May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

घट्यो बेलहिया नाकाबाट डिजल–पेट्रोल आयात

भैरहवा– भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजलको आयातमा कमी भएको छ । बिगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।

Advertisement

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको ९ महिना (साउन देखि चैत्र मसान्तसम्म) बेलहिया नाका हुँदै ४ अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा २ अर्व ६३ करोड ३९ लाख ९५ हजार राजस्व संकलन भएको छ ।

Advertisement

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार १ सय किलोलिटर पेट्रोल आयात हुँदा २ अर्व ६९ करोड ८४ लाख ७८ हजार रुपैयाँ संकलन भएको थियो । ९ महिनामा पेट्रोल आयात १ हजार १ सय किलो लिटर कम भए पनि डिजल आयातमा भने गत वर्षको तुलनामा ९ हजार किलोलिटर भन्दा बढी फरक छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि ९ महिनामा ४६ हजार २ सय ६४ किलो लिटर डिजल आयात हुँदा १ अर्व ४५ करोड २४ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । चालु वर्षको ९ महिनामा डिजल आयात खस्केर ३६ हजार ८ सय ३६ किलो लिटर भएको छ । चालु वर्ष ४ अर्व ३ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको डिजल आउँदा १ अर्व ५२ करोड २३ लाख २५ हजार रुपैयाँ राजस्व डिजेलबाट प्राप्त भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष डिजल पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ । यद्यपी आयात घट्दा राजस्व कम हुनु स्वभाबिकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्श एसोसियसनका केन्द्रिय सदस्य राजु न्यौपानेले बताए ।

यो नाका हुँदै आउने डिजल, पेट्रोल नेपाल आयल निगमको भलवारीस्थित डिपोमा भण्डारण पछि रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्गजा, दाङ, रोल्पा, रुकुम, प्यूठान तथा काठमाडौं पठाइने गरिन्छ । निगमको भलवारीस्थित इन्धन भण्डारण डिपो कम क्षमताको भएको र यहाँको भण्डारण इन्धनले १४ दिन भन्दा बढी नधान्ने भएकाले इन्धनको भण्डारण क्षमता ठुलो बनाउने भन्दै रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी खोलाको बगरमा भण्डारण स्थल निर्माण कार्य गत हप्ता मात्र सुरु भएको छ ।

इन्धन आयात कम हुँदा त्यस्को प्रभाव भैरहवा भन्सार कार्यालयको राजस्व संकलनमा समेत परेको छ । भन्सार राजस्वमा डिजल र पेट्रोल बढी राजस्व दिने मध्ये एक रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘डिजेल र पेट्रोलबाट चल्ने साना सवारीको सट्टा अहिले बिद्युतबाट चल्ने इलेक्ट्रिक सवारीले बजार लिनु, मोटरसाइकल प्रयोगकर्ता कम हुनु लगायतका कारणले डिजेल र पेट्रोलको आयात कम भएको हो’, प्रमुख भन्सार अधिकृत गौतमले भने ।