December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

छट्पटिएको डोरी !

आकाश, हरिया डाँडा, नदीनाला, हिमशृंखला, जीवजन्तु, कीरा–फट्यांग्रा आदि इत्यादिलाई केही चिन्ता छैन होला, जति ममा छ । जति म चिन्तित छु । जति म दुःखित र पीडित छु । अझ भनौँ, त्यति सायद कालो बादललाई पनि नहोला । या अरू कसलाई होला ? ताकि प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । समयले तिनमाथि कुनै अन्याय, कुनै अत्याचार गरेजस्तो लाग्दैन ।

Advertisement

तर, मलाई… मलाई समयले कुनै कसर बाँकी नराखी नंग्याएको छ । न त समयले कुनै गुन लाएको छ । केवल शारीरिक र मानसिक संरचनाको परिवर्तनलाई गुन मान्न सकिन्न । त्यो समयको निश्चित र निरन्तरताको प्रक्रिया हो । स्वयं समयले पनि त्यसलाई रोक्न सक्दैन ।

अनि, म कसरी भन्न सक्छु मेरो पाँच फिट सात इन्चको कद समयले ममाथि लगाएको गुन हो भनेर ? समयले ममाथि छायाजसरी माया मानेको छ भनेर ? मलाई लाग्छ, मेरा निम्ति समय बैरी छ । अभिशप्त छ । कहालीलाग्दो छ । मेरो चेतनाको चक्लाई मेरो मिहिनेत र साधनाको प्रतिफल हो । साहित्यसँग संगत गरिरहेको फाइदा हो । मानौँ, सत्संगको योगबाट समृद्घ विचार झांगिन्छ ।

अर्थात्, साहित्यले मेरा समस्त विराग, वैराग्य र विरक्ति केही पर सारेको छ । या भनौँ, थुमथुमाएको छ । एउटा जिजीविषामा, एउटा सञ्जीवनीमा मलाई सुरक्षित राखेको छ । अन्यथा, म शून्यता र तिक्ततामा बाँचेको छु । बाँच्नुपर्ने भएर बाँचेको छु । जीवन भोग्ने र धान्ने एउटा अभ्यास सम्झेर बाँचेको छु ।

उफ ! म सोच्न छाडेर कोठाकोे भित्तामा फर्कन्छु । भित्तामा बा–आमाका फोटा छन् । भित्तेघडी झुन्डिएको छ । आडमा भित्तेपात्रो छ । घडी टिकटिक गर्दै सेकेन्ड सुईबाट आफ्नो गोलो यात्रा अविछिन्न गरिरहेको छ । त्यही सुई हो मिनेट बनाउने । घण्टा बनाउने । पात्रोका पाना पल्टाउने ।

समयले हरेक गतिलाई डोर्याउँछ । नयाँलाई पुरानो बनाउँछ । पुरानोलाई नौलोपनको अनुभूति दिलाउँछ । तर, पुरानो चिज सोचमा मात्र नौल्याइँ अनुभूति गर्ने हो । नत्र भने पुरानोपनले काँचुली फेर्न सक्दैन । उसको अवधि सकिएजस्तै । भित्तामा नयाँ पात्रो टाँसेजस्तै । हरेक साल भित्तामा रङ पोतेजस्तै । ताकि जीवनलाई समयले नयाँ बनाउँदो रहेनछ । क्रमशः पुर्दैपुर्दै लाँदो रहेछ ।

म पनि समयमुनि पुरिँदै गएको छु । समय जब घाँटीसम्म आइपुग्छ, निसासिएर प्राण छोड्नुपर्छ । अर्थात्, समयले मान्छेलाई ढल्काउँदै–ढल्काउँदै लगेर ढाल्दो रहेछ । मान्छेले थाहै नपाउने गरी ढाल्दो रहेछ ।

अहिले म समयको उत्तराद्र्घमा ढल्केको छु । उसो त उत्तराद्र्घ मेरो हो । समयको होइन । समय त सधैँ पूवाद्र्घमा बाँच्छ । सधैँको तरुनो । आज ढल्केजस्तो लागे भोलि कलिलो भएर जन्मन्छ ।

