April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

लुगा

म एउटा बेपत्ता समयले आफ्नो ढाडमा बोकिरहेको अस्तव्यस्त सहरको मूल चोककै कुनै भव्य व्यापारिक भवनको सबैभन्दा माथिल्लो तलामा बस्छु ।

Advertisement

तपाईंलाई एक वाक्यात्मक यो मेरो संक्षिप्त परिचय पहिल्याउन अलिक जटिल लाग्ला, तर त्यसभन्दा जटिल छ म बाँचिरहेको वर्तमान । अझ भनूँ, अस्तित्वगत जटिलता नै यस सहर र सभ्यताको आम जीवनशैली हो ।

Advertisement

यो कहालीलाग्दो उचाइबाट उभिएर जब दिनरात दौडिइरहेको सहर हेर्छु, तब एक उच्चाटलाग्दो हाँसोले मलाई छोप्न थाल्छ । यी मान्छेहरू गन्तव्य हराएको परिधिमा कसरी एकनाससँग दौडिइरहन सक्छन् ?

हुन त एउटै दौड बारम्बार दौडिइरहनुभन्दा अझ सकसपूर्ण हुन्छ, मजस्तै भावशून्य आँखा झोल्याएर यसरी एउटा अत्यासलाग्दो उचाइमा उभिइरहनु । र पनि, दौडिँदा अक्सर छुट्ने कुराहरू उभिँदा दृष्टिगोचर हुने रहेछन् ।

तर, मान्छेलाई दौडिनु छ, उभिनु छैन । म वर्षौँदेखि उभिइरहेको छु, तर अब मलाई म पनि दौडिऊँ भन्ने लाग्न थालेको छ । हो, म दौडेरै दौडदेखि टाढाटाढा पुग्न चाहन्छु ।

तर, मसँग उभिने खुट्टाबाहेक दौडिने खुट्टा छैन । आउनुस्, एकैछिन दौडिनेले देख्न छुटाएका र उभिनेले देखिरहेका दृश्यहरूबारे कुरा गरौँ ।

कुरा सुरु गर्नुपूर्व एकपटक म पनि तपाईंको परिचयको स्क्यानिङ गरिहालूँ क्यारे ! तपाईं पक्कै पनि यस सहरमा नयाँ हुनुहुन्छ । यसरी जेब्राक्रसिङमै टक्क उभिएर क्वारक्वार्ती मतिरै सोझिएका तपाईंका आश्चर्य र विस्मयमिश्रित निर्दोष आँखाले यही जनाउ दिन्छन् ।

अबको केही दिनमा तपाईं पनि त्यही दौडको धावक बन्नुहुनेछ र तपाईंका चाहनाहरूको रिलेदौड म यहीँ बसेर हेरिरहेको हुनेछु । त्यति बेला तपाईंलाई पनि उभिने फुर्सद हुने छैन । र, तपाईंको जस्तो स्थितिमा कुनै अर्को नवागन्तुक हुनेछ ।

म ऊसँग पनि यसैगरी बात मारिरहेको हुनेछु । खैर, मेरो आजको दर्शकस्रोता (के भनूँ ?) निर्विवाद तपाईं नै हो ।

अँ त, अब कुरोको चुरोतिरै फर्किऔँ । थाहा छैन, म यो सहरमा कहिलेदेखि छु, तर मेरो बास सहरको नामी सपिङ सेन्टरको माथिल्लो तलामा भएको चाहिँ सत्य हो ।

सुन्दा अलिक सम्भ्रान्तजस्तो लाग्ला, म दिनहुँजसो लुगा फेरिरहन्छु । फेसन र आवासको आधारमा वर्ग तय हुने यस सहरमा मेरो बास र रहनसहनको उपरोक्त वर्णनले तपाईंलाई मसँग आरिस पनि लाग्न सक्ला ।

तर, म यो उचाइ र यी रंगीचंगी लुगाहरूबाट आजित छु । दिनहुँजसो अनिच्छापूर्वक लुगा फेरिरहनु एउटा यस्तो भयानक नियति हो कि, जस्तो तपाईंको सहरका अधिकांश श्रीमतीहरू श्रीमान्को रोजाइका लुगाहरू अनिच्छापूर्वक लगाएर बेडरुममा सजिन बाध्य छन् ।

यस सहरमा लुगा पनि एउटा विशाल राजनीति हो, जसले तपाईंको वर्ग, चरित्र, हैसियत र प्रतिष्ठाको मापन गर्छ । तर, मेरो लुगासम्बन्धी अनुभव अलि बेग्लै छ ।

अब म अनुभवको आलमारीबाट ती लुगाहरू निकालेर यथाक्रम यो सहर र दौडले बिर्सिएका केही तथ्यहरूबारे तपाईंलाई बताइहालूँ–

क्लोजेट नं. १ – ‘तिर्खा’   
हम्बरको एकोहोरो ठ्याक ठ्याक आवाजले त्यस बिहान मेरो निद्रा खुलेको थियो । हुन त म निदाउनु मेरो कामप्रतिको गैरजिम्मेवारीपन भन्न पनि सक्छन् । तर, कहिलेकाहीँ विचारको तीव्र बहाव थेग्न नसकेर मेरा अलर्ट आँखाहरू पनि लोलाइ जान्छन् ।

अँ त, म ब्युँझिँदा वर्षौँको पसिना र घामले अनुहारको रोगन नै हराएजस्ता दुई मान्छे मेरा खुट्टा, कम्मर र छातीभरि किलाहरू ठोक्दै थिए । यसरी हम्बर र किलाहरूको प्रहार खप्दाखप्दा म क्षतविक्षत भइसकेको छु ।

यसरी हरेकपल्ट मेरो लुगा फेरिने बेला म दुख्छु/चिच्याउँछु । तर, उनीहरू हरेकपल्ट मलाई डिजाइनडिजाइनका लुगाहरू पहिर्याइदिन्छन् र मेरा पाक्न थालेका घाउहरू छोपिदिन्छन् । यसरी म पीडाका ‘आह !’ हरू आफैँभित्र दबाएर वर्षौँदेखि बाँच्दै/उभिँदै आइरहेको छु ।

त, यसपालिको मेरो लुगामाथि बसेर दुईचार युवायुवती रमाउँदै कुनै लोकप्रिय पेयपदार्थ (कोल्डड्रिंक) पिइरहेका थिए । बिहानभर त्यही पेयको सामान लादिएको ठेला तानेर आएको एउटा बुढो कुल्लीले सडकपारिपट्टि केही बेर सुस्ताउँदै निधारबाट तरर्र पसिना काढ्यो र मलाई (अर्थात् लुगामाथि बसी पेय पिइरहेका उनीहरूलाई) हेर्दै घुटुक्क थुक निल्यो ।

म उसको तिर्खामाथि गहिरिएर सोच्न थालेँ– यो पेयमा उसको पसिनाको अंश कति छ ?

मलाई एकाएक आफ्नै लुगाहरूसँग दिगमिग लाग्न थाल्यो र त्यस बुढोलाई डुबाइरहेको तिर्खाको इनारमै यी लुगा च्यातेर फालिदिन मन लाग्यो ।

ठ्याक्कै यति नै बेला मेरो टाउकोमाथि तिर्खाले झोक्राएर बसिरहेको एउटा काग फुत्रुक्क भुइँमा खस्यो । तल सडकछेउ एउटा सुकेको धाराको टुटीलाई कुनै कुपोषित आमाको स्तनझैँ चुसिरहेको एउटा फुच्चे केटो त्यो चराको हीन मृत्युको साक्षी बन्दा एकदमसँग तर्सियो ।

क्लोजेट नं. २ – ‘भोक’
तल सडकमा एक हुल केटाकेटी फोहोरको रास खोतलिरहेछन् । हुन त यस सहरमा उनीहरूको उपस्थितिको मूल्य त्यही फोहोरको थुप्रोसमान पनि छैन । तपाईं यहाँ यदि नयाँ हुनुहुन्छ भने तपाईंलाई अचम्म पनि लाग्दो हो–यतिविघ्न सुकिला मान्छेहरूको सहरमा यति धेरै फोहोर कहाँबाट थुप्रिन्छ ? यतिविधि नैतिक मान्छेहरूको सभ्यतामा यी केटाकेटीझैँ हुलका हुल अवैध सन्तानहरू कसरी जन्मिन्छन् ?

