June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

पत्रकार सम्मेलनमा नक्कली छोरीहरुले आफूहरुको घरजग्गा हत्याउने प्रयास गरेपछि के भने मल्लाह दाजुभाईले ?

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहीनले आफूहरुको काका सुखु मल्लाहको छोरी बनेर सम्पत्ती हडप्न खोजेको भन्दै स्थानीय लालजित मल्लाह र सन्त मल्लाहले न्यायको माग गरेका छन् ।

Advertisement

भैरहवामा बिहीबार पत्रकार सम्मेलन गरेर सिद्धार्थनगर–६ निबासी उनीहरुले सिद्धार्थनगर, सियारी र ओसतियाको करिब १८ कठ्ठा र घर गरी साढे दुई करोड बराबरको जमिन रिखीदेवी र मालतीले हडप्ने प्रयास गरेको आरोप लगाए । भारतीय नागरिकको छोरी भएको र उनीहरु नेपालमा विवाह गरेपछि नागरिकतामा आफ्ना निसन्तान काकाको नाम राखेर सम्पत्ती हत्याउन लागेको सन्त र लालजितको दुखेसो छ ।

पत्रकार सम्मेलनमा लालजित र सन्त मल्लाहले बाचन गरेको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै:-

प्रेस विज्ञप्ती
उपस्थित सम्पूर्ण पत्रकाज्यूहरुमा नमस्कार !
हामी लालजित मल्लाह (४६) र सन्त मल्लाह (४२) रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का स्थायी बासिन्दा हौं । हाम्रा हजुरबुवा दुलारे मल्लाहका दुई सन्तान हुन्, जसमा जेठा फौदार मल्लाह र कान्छा सुखु मल्लाह । हाम्रा बुवाको नाम फौदार मल्लाह हो भने काका सुखु मल्लाह हुनुहुन्थ्यो । फौदार मल्लाहबाट जन्मिएका दुई छोरा र ५ छोरी गरी सात सन्तान हुन्, जसमा जेठा लालजित मल्लाह र कान्छा सन्त मललाह हुन् । काका सुखु मल्लाहको कुनै सन्तान छैनन् । अहिले हाम्रो बुवाआमा र काका सुखु तथा काकी कवुतरी मल्लाहको स्वर्गबास भइसकेको छ ।
काका सुखु मल्लाहलाई हामी दुई भाइ लालजित र सन्तले नै लामो समय पालनपोषण गरेका थियौं । मृत्युपछि काजक्रियादेखि सम्पूर्ण हिन्दु संस्कार अनुसार गर्नुपर्ने सबै कार्य हामीले गरेका हौं । बुवा फौदारको २०७७ जेठ ८ गते र आमाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । हाम्रा काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको त्यसको एक वर्ष अघि २०७७ माघ १० मृत्यु भएको हो । काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान नभए पछि हाम्रो बुवा फौदारले र परिवारका अन्य सदस्यले विभिन्न अस्पताल र मठमन्दिर धाएको हामीलाई अझै पनि आजै जस्तो लाग्छ । तर सन्तान भएनन् । सन्तान नभए पनि काकाकाकीको सहारा हामी दुईभाई लालजित र सन्त भयौं । दुख विरामी हुँदा हामीहरुले नै स्याहारसुसार गरिम् । बुवाआमा र काका–काकीको मृत्यु पछि हामी दुई भाई लालजित र सन्तले काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्यौं । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते बुवा फौदार र काका सुखुको नाममा रहेको जमिन हामी दुई भाई लालजित र सन्तको नाममा जाने फैसला गर्यो । त्यसपछि अंशबण्डा गरेर हामीहरुले सबै जायजेथा दुईभाइका नाममा गरायौं । उक्त फैसला बुवा फौदार र काका सुखुको २०५६÷०५÷२२ को बण्डा मुचुल्काका आधारमा गरिएको थियो । उक्त मुचुल्कामा काका सुखु र काकी कवुतरी मल्लाहको सन्तान नभएको उल्लेख छ । सोही आधारमा काकाको जमिन हाम्रो नाममा आउने अदालतले फैसला गरेको हो ।