दिन, हप्ता, महिना, साल र शताब्दी मान्छेका गणना हुन् । आफ्नो कर्म चलाउन दिएका नाम हुन् । अनि, सम्झनलाई बनाएका शाब्दिक प्रमाण हुन् । वास्तवमा समय मान्छेभन्दा कैयौँ शताब्दी बूढो भएर पनि तरुनो छ ।

फेरि, सोच्न छाडेर म उठ्छु । कति भयो ऐना नहेरेको । आफ्नो अनुहारको बेवास्ता गरेको । घरै बस्दा केको ऐना हेर्नुपर्यो ? किन दाह्री र कपालको स्याहार गर्नुपर्यो ? उसो त म आफ्नो अनुहारसँग नाराज छैन । न त अनुहारको बनावटलाई लिएर भगवान्प्रति कुनै गुनासो छ । म जे छु, जस्तो छु, त्यसैमा सन्तोष छु ।

तर पनि अनुहारको त्यति पर्वाह गर्दिनँ । किन म त्यस्तो अल्छी र लापरवाह भएको हुँला ? भलै, देखावटीपनसँग म अलग र असहमत छु, कमसेकम आफ्नो अनुहार अरूले देख्दा ठिकै लाग्ने हुनुपर्यो । असभ्य ढाँचाको त देखिनु भएन । यति सम्म कि कहिलेकाहीँ त छाला बाक्लो भएको पनि पत्तो हुँदैन । मयलले चिटचिट टोकेपछि मात्र नुहाउने कुरा सम्झन्छु । कति भयो ननुहाएको, दिनगन्ती हुन थाल्दछ ।

म स्टीलको दराजअगाडि उभिन्छु । जहाँ लामो ऐना छ । अनुहार नियाँल्छु । अन्त कतै केही परिवर्तन लाग्दैन । केही अस्वाभाविक लाग्दैन । कपालका रौँ जथाभावी फर्केका छन् । तँछाडमछाड गर्दै फुलिरहेजस्तो लाग्छ । एउटा रौँ टिपेर उखेल्न खोज्छु । हातबाट फुत्कन्छ । लाग्छ, यतिविधि रौँ फुलेका छन्, एउटा रौँ उखेलेर के हुन्छ र ? त्यसो गर्दा म तन्नेरी र भरभराउँदो पनि त देखिन्नँ ।

‘छोरा फुलेको रौँ उप्काई दे’न एउटा रौँ उप्काएको एक रुपैयाँ दिन्छु ।’
‘कति उप्काएर साद्धे हुन्छ ? सबै फुल्न आँटिसकेका छन्,’ छोराले अस्ति मात्र भनेको थियो । साँच्चै भनेको रहेछ उसले ।

एउटा समय थियो, बाले मलाई कपालका रौँ उप्काउन लगाउनुहुन्थ्यो । मेरो जाँगर उचाल्न, मलाई खुसी पार्न उहाँले पारिश्रमिकको घोषणा गर्नुहुन्थ्यो । एउटा रौँ उप्काएको एक सुका यति बेला मूल्यांकन गर्ने हो भने मैले छोरालाई दिन तम्तयार भएको एक रुपैयाँभन्दा बढी । म पारिश्रमिकभन्दा पुरस्कारका अर्थले हौसिन्थेँ ।

२० वटा उप्काएपछि पाँच रुपैयाँ हुन्थ्यो । बुवाले इमानदारीसाथ पाँचको नोट दिनुहुन्थ्यो । म मृगको पाठोजत्तिकै उफ्रिएर घरबाट निस्कन्थेँ । आफूसँग पनि पाँच रुपैयाँ भएको वैभव साथीहरूसँग एउटा छाँटसँग देखाउँथेँ ।

त्यति बेला पाँच रुपैयाँको पृथक महत्त्व थियो । अहिले बा हुनु हुन्न । बाको ठाउँमा म र मेरो ठाउँमा छोरो छ । कुनै कार्यालयमा साबिकको पदपूर्ति भएजस्तै । सायद यही होला समयको चक्र । जुन चक्र निरन्तर घुमिरहन्छ, पुरानो पात झर्ने नयाँ पात पलाउने क्रम जारी भइरहन्छ ।

के म साँच्चिकै बूढो भएको हुँ त ? फेरि ऐना हेर्छु । कपाल उस्तै छिर्केमिर्के पारामा फुलेको देख्छु । मेरो अनुहारमा खासै नयाँ भिन्नता छैन । प्रतिकूलताका चाउरी धर्सा छैनन् । सोच्छु, बल्ल त ४० वर्षको भएँ । अझ त… ।

यसो त महिलासँग शक्ति प्रदर्शन गर्ने सामर्थ्य राख्नु मात्र यौवनको सबुत प्रमाण होइन । या यौवनका गुण आफूभित्र भएको अनुभूति दिलाउन जीवन यात्रामा सुकिलो रङ र उन्मादी चाल पनि चाहिन्छ होला । मेरो निष्क्रिय जीवनशैलीले उमेर बोझिलो बनाएको छ । जीवनमा जबर्जस्ती बूढोमान्छे घुसेको छ । मलाई आफ्नोपन अझ नियाल्न मन लाग्छ ।

तब म आफूतर्फ फर्कन्छु । स्नातकसम्मको अध्ययन । पाँच फिट सात इन्चको कद । गहुँगोरो कत्लो । एउटा सर्वांग मान्छे । तर, नितान्त बेरोजगार । जसका कारण श्रीमती आफ्नो भाग्यप्रति रुष्ट छे । कहिलेकाहीँ जुलुसको स्वरमा झर्कन्छे ।

आमाले अपेक्षाकृत कमाइ खान नपाउँदा मलाई जन्माउनुको तात्पर्य खोजिरहनुभएको छ । साँचै भन्नुपर्दा अहिले मलाई लाग्छ, कमाइ वा पैसामा एक प्रकारको माया हुँदो रहेछ । त्यो नपाएर कहिलेकाहीँ धिक्कार्छन् । मानाैँ, छोराहरू हरेक इच्छामा आशातीत बन्दछन् ।

यहाँनेर मेरो सर्वस्व छताछुल्ल पोखिन्छ । त्यस मानेमा म कमजोर, असहाय र असफल छु । यथास्थितिबारे घरीघरी अन्तर संवाद चल्छ । म विचलित र विभक्त हुन्छु । मानौँ, निराशा मेरो दैनिकी हो ।

मेरो प्राथमिकताको प्रमुख विषय हो । म ‘घाम’जस्तो कहिल्यै उज्यालो भएर हिँड्न सकेको छैन । ‘जुन’जस्ता सपना थिए, जो सपनै छन् । कमसेकम बाँच्ने आधार बनेका छन् ।

तर, तिनमा लागेका चन्द्रग्रहण हटेदेखि जीवनले वास्तविक सुन्दरता अँगाल्थ्यो होला । सायद त्यो चन्द्रग्रहण अब हट्दैन कि ! किनभने, मसँग कुनै औजार छैन, जसले जीवनमा सरसता ल्याउन सकोस् । सुख, खुसी र सन्तुष्टिको सम्बल जीवन बन्न सकोस्, परनिर्भरता भत्काएर नयाँ साम्राज्य खडा गर्न सकोस् । अनि, म एउटा मान्छे हुनुको गर्व गर्न सकुँ । छातीमा गौरवको फूल फुलाउन सकुँ । नाकमा अहमताको फल फलाउन सकुँ ।

मेरो मनमा यसरी नै प्रश्न उब्जन्छ, त्यसो भए कहिले हट्छ त सपनामा लागेको ग्रहण ? उही मनले उत्तर दिन्छ, यो ग्रहणले जीवन खान्छ । या त जीवनको समाप्तिसँगै ग्रहणको समाप्त हुन्छ । मेरो मस्तिष्क भने केही बोलेको छैन । स्वयं मलाई जीवन एउटा काँडो, एउटा घाँडो अनुभव भइरहेछ ।