ती फोहोरका पोकाहरूभित्र उनीहरूको कुहिएको भोक फेला पर्छ । यी केटाकेटीका नाकहरू गन्धहरूसँग एक किसिमले अभ्यस्त भइसकेका छन् । फोहोरको रासलाई केही बेर खोतलेपछि उनीहरूले दुईथान दुनोट फेला पार्छन् । आफ्नै भाग्यका भ्वाङहरू बाँडेझैँ उनीहरू ती दुनोटलाई टुक्र्याएर बाँड्छन् र त्यो सुक्खा गाँस चपाउँदै मतिर हेरेर टोलाउँछन् ।

हत्तेरी, मैले त उनीहरूलाई हेर्दाहेर्दा आज आफैँलाई हेर्न बिर्सिएको रहेछु ! आज मेरो शरीरमाथि एउटा ठूलो किङसाइज्ड बर्गर भएको लुगा टाँगिएको छ । त्यही बर्गर हेर्दै केटाकेटीमध्ये एउटाले भन्छ, ‘यति ठूलो बर्गर भेट्टाउन पाए त हामीलाई बाँडेर खाँदा तीन दिनमा पनि सकिँदैनथ्यो होला !’

यति सुनिसकेपछि मलाई यो बर्गर ती केटाकेटीकै काटिएका जिब्रोहरूको खातजस्तो लाग्न थाल्छ । म झटपट यो लुगालाई झट्कारेर शरीरबाट अलग्याउने दुष्प्रयास गर्छु ।

यी लुगाहरू ममाथि यसरी टाँसिएका छन् कि, जसरी यी अनाथ केटाकेटीको अनुहारमा असमाप्त भोकहरू टाँसिएका छन् । र, म सोच्दै छु– यिनीहरूको अवैध बाबु कुन रेस्टुराँमा बसी बर्गर चपाउँदै होला ? या भोकको अर्को लडाइँ लड्दै होला ?

क्लोजेट नं ३ – ‘निद्रा’
रातमा यस सपिङ मलको पेटीमा एकै लहरमा गुडुल्किएर कुल्ली बुढो, ती केटाकेटी र भुस्याहा कुकुरहरू पल्टिइरहेका छन् । जब रातमा यो सपिङ मलका सबै कारिन्दाहरू आफ्नो घरको न्यानो बिछ्यौनामा सुतिरहेका हुन्छन्, तब यी बेवारिसे मानवहरूको बगाल यसकै पेटीमा आएर घुस्रिन्छ र यो चिसो पेटीलाई नै आफ्नो बिस्तारा बनाउँछ ।

यस्तो हरेक रात म सोच्ने गर्छु– यिनीहरूको कल्पनाको घर कस्तो हुँदो हो ? अथवा, के यिनीहरू साँच्चै आफ्नै घरको कल्पना गर्ने सामर्थ्य राख्छन् ?

माथिबाट यसो तन्किएर हेर्छु, जाडोले कठ्यांग्रिएका सबै केटाकेटीहरू कुल्ली बुढाको आङमा घुस्रिएर निदाउन खोज्दै छन् । र, कुनै पुरानो सिरकजसरी बुढो ती केटाकेटीलाई अँगालेर माथि मतिर हेर्दै टोलाइरहेको छ ।

‘के घरको परिभाषाभित्र यो दृश्य पनि अटाउँछ ?’ आफ्नै प्रश्नसँग म अचानक झस्कन्छु । मन यसै अँध्यारिन्छ । तर, मन अँध्यारिए पनि मेरो शरीरले अँध्यारो महसुस गर्न नपाएको युग भइसक्यो । किनकि, यो सपिङ मल र यस सहरका मालिकहरूका लागि मेरो मनभन्दा ममाथि पहिर्याइने लुगाहरू बढी महत्त्वका छन् । र त अनेकथरी झिलीमिली बत्तीहरूले मलाई सजाइएको छ ।

