May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

रूपन्देहीमा आगलागीबाट साढे ६ करोडको क्षति, प्रशासनद्वारा राहत वितरण सुरु, पालिकाको बेवास्ता

भैरहवा– रुपन्देहीमा आगलागीबाट स्थानीयका घरसँगै करोडौंको धनमालको क्षति भएको छ । दिउँसोमा चलिरहेको तीव्र गतिको हावाहुरीको बेवास्ता गर्दै स्थानीयले खेतमा गुहँका छोकडमा आगो लगाउँदा उक्त आगलागी बस्तीमा फैलाँदा अधिकांश ठाउँमा ठूलो क्षति हुन पुगेको हो । आगलागीबाट कयौं घर नष्ट भएका छन् भने स्थानीयले पालेका चौपाय मरेका छन् । तर, स्थानीय प्रशासनबाट राहत वितरण सुरु भए पनि पर्याप्त नहुँदा पीडित झन पीडामा छन् ।

Advertisement

रोहिणी गाउँपालिका–६ की सुरसती हरिजन गत शुक्रबार दिउँसो घरमै बसिरहेकी थिइन् । घरछेउकै खेतमा गहुँ काटेर छाडिएको छोकडामा आगो लागिरहेको थियो । एक्कासी तीव्र गतिमा हावा चल्यो । हावाहुरीले खेत लागिरहेको आगो बस्तीमा पस्यो, छिनभरमै उनको घर आगलगाीले ध्वस्त भयो । ६ जनाको उनको परिवार अहिले छिमेकीको सहरामा छन् । शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्ला विपद् व्यवस्थापन समितिले १५ हजार रुपैयाँ राहत दियो । त्यसबाहेक उनको परिवारले अन्य कुनै राहत पाएको छैन । ‘१५ हजारले कसरी घर बन्छ ? कति दिन खान पुग्छ ?’, उनले भनिन्, ‘हामीलाई तत्काल गास र बासको आवश्यकता छ । गर्मी मौसममा कहाँ बस्ने, के खाने ?’

Advertisement

गत शुक्रबारै खेतमा लगाइएको आगो नियन्त्रण बाहिर जाँदा रोहणीस्थित पर्साका ७८ वर्षीया सुन्नर चमारको घर पनि पूर्ण क्षति भयो । आगलागीले घरमा रहेको अन्न, लत्ताकपडा, काजपत्र र नगद सबै जल्यो । उनले पनि जिल्ला विपद् व्यवस्थापन समितिबाट १५ हजार रुपैयाँबाहेक अन्य कुनै राहत पाएका छैनन् । ‘शरीरमा लगाएको एकसरो कपडाबाहेक अरु केही रहेन, कसरी दैनिकी कटाउने र साँझबिहान छाक टार्ने भन्ने चिन्ताले पिरोलीरहेको छ’, उनले भने, ‘सरकारले हामीलाई गुजारा धान्ने गरी राहत दिनपर्छ ।’

पछिल्लो दुई हप्ताको अवधिमा जिल्लामा आगलागीका घटना दैनिकजसो भइरहेका छन् । तर, पीडितले प्रदेश र नजिककै स्थानीय सरकारबाटै राहत पाउन सकेका छैनन् । जसले गर्दा पीडितको विचल्ली भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार अहिलेसम्म रुपन्देहीमा आगलागीबाट १ सय ५८ घरमा क्षति पुगेको छ । ‘त्यसमध्ये ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यसबाट उक्त घरपरिवारका ५ सय ४ जना घरबारबिहीन भएका छन्’, उनले भने, ‘घर पूर्ण क्षति भएका परिवारलाई हामीले राहत वितरण सुरु गरिसकेका छौं ।’

यस्तै, ७१ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घर, अन्नबाली, लत्ताकपडा, नगद र चौपाया गरेर ६ करोड ५० लाख बढीको क्षति पुगेको प्रशासनको तथ्यांक छ । आगलागीबाट सबैभन्दा बढी क्षति रोहिणी गाउँपालिकामा पुगेको छ । यो पालिकामा मात्रै ५० बढी घर पूर्णक्षति भएका छन् । आगलागीबाट घरबारबिहीन भएका परिवारबारलाई जिल्ला प्रशासनले शुक्रबारबाट राहत वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले शुक्रबार मात्रै रोहिणीका १७ घरपरिवारलाई १५ देखि २० हजारका दरले नगद राहत विवरण गरेका छन् । ‘एकदुई दिनभित्रै सबै परिवारमा राहत रकम पुर्याउने हाम्रो लक्ष्य छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यो बीचमा हामीले पालिका र अन्य सहयोगी दातासँग सहकार्य गरेर लत्ताकपडा र खाद्यान्न पनि सहयोग गर्ने गरी काम गरिरहेका छौं ।’

प्रशासनका अनुसार अधिकांश ठाउँमा स्थानीय बासिन्दाले ससानो कुरामा ध्यान नदिँदा आगलागीबाट ठूलो क्षति भएको छ । एक महिना अघि नै प्रशासनले जिल्लाका १६ वटै पालिकाका प्रमुखलाई बोलाएर जिल्ला विपद ब्यवस्थापन समितिको बैठक राखेर खेतबारीमा गहुँ काटेपछि आगो नलगाउन र त्यसबारे सचेतना फैलाउन अनुरोध गरेको थियो । तर, पालिकाहरुले बेवास्ता गर्दा जिल्लाका अधिकांश ठाउँमा गहुँको छोकडमा आगो लगाउँदा हावाहुरीले बस्तीमा आगो फैलिएर क्षति भएको छ ।

आगलागीबाट क्षति भइसकेपछि पनि प्रशासन बाहेक स्थानीय पालिकाले प्रभावकारीरुपमा राहत वितरण गर्न सकेका छैनन् । प्रदेश सरकारले पीडितलाई राहत दिनतर्फ ध्यान दिएको पाइँदैन । यसले गर्दा चर्को गर्मीमा अग्नी पीडित परिवार विचल्लीमा परेका छन् । रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले राहत वितरणको तयारी भइरहेको जनाउँदै स्थानीयको पीडामा मल्हम लगाउने गरी काम भइरहेको जनाए ।