यस्तो पनि कहीँ जिन्दगी हुन्छ ? यति ठूलो संसारमा अभावैअभाव लाग्छ । अर्थात्, यस्तो भरिपूर्ण संसारमा मैले मात्र अभाव र असहज झेल्नु परेजस्तो लाग्छ । यस मानेमा मेरा निम्ति उपचाररहित रोग बनेको छ, अभाव । सबै कुरा ठिक त आफू छोरो बन्दा हुने रहेछ । बाल्यकालमा हुँदो रहेछ । कति सुगम र सरल हुँदो रहेछ बाल्यकाल ।

त्यति बेला कति मिठा कल्पना थिए । सिंगो भविष्य लिएर उड्न सक्ने कल्पना । कति हो कति टाढा, म कल्पनाको मनगढन्ते जेटमा उड्थेँ । अझ कल्पनागत आकाशमा अकासिन्थे । त्यसरी अकासिनुको बेमज्जा यथार्थको चट्टानमा ठोकिएपछि थाहा भयो ।

कल्पना रहेनछ जीवन । जुन कल्पना यथार्थमा बजारिने समय आउँछ । त्यस बेला मान्छे उठ्न सक्ने स्थितिमा हुँदो रहेछ । मानौँ, पक्षाघातको बिरामीझैँ असहाय भएर बाँच्नुपर्दो रहेछ । मान्छे त प्रयोगवादी र कर्मवादी भएर बाँचेको सुहाउँछ ।

म आफूले आर्जेको अनुभव मनमनै गुन्दै खाटमाथि सुत्छु । दिनमा सुत्नु आजकल दिनचर्याको एउटा विशेषता बनेको छ । यताउता कावा खाएका मेरा नजर अनायास दलिन सत्तरीमा बाँधेर झुन्डाइएको डोरीमाथि पर्दछन् । एकक्षणसम्म आँखा अडिन्छन् ।

यो डोरी एक वर्षदेखि त्यसरी नै झुन्डिएको छ । एक मिटरभन्दा अलिकति लामो छ । बलियो छ । बेलुका झुल बाँध्न प्रयोग हुन्छ । दिउँसो झुन्डिरहनु त्यसको नियति हो । त्यसको दैनिकी हो । अहिले यस्तो लाग्छ, त्यसले मेरो बेकामे जिन्दगीको हिस्सी गरिरहेको छ । एक प्रकारको उपहास गरेको छ । एउटा चुनौती दिइरहेको छ ।

उसो त त्यस डोरीले मलाई आत्महत्या गर्न प्रेरित नगरेको पनि होइन । पटक–पटक मृत्युवरण गर्न आग्रह गरेको छ । मरेपछि समाप्त हुने झन्झटको व्याख्या गरेको छ । थरीथरी मान्छेको उदाहरण दिएको छ ।

आज पनि त्यस डोरीले भन्दछ, ‘जिन्दगीको अन्त्य मृत्युमा हुन्छ । सबै एकपटक मर्छन् । सबैले एकपटक मृत्युको सामना गर्नुपर्छ । कोही अजम्बरी संसारमा छैनन् । त्यसैले किन परिवारको यति बिघ्न अपहेलित भएर तुच्छ जिन्दगी बाँच्छस् ? म तँलाई  सहज मृत्यु दिन्छु । तँ केवल घाँटीमा मलाई बेरेर सुर्के गाँठो पार मात्र !’ 

‘अहँ, म आत्महत्या गर्दिनँ । आत्महत्या त कायरको छनोट र निर्णय हो, जो जीवनको मूल्य बुझ्दैनन् । जसले मानवीय अस्तित्व बुझ्दैनन् ।’

‘होइन, तैले बुझेको रहेनछस् । यो साहसी कार्य हो । जीवनका सबै बाटा बन्द भएका मान्छे सबैबाट घृणित भएर किन बाँच्नु ? को छन् तँलाई माया मान्ने र आफ्नो ठान्ने ? को छैनन् तँलाई निन्दा गर्ने ?’
‘तँ जेसुकै भन्, म आत्महत्याजस्तो कठोर, क्रूर र निर्दयी निर्णय लिन्नँ । अरू केही नभए पनि मेरा अघिल्तिर आशा र सम्भावनाका बाटा छन् । जुन बाटोले सुमधुर सपनालाई आत्मसात् गरेको छु । अर्थात्, सकारात्मक सोच राखेर सम्भावनाका पछि लाग्नु नै मेरो लक्ष्य हो । कुनै उपलब्धि प्राप्त होस् या नहोस् ।’

