May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

बढ्दै स्थलमार्गी पर्यटक, मुख्य गन्तव्य लुम्बिनी

भैरहवा– रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटकमा बृद्धि भएको छ । खासगरी पछिल्लो समय यो नाका हुँदै तेस्रो पर्यटक आउने क्रम बढ्दै गएको हो । ‘तेस्रो मुलुकका मात्रै होइन्, नेपाल भ्रमणमा आउने भारतीय पर्यटक पनि बढेका छन् । अत्यधिक भारतीय पर्यटकहरु पनि यही नाका हुँदै नेपाल प्रबेश गर्ने गरेका छन्’, पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताले भने ।

Advertisement

बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक नाका हो । यो भारतसँग स्थलमार्ग मध्येको सबैभन्दा ठुलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकाहरुमा भैरहवाको बेलहिया नाका प्रमुख हो । यो नाका हुँदै राहदानी प्रयोग गर्ने बिदेशी पर्यटक सबैभन्दा बढी (स्थलमार्ग) यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयहरुको कुनै तथ्यांक राखिएको नहुनाले यती भारतीय नेपालमा आए भन्न सकिँदैन । तर पछिल्लो तीन महिनामा ५० हजार भन्दा बढी भारतीयहरु यो नाका हुँदै नेपालका बिभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको दावी छ ।

Advertisement

बिमान चढेर त्रिभुवन बिमानस्थल हुँदै आउने भारतीय पर्यटकहरुको मात्र तथ्यांक अद्याबधिक हुने तर स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरुको कुनै तथ्यांक अद्याबधिक नहुने हुँदा कति भारतीय पर्यटक स्थलमार्गबाट नेपाल भ्रमणमा आए एकीन छैन । स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल आउने बिदेशी पर्यटकहरुको संख्या पनि बिगतको भन्दा बढ्दै गएको छ । अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठका अनुसार कोरोना संक्रमण पछि रोकिएको पर्यटक आगमन बिस्तारै लयमा फर्कदै गएको छ ।

कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बृद्धि हुँदै गएको छ । बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार चालु वर्ष २०२४ को फेब्रुअरीमा यो नाका हुँदै १४ हजार १ सय २५ बिदेशी पर्यटक नेपाल भ्रमणमा आएकामा मार्च महिनामा यो संख्या बृद्धी भई १७ हजार २ सय १४ पुगेका छन् ।

कार्यालयका अनुसार यो नाका हुँदै जनवरी फेब्रुअरी र मार्च महिनामा सबै भन्दा बढी पर्यटक थाइल्याण्डबाट ११ हजार ६ सय ६८ जना आएका छन् भने श्रीलंकाका ८ हजार ९ सय ८६, म्यान्मारका ६ हजार ९ सय १५, दक्षिण कोरीयाका २ हजार १ सय ५५, भियतनामका २ हजार ४ सय १९ लगायत बिभिन्न १ सय २० भन्दा बढी मुलुकका पर्यटक स्थलमार्गको बेलहिया नाका हुँदै नेपाल घुम्न आएका छन् ।

लुम्बिनी बिकास कोषका अनुसार २०२४ को पहिलो ३ महिनामा ४२ हजार ४ सय ७४ बिदेशी नागरिकले लुम्बिनी भ्रमण गरेका छन् । यति धेरै बिदेशी र भारतीय पर्यटकहरु लुम्बिनी घुम्न पुगे पनि उनीहरुको बसाइँ अबधि मुस्किलले एकरातको र त्यसमा पनि लुम्बिनी भित्रका बिहारहरुमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।

गएको तीन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकहरुको संख्या ७० हजार भन्दा बढी भएको लुम्बिनी बिकास कोषले जनाएको छ । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०२४ को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४ सय ८९ र मार्चमा ३० हजार ६ सय ७० जना भारतीय पर्यटकले लुम्बिनीलाई आफ्नो भ्रमण गन्तब्य बनाएका छन् ।

सद्धार्थ होटल संघका अध्यक्ष एवं हानका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ(सिपी)का अनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुको मुख्य भ्रमण गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, मुक्तिनाथ, काठमाडौं, चितवन, पाल्पा हो । धेरै भारतीयहरु क्यासिनोमा रमाउन भैरहवा र वरपर आउने गरेका छन् । क्यासिनो र खानपिनमा रमाउन पनि यहाँ भारतीय पर्यटक आउने गरेको श्रेष्ठको भनाई छ ।

‘स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुलाई नेपालमा यात्रा सहज गराउने, उनीहरुले ल्याउन पाउने रुपैयाँको लिमिट बढी गराउन पहल गर्ने (हाल जम्मा २५ हजार भारु मत्र ल्याउन पाउँछन्, त्यो भन्दा बढी भए नेपालमा गैरकानुनी भन्दै पैसासहित पक्राउ पर्छन्), बाटो बाटोमा चेकजाँचका नाममा दुःख नदिई भन्सार बिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतीय पर्यटकहरु नेपालमा अझ बढी आउँछन्’, श्रेष्ठको भनाई छ ।

अब आउने बजेटबाट स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकहरुलाई रकम ल्याउने असिमित सुबिधा प्रदान गर्नुपर्ने उनले माग गरे । ‘जति बढी पर्यटकले पैसा ल्याए, उति धेरै खर्च गर्छन्, नेपालमा आएर पैसा खर्च गर्नु भनेको राष्ट्रको लागि राम्रो कुरा हो,’ श्रेष्ठले भने ।