यी बत्तीहरूको प्रकाशमा यसो आफैँलाई हेर्छु– हत्तेरी, आज त मेरो रंगीचंगी लुगामा एउटा भव्य अत्याधुनिक अपार्टमेन्ट छुट र बिक्रीको सूचनासहित टाँसिएको छ ! र, त्यसको प्रतिविम्ब तल पल्टिएर टोलाइरहेको कुल्ली बुढाका अँध्यारा आँखाहरूमा टल्किइरहेको छ । र, केटाकेटीहरू पनि एक्कासि उठेर मतिर हेर्दै कराउन थाल्छन्–

‘ओए, हेर त कति राम्रो घर !’

‘बिस्तारा हेर् न, हेरेरै निद्रा लाग्नेजस्तो !’

‘ल, त्यो छेउको कोठा तेरो, अनि पल्लो कोठा मेरो है !’

कुल्ली बुढो फिस्स हाँस्छ र केटाकेटीलाई अँगालेर भन्छ, ‘ल आ, आफ्नो कोठा छानेर सुत है !’

केटाकेटीहरू खितित्त हाँस्दै कुल्ली बुढोको आङमा फेरि घुस्रिन्छन् र निदाउँछन् । मलाई अब कुल्ली बुढोसँग आँखा जुधाउन लाज लाग्छ । र लाग्छ, यी शरीरमा टाँसिएका बत्तीहरू झटपट बन्द गरिदिऊँ र हराइदिऊँ अनन्त अन्धकारमा ! र, यो शरीरमा टाँसिएको जब्बर लुगालाई उप्काएर ओछ्याइदिऊँ उनीहरू सुतिरहेको यही सपिङ मलको चिसो पेटीभरि !

अब सधैँझैँ बिहानपख सपिङ मलको सफाइ कर्मचारी र गार्ड आएर उनीहरूलाई उठाएर धपाउनेछन् । र, उनीहरू पनि निद्रामै बढारिएर भाग्नेछन् । मानौँ, उनीहरू मान्छे होइन, कसिंगर हुन् । 

क्लोजेट नं. ४ – ‘इन्फिनिटी’
एउटा अनवरत क्रम– थाहा छैन, यसरी मैले कति लुगाहरू फेरिसकेँ । अब त मैले यी क्रमहरूको गणना गर्न पनि छाडिसकेको छु । मलाई यो पनि थाहा छैन कि यी विरोधाभाषी ब्रान्डेड लुगाहरू कहाँ बन्छन् र कसले बनाउँछ ? तर, मेरो ज्यानमाथि एकदमै अमिल्दा लाग्ने यी लुगाहरू र यी लुगाहरूलाई हेर्ने सडकका भुइँआँखाहरूबीच मैले कुनै तालमेल फेला पार्न सक्दिनँ ।

यी लुगाहरूले मलाई मेरो शरीरका क्षतविक्षत घाउचोटहरूले भन्दा बढी पोल्छन्, लुतोझैँ चिलाउँछन् । तर, मसँग यी लुगाहरू फुकाल्ने हातहरू छैनन् । मसँग त बस् उभिइरहने खुट्टाहरू छन्, जुन खुट्टाहरूमा पनि नेल ठोकिएको छ । अतः म यो उच्चाटलाग्दो उचाइबाट चाहेर पनि हाम फाल्न सक्दिनँ ।

क्लोजेट नं. ४ – ‘मुक्ति’
एक दिन एउटा बहुलट्ठीजस्तो मान्छे म उभिइरहेको सपिङ मलको छतमा उक्लियो । उसले आफ्नो कसिरहेको मुट्ठी फुकाएर मेरो शरीरमाथि टाँसिएको लुगा च्यातिदियो र मेरो उदांगो शरीरमाथि उसले रातो अक्षरमा लेख्यो, ‘जिन्दाबाद !’ ।

तल सडकमा त्यही पसिनाले प्यास मेट्न नपाएको कुल्ली बुढो, तिर्खाएको फुच्चे केटो र ती भोकाएका केटाकेटीहरू जम्मा भएर एउटा उत्सवमय रोमाञ्चमा चिच्याए । तिनीहरूले ती अक्षरहरूलाई बुझे या अक्षरको रङलाई, तर उनीहरू पहिलोपल्ट केही बुझेका र जीवितजस्ता देखिन्थे ।

म पनि यी लुगाहरूको त्रासदीबाट मुक्तिको सास फेर्दै र यी शरीरभरका घाउमा मलमपट्टीझैँ पोतिएका अक्षरहरूलाई सुम्सुम्याउँदै गदगद थिएँ । तर, यो हर्ष लामो समय टिक्न सकेन ।

केही दिनमै त्यो बहुलट्ठी मान्छे एउटा नयाँ लुगा बोकेर आयो । र, उसले आफैँले लेखेका ती जादुयी अक्षरहरूलाई छोपिदिँदै त्यो लुगा मेरो शरीरमाथि टाँसिदियो । त्यस लुगामा उसले मुस्कुराउँदै हात जोडेर नमस्कार गरेको तस्बिर थियो ।

तर, यी कुल्ली बुढोजस्ता सडक–मानवहरूले जिन्दावाद बुझेका थिए, नमस्कार बुझेका थिएनन् । उनीहरूले कसिएको मुट्ठी बुझेका थिए, जोडिएका हात बुझेका थिएनन् ।

‘हस्तक्षेप : होर्डिङ बोर्डको अन्तिम वक्तव्य’
सहर फेरि आफ्नै दौडमा फर्किइसकेको छ । यी लावारिस सडक–मानवहरूको रोगी सडकभन्दा पर मानिसहरू चोक र गल्लीहरूमा अहिले पनि जोडिएको हात लिएर शक्तिको म्याराथन दौडिँदै गरेका देखिन्छन्् । अनि, ममाथि पनि एकेक गर्दै टाँसिँदै गइरहेछन्, अनेकन् मान्छेका जोडिएका हात, कुटिल मुस्कानहरू र अनेक चिन्हहरू ! जसलाई साथ दिइरहेका छन् झुट पोतिएका तिर्खा, भोक र मुक्तिका प्रतिबद्धताका अक्षरहरू ।

यही अन्तरालमा यही सपिङ मलको पेटीमा एक बिहान आजीवन तिर्खा, भोक र निद्रासँग लडेको कुल्ली बुढो मृत फेला पर्छ । हातमा नाम्लो अझै समाइरहेको उसको लासवरिपरि जम्मा भएको भीडले घोषणा गर्छ– बुढो कुल्ली सूर्यबहादुर हिजो राति मरेछ !

र, यसरी सहरका हरेक घरका पेटीहरूमा भकाभक अरू चन्द्रबहादुर, सूर्यमान र चन्द्रमानहरू हरेक बिहान मृत फेला पर्न थाल्छन् ।

यस भयानक शोकको हास्यास्पद नियति के छ भने, ती ममाथि टाँसिएका लुगाहरूमा हात जोडेर मुस्कुराइरहेका मान्छेहरू सबैले काँधमा सूर्यचन्द्रअंकित झन्डा ओढेका छन् । र, तिनीहरू मुस्कुराउँदै मूर्तिवत् उस्तै मुद्रामा हेरिरहेका छन्, सूर्यबहादुरहरूका दारुण मृत्युहरू ।

र, म अझै यी लुगाहरू च्यातिदिएर एक समय मेरो शरीरमा ट्याटुझैँ खोपिएको जिन्दाबादलाई फेरि जन्माउने नंग्राको खोजीमा छु ।

अब मलाई हेरिरहन छाडी आफ्ना हातहरू हेर्नुस् त, ती नंग्राहरू तपाईंसँग पनि हुन सक्छन् । -baahrakhari