‘त्यसैले तँ कायर होस् । स्पष्टीकरणको रूपमा दिएका तेरा तर्क कायरका सबुत प्रमाण हुन् । कति मान्छे आफ्ना साना इच्छा पूरा नहुँदा आत्महत्याजस्तो सहज मार्ग अपनाउँछन् । कोही प्रेमिका नपाएर, कोही बाबु–आमाले गाली मात्र गरेका कारण, कोही रोजगारीका अवसर नपाएर, कोही छोरा–छोरीले हेला गरेर, कोही संसारिक दुःख भोग्न नसकेर । तँ भने कैयौँ यातनामय बुँदाका गुन्टा बोकेर बाँचेको छस् । होइन, कति मोह हो तँलाई जीवनप्रति ?’ 

‘जीवन भनेको उज्यालो पक्ष हो । जीवन छ र त सबै चिज, कुरा सादृश्य छन् । जीवन छैन भने के छ र ? अर्को संसार र अर्को सृष्टि त मान्छेलाई अनुशासित बनाउन अपनाइएका नैतिक प्रावधान मात्र हुन् । एकपल्ट भोगिने जीवन आफैमा मोहित हुन्छ । आखिरमा जीवन सम्पूर्ण मोहको संरक्षक पनि हो ।’ केही बेर मौनता छाउँछ ।

फेरि म भन्छु, ‘उज्यालो जीवनको विपक्षमा गएर मृत्यु रोज्नु, आत्महत्या गर्नु स्वयं अँध्यारो निर्णय हो । कैयौँ मान्छेले अन्धकार रोजेर इतिहासमा आफ्नो नाम कलंकका अक्षरले लेखे । वास्तवमा जब मान्छे निराशामय र नकारात्मक सोचसँग आत्मीयता गाँस्छ, तब उसले जीवन र जगत्लाई अन्धकारैअन्धकार देख्छ ।

ऊ मनोवैज्ञानिक रूपमा अन्धो हुन्छ । त्यति बेला जीवनका उज्याला झिल्का कतै देखा पर्दैनन् । मानौँ, जीवन र मृत्युको अर्थ सरावरी हुन्छ । अथवा, जीवनको मूल्य मृत्युमा समाप्त हुन्छ । के म तलाईं त्यस्तो लाग्छ ?’

म डोरीको सल्लाह हरहालतमा मान्न तयार हुन्नँ । मन दह्रो गर्दछु । आफूलाई नभड्किन प्रतिबद्घ हुन्छु । म कसरी गर्न सक्छु त्यस्तो विशद र विक्षिप्त निर्णय ? मलाई लााग्छ, जीवन प्राप्ति र अप्राप्ति, सन्तुष्टि र असन्तुष्टि, आरोह र अवरोहबीचको संघर्षमय यात्रा हो । सधैँ खुसी भएर खुला र सम्म बाटो हिँड्न खोज्नु विराट मूर्खता हो ।

अझ भनौँ, एउटा भुल हो । वास्तविक जीवनको स्वाद उकालो उक्लँदा, चुनौती स्वीकार्दा र जँघार तर्दा हुन्छ । अलिकति निराशा होला, अलिकति प्रताडना होला, अलिकति विचलन होला । तर, हरेस खानु हुन्न भन्ने मान्यतासँगसँगै अघि बढ्नुपर्छ ।

यद्यपि, म निश्चित रूपमा दुरावस्थाको संघारमा छु । प्रतिकूलताको मझेरीमा छु । तर, सुखद समय मेरो सपनामा बाँचेको छ । त्यसैले डोरीले भनेजस्तो म आत्महत्या गरेर मेरो सपना मार्दिनँ । म त्यत्तिकै मर्दिनँ ।

