May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

वडा नम्बर तीनलाई मेयर कपको उपाधि

भैरहवा- वडा नम्बर ३ ले सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथि ६ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो ।

Advertisement

आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए । फाइनल खेलमा पुगेर जित हात पारेको वडा नम्बर ३ ले ५१ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र र उपविजेता बनेको वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँ नगदसहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Advertisement

भैरहवास्थित सिद्धार्थ रंगशालामा बैशाख १३ गते देखि सुरु भई आज भएको फाइनल खेलमा वडा नम्बर ३ ले टस जितेर ब्याटिङ निम्तो दिएर वडा नम्बर १ लाई ११.२ ओभरमा अलआउट गर्दै ११२ रनमा समेट्न सफल भयो । वडा नम्बर १ का लागि २१ बलमा ४ छक्का र दुई चौकाको मद्दतले ४२ रन, मनिष थापाले २२ रन, कन्हैया यादवले नट आउट १७ रन, मोहम्मद नसिम खानले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ३ का समिर मुसलमानले तीन, अर्जुज चौहान र अरमान मुसलमानले समान २–२, रमेश कुर्मी र मैनिउद्दिन शेषले समान १–१ विकेट लिए ।

लक्ष्यलाई पछ्याउँदै वडा नम्बर ३ ले निर्धारति १२ ओभरअघि नै ४ विकेटको क्षतिमा ११३ रन बनाउँदै लक्ष्य पुरा गर्दै मेयरको कपको उपाधी उचाल्न सफल भयो । उसको जितका लागि विजय सुनारले ४१, नट आउट आनन्द गौडले ३४ रन र मैनिउद्दिन शेषले १९ रनको योगदान दिए । बलिङमा वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ३ का समिर मुसलमान म्यान अफ द म्याच घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा वडा नम्बर ६ का प्रवेश आलम म्यान अफ द सिरिज भई ५ हजारनगद सहित ट्रफी र प्रमाण पत्र पाए । वडा नम्बरका ३ का आनन्द गुरुङ उत्कृष्ट ब्याटर हुँदा वडा नम्बर ११ का जुबेर आलम उत्कृष्ट बलर बने । दुवैजनाले जनही दुई हजार दुई सय पचास रुपैयाँका दरले नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेता र उपविजेताका साथै अन्य खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडाअध्यक्षहरुले पुरस्कार प्रदान गरेका थिए ।समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख खानले नगरवासीहरुमा लुकेका प्रतिभा प्रष्टफुटन गर्न र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले अगामी दिनमा खेलाडीहरुको चाहनालाई मध्यनजर गर्दै डे–नाइट क्रिकेट प्रतियोगिता आयोजनाका लागि छलफल गरिने बताए ।

उपप्रमुख उमा अधिकारीले प्रतियोगिताको माध्यमले मैदानमा आउने नयाँ खेलाडी क्रिकेट एसोसिएसन अफ रुपन्देही (कार) र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) मा आँखामा पर्न सक्ने बताइन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तै किसिमको प्रतियोगिताको माध्यमले नयाँ खेलाडी मैदान देखिने र क्रमशः उकिल्दै विश्वस्तरमा खेल्न भएकोले अगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै लगिने र प्रतियोगितामा हार जितभन्दा सबै खेलाडी बधाईको पात्र रहेको बताए । कार्यक्रममा प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तव, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ९ का शेषकान्त भण्डारी, क्यानका पूर्वकेन्द्रिय कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले मन्तव्य राखेका थिए ।