त्यसपछि एकाएक २०७८ फागुन १० गते हामी दाजुभाई लालजित र सन्तको घरमा एउटा पत्र आयो । त्यसपछि भने हामी झसंग भयौं । उक्त पत्र थियो रुपन्देही जिल्ला अदालतको । अदालतले अंश मुद्दा परेको भन्दै हामीहरुलाई घरमा म्याद पठाएको थियो । म्याद बुझेर हामी अदालत गयौं । त्यसपछि बल्ल थाहा भयो काका सुखु र काकी कवुतरीको नक्कली छोरी बनेर अंशका लागि रिखीदेवी अग्रवाल र मालती मल्लाहले मुद्दा हालेका रहेछन् । जवकी सुखुको सन्तानै जन्मिएका थिएनन् । एकाएक अर्कै महिलाले अदालतमा अंश मुद्दा दायर गरे पछि हामी दुई भाई जिल्ला प्रशासन र अदालत धाउन सुरु गर्यौं । अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका रहेछन् । रिखीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए । जवकी मालती मल्लाहीन भारतको बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको कोखबाट जन्मिएकी छोरी हुन् । यसअघि मालती र रिखीदेवीले हामी सुखुको छोरीहरु हो भनेर दावी गर्दै सिद्धार्थनगर नगरपालिका–६ मा हाम्रो काका सुखुको मृत्युदर्ता माग गरेका थिए । तर, वडा कार्यालयले दिएन । त्यसपछि उनीहरुले उच्च अदालत तुलसीपुरको बुटवल कार्यालयमा सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को कार्यालय विरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले अदालतमा हाम्रो काका सुखु मल्लाहको छोरी भएको प्रमाण पेस गर्न सकेनन् । त्यसबेला अदालतमा मालती र रिखिदेवीले एकअर्कालाई आफू मात्रै सुखुको छोरी भएको दावी गर्दै मुद्दा लडे । तर, अदालतले मालतीको जन्म र बुवा दावी गरिएका हाम्रा काका सुखुको जन्ममिति जम्मा ६ वर्ष फरक देखिएको तथा रिखिदेवीको दावी र प्रमाण झुठा भएको भन्दै न्यायाधीश अच्युतप्रसाद भण्डारीको इजलासले २०७८ माघ ५ गते रिट निवेदन नै खारेज गरिदिएको थियो ।
उच्चले नगर र वडाविरुद्ध हालेको रिट खारेज गरे पछि रिखिदेवी र मालती हाम्रो काका सुखुको छोरी भएको प्रमाणित हुन सकेन । त्यसपछि रिखीदेवीले मैले दुबै आमाको पालनपोषण, शेषपछि काजक्रिया गरेको र उनीहरुको अंश हक खाने म एक मात्र हकवाल भएको भन्दै हामी दुई भाई लालजित र सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग दावी गर्दै रुपन्देही जिल्ला अदालतमा २०७८ पुसमा मुद्दा हालिन् । हाम्रो काका सुखु मल्लाहको हुँदै नभएको दोस्रो श्रीमती फूलझडीको छोरी भएको दावी गरेकी मालतीले पनि २०७८ फागुनमा बुवा सुखुको दुई श्रीमतीका आफू र रिखीदेवी छोरी रहेको भन्दै अंश नाममा