May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

यसरी सुरु भयो भैरहवामा औद्योगिकरण र नाकाको चहलपहल

भैरहवा– सन् १९४७ मा अंग्रेज उपनिवेशबाट भारत स्वतन्त्र भएपछि भारतको नौतनवादेखि करिब ३० किमि दक्षिण लेहरामा रहेको ब्रिटिश पेन्सन क्याम्प सरेर भैरहवाको पक्लिहवामा आयो । क्याम्प आएपछि पश्चिमी भेकका पहाडी विभिन्न जिल्लादेखि ब्रिटिश सेनामा भर्ती हुन आउनेजाने युवा र पेन्सन लिन आउने जाने पूर्व सैनिकको आवतजावतले भैरहवा क्षेत्र चहलपहल बढ्दै जान थाल्यो ।

Advertisement

ब्रिटिश क्याम्प आएपछि पक्लिहवा हाईस्कुलको स्थापना भएको र त्यहाँ पढ्दै गरेका बिद्यार्थी समेत भर्ती हुने गरेको अनुभव बि.सं. २०४९ सालमा निर्बाचित तत्कालीन सिद्धार्थनगर पंचालयतका प्रमुख सागरप्रताप राणाको छ । ‘त्यतिबेलादेखि भैरहवाको चहलपहल सुरु हुन थालेको हो’, राणा भन्छन्, ‘ब्रिटिश क्याम्पकै कारण भैरहवा बजार गुल्जार बन्दै जान थालेको थियो ।’

Advertisement

उनका अनुसार, भर्ती हुन र पेन्सन लिन आउनेजाने क्रम बाक्लिँदै जान थालेपछि क्रमशः व्यापार व्यवसाय बढ्दै जान थाल्यो । मुस्ताङको थाकखोलादेखि व्यापार व्यवसाय र ठेक्कापट्टाका लागि हितमान सुब्बा (कवि भूपि शेरचनको बुवा) भैरहवा आएका थिए । भैरहवाको इतिहासमा व्यापार व्यवसायका लागि भैरहवा आउने पहिलो थकाली समुदायका व्यक्ति थिए । उनले ठेक्का पट्टासँगै व्यापार र उद्योगमा पनि हात हालेका थिए । भैरहवामा कपडा पसल र राइसमिल संचालन गरे । उनकै संरक्षणमा मुस्ताङबाट पृथ्वी शेरचन, ओमकार गौचन, तेजबहादुर तुलाचन लगायतका थकाली समुदायको आगमन भैरहवामा हुन थाल्यो र व्यापार व्यवसाय बढ्न थाल्यो ।

औद्योगिकरणको सुरुवात
पंचायतकालमा दरवारसँग नजिकको सम्बन्ध रहेका मैत्रिदेव पाठक बि.सं. २०१८ सालतिर उद्योग संचालन गर्न निकै उत्साहित थिए । स्वदेशी उद्योगमा लगानी गर्न तत्कालीन राजा महेन्द्रको आग्रहपछि सिन्धुपाल्चोक पुख्र्यौली घर भइ काठमाडौं बसोवास गर्ने पाठक उद्योग स्थापनाका लागि पश्चिमतिर सोझिए । पश्चिम तराईका नवलपरासी, रुपन्देही, कपिलबस्तु जिल्ला र सिमावर्ती भारतीय क्षेत्रमा समेत ठूलो परिमाणमा लगाइने उखु खेतीले उनी आधुनिक प्रबिधिको चिनी उद्योग संचालन गर्न लालायित भए ।

यसका लागि उनले बि.सं. १०१८ मा भैरहवामा आएर स्थलगत अध्ययन गरे । उद्योगका लागि ४० बिगा जमिन खरिद गरे । २०२० सालदेखि उद्योगका लागि भवन निर्माण सुरु गरे । उच्च कोटीको मदिरा उत्पादन गर्ने डिष्टिलरीसहितको स्कटल्याण्डदेखि उद्योगको सम्पूर्ण उपकरण झिकाएर २०२२ मंसिर महिनादेखि उद्योग संचालन सुरु गरे । उद्योगको नामाकरण गरे, ‘महेन्द्र सुगर मिल एण्ड जनरल इण्डष्ट्रिज ।’

‘यो उद्योग नै समग्र पश्चिम तराई क्षेत्रको आधुनिक प्रबिधिको पहिलो ठूलो उद्योग हो र भैरहवालाई औद्योगिक सहरको नाममा रुपान्तरण गर्न ढोका खोल्ने उद्योग थियो’, उक्त उद्योगमा दुई दशकसम्म मेकानिकल इञ्जिनियर रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल उतिवेलामा मैत्रीदेव पाठकको भनाइलाई उदृत गर्दै भन्छन्, ‘राजा महेन्द्रकै प्रेरणा र महेन्द्रप्रतिको श्रद्धाकै कारण उद्योगको नाम महेन्द्र सुगर मिल राखिएको हो ।’

