी थिएँ, डराइ-डराई प्लाष्टिक झोलामा जतनसाथ बेरेका आठरोटी झिके । उनले एउटा रोटी झिक्दै भने, ‘कति सानासाना सेलरोटी । अलि ठूला छैनन् ?’ उनले एउटा सेलरोटी मुखमा हाले लगत्तै अर्को रोटी पनि झिके ।
मलाई लाज लाग्यो । केही भन्न सकिनँ । उनले शायद आठ रोटीको अर्थ बुझेनन् कि !
‘बाबाले पनि आमालाई यस्तै रोटी दिनुभएको थियो । व्रतका रोटी यस्तै हुन्छन् होला नि ।’
‘तिमीले पनि व्रत लिएको ?’
‘हजुर,’ म लाजले रातोपीरो भएँ । हतारहतार निस्कन खोजें ।
योगराजले च्याप्प समातेर छेउमा राखे । त्यसपछि ढोका बन्द गरेर भने, ‘म कमाउन जाँदै छु । कहिले फिर्छ थाहा छैन । तिमीले मेरा लागि व्रत बसेकी हौ भने मलाई दिनुपर्छ ।’
उनले मेरो स्तन समाइदिए र ओठ चुस्न थाले ।
‘आज होइन भोलि, यहाँ होइन,’ म आत्तिएँ । के भन्नुपर्छ होश नै पाइनँ । यो मेरा लागि अकल्पनीय कुरा थियो ।
त्यहाँ जाँदै गर्दा पर बारीमा योगराजकी आमा केही टिपनटापन गर्दै हुनुहुन्थ्यो । झट्ट सम्झेर भनें, ‘ठूली मम्मी बारीमा हुनुहुन्छ । मलाई यहाँ आएको देख्नुभएको छ ।’
मैले उम्कने बहाना पाइहालेँ । जुरुक्क उठेर ढोकामा पुगें ।
‘त्यसो भए भोलि । पौपा गुम्बाको पछाडि । खाना खाएर त्यहाँ पुग है त । म पर्खिरहन्छु ।’
***
रातभर निद्रा लागेन । उनले भनेको ठाउँमा नजाऊँ, उनलाई माया गर्छु । जाऊँ, अभूतपूर्व डर लागिरहेछ । एउटी स्त्रीका लागि माया गर्नु कति गाह्रो ! बिहेअघि नै योगराजको प्रस्ताव कसरी मानूँ ? न त माया मार्न सक्छु, न त शरीर सुम्पन ! प्रेम र नैतिकताबीच, धर्म र शारीरिक सम्बन्धबीच तारतम्य मिलाउनै सक्तिनँ । बिहान भाले बास्न थालेपछि बल्ल झकाउँछु तर आमाले पूजाभाँडा मोल्न उठाउनुहुन्छ ।
मनोयोगका साथ म भाँडा माझ्छु र भगवान्सँग योगराज माग्छु । फूल टिप्छु र उनै योगराज माग्छु । पूजा कोठामा सामग्री र फूल राखिदिन्छु र फेरि पनि योगराज नै माग्छु ।
तर मनमा भने द्वन्द्व छ, भेट्न जाऊँ कि नजाऊँ ! बिहान खाना खाउन्जेलसम्म द्वन्द्व चलिह्यो । मैले चिनेका बर्मेली ठिटीहरू यौनमा उदार छन् । म उनीहरूका अनेक किस्सा सुन्दै र देख्दै हुर्केकी । गोर्खालीका छोरीहरू त्यसरी नबिग्रिऊन् र संस्कार नबिर्सिऊन् भन्नुहुन्छ तपाईं । बिहेअघिको सम्बन्धलाई कलि व्याप्त भएको मान्नुहुन्छ । अझ छोरीहरू कमाउन निस्केको, खुला कपडा लगाएको र थाइ गएर कमाएको त फुटेका आँखाले देख्न सक्नुहुन्न । आफ्ना हरेक कथाहरूमा गोर्खालीलाई कुनै पनि रूपमा छोरीलाई बाहिर पठाउन निषेध गर्नुहुन्छ ।
