December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

प्रतिस्थापित प्रेम

“ए विष्णु काका यता आउनुस् न ! तल खोलामा मान्छे मरेको जस्तो छ,” समीरले चिच्याउँदै भने । “होइन, के भन्छ यसले बिहानबिहानै ! कहाँ देखिस् ? खोइ हिँड् त” भन्दै विष्णुप्रसाद बाहिर निस्किए । “ऊ तल पानीघट्टको छेउको खोलामा ऐँसेलुको झाडीमा छ । माथिबाट खुट्टा मात्रै देखिएको छ, छिटो हिँड्नुस् न ।”

Advertisement

विष्णुप्रसादले अरू छिमेकीलाई पनि बोलाए । र, खोलातिर लागे । समीरले उनीहरूलाई लास भएको ठाउँमा पुर्याएर देखाए । विष्णुप्रसाद “छोरा ! छोरा !” भन्दै रोएर हामफाल्न खोजे । अरू छिमेकीले उनलाई सम्हाले । उनले आफ्नो छोराको पाइन्ट र खुट्टा देखेर मात्रै सजिलै चिनिहाले ।

बिहानको करिब छ बजेतिरको समय थियो । बर्सातको मौसम भएकाले खोलामा पानी खलखल बगेको आवाज चर्कै थियो । आकाशमा बादल गड्याङगुडुङ गर्दै गर्जिएको आवाजले एकै छिनमा ठूलो पानी पर्ने संकेत गरिरहेको थियो ।

“जितेन्द्र ! मेरो छोरा ! बेलुका मेरा यिनै हातले खाना दिएको थिएँ । खाएर कोठामा गएर सुतेको थियो । यहाँ यस्तो अवस्थामा कसरी आइपुग्यो ?” भन्दै विष्णुप्रसाद छाती पिटेर रुन थाले । गाउँलेहरू अब के गर्ने भन्दै एकार्काको अनुहार हेर्न थाले । 

“तुरुन्त पुलिसलाई फोन गरौँ । पछि पानी पर्लाजस्तो छ” भन्दै समीरले प्रहरीलाई फोन गरे । प्रहरी आउनुभन्दा पहिला नै विष्णुप्रसादकी श्रीमती र छोरी पनि आइपुगे । आफ्नो दाजुको त्यो अवस्था देख्न नसकेर बहिनी मुर्छा परिन् । आमाले छोरालाई छोएर सुम्सुम्याउन खोजिन्, तर गाउँलेहरूले उनलाई सम्हालेर माथि नै रोके ।

एकै छिनमा मानिसहरूको ठूलो भिड लाग्यो । सबैले आ–आफ्नो तरिकाले घटनाका बारेमा अड्कल लगाउन थाले । एक छिनपछि प्रहरीको टोली घटनास्थलमा आइपुग्यो ।

तिनले मुचुल्का उठाएर लासलाई पोस्टमार्टमका लागि पठाए । लास वरिपरि ‘क्राइम जोन’ भनेर छुट्ट्याइयो । शरीरमा खासै कतै चोटपटक लागेको देखिँदैनथ्यो । टाउकोबाट भने धेरै रगत बगेको जस्तो देखिन्थ्यो ।

गाउँका अरू महिलाहरूले जितेन्द्रकी आमा र बहिनीलाई सम्हाल्दै घरतिर लिएर गए ।समीर जितेन्द्रका सबैभन्दा मिल्ने साथी थिए । सानैदेखि गोठालो, पानी पँधेरो र स्कुल मात्रै होइन, उनीहरू आ–आफ्नो बुबाको खल्तीबाट चोरेको चुरोट पनि सँगै पिउँथे ।

उनीहरूलाई गाउँमा महजोडीजस्तै मिल्ने भनेर सबैले प्रशंसा गर्थे । एकार्काको घरमा जाने र बस्ने उनीहरूले आलोपालो मिलाएका हुन्थे । यसरी समीर र जितेन्द्रको सम्बन्ध परिवारका सदस्यभन्दा पनि धेरै प्रगाढ थियो ।कहिलेकाहीँ घरमा समीरले काम बिगार्दा ‘जितेन्द्रको संगतले बिग्रेको’ भन्दै उनका बुबाआमाले गाली पनि गर्थे ।