गरिदिन माग दावीसहित हाम्रोविरुद्ध जिल्ला अदालतमा मुद्दा हालिन् । मुद्दा चलिरहेकै बखत उनीहरुले वडा नम्बर ६ का वडाध्यक्षले नमानेपछि वडा सचिव विनोद कर्णमार्फत् सेटिङ मिलाएर मिलेमतोमा वडा नं. ६ बाट काका सुखुको मृत्युदर्ता प्रमाण पनि निकाले । त्यसअघि नै हामीले काका सुखुको मृत्युदर्ता कसैलाई पनि नदिनु भनेर निवेदन पनि दिएका थियौं । तर वडासचिव कर्णले आर्थिक प्रलोभनमा परेर नक्कली छोरीलाई हाम्रो काको छोरी भनेर मृत्युदर्ता दिए ।
रिखीदेवीको दुई ठाउँ विवाह भएको थियो । उनको पहिला तत्कालीन कम्हरिया गाविस–६ का प्रशुराम मल्लाहसँग विवाह भएको थियो । पछि उनले प्रशुरामलाई छाडिन् र सिद्धार्थनगर–८ का राजेशकुमार अग्रवालसँग विवाह गरेकी छन् । रिखिदेवीको नागरिकतामा सुरुमा श्रीमानको नाम प्रशुराम छ भने अहिले राजेशकुमार अग्रवाल छ । दुवै पतिबाट नागरिकता बनाउँदा उनले बुवा दावी गरेकी हाम्रा काका सुखु मल्लाहको कहीकतै रोहबर छैन । तर, बुवाको नाम सुखु मल्लाह राखेर श्रीमानको सनाखतमा नागरिक बनाएकी छन् । मालती मायादेवी गाउँपालिका ३ की बासिन्दा हुन् । खासमा मालती र रिखीदेवी भारतीय नागरिक बदल मल्लाहका छोरी हुन् । उनीहरुकी दिदी नन्दनी मल्लाहको पनि सिद्धार्थनगर ८ का मंगरु मल्लाहसँग विवाह भएको छ । नन्दनी हाम्रो ठुलीआमाको बुहारी हुन् । नन्दनीले बैबाहिक अंगीकृत नागरिकता लिएकी छन् । तर, रिखीदेवी र मालतीले बुवाको नाम हाम्रा काका सुखु मल्लाहको राखेर श्रीमानबाट सनाखत गराई बंसजको आधारमा नागरिकता निकालेका छन् । काका सुखुको मृत्यु हुनुभन्दा पहिला उनीहरुले अंश दावी पनि गरेका थिएनन् र पालनपोषण पनि गरेका थिएनन् । यो कहीकतैबाट प्रमाणित पनि छैन ।
अदालतमा मुद्दा परेपछि हामी दुई भाई लालजित र सन्तले जिल्ला प्रशासनमा मालती र रिखीदेवीको नागरिकता खारेजी माग गर्दै मुद्दा दिएका थियौं । तर, प्रशासनले जाँचबुझ गरेन् । उनीहरुको नागरिकता मगाएर अनुसन्धानका लागि भनेर राखेको थियो । तर, सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँ र मायादेवी गाउँपालिका–३ का वडाध्यक्ष मोहम्मद रफिक खाँनको रोहबरमा २०८० साउन ५ गते रिखीदेवी र मालतीको नागरिकता फिर्ता गरिएको छ । नागरिकता फिर्ता दिँदा रिखीदेवीको साक्षी नगर प्रमुख खाँ र मालतीको साक्षी मोहम्मद रफिक बसेका छन् । प्रशासनले हाम्रो निवेदन परेपछि रिखीदेवी र मालतीको नागरिकताका बाारे सर्जमिन गरेको थियो । तर, सिद्धार्थनगर ६ मा सर्जमिन गर्नुपर्नेमा मिलेमतोमा वडा नम्बर ८ मा सर्जमिन गरेर लगियो । सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहम्मद खाँ, वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणा, तत्कालीन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर वडा नम्बर ६ का सचिव विनोद कर्णलगायत प्रहरीसमेतको मिलेमतोमा नगरपालिकाको कार्यालयमा बसेर सर्जमिन गरियो र उक्त सर्जमिन वडा नम्बर ८ मा गरेको भनियो । जुन सर्जमिनमा रिखीदेवी र मालती हाम्रो काका सुखु मल्लाहको छोरी हुन् भनिएको छ ।