यस्तो अवस्थामा मेरो प्रेम र तपाईंको धर्म संस्कारबीच तारतम्य मिलाउन गाह्रो भइरह्यो । खाना खाउन्जेलसम्म म योगराजले बोलाएको ठाउँमा जान्नँ भन्ने निर्णयमा पुगें ।
जसै समय बित्दै गयो, आफूलाई रोक्न सकिनँ । योगराज थाइ जाँदै छन् । मेरो शिवजी पनि उनी, पतिदेव पनि उनी । भविष्य पनि उनै । कसरी अस्वीकार गर्न सक्छु र ? मुटुलाई उसको तालभन्दा बढी बज्न दिँदै म योगराजले बोलाएको स्थानमा पुगें ।
योगराज शायद तयारी अवस्थामा थिए । गुम्बापछाडिको सानो छाप्रोमा मलाई लिएर गए । मलाई उनको मोहक मुस्कानबाट फकाए । थाइबाट फर्कनेबित्तिकै बिहे गर्ने सपना देखाए । उनी जतिजति प्रेम र विवाहको कुरा गर्थे, म उनीसँग पग्लँदै-पग्लँदै गएँ । हामीबीच जात, धर्म, संस्कार मिलेकाले बिहे नहुने कुनै अवरोध नै नदेखेको बताइरहँदा म लोलाएँ ।
अकस्मात् मैले आफूलाई उनीबाट छुटाएँ । छेउको माटो कोट्याएँ र एक मुठी बोकें । माटो उनीतिर अघि बढाउँदै भनें, ‘मलाई यसको सिन्दूर लगाइदिनू ।’
योगराज मुस्कुराए । उनले त्यही माटोको सिन्दूर हाले र अँगालोमा कसे ।
कुन वेला म उनमा समर्पित भएँ, होशै भएन । आत्तिएर, डराएर हतारमा मैले के गरें, के गरिनँ, थाहा पाइनँ । योगराजमा म पूर्ण रूपमा समाहित भएँ । त्यो समागम हतारमा, चिसो छाप्रोमा, अनेक डरहरूबीच भएको थियो । तर पीडादायी नै भए पनि उनकी श्रीमती भएकी थिएँ । समाजले के ठान्छ, तपाईंले कसरी लिनुहुन्छ, भोलि के हुन्छ ? कुनै पनि कुरा मनमा आइरहेको थिएन । फरक तरीकाले यो घटना भइरहेको थियो र म पानीमा बगेसरी योगराजमा बगिरहेकी थिएँ ।
क्लान्त उनी जब मान्छेहरूका आँखा छलेर फुत्त बाहिर निस्किए, तब एकाएक म एक्ली भएँ । आफू रित्तो महसूस गरेर हो कि किन हो, म निकै बेर टोलाएँ, नजानिँदो गरी आँखाबाट आँसु झरे । पछि, कतै कसैले मलाई यो अवस्थामा देखिहाल्ला कि भनेर झसङ्ग हुँदै, डराउँदै र केही सजग हुँदै घर पुगें ।
***
केही दिनपछि योगराज थाइल्यान्ड गए । यो पीडामा उनलाई खाली हात पठाउन सकिनँ । उनका लागि आफूले जम्मा गरेको पैसा, घाँटीमा लगाएको सुनको सिक्री र एउटा ऊनको टोपी उपहार दिएँ ।