“कसैसँग पनि चाहिनेभन्दा बढी नजिक हुनु हुँदैन । पछि सबैभन्दा ठूलो शत्रु बन्छ है” भनेर आमाले समीरलाई सम्झाउँथिन् । तर, समीर भने यस्ता कुरामा वास्ता गर्दैनथे ।यो घटनाले समीरलाई पनि निकै विक्षिप्त बनायो । तर पनि उनले आफूलाई सम्हालेर उनको मृत्युको कारण पत्ता लगाउने र परिवारलाई सम्हाल्ने प्रतिबद्धता व्यक्त गरे ।उनी विष्णुप्रसादलाई अंगालो हालेर निकै बेर रोए । अनि भने, “काका ! कसको के बिगारेको थियो र उसले ? म जितेन्द्रको हत्या गर्नेलाई छोड्दिनँ । बरु तपाईं आफूलाई सम्हाल्नुस् ।”

पोस्टमार्टम रिपोर्टमा टाउकोमा ह्यामरले हिर्काएको र घाँटी थिचेर हत्या गरेको देखियो । सबै गाउँले आत्तिए, किनभने जितेन्द्र भर्खर १२ कक्षामा पढ्थ्यो । न उसको कसैसँग रिसइबी थियो न त कुनै लेनदेन नै । आखिर कसले किन यसरी जितेन्द्रको हत्या गर्यो होला ? सबैको मनमा एउटै प्रश्न उठिरहेको थियो ।

घटनाको अनुसन्धान सुरु भयो । जिल्लाबाट डीएसपी चन्द्रकान्तको नेतृत्वमा सीआईबीसहितको टोली गाउँमा आएर ‘डग स्निफिङ’ समेत गराइयो । तर, त्यसले पनि ठोस नतिजा दिन सकेन । प्रहरीले थप अनुसन्धान गाउँमै बसेर सुरु गर्यो ।समीरले अनुसन्धान टोलीका सबैजनालाई आफ्नै घरमा बस्ने व्यवस्था मिलाइदिए । समीर बेलाबेला विष्णुप्रसादको घरमा गएर घरघरायसी काममा सहयोग गरेर आउन थाले ।

आफ्नो घरमा कहिल्यै आमाबुबालाई काममा नसघाउने समीर विष्णुप्रसादको घरमा गई सानोदेखि ठूलो सबै काम गरेर आउन थाले । उनी जितेन्द्रकी बहिनी र आमाबुबासँग निकै समय बिताएर तिनलाई सान्त्वना दिएर फर्किन्थे ।परिवारमा जितेन्द्रको कमी महसुस हुन नदिन उनले भरपुर कोसिस गरेका थिए । गणितको प्रतिस्थापन विधिले मानव जीवन र मानवीय संवेगहरूमा पनि राम्रै काम गर्ने भएर होला, जितेन्द्रका आमाबुबाले पनि छोराको सम्पूर्ण माया समीरमा नै खन्याउन थाले ।जितेन्द्रकी बहिनी पनि समीर कति बेला आफ्नो घरतिर आउला र आफूलाई सम्झाउला भनेर बाटो कुरेर बस्न थालिन् ।

०००

तर, कथाले सोचेअनुरूप मोड लिएन ! घटनाको सातौँ दिन समीर विष्णु काकासँगै बसिरहेका थिए । प्रहरी प्रमुख चन्द्रकान्तले आफूहरू अपराधीको नजिक पुगेको तर पूर्ण रूपमा प्रमाणित गरेर सार्वजनिक गर्न केही समय लाग्ने कुरा मिडियालाई जानकारी गराएको भन्ने उनले थापा पाए ।समीर जितेन्द्रलाई गुमाएर विक्षिप्त बनेको परिवारको हेरचाह र सहयोग गर्नमा यति व्यस्त थिए कि उनले आफ्नै घरमा बसेर प्रहरीले अपराधी पत्ता लगाएको समेत जानकारी पाएनन् ।खबर थाहा पाएपछि समीर तुरुन्तै आफ्नो घर पुगे ।

