February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

सारस: शान्ति र प्रेमको प्रतीक

भैरहवा– सारस दुर्लभ पन्छी हो । तर, रुपन्देहीका विभिन्न ठाउँमा कयौं जोडी सारस देखिरहन्छन् । कहिले समूहमा देखिने सारस प्रायः जोडिमा देखिन्छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने क्षेत्र लुम्बिनी हो । दुर्लभ पन्छी सारस लुम्बिनीका आसपासमा समूह बनाएर आहारको खोजी गर्दै हिंडिरहेको पाइन्छ ।

Advertisement

जिल्लाको कोटहीमाई गाउँपालिका–५ मा सारसका एक जोडी आहार खाँदै गर्दा भेटिएका छन् । उक्त सारसको जोडीलाई पब्लिक कुराको टीमले क्यामेरामा कैद गरेको छ । खेतमा आहार खोजिरहेका सारस हेर्दा छुट्टै आनन्दभूति हुन्थ्यो । स्थानीय रमेश यादवले पछिल्ला केही वर्ष यता आफ्नो घर वरिपरी सारसको जोडी आइरहने बताए ।

‘कहिलेकाहीं बथानै आहारको खोजीमा आउने गरेको प्रत्यक्ष देख्छौं । घरछेउमा सारसको बथान नै आएर बस्दा आनन्द हुन्छ, रमाइलो लाग्छ’, उनले भने, ‘धेरैजसो जोडीमा यहाँ आहार खोज्न आएको पाइन्छ ।’ उनले पहिला पहिला सारस देख्दा ढुंगाले हाने धपाउने स्थानीयहरुले अहिले जोगाउनमा जोड दिन्छन् । सारस घरछेउ आउँदा आनन्द मान्छन् ।

विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइने विज्ञको भनार्ई छ । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ पाँच फिटसम्म हुन्छ ।

लुम्बिनी क्षेत्रका खेतमा सारस बस्ने र त्यही प्रजनन् गर्ने भएकाले लुम्बिनीलाई सारस संरक्षण क्षेत्रका रुपमा विकास गर्ने काम भइरहेको छ । जोडी र बथानमा बस्न रुचाउने सारस हेर्न केही वर्ष पहिलेसम्म लुम्बिनी विकास कोषभित्रको संरक्षित क्षेत्रमा घन्टौं पर्खिनुपथ्र्यो । अहिले विकास कोषभित्र मात्र होइन, वरिपरिका खेत र सिमसार क्षेत्रमा सारस चरिरहेका र खेलिरहेका देख्न सकिन्छ ।

दुर्लभ पंक्षीमध्येको सारसका लागि लुम्बिनी आसपास स्थायी बसोबास क्षेत्र हो । यहाँबाहेक रुपन्देहीकै मायादेवी, सियारी, गैंडहवा, कोटहीमाई, सम्मरीमाई, मर्चवारी लगायत खेतमा सारसका बेलाबेला बथानै चरिरहेका भेटिन्छन् । धान, तोरी, गहुँ खेतीमा लाग्ने फट्यांग्रा, झुसिलकीरा, पतेरासँगै गड्यौंला, भ्यागुता, शंखेकीरा र सिमसारमा उम्रिएका कमला वनस्पति, सारसले मन पराउने आहारा हुन् । चराविदहरूका अनुसार सारस समूहमै बस्ने र चरणमा जाने भए पनि यिनीहरू आहारका लागि झगडा गर्दैनन् । आफ्नो नजिक कुनै खतरा संकेत देखियो भने कराएर अरूलाई पनि जानकारी दिन्छन् ।

समूहका सबै जम्मा भएपछि उड्छन् । खतराबाट जोगिन सारसले सिमसार, पोखरी वा तालका बीच घाँसपात जम्मा गरी गुँड बनाएर अन्डा पार्छ र ओथारो बस्छ । गुँडनजिक कुकुर, स्याल, मुसा गएको देखे जोडी मिलेर लखेट्छन् । सारसलाई शान्ति र प्रेमको प्रतीक पनि मानिन्छ । सारसलाई गौतमबुद्धको जीवनसँग समेत जोडिएको पाइन्छ । किम्बदन्तीअनुसार गौतमबुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएका थिए । घाइते पंक्षीको प्राण बचाएकै कारण बुद्धको जीवनसँग जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका सिमसार क्षेत्रमा सारसको मुख्य बासस्थान भएको विश्वास पनि गरिन्छ । अहिले खेतखेतमा सारसका जोडी चरिरहेको भेटिन्छ ।