उनको थाइ प्रस्थानपछि अचानक मलाई मेरो घर पराई र योगराजको घर आफ्नो लाग्न थाल्यो । मेरा पेवा मेरै जस्ता लाग्न छाडे । तर म अहिले नै तिनलाई त्याग्न सक्तिनथे, योगराजकहाँ गएर बस्न पनि सक्तिनथें । मैले बिनापण्डित, बिनामन्त्रोच्चारण, आफैले आफ्नो गोत्र परिवर्तन गराएकी थिएँ । डराइडराई पूजाकोठा पस्छु, रुँदैरुँदै ईश्वरसँग क्षमा माग्छु । दुःखी मनले पञ्चपात्रो, शङ्खघण्ट सफा गरेर बिटुलो बनाउँछु । ईश्वरलाई योभन्दा अनादर के हुन सक्छ र ? गोत्र परिवर्तन बाहिर होइन, मनभित्रबाट पो हुँदो रहेछ । मनमनमा क्षमा मागिरहन्छु । एक्लैएक्लै रोइरहन्छु । योगराजलाई कल्पन्छु र चाँडै आएर आमाबुबाबाट मलाई आफ्नै घर लगेको सपना देख्छु ।
घरको पूजाकोठामा बाहिरी मान्छेलाई छिर्ने अनुमति छैन । विवाहित दिदीहरूलाई पनि छैन । दिदीहरू जस्तै मेरो पनि गोत्र परिवर्तन भइसक्यो । कुलदेवताको अपमान कसरी गर्न सक्छु ? अब के अनिष्ट हुने हो ? अज्ञात भयले मलाई पिरोलिरहन्छ ।
केही दिन जसोतसो पूजाका काम गर्छु । तर पनि पूजाकोठामा यसअघि गरिरहेको काम गर्ने सक्तिनँ । अब त्यतातिर गए पनि घुँडा काँप्न थाल्छ । योगराजसँगको क्षणिक सुख मेरा लागि हरेक बिहान-बेलुकी कम्पन छुटाउने समय बन्न थालेको छ । अब जाडोमा पनि निधारको पसिना पुछ्दै पूजाकोठाको काम गर्नु र बारम्बार ईश्वरसँग माफी माग्नु मेरो दैनिकी बन्यो । देवतासँग, देवीसँग र स्वयम् महादेवसँग पटकपटक प्रार्थना गर्न थालें, ‘मेरो गल्ती हो भने माफी पाऊँ, योगराजलाई आफ्नो श्रीमान्का रूपमा पाऊँ ।’
अप्रिय पिताजी, तपाईंले दिनुभएको संस्कार थियो । तर यही संस्कार मेरा लागि भयङ्कर पीडादायी भइदियो । यो दुःस्वप्न यति गम्भीर हुन पुग्यो कि एकै पटक अँध्यारो कुनामा पुगें । घर मेरा लागि घर जस्तो भएन । योगराज कुनै बिरानो देशमा बिलाए जस्तै मेरा सारा खुशी, चञ्चलता र मभित्रको लयालु मान्छेको भविष्य चौपट हुन पुग्यो ।
घर बस्न नसकेपछि तपाईंलाई अनुनय-विनय गर्दै कलेज पढ्ने बहानामा माण्डले भाग्ने योजनामा थिएँ । तपाईं मचिनाको कुनै ब्राह्मण परिवारमा विवाह गरेर पठाइदिन चाहने, म पढ्न चाहने । केही दिन तपाईं र मबीच ठूलो द्वन्द्व चल्यो । तीन दिन बिनासाइत रुवाइसहितको उपवासपछि तपाईंको होइन, आमाको अनुमति प्राप्त भयो । म पढ्न रुचि राख्ने केटी होइन । तर घरबाट भाग्नुको यो एउटा ठूलो बहाना बन्न पुग्यो । यसरी तपाईं र मबीच दूरी कोरियो । थाहा थिएन, आज तपाईंको यो अवस्थामा त्यही कुरा सम्झनुपर्छ ।
***
अप्रिय पिताजी, माण्डले हिँडेपछिको मेरो जीवनयात्रा ठीक त्यस्तै भयो, जस्तो मोगोक-माण्डले सडक छ । हेर्दा पिच गरेको तर हरेक १० मिटरमा देखिने फरक-फरक खाल्डो ।