त्यति बेला म डोरीको लहैलहैमा लाएका मान्छे सम्झन्छु । पत्रपत्रिकामा दिएका त्यस प्रकारका आत्महत्याका घटना सम्झन्छु । सोच्दासोच्दै के ठानेर म डोरीमा घाँटी बेर्छु, तर गाँठो पार्दिनँ । डोरीमा झुन्डिँदा हुने सास्तीको आंशिक अनुभवले मलाई पछाडि धकेल्छ । लाग्छ, धत् कस्तो नाजायज सोचाइ ! म आफ्नै काल्पनिक दृश्यहरूसँग भयभीत हुन्छु ।

मलाई लाग्छ, आत्महत्या सोच्नेसम्मको क्रिया होइन रहेछ । यो पागलपनको परकाष्ठा हो । एउटा अप्रकाशित, एउटा अतिरञ्जित, एउटा अप्रासंगिक सन्दर्भ हो । यति बोझिलो र बोरलाग्दो जीवन किन बिताउँ ? म सोच्दिनँ ।

अनि, म बाँच्न चाहन्छु । त्यो डोरीले भनेजसरी सस्तो र कलंकिकत मृत्यु चाहन्नँ । न त छोरी–छोरालाई टुहुरा बनाउन, न त श्रीमतीलाई विधवा । म जीवनलाई सबैभन्दा निकटतम आफन्त मान्ने मान्छे हुँ । जीवनलाई सबभन्दा माया मान्ने मान्छे हुँ ।

तर पनि किन आइरहेछन् मनमा अनावश्यक कल्पना ? किन यो डोरीले मलाई लखेटेको, हेपेको छ ? जीवनमा सधैँ घाम भएर बाँच्न कोही पनि सक्दैनन् । सधैँ सबै झरी भएर बाँच्न पनि त सक्दैनन् । निराशा, पीडा, असन्तुष्टि समयका उपहार हुन् । जति अधिकार जीवनमा सुख, खुसी र सन्तुष्टिको छ,  त्यति नै अधिकार निराशा, पीडा र असन्तुष्टिको छ ।

सूर्य र चन्द्रमामा त ग्रहण लाग्छ । मान्छेको जीवन एकनासले कहाँ चल्न सक्छ र ? कहिले लत्रन्छ, कहिले हिँड्छ, कहिले दौडन्छ । सबै अनुभवका पक्ष हुन् । आखिरमा सम्पूर्ण जीवन अनुभवको पाटो हो । अर्थात्, जीवन भन्नु अनुभवको साझा बाटो हो ।

म आफैलाई सिध्याउने कल्पना प्रवाहबाट विमुख हुन चाहन्छु । केही समय मस्तिष्कमा लागेका काई झ्याउबाट फुर्सद लिन चाहन्छु । केही समय कोठाबाट बाहिरिएर बाहिरी हावासँग माझिन चाहन्छु । डोरीसँग अनौठो भय छ । म त्यतातिर एक झल्को नहेरी बाहिरिन्छु ।

म कोठा बाहिर पनि शान्तिसँग बस्न सक्दिनँ । एउटा प्रश्नको उत्तर खोज्न थाल्छु, सधैँ जडवत झुन्डिएको डोरीसँग म किन डराएको छु ? के म डरपोक हुँ ? उत्तरस्वरूप लाग्छ, यदि कायर हुँदा मृत्युवरण गर्नुपर्छ भने म कायर हुँ । कसलाई थाहा छ, मृत्यु सहज हुन्छ । मृत्युभन्दा पर अर्को सरल जीवन भोग्न पाइन्छ । अनि, यहाँ उधारोजसरी प्राप्त गर्न नसकेको वस्तु त्यहाँ नगदको स्वरूपमा पाइन्छ । मनमा पहिल्यैको आँधी चल्छ ।

फेरि म भित्र पस्छु ।

डोरीले मेरो विचलित मनस्थिति बुझेर हाँस्छ । म आक्रोशपूर्ण दृष्टिले हेर्छु । ऊ झन् उत्साहित भएर भन्छ, ‘अब त विचार बदलियो होला नि ? कि पहिलेको लिँढे हठ छ ? चालीस वर्षको भइस्, प्रगति र उपलब्धि शून्य छ । कतिपल्ट श्रीमतीले त ‘बाँच्नुको कुनै अर्थ नभएको र पृथ्वीको भार भएर बाँच्नुभन्दा मर्नु बेस’ भनेर भनेको मैले सुनेको छु । ओछ्यानमा लाचार र विवश भएको मैले देखेको छु । अनि, रात्रि–इच्छा पूरा नहुँदा जबर्जस्ती निदाउनुपर्दाको बाध्यता समेत बुझेको छु ।

