May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

कप्तान रोहितको अर्धशतकका बाबजुद नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित

कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ ।

Advertisement

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो ।

Advertisement

नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । पहिलो बल डट खेलेका रोहितले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा दुई रन लिन खोज्दा आकाश चन्द आउट भएपछि नेपाललाई जितका लागि तीन बलमा १२ रनको आवश्यकता थियो । चौथो बलमा ब्याटिङका लागि क्रिजमा आएका सागर ढकालले एक रन लिँदै रोहितलाई स्ट्राइक दिएका थिए । तर, पाँचौ बलमा रोहितले रन जोड्नन् । अन्तिम बल पनि डट भएपछि नेपाल १० रनले पराजित भएको हो ।

नेपालका कप्तान रोहितले ७१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । गुल्सन झाले ११ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । लोकेश बमले १७ र आरिफ सेखले १२ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका ओबेड म्याकोय र गुडाकेश मोटेले समान दुई विकेट लिए । ओसेन थामस र कप्तान रोस्टन चेजले एक–एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बलमा तीन चौका प्रहार गरे । कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चार्ल्सले ११ र केसी कार्टीले १० रन थपे ।

नवौँ नम्बरमा ब्याटिङका लागि आएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेस्ट इन्डिजले १५० रन कटाएको हो ।

नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो ।

नेपाली टिममा आइतबार लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल  आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका थिए । उनीहरु विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका थिए ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अब शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।