पहिलो खाल्डो स्वयम् योगराज थिए । धेरै कठिन गरेर थाइल्यान्डमा उनी बसेको ठेगाना पत्तो लगाएँ । भावनात्मक पत्र पठाएँ । टेलिफोन गरेँ । शुरूमा त उनी मेरो पत्र र टेलिफोनबाट खुशी भएका थिए, हैन देखिन्थे । तर बिस्तारै सत्य कुरा बाहिर आउन थाल्यो । एक दिन मेरो फोन कुनै स्त्रीले उठाइन् । खासमा उनी थाइ जस्तो महँगो ठाउँमा एक्लै बस्न नसकेर लिभिङ टुगेदरमा रहेछन् ।
मेरा विषाद्का दिन सशुरू भए । एकमनले भन्यो, थाइ नै जाऊँ र योगराजलाई ती स्त्रीबाट खोसौं । अर्को मनले भन्यो, पर्खनुपर्छ, एक दिन उनी मलाई सम्झेर फर्कनेछन् । अहो, तपाईंको आध्यात्मिक शिक्षाले मलाई योगराज अझै असल छन् भन्ने भान पारिरह्यो । तपाईंको नैतिक शिक्षामा मानिस खराब पनि हुन्छन् भन्ने पाठ थिएन । समयअनुसार मानिस परिवर्तन हुन्छ भन्ने पाठ थिएन । आधुनिक जटिल आर्थिक संरचनामा छिटोछिटो परिवर्तन हुन्छ भन्ने शिक्षा पनि थिएन । खराब पक्ष हुन्छ तर ती डरलाग्दा राक्षस मात्रै हुन्छन् । योगराज कसरी राक्षस हुन सक्छन् र ? त्यस्तो सोच्ने ज्ञान मैले पाएकी थिइनँ ।
योगराजकी केटी साथीको गाली खाए पनि, पटकपटक अपमानित भए पनि पत्र लेख्न छाडिनँ । जवाफसवाफ केही पनि आएन । वर्षदिन पछि सामाजिक सञ्जालतिर खोज्न थालेँ । म्यासेन्जरमा सन्देश लेख्न थालेँ । ब्लक भएँ । त्यसपछि इमो, ह्वाट्सएप, भाइबर, टेलिग्राम जस्ता अनेक एप डाउनलोड गरेर उनलाई खोजें । सन्देश पठाएँ । कुनैकुनै वेलामा ससाना सन्देश प्राप्त गर्थे । त्यो सन्देश मेरा लागि वर्षभरि बाँच्ने डोरो भइदिन्थ्यो ।
करीब पाँच वर्षसम्म योगराजको आशा लागिरह्यो, उनले मलाई विवाहको वचन दिएका छन् । तपाईंले पटकपटक घर बोलाइरहनुभयो । कहिले दशैंको निहुँमा, कहिले घरपूजाको बहानामा र कहिले आमाको सन्चोबिसन्चोमा । म शहरमा हजार दुःख गर्न तयार थिएँ तर घर फर्कन चाहन्नथे ।
मनले एउटै शर्त दिइरहन्थ्यो, योगराज बर्मा आउनेछन् । माण्डले वा याङ्गुन जहाँ उत्रिए पनि मलाई बोलाउनेछन् । हामीबीच सल्लाह हुनेछ । उनी तपाईंसँग मेरो हात माग्न मोगोक जानेछन् । यो खुशी साट्न तपाईंले मलाई बोलाउनुहुनेछ ।
यही आशामा ईश्वर पुकार गर्न छाडिनँ । शनिवार, सोमवार र बिहीवारको व्रत गर्न छाडिनँ । समयले जतिसुकै निराशा देओस्, ईश्वरप्रतिको आस्थाले मलाई हल्लिन दिएन ।
सावित्रीले मरेको लोग्ने सत्यवान्लाई त फिर्ता ल्याइन् । मैले जीवित योगराजलाई कसो फिर्ता ल्याउन नसकुँली !
***
अप्रिय पिताजी ! यति पढेपछि तपाईंलाई लाग्यो होला, यति आस्थावान् छोरीको नग्न तस्वीर कसरी आयो ? यो प्रश्न तपाईंले आत्महत्याको प्रयासअघि सोचिदिनुभएको भए न तपाईंको पण्डित्याइँको बेइज्जत हुन्थ्यो, न मेरो फोटोका बारेमा गोर्खाली गाउँलेलाई थाहा हुन्थ्यो ।
बितेका कुरामा पश्चात्ताप गर्नुको अर्थ छैन । यो तस्वीर किन र कसरी खिचियो ? शायद यस्ता कुरा धर्मशास्त्रले तपाईंलाई सिकाएको छैन । सिकाएको भए पनि यो ज्ञान मैले पाइनँ । जसको परिणाम अहिले भोगिरहेकी छु ।
म जुन बोर्डिङ स्कूलको छात्रावासमा काम गर्थें, देव त्यही स्कूलमा विज्ञानका शिक्षक थिए । दुवै गोर्खाली भएका कारण हाम्रो चिनजान स्वाभाविक थियो । मेरो धर्मभीरू स्वभाव, विद्यार्थीलाई गरेको प्रेमिल व्यवहार र आकर्षक रूप देखेर उनी मप्रति आकर्षित थिए । यो कुरा उनले पटकपटक नभनेका होइनन् । तर वर्षौंसम्म मेरो रुखो व्यवहारले उनी निराश भए । देवले मलाई जलाउन बर्मेली शिक्षिकासँग हिमचिम पनि बढाए । तर म योगराजको प्रेममा यति पागल थिएँ, उनका कुनै पनि कुराले हुँदै छोएन ।
एक दिन थाहा पाएँ, योगराजले विवाह गरे । उनीहरूको जोडी केही दिन मोगोक बसेर फेरि थाइल्यान्ड फर्कियो । मेरो प्रेमको छनक पाएकी एउटी स्कूले साथीले कुरैकुरामा यो कुरा फोनमा सुनाएकी थिई । यो खबर ठीक त्यही वेला थाहा भयो, जुन वेला साना केटाकेटीलाई खाना खुवाएर होस्टलबाट बिदा गर्दै थिएँ । खबर सुन्नेबित्तिकै हेडमास्टरसँग बिदा मागें र ढोका थुनेर बसें । कोठा थुनेर कति रोएँ, त्यसको हिसाब छैन । दिन बित्यो, रात बित्यो र भोलि पनि भयो । पर्सि बित्यो । ढोका खोल्दै खोलिनँ ।
मेरो व्यवहारबाट स्कूलका स्टाफहरू आत्तिए, शिक्षकहरू तनावमा आए । सबै जम्मा भए तर ढोका खोलिनँ । अन्त्यमा गोर्खाली भएका नाताले देवले नेपालीमा ढोका खोल्न अनुरोध गरे । नेपाली भाषा सुनेपछि कताकता मन रसायो । आफ्नो मातृभाषामा ठूलो शक्ति हुन्छ शायद । ढोका खोलें । रोएर अनुहार पूरै सुन्निएको थियो ।
टाउको दुखेर ढोका थुनेको बहाना गरे पनि कसैले पत्याएनन् । सत्य कुरा सुनाउन सकिनँ ।
त्यस दिनदेखि देवले मलाई खाए-नखाएको, सन्चो-विसन्चोको, हाँसे-मुस्कुराएको ख्याल गर्न थाले । नजानिँदो तरिकाले उनले गरेको स्याहार देखेर मनको कुनामा देवप्रति सकारात्मक भाव जाग्यो ।
आमा भन्नुहुन्थ्यो, ‘फर्सीका लहरा र स्त्रीको मनलाई लहरिन एउटा थाङ्ग्रो भए पुग्छ ।’
अप्रिय पिताजी, देव मेरा लागि त्यही थाङ्ग्रो बने । त्यसपछि त ससाना कुरामा पनि मैले देव नै खोज्न थालें । उनी पनि थाङ्ग्रो बन्न तयार देखिन्थे । तर यो थामोले कहिलेकाहीँ मौका खोज्दै हात खेलाउँथे, कहिले कुतकुत्याउने प्रयासमा काखी, पेटतिर सलबलाउँथे ।
म आत्तिएर हात हटाउँथें । शायद म अझै योगराजमै अल्झेकी थिएँ !