के ठूलोठालु बनेर बाहिर हिँड्छस् ? श्रीमती मात्र नभएर सबै आफन्तको अवहेलना बनेको छस् । आर्थिक अवस्था प्रतिदिन खस्कँदो छ । मुस्किलले बिहान–बेलुका टर्छ । यद्यपि, तेरा अमूल्य सर्टिफिकेट बाकसमा ढुँडी लाएका छन् । के अब तैँले अझसम्म नपाएको जागिर पाएर, खाएर आफ्नो प्रतिष्ठाको जगेर्ना गर्न सक्छस् ? एउटा सामान्य मान्छे बेरोजगार हुनु र अपमान सहनु स्वाभाविकै कुरा हो । तर, पढाइको डिग्री बाकसमा थन्काएर अपाहिजको कुँजो जिन्दगी बिताउनु चानचुने हुन सक्दैन । त्यसैले मेरो अमूल्य सुझाव मान, तैँले अरूले झैँ मेरो मद्दत लिएर आत्महत्या गर् ।’

म निक्कै घोरिएर सोच्न पुग्छु । डोरीको तर्क निक्कै भावुक लाग्छ । कताकता सत्यता जस्तो ।

उसले फेरि भन्छ, ‘कुनै डर मान्नु पर्दैन । मलाई बेरेर गाँठो पारेर झुन्डिने निर्णय लिन मात्र गाह्रो हो । प्राण जान कुनै गाह्रो हुन्न । श्वासप्रश्वासको नसा क्षणको क्षणभरमा छिनाइदिन्छु । तब जीवनको यावत् झन्झटिला खेलहरू खत्तम हुन्छन् । कति सहज मृत्यु । तेरो प्राणरहित शरीर मसँगै झुन्डिन्छ । अनि मात्र तेरा आफन्त पछुताउँछन् । विभिन्न समयमा तँमाथि गरेका अन्याय, वक्रदृष्टि र बेवास्ता सम्झन्छन् । त्यहाँनेर तेरो जित हुन्छ । मृत्युपछि सकारात्मक गुनगान गाउने प्रथा दोहोरिन्छ ।’

मेरो मन कताकता भड्किन लागेजस्तो आभास हुन्छ । भन्नाले डोरीका कुरामा केही तुक, केही दम भएजस्तो लाग्छ । म धैर्यताको बाँध टुट्न दिन्नँ । एकै सेकेन्डको गलत निर्णय मेरो प्रतिकूल बन्न सक्छ । फेरि संशोधन गर्न नमिल्ने निर्णय मबाट हुनसक्छ । म आफूलाई सम्हाल्छु । एकदम कठोरतापूर्वक सम्हाल्छु, एकदम कठोरतापूर्वक सम्हाल्छु ।

किन म कल्पनागत भावनामा यसरी बहकिएको छु ? किन जीवनको मूल्यसँग खेलबाड गरेको छु ? त्यसैले म प्रश्नको उत्तरमा अर्थात् यथार्थमा अवतरित हुन्छुु । विनाशकारी भावनाले लट्ठिएको मलाई नशाले निन्द्राले छोेडेझैँ छोड्छ । अघिल्तिरको कालो पर्दा सर्लक्क हट्छ । त्यो डोरीसँग मेरो अलबल्ले रिस खनिन्छ ।

तब म ब्लेडले डोरी काटिदिन्छु । सत्तरीबाट डोरी झर्छ । भुईँमा छटपटाउँछ । मलाई आत्महत्या गर्दिनँ भन्दा पनि हौसाउने डोरी जीवनबाट चुडिँदा छटपटाउँछ । म पूर्वाग्रही दृष्टिले हेरिरहन्छु, हेरिरहन्छु । baahrakhari