त्यतिबेला भैरहवा क्षेत्र राजमार्गबाट जोडिएको थिएन । पूर्व पश्चिम राजमार्गको भर्खरै शिलन्यास भएको थियो । सुनौलीदेखि पोखरा जोड्ने सिद्धार्थराजमार्ग निर्माणको क्रममा थियो । तीनवटै जिल्ला र सिमावर्ती भारतीय उखु किसानले गोरु, राँगाले तान्ने काठको लडियामा लोड गरेर उद्योगमा उखु ल्याउँथे ।

शुक्लका अनुसार, उद्योगको सुरुवाती चरणको वेला नवलपरासी र कपिलबस्तुबाट उखु भैरहवा ल्याउने सिधा सडक नभएकाले किसानले भारत हुँदै ल्याउँथे । मिलमा उत्पादित चिनीको आपूर्ती स्वदेशमैं पुर्याउन सकिएको थिएन । स्कटल्याण्डदेखि रसायनबिज्ञ झिकाएर उत्पादन गरिने उच्च कोटीको मदिरा भारत लगायतका तेस्रो मुलुकमा निर्यात हुने गथ्र्यो । उद्योगमा सिजनका वेलामा ६ सय भन्दा धेरै प्रत्यक्ष कर्मचारी तथा कामदार कार्यरत हुन्थे । अफ सिजनको वेलामा २ सयजति ।

उखु पेलेर बचेको छोक्रालाई स्टिम टरवाइनबाट उद्योगले ५ सय किलोवाट बिजुली पनि उत्पादन गर्ने गथ्र्यो । त्यतिबेला भैरहवा क्षेत्रमा बिद्युतिकरण भइनसकेकाले उद्योग परिसर बिजुलीले झिलीमिली थियो । बाहिर बजार अध्याँरो । उद्योगले बचेको बिजुली बाहिर दिन थालेपछि भैरहवा पहिलो पटक झिलिमिली भएको हो । सुगर मिल संचालनमा आए लगत्तै २०२२ तिरबाटै भैरहवामा व्यवसायिक बिजुली बल्न थालेको हो । सुगरमिलले त्यतिबेला निश्चित केही बर्गलाई मात्र पैसा लिएर बिजुली उपलब्ध गराएको थियो । सबैलाई उपलब्ध गराउन नपुग्ने र बिजुली किन्न नसक्ने भएर हुन सक्छ । २०२६ देखि सरकारी स्तरबाट भैरहवामा बिजुली बितरण हुन थालेको हो ।

महेन्द्र सुगरमिल संचालनमा आएपछि अन्य व्यवसायीले पनि त्यही उद्योग आसपास क्षेत्रमा अन्य उद्योग संचालन गर्ने आंट गर्न थाले । २०२० कै दशकमा चामल मिल, छाला, फोम, रबर उद्योग, भाडावर्तन बनाउने स्टिल लगायतका अन्य उद्योग पनि क्रमश ः स्थापना हुन थाले । ‘महेन्द्र सुगरमिल संचालनमा आएपछि त्यही क्षेत्रमा क्रमशः अन्य उद्योगहरु पनि आउने बातावरण बन्न थाल्यो’, राणा भन्छन् । हालको गल्लामण्डिदेखि एयरपोर्ट बिचको क्षेत्रलाई ‘उद्योगपुरी’ भनेर नामाकरण गर्न थालियो ।

राणाका अनुसार, तत्कालीन सिद्धार्थनगर नगर पंचायतले २०३३ सालतिर भैरहवामा औद्योगिक क्षेत्रको रुपमा विकास गर्न नगर विकास समिति गठन गरेर सर्भे गरिएको थियो । समितिले सर्भेपछि नगरको नक्शा, डिजाइन पनि तयार गरेको थियो । सुगरमिल पछि अन्य उद्योग पनि त्यस क्षेत्रमा रहेकाले त्यस ठाउँलाई उद्योगपुरीको नामाकरण तत्कालीन नगर पंचायतले नै गरेको हो । ‘उद्योगपुरी भनिएको ठाउँ नै भैरहवा क्षेत्रको पहिलो ओद्योगिक क्षेत्र हो’, उनले भने, ‘पछि सिद्धार्थराजमार्ग खुलेपछि औद्योगिक क्षेत्र बनाउने भनिएको त्यो ठाउँ र योजना कार्यान्वयनमा आउन सकेन । राजमार्गको दायाँबायाँ उद्योग स्थापना हुन थाले ।’

उद्योगपुरी भनेर अहिले पनि चलनचल्तीमा र नगरपालिकाको अभिलेखमा छ । अहिले पनि उद्योगपुरीको नाम यथावत नै छ । यो क्षेत्र नै पश्चिम तराईको पहिलो औद्योगिक करिडोरको इतिहास हो । ‘महेन्द्र सुगर मिलले नै भैरहवालाई औद्योगिक सहरको रुपमा चिनारी दिएको हो’, शुक्ल भन्छन्, ‘त्यतिबेला उद्योग भनेकै सेलर राइसमिल र पम्पसेटबाट गहुँ पिस्ने साना र घरेलु उद्योगमा सिमीत थियो । महेन्द्र सुगर मिल नै भैरहवा लगायत् पश्चिम तराई क्षेत्रका अन्य ठूला र आधुनिक प्रविधिका उद्योगलाई अनुकरणीय तथा पथप्रदर्शकको रुपमा थियो ।’