June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिलाउन यसरी गरियो फरक सर्जमिन, को–को संलग्न ?

Advertisement

भैरहवा– सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, सिद्धार्थनगर–८ का वडाध्यक्ष राजनजंग राणा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँन, सिद्धार्थनगर–६ का वडा सचिव विनोद कर्णमाथि गम्भीर आरोप लागेको छ । उनीहरुको मिलेमतोमा फरक वडामा सर्जमिन गर्दा अदालतको फैसलाबाट सिद्धार्थनगर–६ का लालजित मल्लाह र सन्त मल्लाहको नाममा आइसकेको घरजग्गा भारतीय नागरिकका छोरीको नाममा जाने अवस्था सिर्जना भएको छ ।

Advertisement

फरक वडामा प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा सर्जमिन गरिँदा आफूहरुमाथि अन्याय भएको लालजित र सन्तले बताए । लालजित र सन्तका बुवा फौदार मल्लाह र काका सुखुको मृत्यु भइसकेको छ । उनीहरुकी आमा र काकीको पनि यसअघि नै मृत्यु भएको छ । अदालतले फौदार र सुखुकाबीच चलेको अंश मुद्दाको २०५४ मा भएको फैसालालाई आधार मानेर २०७८ कार्तिक १५ मा तत्कालीन जिल्ला न्यायाधीश लीलाराज अधिकारीले घरजग्गा सन्त र लालजितको नाममा जाने फैसला गरेका थिए ।

अदालतको फैसला अनुसार फौदार र सुखुको सम्पत्ती लालजित र सन्तका नाममा आयो । उनीहरुका काका सुखु मल्लाह निःसन्तान भएकाले पालनपोषण र औषधी उपचार लालजित र सन्तले गर्दै आएका थिए । निःसन्तान भएकाले अदालतले नै उनीहरुका नाममा अंश जाने फैसला गरेको हो । तर, भारतीय नागरिक बदल मल्लाहका छोरीहरु रिखीदेवी मल्लाह अग्रवाल र मालती मल्लाहिनले निःसन्तान सुखुको छोरी भएको भन्दै रुपन्देही अदालतमा मुद्दा दर्ता गरेका थिए । अदालतमा मुद्दा परेपछि लालजित र सन्तले आफ्ना काका निःसन्तान रहेको तर रिखीदेवी र मालतीले झुटा विवरण पेस गरेर काकाको नाममा सम्पत्ती खाने प्रयास गरेको भन्दै उनीहरुको नागरिकता खारेजी माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए ।

यो बीचमा प्रशासनले प्रहरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा सर्जमिन गरेको थियो । तर, उक्त सर्जमिन सुखुको घर भएको स्थान सिद्धार्थनगर–६ मा गर्नुपर्नेमा सिद्धार्थनगर–८ मा गरेको देखाएर सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा गरिएको पीडित मल्ल दाजुभाइको दावी छ । गलत ठाउँमा सर्जमिन गरिँदा अदालतबाट निःसन्तान सुखुको सम्पत्ती सिद्धार्थनगर–८ मा विवाह गरेकी रिखीदेवी अग्रवाल र मायादेवी गाउँपालिका–३ मा विवाह गरेकी मालती मल्लाहिनको नाममा जाने फैसला भएको छ ।

मुचुल्काकै आधारमा जिल्ला अदालतले २०८० भदौ २६ गते फैसला गर्दै निःसन्तान सुखुको सम्पत्ती नक्कली छोरीहरु रिखीदेवी र मालतीको नाममा जाने फैसला गरेको छ । जसअनुसार भारतीय नागरिकका छोरीहरु रिखीदेवी र मालतीका नाममा साढे दुई करोड भन्दा बढी रुपैयाँ पर्ने रुपन्देहीको सिद्धार्थनगर, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाको रहेको घरजग्गा गरी करिब १८ कठ्ठा जमिन नाममा जाने सम्भावना बढेको छ । यद्यपि उक्त फैसला विरुद्ध मल्लाह दाजुभाइले उच्च अदालत बुटवलमा पुनरावेदन दिएका छन् । मुद्दा अहिले विचारधीन छ ।

रिखीदेवी र मालतीको नागरिकता । तस्बिरः पब्लिक कुरा

कसको भूमिका कस्तो ?
पब्लिक कुरालाई प्राप्त प्रमाण अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशन अनुसार २०८० बैशाखमा प्रहरी मार्फत् सिद्धार्थनगर–६ सर्जमिन गर्न भन्दै पत्र पठाइन्छ । वडाध्यक्ष विरेन्द्रकुमार श्रीवास्तवलाई रिखीदेवी, मालती मल्लाहिन र उनीहरुका आफन्तले सुखु बुवा भएको सर्जमिन गर्नुपर्ने बताउँछन् । तर, वडाध्यक्षले याथर्थ सर्जमिन गर्नुपर्ने बताउँछन् । उनले रिखीदेवी र मालती सुखुको छोरी नभएको बताउँछन् । उनले निःसन्तान सुखुको छोरी भएको सर्जमिन गर्न नसक्ने बताए पछि सर्जमिन गर्ने काम रोकिन्छ ।