यो बीचमा प्रशासनले अदालतले मागेअनुसार कागजात पठाएन । मिलेमतोमा तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पणडेकै नेतृत्वले हामीले दिएको रिखीदेवी र मालतीविरुद्धको नागरिकता छानविनको निवेदन तामेलीमा राखेको देखिन्छ । अदालतले मागेको कागज नपठाई सम्बन्धित वडामा सर्जमिन नगरी फरक ठाउँमा सर्जमिन गरेर कागजात पठाउँदा अदालतले पनि कुनै परीक्षण गरेन । अदालतले निसन्तान हाम्रा काकाको नाम लेखेकै भरमा भारतीय नागरिकका छोरीहरु (हाल नेपालमा बिबाह गरेर नेपाली नागरिकता लिएका) रिखीदेवी अग्रवाल र मालती माल्लाहीनको नाममा सम्पत्ती जाने फैसला गर्यो । यसमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ, तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिद्धार्थनगर वडा नं ८ का वडाध्यक्ष राजनजंग राणा, मायादेवी गाउँपालिका ३ का वडाध्यक्ष मोहम्मद रफिक खाँन, सिद्धार्थनगर वडा नं. ६ का वडा सचिव विनोद कर्णदेखि प्रहरी प्रशासनसम्मको मिलेमतो प्रष्ट हुन्छ ।
जिल्ला अदालतले २०८० भदौ २६ गते फैसला गर्दै निसन्तान सुखुको सम्पत्ती नक्कली छोरीहरु रिखीदेवी र मालतीको नाममा जाने फैसला गरेको छ । जसअनुसार भारतीय नागरिकका छोरीहरु रिखीदेवी र मालतीका नाममा साढे दुई करोड भन्दा बढी रुपैयाँ पर्ने रुपन्देहीको सिद्धार्थनगर, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाको करिब घरजग्गा गरी करिब १८ कठ्ठा जमिन नाममा जाने सम्भावना बढेको छ ।
तर, यो बीचमा रिखीदेवी र मालतीको नागरिताको कुनै परीक्षण भएन । जवकी हाम्रो काका र मालतीको उमेर जम्मा ६ वर्षको फरक छ । ६ वर्षमै सन्तान जन्मिएको अदालतले कसरी प्रमारणित गर्यो ? यो हाम्रो प्रश्न हो । प्रशासनले किन छानविन नगरी कागजात लुकायो ? यो प्रहासनलाई प्रश्न हो । भने, नगर प्रमुख, वडाध्यक्ष र वडा सचिवले किन फरक ठाउँमा सर्जमिन गरे ? यो उद्देश्य प्रष्ट हुन्छ । तत्कालीन जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले पुराना तथ्य प्रमाण नहेरी, हामी दुई भाई लालजित र सन्तको अधिवक्ताहरुले डीएनए परीक्षणको माग गर्दासमेत कुनै सुनुवाई गरेनन् र हाम्रो काका सुखुको सम्पत्ती रिखीदेवी र मालतीको नममा जाने फैसला गरेको छ । जवकी उच्च अदालत बुटवलले रिखीदेवी र मालती दुई बहिनी भएको प्रमाण नपुगेको, सुखुको मृत्युदर्ता निकाल्दा पेस गरिएका प्रमाण पर्याप्त र झुठा भएको ठहर गरिसकेको छ । तर, न्यायाधीश कोइरालाले यो प्रमाणलाई बेवास्ता गरेको देखिन्छ । यति मात्रै होइन् हामी दुई भाई लालजित र सन्तले २०५४ सालमा रुपन्देही जिल्ला अदालतले गरेको फैसला पनि पेस गरेका थियौं । त्यतिबेला बुवा फौदार र काका सुखु दुई भाइबीच अंश मुद्दा चल्दा सुखुको छोराछोरी कोही नभएको र शेषपछि सम्पूर्ण सम्पत्ती आफ्नै हुने भन्दै फौदारले अदालतमा बयान दिएका थिए । तर, सुखुले आफ्ना छोराछोरी भएको भनेर प्रतिउत्तर दिएनन् । र, उनले छोराछोरी नभएको स्वीकार गरे । उक्त प्रमाणले पनि सुखुका छोराछोरी नभएको पुष्टि हुन्छ । हामी दुई भाई लालजित र सन्तले बुवा फौदार र काका सुखुको मृत्युपछि उनीहरुको संयुक्त नाममा रहेको अंश आफ्नो नाममा बनाउन माग गर्दै अदालतमा मुद्दा दिएका थियौं । २०५४ मा अदालतले गरेको फैसला प्रमाण हेरेर २०७८ कार्तिक १५ मा तत्कालीन जिल्ला न्यायाधीश लीलाराज अधिकारीले बुवा फौदार र काका सुखुको सम्पत्ती हामी दुई भाई लालजित र सन्तको नाममा जाने फैसला गरेका थिए । तर, यी सबै प्रमाणलाई बेवास्ता गरेर जिल्ला न्यायाधीश कोइरालाले भारतीय नागरिकका छोरीहरु रिखीदेवी र मालतीको नाममा काका सुखुको सम्पत्ति जाने फैसला गरेका छन् ।
यी सबै घटना पछि हामीले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नियुक्त भएर आएपछि उहाँलाई भेटेर सबै कागजात देखायौं । हाम्रो वास्तविक पीडा सुनायौं । त्यसपछि हामीले तामेली जगाउन भन्दै पुनः २०८०।०४।१५ मा निवेदन दियौं । दर्ता भयो, र अनुसन्सधान अघि बढ्यो । हाल प्रशासनले पुनः प्रहरी मार्फत् सम्बन्धित वडा सिद्धार्थनगर नगरपालिका–६ मा गएर सर्जमिन गर्दा हाम्रो काका सुखु मल्लाहको कुनै सन्तान नभएको र रिखीदेवी र मालती भारतीय नागरि बदल मल्लाहको छोरी हुन भन्ने पुष्टि सहितको सर्जमिन मुचुल्का प्रशासनमा पुगेको छ । वडा नं. ६ का वडाध्यक्ष वीरेन्द्रकुमार श्रीवास्तव, प्राध्यापक डा.शंकरप्रसाद नेपाल लगायत, स्थानीय, प्रहरीको रोहवरमा गरिएको पछिल्लो वास्तविक सर्जमिन सही छ । यो बीचमा हामीले उच्च अदालत बुटवलमा जिल्लाको फैसला त्रुटीपूर्ण रहेको भन्दै मुद्दा दिएका छौं । उक्त मुद्दा विचारधीन छ । मुद्दा विचारधीन रहेकै अवस्थामा रिखीदेवी अग्रवालले मालती मल्लहीनलाई सुखुको छोरी होइनन्, आफू मात्रै हुँ भनेर अदालतमा अर्को निवेदन दिएकी छन् । यसले पनि प्रष्ट हुन्छ उनीहरु दुबैजना हाम्रो काका सुखुको छोरी होइनन् ।
अन्तमा, माथि हामीले उल्लेख गरेका विषयवस्तु सही साँचो हुन् । सन्तानै नभएको हाम्रो काकाको छोरी हुँ भनेर सम्पत्ती खान खोज्ने भारतीय नागरिकका छोरीहरु मालती र रिखीदेवीमाथि तत्काल प्रशासन र अदालतले डीएन परीक्षण गरोस् र नागरिकता खारेज गरी कानूनी कारबाही गरोस् । अदालतले सही साँचो परीक्षण गरी बास्तविकता फैसला गर्ने नै छ भन्ने विश्वास छ । हाम्रो पीडा सम्पूर्ण पत्रकारज्यूहरुले बाहिर ल्याई न्याय दिलाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं । धन्यवाद ।

लालजित मल्लाह
सन्त मल्लाह
सिद्धार्थनगर नगरपालिका वडा नं.–६, भैरहवा, रुपन्देही

भैरहवामा नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास