October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

कथा : चिनो

  • कविता राई

किराहरू किरीरी कराउँदै थिए । घरछेउको खेतका गरामा पानीको समाह चलिरहेको थियो स्वाँवाँवाँ…। त्यससँगै भ्यागुताहरू ठूला साना स्वरमा ट्वार ट्वार कराइ रहेका थिए । पूर्णिमालाई आधारात बितिसक्दा पनि निद्रा लागेको थिएन । धेरै पटक कोल्टे फेरिसकेकी थिइन् । खटपट लाग्थ्यो । घरि सिरोकले मुख छोप्थिन् । फेरि निसास्सिए जस्तो हुन्थ्यो सिरोक फ्याँकेर घोप्टो पर्थिन् । तर त्यही रात पो थाहा पाइन् शरीर घोप्टो परेर सुत्न नहुने भइसकेको रहेछ । दायाँ कोल्टे पर्थिन् । बायाँ कोल्टे पर्थिन् । दुवै हात नमस्ते बनाएर चल्नीनेर सिरानी लगाउँथिन् । आँखाको डिल भत्काएर बगेका आँसु गाला भिजाउँदै हातको बाटो बगेर झर्थे र सिरानी भिजाउँथे । पहाडको छातीमा जताततै बगेको वर्षे भेलजस्तैकुनै लय थिएन त्यसको ।

ननिदाएरै बित्न लाग्यो रात । बत्ती बाल्नलाई सिरानीमा थिचेर राखेको सलाइ समाइन् पूर्णिमाले । तर पल्लो कोठामा सुतेका आमाबाले थाहा पाउलान् भन्ने लागेर सलाइ कोर्न पनि सकिनन् । बा दमको रोगी छन् । रातमा साह्रै धेरै निदाउन सक्दैनन्, खोकिरहन्छन् । पूर्णिमाले यति सोच्दासोच्दै बा त खोक्न थालिहाले – ख्याँक्ख्याँक् ख्याँक्ख्याँक ख्याँक्ख्याँक्…।

घरको आँखीझ्यालबाट जूनको थोरै उज्यालो कोठामा छिरेको थियो । त्यही किरिङमिरिङ उज्यालोमा घडीमा समय हेर्न खोजिन् पूर्णिमालेतर देखिनन् । पोहोर साल सोल्टी पल्टनबाट पहिलो छुट्टीमा घर आउँदा उनलाई उपहार ल्याइदिएका हुन् साइकोफाइभ घडी । सोल्टी उमेशले घडी दिँदै भनेका थिए–“सोल्टीनी ! तपाईँलाई मेरो सानो चिनो है ।” समाउन सकेकी थिइनन् शरमले । मुख बटारेर सोल्टीलाई घुक्र्याउँदै भनेकी थिइन्– “चाहिएको छैन कसैको घडीसडी !”

पूर्णिमाले नलिएपछि सोल्टीले उनको देब्रेहात समाएर आफैँले बाँधिदिएका थिए त्यो घडी । सोल्टीका उबेलाका ती सुकोमल हातको स्पर्श सल्बलाएजस्तो लाग्यो उनलाई ।

घडीले सोल्टीको याद झन् ताजा बनाएर ल्यायो । पूर्णिमाको आँखैअगाडि झलझली नाच्न थाले उनी । सोल्टी साँँच्चिकै मन पथ्र्यो पूर्णिमालाई । लरक्क परेको सुगठित जीउ, हिस्सी परेको अनुहार, ठूलो निधार, सधँै प्रेमले आफैँलाई हेरिरहने उनका जोर नयन ।

सोल्टीसँग पूर्णिमाको पहिलो भेट तीनवर्ष अगाडि भएको थियो । फागुन महिना थियो । दाजुको बिहेमा पूर्णिमा खुब रमाएकी थिइन् । जन्तीजाने अघिल्लो दिन सबै गाउँले भेला भए पूर्णिमाको घरमा र टारबारीको भित्तामा भतेर बार्न लागे । बाँसको चोया बुनेर बनाएको चित्राले कोठा कोठा बनाए । तीन तीन ओटा ढुङ्गा गाढेर चुला बनाए । बिहेमा चाहिने आवश्यक मासु, तरकारी, अचार, जाँड, रक्सी, फलफूल, रोटीलगायतका खानेकुरा तयार गरे । पाहुना आउनेक्रम पनि उस्तै थियो । गाउँघर आफन्त सरय(सघाउनी)मा चामल, जाँड, रक्सी लिएर आउनेको पनि घुइँचो थियो ।

भोलिपल्ट बेहुला लिएर गाउँका धेरै छोरामान्छे जन्ती गए । रहेका छोरीमान्छे भेला भएर रातभरि पूर्णिमाको घरमा रत्यौली खेले । छोरा मान्छेको वेशमा लाटा बनेर आएकी पुछारघर माइलीले छोरी मान्छेलाई जिस्क्याएर दोहोलो काढिन् । हाँसेर कतिको त मुख आँऽऽ को आँऽऽ भयो भनेर भने कोही कोहीले । पूर्णिमाको बा जन्ती गए । आमालाई पनि गाउँलेले खुबै रत्यौली नचाए । पूर्णिमा पनि नाचिन् बेस्सरी ।

राति ढिलो सुतेको भए पनि बिहान छिटो उठिन् पूर्णिमा । त्यो दिनघरमा नयाँ मान्छे भाउजूको आगमन हुने कुराले फुरुङग थिइन् । आमालाई घर लिपपोत र सरसफाइ गर्न सघाइन् । सबेरै छरछिमेकी भेला भएर अरू काम पनि सघाउन थाले । भतेर पकाउन सुरु भयो । राँगाको, सुँगुरको, खसीको, कुखुराको छुट्टाछुट्टै भान्सा तयार भयो । शाकाहारी भान्सामा भात तरकारीसँगै दही, दूध, घ्यु र फलफूल पनि सबै तयार भयो ।

जन्तीको पर्खाइमा आतुर थिए सबै । अपरान्ह साँढे दुई बजेतिर धनसिङ्गे डाँडामा नरसिङ्गा बजेको सुनियो– धुतुरु धूउउउउउउ …। सबैको कान ठाडा भए । “लु जन्ती आयो है ।” सबै आआफ्ना काममा तयार भए । सनई, दमाह, ट्याम्पुरो, नरसिङ्गा, झ्याम्टालगायतको पञ्चैबाजा घन्काउँदै जन्ती बेहुली लिएर घरनजिक नजिक आइपुग्यो । जति घर नजिक हुँदै गयो, उति जन्ती रमाउँदै नाच्न थाले । बाजा बजाउने दर्जीको समूह झन् कम्मर मर्काइ मर्काइ नाच्दै थिए । अघि अघि बाजागाजा, पछाडि जन्ती, जन्तीको बिचमा जोरघोडामा बेहुला र बेहुली ।

“जन्तीलाई भतेर माथिबाट लेउनु हुँदैन । तलबाट लेऊ ।” कलिया मानबहादुर जन्तीलाई निर्देशन दिँदै थिए ।

जन्ती आँगनमा पुग्यो । बाजागाजार क्यासेटमा बजेको गीतले गुञ्जायमान भयो वातावरण । सबैको ध्यान बेहुलीमानै थियो । बेहुलीको अनुहार हेर्न आतुर थिए घरगाउँले । बेहुला बेहुलीलाई घोडाबाट ओरालियो । आँगनमा ओछ्याएको गुन्द्री र राडीमा राखेर रक्सी, रोटी र अचारको सगुन दिइयो । पूर्णिमाकी काकाकी छोरी मालसरीले माइतीको शिर उभाउनी माइत राखेकी थिइन् । मालसरीले माइतको लागि ल्याएको राँगा देवा (बेहुलाको बाबा)लाई जिम्मा लगाइन् । रोटी, रक्सी र अचार लगायतका सबै परिकार जन्ती र घरगाउँलेलाई बाँडिन् । बेहुलाले केही पैसाको मुठो मालसरीको हातमा लगाएर चेलीको खुट्टामा ढोगेपछि चेलीको पनि शिर उभियो ।

जन्तीसँग बेहुलीकी आफ्नै बहिनी र काकाकी छोरी बहिनी लोकन्ती आएका थिए । बेहुलीका आफ्नै भाइ र फुपूको छोरा भाइ माइती बनेर आएका थिए । बेहुला बेहुलीसँगै राखेर सगुन दिइयो उनीहरूलाई पनि । सगुन बाँड्न छिमेकी भाउजूहरूसँग खटिएकी थिइन् पूर्णिमा । उनले त्यही समय देखेकी हुन्  अरूसँगै भाउजूको साक्खै भाइ उमेश सोल्टीलाई । सोल्टीले कतिखेरदेखि हेरिरहेका रहेछन् पूर्णिमालाई । सगुन दिनेक्रममा एकझल्को आँखा जुधेका हुन् पूर्णिमाको पनि सोल्टीसँग ।

जन्ती र घर गाउँलेलाई भतेर खुवाएपछि बेहुली भित्र्याउने कार्यक्रम भयो । पूर्णिमाले ढोकामा बर्की टाँगेर बाटो छेकिन् दाजु–भाउजूलाई । दाजु–भाउजूले केही पैसा हातमा राखिदिएर खुट्टा ढोगे पूर्णिमाको । अनि पूर्णिमाले पनि ढोका खुल्ला गरिदिइन् । पूर्णिमाकी आमाले बुहारीको हात समातेर तान्दै घरभित्र हुलिन् । बेहुलीको नयाँ घरमा प्रवेश भयो । नाक्छोङले बेहुलीलाई रीत अनुसार चुलामा लगाएर परिवारको नयाँ सदस्य बनाए । बेहुली बाँच्दा–मर्दा सदाको लागि त्यही घरकी भइन् ।

भोलिपल्ट बहुभतेरको दिन खाना दिने क्रममा केही बोलचाल भयो पूर्णिमाको सोल्टी–सोल्टिनीसँग । “थोरै खाना थपौँ सोल्टी ?

“ भयो सोल्टिनी ।”

“थोरै तरकारी राखौँ सोल्टिनी ?”

“भयो सोल्टीनी …” यस्तै ।

यसैगरी खाजा दिँदा, जाँड दिँदा, ओछ्याउने दिँदा, सुत्नेबेलामा अलिअलि कुरा भए । उमेश सोल्टीले जाँड नखाएको पूर्णिमालाई राम्रो लाग्यो । चिया दिँदा असाध्यै नजिक हुनुप¥यो । सोल्टीले सास फेरेको समेत सुनिने गरी छेउमा जान धेरै लाज लागेको थियो उनलाई ।

पूर्णिमा आमाबाकी एक्ली छोरी हुन् । आफू दुःख र परिश्रम गरेर भए पनि छोराछोरीलाई सुखमा राखेका हुन् उनका बाआमाले । किशोरावस्था पार गरेर यौवनावस्थामा प्रवेश गर्दै गरेकी । गहुँगोरो वर्ण, सानासाना रिमिक्क परेका आँखा, ठिक्कको चुच्चो नाक, ठिक्कको केश, सर्लक्क परेकी । त्यही साल एस.एल.सी. परीक्षाको तयारी गरिरहेकी हाँसिरहने, बोलाइली पूर्णिमा घर गाउँकी प्यारी थिइन् । सोल्टी उमेशको नजर पनि पूर्णिमामाथि परेछ । पूर्णिमालाई सोल्टीहरूको छेउमा देख्दा गाउँलेहरूले पनि जिस्क्याउन थालेका थिए– “लौ है ज्वाइँहरू सोल्टिनीमाथि त हक पो लाग्छ । हाम्रो पूर्णिमा बहुत राम्री छ है फकाउनुुस् ।” सोल्टीहरू झन् पूर्णिमालाई गढेर हेर्थे र मुस्कुराउँथे । पूर्णिमा लाजले भुतुक्क हुन्थिन् ।

सोल्टीहरूसँग भन्दा सोल्टिनीहरूसँग निकै नजिक भइसकेकी थिइन् पूर्णिमा । दुरान फर्काउने दिन सोल्टिनीहरूले सँगै जान र दाजु भाउजूसँग फर्किन भनेर खुब ढिपी गरे । तर पूर्णिमालाई भाउजूको माइत जान निकै लाज भयो, मानिनन् । छ ओटा थुन्चेमा रोटी, अचार, रक्सी र भातीजाँड कोसेली तयार भयो । बेहुलाका भाइभतिजाले ती कोसेलीका थुन्चेहरू बोके । पूर्णिमाको दाजु भाउजू दुरानमा माइत ससुराल गए । सोल्टी सोल्टिनी पनि उनीहरूसँगै घर फर्किए ।

दाजु–भाउजू र सोल्टी सोल्टिनी फर्केपछि पूर्णिमालाई घर निकै शून्य लाग्यो । घरका पाहुनाहरू पनि फर्किनेक्रम जारी थियो । पूर्णिमालाई खोई कस्तो कस्तो भयो । त्यस्तो कहिल्यै भएको थिएन ।

तीनचारदिनपछि दाजु–भाउजू घर आए । कोसेलीपात टन्न बोकाएर लिएर आएका थिए । यसपटक भने दाजु–भाउजूसँग सोल्टी सोल्टिनी थिएनन् । कोसेली बोक्ने मान्छेहरू मात्रै थिए ।  पूर्णिमालाई खल्लो लाग्यो ।

गाउँघरका छरछिमेकी सबै जम्मा भए कोसेली खान । कोसेलीमा आएको रक्सीले रमरम मातेका एकजना छिमेकीले भने “अब पूर्णिमाको पनि पालो आयो होइ । उसको लागि म लेउँछु कुटुम्ब । कि कसो होइ कान्छा दाजै?” पूर्णिमाको बाको घुँडा समाउँदै आँखा झिमझिम पारेर उनले भने ।

“विचार गर्नुपर्छ काइँला” पूर्णिमाको बाले जबाफ दिए । पूर्णिमाको मुटु ढुकढुक भयो, मानौँ अहिले नै मगनी भएर बिहे भइहाल्छ ।

बाँसघारी छेउमा टाँकीको रुख थियो । सानोतिनो रुख चढेर पूर्णिमा आफैँ डाले घाँस काट्न सक्थिन् । त्यो दिन उनी घाँस काट्न गएकी हुन् । बाँसघारी मूलबाटो छेउमा थियो । माथ्लाघरे डिल्लीकाका बाँसको फेदमा खुब सायरी लेख्थे । उपद्रेहरूले सायरीको छेउतिर छाडा शब्दहरू लेखिदिन्थे । काका गनगनिँदै खुकुरीले ताछ्थे ती शब्दहरू । बटुवाहरू उभिएरै पढिरहेका हुन्थे कहिलेकाहीँ काकाको सायरी । भ्याएकाबेलाउनी पनिपढ्थिन् । गज्जब लाग्थ्यो । त्यो दिन उनी तिनै बाँसका फेदमा लेखिएका सायरी पढ्दै थिइन् । यसपालि हुर्किएको मोटो सलक्क परेको कलकलाउँदो छिप्पिँदै गरेको तामा बाँसको फेदमा उनले पढेको अक्षर र शब्द काकाको जस्तो लागेन पूर्णिमालाई । त्यसमा राम्रो अक्षरमा लेखिएको थियो– “सोल्टिनी, फेरि भेटौँला है ।”

अनेक कुरा खेले पूर्णिमाको मनमा–“कसले लेखेको होला ? उमेश सोल्टीले ? होइन, मसँग राम्ररी नबोली गएका उमेश सोल्टीले किन लेख्छन् र यसरी । अर्का सोल्टीले ? होइन, सोल्टिनीहरूसँग खुब जिस्केका तल्लाघर चक्रे दाइले हुनुपर्छ । होइन, ए… ए… अर्का सोल्टी र प्रतिमा खुब जिस्केका हुन्, तिनै सोल्टीले प्रतिमालाई लेखेको हुनुपर्छ …।”

चैत महिना विहानै देखि हुरी चलिरहन्छ । हुरीसँगै बाँसका पातहरू बरबरी झर्छन् । बाँसका रुखहरूउसरीनै बेस्सरी नाच्न थाल्छन् । हुरी धेरै बढ्न थालेपछि हतार हतारटाँकीको रुखमा चढिन् पूर्णिमा र घाँस झारिन् । घाँस त धेरै पो झरेछ । सकिनसकी घाँसको भारी उठाइन् । घर पुग्दा आमाले भनिन्– “आज किन ढिलो गरिस् ? लडिस् कि भनेर खोज्नु आउनु लागेको थेँ ।”

भात खाएर फेरि त्यही बाँसको फेदमा गइन् । सायरी पढिनन् । पढिन्–“सोल्टिनी फेरि भेटौँला है ।” हेरिरहिन् अक्षरहरूलाई ।

एकदिन पूर्णिमा र भाउजू नुहाउन सँगै पँधेरा गए । सबै लुगा भाउजूले नै धोइन् । नन्दको सुकोमल यौवना ढाडको मयल माड्दै भाउजूले भनिन्–“मेरो भाइलाई तपाईँ खुब मन प¥यो रे मैयाँ, मेरो भाइ तपाईँलाई कस्तो लाग्यो नि ?”

“भाउजू पनि …।” पूर्णिमाले लजाएर जबाफ दिएकी थिइन् । तर भित्रभित्र खुब खुसी लागेको थियो । “त्यो बाँसमा पक्कै उमेश सोल्टीले लेखेको हुनुपर्छ ।” मनमनै भनिन् ।

दिदीभेना भेट्न भनेर सोल्टी कहिले काहीँ आइ रहे । सोल्टीसँग बोलचाल राम्ररी नै हुन थाल्यो । ख्यालठट्टा पनि गर्न थालेका थिए । दाजु,भाउजू र सोल्टीसँग हाटबजार घुमफिर पनि भयो ।एकपटक हाटबाट फर्कँदा बाटोमा अघि हिँडेका बेला पछाडि हिँडेका सोल्टीले अँगेरीको फूल चुँडेर पूर्णिमाको टाउकोमा अल्झाइ दिएछन् । घर पुग्ने बेलामा दाजुले “अँगेरी फूलको शिरफूल लाइछस् त पुनि” भन्दा पो पूर्णिमाले थाहा पाइन् । टाउकोमा केले खस्रक्क अल्झाको जस्तो त लागेको थियो । वनमाराले अल्झायो होला भनेर सरासर हिँडेकी थिइन् उनी ।

त्यही सालको उधौली साकेला नाच्न उमेश सोल्टी साथीहरूसँग पूर्णिमाको गाउँ आए । साकेला थानमा मान्छेहरू भरिभराउ थिए । टोलटोलबाट आएका ढोले–झ्याम्टेहरू जोडजोडमा ढोल–झ्याम्टा बजाइ रहेका थिए । नाच्नेहरूको सेल रोटीजस्तो ठूलो घेरा बनिसकेको थियो ।

उमेश सोल्टीसँग आएका कतिपय सोल्टीहरू सोल्टिनी त मेरै हो नि भनेर जिस्किने पनि थिए । पूर्णिमाका साथीहरू पनि सोल्टीहरूसँग साकेला नाच्न थाले । बद्री सोल्टीले त हातैमा समाएर साकेला नाच्न लगे पूर्णिमालाई । “ए उमेशे, सोल्टिनीमाथि पहिलो हक त तेरै हो तर नरिसा है म सोल्टिनीसँग नाच्छु ।” पूर्णिमाको हातमा हात समाएर सिली टिप्दै बद्री सोल्टीले भनेका थिए । उमेश सोल्टी पनि ढोल–झ्याम्टाको तालमा सिली टिपीटिपी हारमा नाच्दै थिए । पूर्णिमाको भने जीउनै खुलेन लाज शरमले । सबैभन्दा बढी शरम उमेश सोल्टीकै लागिरहेको थियो ।

सबैले एक स्वरमा गीत पनि गाइरहेका थिए-

टेम्केको लेकमा घाम लाग्छ, होइ लाइराखे माया काम लाग्छ
सोइ सोइला लै लै सोइ सोइला

सिन्कौली सेउली सेलेले होइ नाचिमा दिम् कि पेलेले
सोइ सोइला लै लै सोइ सोइला
सोइ सोइला हुर्र हाहा

पूर्णिमालाई बहुत नयाँ लागिरहेको थियो । केटाहरूसँग त्यसरी नजिक भएर कहिल्यै साकेला नाचेकी थिइनन् । साथी र दाजुभाइसँग साकेला नाच्दा त्यस्तो अनुभूति कहिले भएको थिएन ।

सोल्टीहरू चण्डीथानबाटै घर फर्किने कुराले भने पूर्णिमाको मन अमिलो भयो । सानो सेउले होटेलमा पसेर सबैले खाजा खाए । दिदीभेना र सोल्टी सोल्टिनीसँग बिदा भएर सोल्टीहरू गए ।जानेबेलामा सबै आआफ्ना धुनमा थिए । एक्लै उभिरहेकी पूर्णिमाको छेउमा आएर उमेश सोल्टीले बिदा माग्दै भनेका थिए– “सोल्टीनी गयौँ होइ । यो तपाईँलाई बाटोखर्च ।” उनले हाँस्दै पट्याएर भोगटेका दुई ओटा पात पनि दिएका थिए ।

नफाल्नू है सोल्टिनी भन्दै उनी गए । पूर्णिमाले पात फुकाएर हेरिन् । त्यहाँ सिन्काले कोरेर अक्षर लेखिएको थियो । एउटा पातमा बाँसको फेदमा लेखिएको जस्तै थियो– “सोल्टिनी, फेरि भेटौँला है ।” अक्षरका बनावट पनि उस्तै थिए ।

अर्को पातमा “मेरो मन सोल्टिनीलाई ” लेखेर मुटुको चित्र बनाइएको थियो ।

पूर्णिमा रनभुल्ल परिन् । त्यो पातलाई राख्ने कि फाल्ने भयो । अरूले देख्लान् भनेर मुठीमा पोको पारिन् । जीउ सिरिङग भएजस्तो भयो । मुटुको धड्कन पनि बढेजस्तो लाग्यो । त्यतिकै एकोहोरिछन् ।

पर पुगेर बद्री सोल्टीले कराई कराई हात हल्लाउँदै भन्दै थिए–“पूर्णिमा सोल्टिनी बाई बाई होइ बाई बाई ।” बिस्तारै हात हल्लाइन् उनले पनि ।

पूर्णिमा पनि दाजु–भाउजू र साथीसँग घर झरिन् । बाटो काटेको पत्तो भएन । साकेलाथानका यादहरू ताजा बनेर नाचिरहे आँखामा, मनमुटुमा ।