यसबीचमा प्रशासनदेखि नगरपालिकाको कार्यालयसम्म बैठक बस्छ । त्यसपछि सिद्धार्थनगर वडा नम्बर ८ मा सर्जमिन गर्ने निचोड निस्किन्छ । स्रोत भन्छ, ‘नगर प्रमुख इश्तियाक अहमद खाँ र प्रमुख जिल्ला अधिकारीको निर्देशनमा रिखिदीदेवी श्रीमान् राजेशकुमार अग्रवालसँग वडा नम्बर ८ मा बस्ने गरेकाले त्यही सर्जमिन गर्ने निधो गरिन्छ । र, वडा नम्बर ८ मा सर्जमिन गरेको देखाएर नगरपालिकाको कार्यालयमा नगर प्रमुखको कार्यकक्षमा सर्जमिन हुन्छ ।’

२०८० बैशाख २० गते सिद्धार्थनगरको कार्यालयमा सर्जमिन हुन्छ । तर, वडा नम्बर ८ मा गरिएको सर्जमिन मुचुल्का गराइन्छ । सर्जमिन मुचुल्का गराउँदा मालती मल्लाहिनको गराइँदैन । सुखुको छोरी रिखीदेवी भएको मुचुल्का बन्छ । वडाध्यक्ष राजनजंग राणाको रोहबरमा गरिएको सर्जमिन मुचुल्काकै आधारमा जिल्ला अदालत रुपन्देहीले फैसला गर्दै निःसन्तान सुखुको सम्पत्ती मालती र रिखीदेवीको नाममा जाने फैसला गरेको छ ।

स्रोतका अनुसार नगरपालिकामा बसेर बनाइएको मुचुल्मा हस्ताक्षर गर्ने साक्षीहरु अधिकांशलाई नगर प्रमुख खाँले बेलाएका हुन् । मुचुल्कामा भने खाँको हस्ताक्षर छैन । उक्त मुचुल्कामा रिखीदेवी सुखुको छोरी भएको दावी गरिएको छ । तर फरक वडामा गरेर लगिएको सर्जमिन मुचुल्कालाई प्रमुख जिल्ला अधिकारी पाण्डेले सही मान्छन् र निर्णय गर्दै नगर प्रमुख खाँको रोहबरमा रिखीदेवीको नागरिकता फिर्ता गर्छन् । वडाध्यक्ष राणाले फरक वडामा सर्जमिन गर्न सघाएर शक्तिको दुरुपयोग गरेको पीडित मल्लाह दाजुभाइ बताउँछन् ।

मिलेमतोमा सिद्धार्थनगर वडा नं. ८ मा गरिएको सर्जमिन मुचुल्का । तस्बिरः पब्लिक कुरा

‘वडा नम्बर ६ मा सर्जमिन हुन नसक्दा ८ मा गरियो, यसमा सिडिओ, मेयर र वडाध्यक्ष राणाले सही जनाए । कानूनी राज्यको उपहास गर्ने उनीहरुमाथि तत्काल अनुसन्धान होस्’, सन्त र लालजित भन्छन् । सर्जमिन मुचुल्कामा वडा नम्बर ८ का ४३ वर्षीया त्रिलोकी मल्लाह, ५१ वर्षीया इद्रीस मुलमान, ४२ वर्षीया सरोज अहमद धुनिया, ५३ वर्षीया हसनरजा मुसलमान र २९ वर्षीया रिन्कु कान्दुले साक्षी बसेर हस्ताक्षर गरेका छन् ।

रोहबरमा वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणा छन् । काम तामेल गर्नेमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी सहायक निरीक्षक दीपक पुन र प्रहरी हवल्दार गोरखप्रसाद मौर्य छन् । यसअघि सिद्धार्थनगर ६ का वडा सचिव विनोदकुमार कर्णले रिखीदेवी र मालतीलाई सुखु बुवा भएको भन्दै मृत्यु दर्ता प्रमाण दिएका थिए । मुत्युदर्ता प्रमाण दिनु अघि सन्त र लालजितले वडा नम्बर ६ को कार्यालयमा विवाद समाधान नहुँदासम्म कसैलाई पनि मृत्युदर्ता प्रमण नदिनु भनी निवेदन दिएका थिए । तर, आर्थि प्रलोभनमा कर्णले मालती र रिखीदेवीलाई मृत्युदर्ता प्रमाण दिएका छन् ।

घरजग्गाको लालपुर्जा देखाउँदै पीडित लालजित र सन्त मल्लाह । तस्बिरः पब्लिक कुरा

मयादेवी ३ का वडाध्यक्ष मोहम्मद रफिक खाँनले भने मालतीको नागरिकता जिल्ला प्रशासनबाट रोहवर बसेर फिर्ता लगेका थिए । प्रशासनले अनुसन्धानका लागि राखेको नागरिकता रोहवरमा फिर्ता लिए पछि उनको पनि मिलेमतो भएको आशंका पीडित पक्षको छ । यसअघिको सर्जमिन मुचुल्का झुठ रहेको भन्दै मल्लाह दाजुभाईले जिल्ला प्रशासनमा पुनः निवेदन दिएपछि हालका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्जमिन गर्न निर्देशन दिन्छन् । त्यसपछि सम्बन्धित ठाउँ वडा नम्बर ६ मा वडाध्यक्ष विरेन्द्रकुमार श्रीवास्तवको रोहबरमा गरिएको सर्जमिनमा मालती र रिखीदेवी सुखुको छोरी नभएको र सुखु निःसन्ता रहेको खुलेको छ । यसबारे प्रशासनले अनुसन्धान गरिरहेको अर्यालले बताए ।

सम्बन्धित समाचार पढ्नुहोस्:-

पत्रकार सम्मेलनमा नक्कली छोरीहरुले आफूहरुको घरजग्गा हत्याउने प्रयास गरेपछि के भने मल्लाह दाजुभाईले ?

भैरहवामा नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास