May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

छाडा चौपाया व्यवस्थापन : नागरिक आवाज सुन्दैनन् स्थानीय सरकार

भैरहवा– अघिल्लो वर्ष बिहानको घामको झुल्कोसँगै हरेक दिनजसो भैरहवाका साहित्यकार तथा इतिहासकार विजय सागरले नगरपालिकालाई ‘उपहार’ भन्दै छाडा चौपायाको तस्बीर सामाजिक संजाल फेसबुकमा राख्थे । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेको भन्दै नगरमा यत्रतत्र रहेका गाईगोरुको तस्बीर खिचेर उनले सामाजिक संजाल फेसबुकमार्फत् उपहार दिइरहेका हुन्थे ।

Advertisement

नगरलाई ‘उपहार’ भन्दै उनले करिब साढे दुई महिना फेसबुकमा छाडा चौपायाका तस्बीर पोष्ट गरिरहे । पटक–पटक छाडा चौपाया व्यवस्थापन गर्न आग्रह गर्दासमेत बेवास्ता गरेकाले आफूले सामाजिक संजालमार्फत् नगरपालिकालाई छाडा चौपाया (गाईगोरु, कुकुर) उपहारस्वरुप दिइरहेको उनको भनाई थियो । साहित्यिक नाम विजय सागर भए पनि उनको वास्तविक नाम भने विजय गोविन्द श्रेष्ठ हो ।

श्रेष्ठ तिनै व्यक्ति हुन्, जसले सिंगो नगरबासीको भावना बोलिरहेका थिए । यथार्थ बोल्ने भएकाले होला उनको हरेक शब्द यहाँका बासिन्दाले पछ्याउँछन् । उनका हरेक गतिविधि नगरबासीले हेरिरहेका हुन्छन् । नहेरोन् पनि कसरी, स्थानीय सरकार निदाएपछि श्रेष्ठले बोलिरहेका हुन्छन् नगरबासीको समस्या, दुःख र पीरमर्का । उनी नीतिगत र समस्या समाधान गर्ने हैसियतमा त छैनन् । तर सरकारलाई दवाव दिन्छन् । आवाज उठाउँछन् । थाक्दैनन् जबसम्म, तबसम्म जनगुनासो सुनिँदैन, माग पूरा हुँदैन ।

म्हिनौंसम्म एउटा सचेत नागरिकले नगरपालिकालाई घचघच्याई रहँदासमेत केही सुनुवाई भएन । तर, हाम्रो स्थानीय सरकार कति निकम्मा छ, दृष्य सिद्धार्थनगरले पस्ट्याउँछ । महिनौसम्म पनि नागरिकको गुनासो सुनेर समाधान गर्ने कोसिस गर्दैन स्थानीय सरकार । श्रेष्ठ भन्छन्, ‘मैले व्यक्तिगत लाभका लागि आबाज उठाएको थिएन । सिंगो नगरबासीको भावना बोलेको हुँ, हाम्रै नगर सुन्दर होस् भन्ने चाहेको छु ।’ नगर नसुनेझै गरेपछि उनले छाडा चौपायाको उपहार नगरलाई दिन छाडिसकेका छन् ।

शान्तिनगरस्थित गुल्मेली किराना पसलमा बिहीबार छाडा गाईले विक्रीका लागि राखेको पाउरोटी खायो । यस्ता समस्या नगरभरी छन् । छाडा चौपाया व्यवसथापन नहुँदा स्थानीयका बाली खाने, पसल पस्ने र नगरमा फोहोर हुने गरेको छ । संघ र प्रदेशका कुरा छाडौं । स्थानीय सरकार, जसले जनताको दैलोमै सेवा दिन्छन् भनिन्छ । यसैले त एउटा नारा छ– ‘सिंहदरबारको अधिकार घरघरमा’ । तर नारामा भनिए जस्तो कत्तिको जनताले घरघरमै सेवा सुविधा पाए ? जनभावना सम्बोधन भए ? विकासको व्यग्र प्रतीक्षामा रहेका जनतालाई स्थानीय सरकारले केकति अनुभूत गरायो ? यी यावत् प्रश्न तेस्रिएका छन् ।

हाम्र स्थानीय सरकार जनताप्रति कतिसम्म उत्तरदायी छैनन् भन्ने एउटा सचेत नागरिक आवाजले बोलिरहेको छ । छाडा पशु चौपायाले भैरहवा क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढेको छ । नगरसँग चौपाया व्यवस्थापनको दीर्घकालीन योजना छैन । सहरको मुख्य सडकदेखि चोक र गल्लीगल्लीसम्म पशु चौपाया छपक्कै छन् ।

सिद्धार्थनगर आफैमा पर्यटकीय नगर हो । स्थानीय सरकारले पनि पर्यटन प्रबद्र्धन गर्ने भन्दै संरचनाहरु बनाइरहेको छ । यही नगर हुँदै कोरोना महामारी अघि बर्सेनि लाखौं भारतीय तथा तेस्रो मुलुकका पर्यटक लुम्बिनी लगायतका गन्तव्यमा पुग्छन् । पर्यटकीय नगरमा छाडा चौपायाको दुर्दशा हुँदासमेत स्थानीय सरकार रमिते छ ।

कानुनले छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । नेपालको संविधानको स्थानीय सरकार संचालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ ।
‘तर, संविधानले दिएको अधिकारसमेत देख्दैन सरकार । हामी जनता सधै निरीह छौं । हाम्रा आवाज सुनिँदैन’, भैरहवा मर्निङवाक गु्रपका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘म बोलिरहन्छु, नागरिकका समस्या उठाइरहन्छु, जबसम्म समस्या समाधान हुँदैन ।’

श्रेष्ठलाई राजनीतिक भोकतिर्खा छैन, न त पूर्वाग्रह नै । उनी भ्रष्टाचार विरोधी र जनसवालका पक्षमा खरो उत्रिन्छन् । उनैको नेतृत्वमा खुलेको मर्निङवाक गु्रपले नागरिक आवाज पटकपटक बोल्दै आएको छ । कयौं समस्या समस्या समाधान पनि भएका छन् । पाकापुस्ता र बुद्धिजीविहरुको संस्था भएकाले धेरै यो गु्रपलाई विश्वास गर्छन्, भरोसा गर्छन् ।

छपक्कै सडक नै ढाकेर छाडा चौपाया हिँडडुल गर्छन् । जथाभावी दिसा पिसाव गर्छन् । यसले सडक र सहरको सौन्दर्यता नासिँदै गएको छ । अर्कातर्फ दुर्घटनाको जोखिम उत्तिकै छ । कयौंले त छाडा चौपायाकै कारण ज्यान गुमाए, कयौं अंगभंग भए । नगरका सबैजसो वडामा चौपायाले सडक छेक्ने गरेका छन् । सडकसँगै चौपायाले पैदल यात्रु हिँड्ने फुटपाथसमेत रोक्ने गरेका छन् ।

नगरपालिका भने नगरभित्र गौशाला बनाउन सार्वजनिक जमिन नभएको भन्दै पन्छिने गरेको छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले भन्छन्, ‘हामीसँग गौशला बनाउने जमिन छैन । नजिकका स्थानीय तहमा रहेका गौशला भरिभराउ हुँदा हामीले लगेका गाईगोरु राख्दैनन् । यसले गर्दा समस्या भएको छ ।’ उनले नगरले दीर्घकालीन योजना बनाइरहेको बताउँदै कसैले आलोचना गर्दैमा तुरुन्त समाधान हुने विषय नभएको बताए ।

सिद्धार्थनगरमा मात्रै होइन्, लुम्बिनी प्रदेशका अधिकांश जिल्ला छाडा चौपायाको समस्या छ । रुपन्देहीका लुम्बिनी, तिलोत्तमा, सैनामैना, बुटवल, देवदह, धकधईमा छाडा गाईगोरुको समस्या बढी छ । यस्तै, छिमेकी जिल्ला नवलपरासी र कपिलपवस्तुका स्थानीय सरकारले पनि छाडा चौपाया व्यवस्थापन गर्न सकेका छैनन् । कपिलवस्तुका मूख्य सडक छाडा चौपायाले ढपक्कै ढाक्ने गरेको तौलिहवाका स्थानीय रामप्रकाश चौधरीले बताए । ‘धेरैपटक स्थानीय सरकारलाई व्यवस्थापन गर्न भन्यौं तर सुनेन’, उनले भने, ‘जसले गर्दा सवारीलाई गति तय गर्न समस्या छ । दुर्घटना बढेका छन् । सडक फोहोर भएका छन् ।’ प्रहरीले पनि चौपायाकै कारण कयौं दुर्घटना भएको बताउने गरेको छ ।