‘म तिमीलाई अझै पनि प्रेम गर्छु । र अन्तिमपल्ट तिमीलाई सँगै बस्न अनुरोध गर्छु ।’ एक दिन देवले कफी पिउँदै गर्दा मायालु पाराले सोधे, ‘कतै तिमी अरू कसैलाई प्रेम पो गर्छौ कि ?
अहो, पहिले यही कुरा सोधेको भए शायद म सत्य कुरा भन्थें । यत्रो वर्षपछि अहिले सोधे ।
‘मेरो कोही छैन । म कसैकी होइनँ ।
‘त्यसो भए हामी सँगै बसौं । यत्रो वर्षदेखि तिमीलाई होस्टलमा एक्लै बसिरहेको देख्छु । कोही केटा भेट्न आउँछ कि, तिमी कतै कसैलाई भेट्न जान्छौ कि भनेर खूब चियो गरें, कहिल्यै कसैसँग उठबस गरेको देखिनँ । यत्तिकै जीवन कति दिन चल्छ ?’
यो प्रस्ताव मेरा लागि अप्रत्याशित थियो । सोच्ने समय मागें ।
अप्रिय पिताजी, हिजो योगराज नभई मेरो जीवन नै चल्दैन जस्तो लाग्थ्यो । आज फर्केर हेरें, कति मूर्ख थिएँ । आखिर कोही छ भनेर बस्नु जस्तो मूर्खता के नै रहेछ र ? तर अहिले देव अगाडि आएका छन् । जीवनमा कोही किन चाहिन्छ ? एक्लै बस्न सकिँदैन र ?
कताकति लाग्यो, हिजो योगराजसँग बस्न पाइनँ । आज कसैले प्रेमपूर्वक सँगै बस्ने प्रस्ताव राख्छ भने उसको यो याचनामा म किन अवरोध बनूँ ? हुन सक्छ, यो अवसर पनि बन्ला, म सामान्य बन्ने ! बर्मेली समाजमा दुई जवान युवा सँगै बस्नु सामान्य हो । तपाईं जस्ता पण्डित र तपाईंले सुनाउँदै आएको धर्मका कारण हामी जवान भएर सँगै बस्न नपाउँदा रहेछौ । यथार्थबाट परपर हुँदा रहेछौं ।
यतिन्जेल म यति कुरा त बुझ्ने भइसकेकी थिएँ । त्यसैले भोलिपल्ट देवको कोठामा एउटा ब्याग लिएर पुगें ।
तर त्यसै रात जे घट्यो, म र देव दुवै छक्क पर्यौं । खाना खाएपछि देव केही रोमान्टिक हुँदै मलाई उक्साउन थाले । म पनि उनीसँग खुल्न खोजें । तर कसैगरी पनि उनीसँग सहज हुन सकिनँ ।
पहिलो रात हामी यसरी सुत्यौं, मानौं दुई विपरीत लिङ्गी होइनौं ।
भोलिपल्ट बिहान चिया पिउँदै गर्दा देवले भावुक हुँदै भने, ‘हिजो तिमीले जवान युवती जस्तो व्यवहार देखाइनौ । शायद मेरो व्यवहार अलि उत्ताउलो भयो । पहिलो दिन नै मैले त्यसो नगर्नुपर्थ्यो । क्षमा चाहन्छु ।’
राति नै उनी निदाएपछि छक्क परेकी थिएँ । मसँग उमेरमा हुनुपर्ने कुनै उत्ताउलोपन थिएन । पुरूषप्रति देखिने स्त्रीत्वको कामभाव थिएन । म झरीमा रुझेकी चरी झैं खुम्चिएकी थिएँ ।