घरमा पुग्दा प्रहरी र उनका बुबाआमा सबै एकै ठाउँमा बसिरहेका थिए । वातावरणमा पूरै मौनता छाएको देखेर समीर आत्तिए । उनी बोले, “सर, हत्यारा पत्ता लाग्यो ? को हो ? मलाई थोरै आइडिया दिनुहोस्, थप प्रमाण जुटाउन म मद्दत गर्छु ।” “अब हामीलाई कसैले मद्दत गर्न सक्छ भने त्यो तपाईं मात्र हो,” डीएसपी ज्ञवालीले भने । “म भरपुर सहयोग गर्छु । भन्नुस् न डीएसपी साहेब, के गर्नुपर्यो मैले ?”“समीरजी, घटनाको तीन दिनसम्म हामी तथ्य र आधारविहीन भएर अनुसन्धानमा भौँतारिरह्यौँ । तेस्रो दिन बिहानको चिया पिउँदा तपाईं हतारहतार सर्टको बटन लगाउँदै जितेन्द्रको घरतिर जाँदै हुनुहुन्थ्यो ।

मैले तपाईंको सर्ट पछाडिको भागमा सानो रातोरातो दागजस्तो केही देखेँ । तर, त्यति बेला खासै केही अनुमान गर्न सकिएन । पछि नुहाउँदा एकाएक त्यो दाग दिमागमा आयो । त्यसपछि तपाईंले सुरुको दिनदेखि हामीलाई भनेका एकएक कुराहरु दिमागमा आफै पुनरावृत्त हुन थाल्यो । तर, तपाईंको कुनै पनि कुरामा मैले शंका गर्ने तथ्य र आधार भेटिरहेको थिइनँ !”डीएसपीले थपे, “तर, कताकता तपाईंको बोलीमा डरको छनक भने भेट्टाएँ । तपाईंको त्यही डरलाई आधार बनाए पनि तपाईंसँग सोधपुछ गर्ने अवस्था थिएन, किनभने मृतकको परिवारको एक मात्र विश्वासपात्र तपाईं हुनुहुन्थ्यो ।

बेलुकी तपाईंले फुकालेर राखेको सर्ट निकालेर हामीले परीक्षणका लागि पठाउँदा त्यसमा लागेको रगत जितेन्द्रको डीएनएसँग पनि म्याच गरेको भन्ने रिपोर्ट आयो । …अब, तपाईंले योभन्दा बढी बुद्धिमान् बन्ने प्रयास नगरेकै राम्रो होला ! बाँकी तपाईं आफ्नै मुखबाट भन्नुस्, किन जितेन्द्रको हत्या गर्नु’भो ?”“ यो के भन्दै हुनुहुन्छ डीएसपी साहेब ?,” समीरको स्वर पूरै काँपिरहेको थियो । त्यसो भन्न नपाउँदै डीएसपी ज्ञवालीले समीरको गालामा एक झापड दिए । समीरकी आमाबुवा छेउमा बसेर हेरिरहेका थिए । छोरालाई पिटेको देखेर आमाले भनिन्, “समीर ! म यो सबै सुन्नुभन्दा पहिल्यै किन मर्न सकिनँ । अब साँचोसाँचो भन, खास भएको के हो ?”

