December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन् न त बोल्न नै । उनको आफ्नै परिवारका सदस्यहरूले नै उनलाई घृणा गर्थे । उनकी हजुरआमाले भने उनको हेरचाह गर्थिन् । उनलाई खुवाउँथिन्, नुहाइदिन्थिन् र उनलाई बाँकी जीवन ओछ्यानमै बिताउनबाट रोकिन् ।

Advertisement

दुर्भाग्यवश ! उनकी हजुरआमा उनको आफ्नै आँखाअगाडि बितिन् । उनी त्यति बेला सानै थिइन् । त्यसैले पनि केही गर्न सकिनन् । उनी आशा गर्थिन्, उनकी हजुरआमा फिर्ता आउनुहुन्छ भन्ने ! तर, त्यो कहिल्यै भएन । त्यस बेला उनका आमाबुबा उनको हजुरआमाको मृत्यु शोकमा थिए । तसर्थ, उनले आफ्नो खुट्टाको मद्दतबाट खाना खान सिक्न थालिन् ।

त्यसअघि, उनलाई या त उनका आमाबुबा वा उनकी सानिमाले खुवाउनुपर्थ्यो । तर, यो त्यस क्षण सम्भव थिएन । उनी अबोध बालिका थिइन्, जो समाजको घृणाका बीच हुर्किन् । उनले आफ्ना मनका भावना कहिल्यै बोल्न सकिनन् । उनलाई पशुजस्तै व्यवहार गरिन्थ्यो र उनको आफ्नै परिवारले उनलाई बोझका रूपमा हेर्थ्यो । उनले शारीरिक अपांगताका कारण नै समाजबाट भेदभाव सहन पर्यो ।

उनीसँग कुराकानी गर्ने कुनै माध्यम थिएन । हजुरआमाको मृत्युपछि झमक पनि मरिदिए हुन्थ्यो भनेर मानिस सुनाउँथे । झमकसँग यस्ता अपशब्द सुनेर पनि चुप लाग्नुबाहेक अरू कुनै विकल्प थिएन ।उनी सधैँ नयाँ कुरा सिक्नका लागि उत्साहित हुन्थिन् । तर, उनका आमाबुबाले यो कोसिसलाई बेकारका रूपमा लिने गर्थे । जब उनको बुबा बहिनीलाई पढाउँथे, उनी टाढाबाटै अवलोकन गर्थिन् । उनी आफ्नी बहिनीले अक्षरहरू उच्चारण गरेको सुन्थिन् र मनमनै त्यही गर्थिन् ।

बुबाले आफ्नी बहिनीको हात समातेकोे र उनलाई कागजमा अक्षरहरू लेख्न सिकाएको हेरिरहन्थिन् झमक । यसरी उनी निरन्तर अभ्यास गर्न थालिन् । उनको कलम, शीतका थोपाहरू, बाँसको डाँठ वा साना ढुंगाहरू र कागजचाहिँ प्रकृति थियो । जब उनले पहिलोपटक अक्षर लेख्न सिकेकी थिइन्, त्यो खुसी बाँड्ने कोही थिएनन् ।

विस्तारै उनले शब्द र वाक्य निर्माण गर्न थालिन् । पछि गएर उनकी बहिनी मीना उनका लागि धेरै सहयोगी भइन् । उनी हरेकपल्ट आफ्नो विद्यालयबाट दिदीलाई पढ्न भनेर घरमा पढ्न नयाँ किताबहरू बोकेर ल्याउँथिन् ।

केही समयपछि मानिसले झमकलाई खुट्टाबाट लेख्ने केटीका रूपमा चिन्न थाले । उनलाई भेट्न आउँथे । उनी भने आफ्नो कामहरूका लागि चिनिन चाहन्थिन् । अरू केहीका लागि होइन ।

त्यसरी कलम चलाउँदै जाँदा उनले कविता, निबन्ध आदि लेख्न थालिन् । उनलाई पनि पहिचान मिल्दै गयो । उनी आफ्ना लेखनबाट सम्मानित पनि भइन् । पछि गएर उनले कान्तिपुरमा पनि नियमित लेख्न थालिन् । तर, जीवन त्यति बेला सहज थिएन । किनकि, देशमा अराजकता थियो । द्वन्द्वकालमा उनले लेख्नुभन्दा अगाडि धेरैपटक सोच्नुपर्थ्यो । किनकि, त्यहाँ कुनै पनि समयमा र कहीँ पनि कसैको मृत्यु हुन सक्थ्यो ।

उनी कहिलेकाहीँ सोच्थिन् पनि, उनलाई अपांगता भएका महिला भएकाले मात्र छोडिएको हो । उनले बाल्यकालमा पाउन नसकेका स्वतन्त्रता पाउनका लागि आफ्नो जीवनमा धेरै संघर्ष र चुनौतीहरूको सामना गरिन् र जितिन् पनि ।

झमक घिमिरेलाई नेपाली हेलेन केलर पनि भन्ने गरिन्छ । किनभने, उनीहरू दुवै एउटै अवस्था, मस्तिष्क पक्षाघातबाट पीडित । केलरको विपरीत उनी एक गरिब परिवारकी, जहाँ उनका आमाबुबाले शारीरिक अपांगता भएका बालिकाले पीडा भोग्नुको सट्टा मर्नु ठिक सम्झिन्थे !

समाजले उनलाई बेकार काँडाका रूपमा लिएता पनि उनी यो निष्कर्षमा पुगेकी छन् कि जीवन एउटा फूल हो, काँडा होइन । यदि, फूलहरू मात्र भए जिन्दगी झनै खराब हुन्थ्योे र काँडा नभएको भए मानिस जीवनलाई राम्रो बनाउने कुनै प्रयास नै गर्दैनथे भन्ने उनको दृष्टिकोण छ ।

‘जीवन काँडा कि फूल’ एक प्रेरणादायक पुस्तक हो, जसले हामीलाई केही न केही गर्ने ऊर्जा दिइरहेको हुन्छ । यदि, हामी जान्ने इच्छा राख्छौँ भने यो पुस्तकले मार्गनिर्देश पनि गर्छ ।