उनलाई के नै भन्न सक्थें र ? के भएको थियो, म आफैले बुझ्न सकिनँ ।
‘तिम्रो इच्छाबेगर मबाट कुनै जोरजबरजस्ती हुनेछैन । शायद तिमी यो उमेरमा पनि कुमारी नै छ्यौ । पुरुषसँग नजिक हुन समय लाग्छ । माफी चाहन्छु ।’
योगराजलाई सम्झेँ । पहिलो समागम सम्झेँ । त्यतिखेर शायद रमाइलो पनि मानें कि ! त्यसपछि कहिलेकाहीँ योगराजलाई कल्पँदा कताकति मन रसाए जस्तो भान हुन्थ्यो । तर केही वर्षयता मभित्र करुणभाव पलाउँथ्यो । तीर्थव्रत मात्रै गर्न मन लाग्थ्यो । कुनै पनि पुरुषप्रति आकर्षण भाव आउँदै आएन । तर देवलाई यी कुरा भनिनँ ।
समयले सबै ठीक हुन्छ भन्ने लाग्यो ।
अप्रिय पिताजी, देव र म सँगै बसेको महिना दिनसम्म पनि उनीसँग खुल्न सकिनँ । उनले पटकपटक मेरो शरीर चलाए । खेलाए । मलाई खेलाउँदै आफू स्खलित भए तर मबाट केही हुन सकेन । म उनकी हुनै सकिनँ ।
समयले अर्को चिन्ता र चासो बढायो । देव मलाई रासलीला देखाउँछन् । मलाई हरेक रात पगाल्न चाहन्छन् । अनेक भिडियो, यौनसम्बन्धी अनेक अन्तर्वार्ता र विज्ञका उपायहरू देखाउँछन् । चलाउँछन् । एकैछिनका लागि म तयार हुन्छु तर उनीसँग समाहित हुन सक्तिनँ । त्यसपछि रातभर रुन्छु ।
एक जनासँग प्रेम गरें तर विवाह हुन सकेन । एक जनाले प्रेम गर्छन् तर विवाह गर्न नसक्ने हुँदै गएँ । चिन्ताले गाँज्दै लग्यो ।
‘एक जना मनोविज्ञ छन् । उनीकहाँ जाऊँ । युट्युबले भन्दा कहिलेकाहीँ भेटेर गरिएका कुरा बढी प्रभावकारी हुन्छन् । कुरा सुन्दा केही बिग्रन्न, बरु फाइदा नै हुन्छ,’ देव नयाँ उपाय निकाल्छन् ।
‘योगराजलाई गुमाएँ तर मैले जुनसुकै मूल्यमा देवलाई गुमाउनुहुन्न, मनले भन्यो, एक्लो जीवनले कहीँ पुऱ्याउँदैन, बरु अझ अन्धकारतिर धकेल्छ । अब म जाग्नुपर्छ ।’
हामी दुवै माण्डलेका प्रसिद्ध मनोविज्ञकहाँ पुग्छौं । मनोविज्ञले अनेक प्रश्न सोध्छन् । म सबै कुरा भन्छु । सम्बन्धको कुन्जी त्यही योगराजसँगको माटोको सिन्दूरका कुरा सुनाउन सक्तिनँ, योगराजले कसेको अँगालोबारे बोल्न सक्तिनँ ।
देवसँग राखेर पनि मनोविज्ञले अनेक प्रश्न गरे । एक्लै राखेर पनि अनेक प्रश्न गरे । मैले आफूले एक जना युवकसँग प्रेम गरेको र उसको बिहे भइसकेको कुरासम्म भन्न सकें । त्यो प्रेम, ती आठ रोटी, माटोको सिन्दूर, योगराजको अँगालोले यत्तिका वर्षसम्म थिचेका भारको पीडा घाँटी हुँदै ओठसम्म निकाल्न सकिनँ । खै किन हो, केले हो, छेकिरहे रोकिरहे जस्तो लाग्यो ।