समीरले लामो सास फेरे । अनि, आफूभित्रको डरलाई बयानमा व्यक्त गर्न थाले !“म अस्मितालाई औधी माया गर्थेँ भन्ने जितेन्द्रलाई पनि राम्ररी थाहा थियो । हरेक दिन, हरेक भेटमा उसलाई म, अस्मिता र मेरो प्रेमको बारेमा सुनाउने गर्थेँ । तर, त्यस दिन साँझ म बजारबाट घर फर्किंदै थिएँ । जितेन्द्रको घरभन्दा अलि तलतिर मेरो घरतिर छुट्टिएर आउने बाटोमा मैले पत्याउनै नसकिने दृश्य देखेँ । एक छिन त लाग्यो म सपनामा छु अथवा दृष्टिभ्रम भइरहेको छ । मैले मेरो होस गुम्न दिइनँ । फेरि हेरँे । अस्मिता र जितेन्द्र एकार्कालाई अंगाल्दै चुम्बनको मिठो अनुभूति लिइरहेका थिए । जुन अनुभूति मैले वर्षौँदेखि अस्मितालाई प्रेम गर्दा पनि लिन पाएको थिइनँ । सायद उसको नाम नै जितेन्द्र भएकाले उसले त्यो अवसर पाएको हुनुपर्छ ! साँझको समय भएकाले बाटोतिर कोही मान्छे थिएनन् । मैले जितेन्द्र र अस्मिताबीचको दृश्य देखेपछि केही बोल्ने हिम्मत गरिनँ । बाटो फेर्दै सिधै जितेन्द्रकहाँ पुगेँ । निकै बेर कुरँे । झिमिक्क रात परेपछि मात्रै ऊ आइपुग्यो । मैले उसलाई कताबाट आएको भनेर सोध्दा चिया पसलतिर गएको थिएँ भन्ने सामान्य जवाफ मात्रै फर्कायो । त्यसपछि अरू केही सोधिराख्नु जरुरी ठानिनँ । खाना खाएपछि सधैँजसो हामी बसेर चुरोट खाने अड्डामा आउन भनेर म घरतिर लागेँ । हामी दुवैको घरबाट ठिक बीच भागमा पर्ने डाँडामा बसेर हामी प्रायः चुरोट खान्थ्यौँ । फोन गर्नै नपर्ने गरी हामी ठ्याक्कै समयमा अड्डामा आइपुग्थ्यौँ । त्यो रात पनि ठिक साढे नौ बजे हामी डाँडामा पुग्यौँ । निकै बेर चुरोट खादै गफ गर्यौँ । एकपछि अर्को गर्दै कति चुरोट खाइयो थाहा नै भएन । सधैँ हामी छुट्टैछुट्टै चुरोट खाने गरेको भए पनि त्यो रात मैले उसले सल्काएको चुरोट खाएँ । मलाई जति माया अस्मिताको थियो, त्योभन्दा बढी जितेन्द्रको थियो । उसलाई अँगालो हालेर रुन मन लागिरहेको थियो, तर उसले दिएकोे धोकाले मभित्रको दानव जागिसकेको थियो । निकै बेरसम्म अन्तरमनका कुरा गरियो । जीवनभरका तितामिठा अनुभव साटासाट गरियो । हेर्दाहेर्दै रातको बाह्र बज्यो । रात धेरै बित्यो घर गएर सुतौँ भन्दै उसले छुट्टिन खोज्यो । एक्कासि मैले लुकाएर राखेको ह्यामर झिकेर उसको टाउकोमा बजारेँ । दुईपटक बजारेपछि बल्ल ऊ ढल्यो । अनि, उसले दिएको धोकाको बारेमा जानकारी गराएँ र भनेँ ‘एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार’ । ऊ उठ्न नसकेर चिच्याउन खोजेपछि मैले उसको घाँटी थिचेर सधैँका लागि उसको सास बन्द गरिदिए ।”

समीरको बयान लिखित र अडियो दुवै भर्जनमा राखियो । र, समीरलाई हतकडी लगाइयो । प्रहरीले घटनाका बारेमा समीरका आमाबुबालाई केही थाहा नभएको कुरा स्पष्ट बुझिसकेका थिए ।डीएसपी ज्ञवालीले समीरका बुबालाई भने, “के गर्ने सर ! हाम्रो ड्युटी यस्तै छ । यतिका दिन तपाईंको घरमा तपाईंहरूले पकाएको खाना खाएर आज तपाईंकै छोराको हातमा हतकडी लगाएर लिएर जाँदै छौँ । नैतिकता र एउटा बाबुको भावनालाई बुझेर तपाईंसँग क्षमा चाहन्छु ।”समीरका बुबाले भने, “सर, जेसुकै होस् । जोसुकै होस् । अपराधीलाई सजाय हुनैपर्छ ।”

भोलिपल्ट समीरलाई अदालतमा उपस्थित गराइयो । प्रहरीमा उनले दिएको बयान पनि प्रस्तुत गरियो । उसको थप बयान सुरु हुनुभन्दा पहिले मृतक जितेन्द्रका बुबाले विशेष समय मागेर बोले—“श्रीमान् ! म मृतकको बाबु हुँं । मेरो छोराको हत्या समीरले गरेको होइन ! प्रहरीले उसलाई जबरजस्ती धम्काएर बयान गराएको हो । मरिसकेको छोराको लागि म हुँदाखाँदाको आफ्नो भतिजाको जिन्दगी जेलमा सडाउन चाहन्नँ । मलाई मेरो छोराको हत्यारा चाहिएन । भावनामा बगेर समीर र उसका बुबाआमाको खुसी खोस्न चाहन्नँ । म यो मुद्दा फिर्ता लिन चाहन्छु ।”