यस्ता दुई-चार मिटिङपछि मनोविज्ञले दुवैका अघि भने, ‘अन्यथा मान्नुहुन्न भने म तपाईंका गोप्य अङ्गको अध्ययन गर्छु । म चिकित्सक हुँ । मसँग स्त्री नर्स पनि बस्नुहुन्छ । त्यसपछि देवसँग भने, दुवै जना चाहनुहुन्छ भने तपाईं पनि अङ्ग निरीक्षण र परीक्षणमा सँगै बस्न सक्नुहुन्छ ।’ अब म मेरो चिसोपनको उपचारका लागि कसकसका अगाडि नाङ्गिऊँ ? मैले ठाडै अस्वीकार गरेँ ।
‘मेरा सबै अङ्ग ठीक छन् । महिनावारी नियमित छ । सबै महिलालाई यौनमा चाख हुनैपर्छ भन्ने के छ र ?’ देवसँग लगभग चिच्याएँ, ‘तिमी मलाई प्रेम गर्छौ कि मेरो शरीरलाई ?’
मेरो अवस्था देखेर डाक्टरले मलाई त्यहीँ राखेर देवसँग बाहिर निस्के । निकै बेर उनीहरूबीच छलफल भएको गुनगुन सुनिरहें । अन्त्यमा दुवैले एउटा निष्कर्ष निकाले, ‘देवमार्फत मेरा अङ्गहरूको तस्वीर खिच्ने र डाक्टरलाई देखाउने ।’
अप्रिय पिताजी,
देवले खिचेको त्यही तस्वीर तपाईंले देख्नुभयो । त्यो पनि धेरै महिनापछि । डाक्टरबाट पुग्यो कि, देवबाट पुग्यो कि अथवा अन्य कुनै माध्यमबाट पुग्यो, मलाई थाहा छैन ।
म पुनः एक्ली भएकी छु । कल्पनामै सही, पहिले त योगराज मसँग थिए । अहिले देव न कल्पनामा छन्, न यथार्थमा । म उनको नजरमा श्रीमती हुन योग्य रहिनँ । एक पति, एक जिन्दगी, एक भक्ति, एक चित्त ! सिकेको कुरा यत्ति थियो । यसको परिणाम आखिर यस्तो हुनु नै थियो !
यत्तिका वर्षपछि बुझ्दै छु, म किन यस्ती भएँ । एक भक्तिले महादेव पाइँदैन । न त सावित्रीले कुनै सत्यवानलाई चिताबाट जोगाउन सक्छिन् ।
गौतम ऋषिप्रति जतिसुकै भक्तिभाव राखे पनि पत्नी अहिल्यालाई इन्द्रहरूले छल गर्छन् नै । तर अहिल्याको पवित्रता थाहा हुँदाहुँदै पनि गौतमले आखिरमा ढुङ्गा हुने श्राप दिएरै छाड्छन् । तपाईंले सिकाउनुभयो, ‘तिमी ढुङ्गा भइराख, राम आएर तिमीलाई मुक्त गर्छन् ।’
अब भन्नोस्, म कहिलेसम्म ढुङ्गो बनिरहूँ ? मेरो छातीमा रामको पाउ कुन वेला पर्छ ? कहिलेसम्म प्रतीक्षा गरिरहूँ ?
तपाईंकी अभागी छोरी
रुक्मिणी
-sahityapost








प्रतिकृया दिनुहोस्