उनीहरू साँझमा घर पुगे । घर पुग्नेबित्तिकै आफ्नो कोठामा पसिन् । सलाइ कोरेर कुपीको सलेदो सल्काइन् । त्यत्तिकै डङरङ्ग ओछ्यानमा पल्टिइन् । हातखुट्टा धुनेसमेत जाँगर भएन पूर्णिमालाई ।

भाउजूले उपहार दिएको हातेब्याग बोकेकी थिइन् । सोल्टीले लेखेर दिएको भोगटेको पात खुसुक्क त्यही ब्यागमा लगाएर ल्याएकी थिइन् । कुपीको उज्यालोमा फेरि ओल्टाइपल्टाइ हेरिन् पूर्णिमाले । तेहर्याई-तेहर्याई पढिन् । मन भरिलो भएर आयो । हृदयमा सोल्टीको माया कलकली पलायो ।

साकेलाथानको होटेलबाट आमालाई सेलरोटी ल्याइदिएकी थिइन् । दिनुनै भुलेर केके सोच्दासोच्दै भुसुक्क निदाइछन् पूर्णिमा । कुपी मट्टितेल सकिएर आफैँ मरेछ ।

०००

केही हप्तापछि हाट गइन् पूर्णिमा भाउजूसँग । सोल्टी पनि हाट भर्न आएका रहेछन् । हाटमा सामान किन्ने र बेच्नेको भीडभाड थियो । त्यही भीडमा मिसिए उनीहरू पनि । भाउजूको आँखा छलेर सोल्टीले सानो स्वरमा पूर्णिमाको कानैमा भने– “सोल्टिनी मैले लेखेको चिठी पढ्नु भो ? के छ प्रतिक्रिया ?”

पूर्णिमा रातोपिरो भइन् । कुन चिठी ? अलमलिइन् । सोल्टीले त्यसरी कानमा साउती गरेको कसैले देख्यो कि भनेर दायाँबायाँ हेरिन् ।

“भोगटेको पातमा के त …” फेरि सोल्टी फुस्फुसाए ।

सोल्टीसँग पहिलेजस्तो गरी पूर्णिमा बोल्नै सकिनन् । बोली घाँटीमै अड्कियो ।

सोल्टीले तान्दै होटेलको पछाडि एकान्त लगे पूर्णिमालाई । अनि पूर्णिमाको दाहिने हात दह्रो गरी समाएर बिस्तारी भनेका थिए– “म लाहुर लागेँ । अर्को हप्ता पल्टन जाँदैछु । दायाँबायाँ गर्ने होइन नि फेरि ।”

“तपाईँ पल्टन जाने कुरा था’ थिएन मलाई”– छक्क परेर बिस्तारै भनिन् पूर्णिमाले ।

“भिडिरहेको थिएँ । फाइनल नभई नभन्ने भनेर कसैलाई भनेको थिएन । मैले अगाडि सुनाउन सकिनँ । मलाई माफ गर्नु । मैले तपाईंलाई भन्नुपथ्र्यो ।” सोल्टीले पूर्णिमाको हात मुसार्र्दै पूर्णिमालाई हेरेर भनेका थिए । पूर्णिमा भूईँ हेरेर टोलाएकी थिइन् ।

पूर्णिमा केही बोलिनन् ।

“मलाई तपाईं मनपर्छ । तपाईंलाई म कस्तो लाग्छु ?” सोल्टीले फेरि पूर्णिमाको प्रतिक्रिया मागेका थिए ।

पूर्णिमालाई भन्न मन थियो– “तपाईं पनि मलाई असाध्यै मन पर्नुहुन्छ सोल्टी !” तर उनी बोल्नै सकिनन् । बोल्दै बोलिनन् ।

“भन्नु न सोल्टिनी, के छ विचार ।” निकैपल्ट सोधे सोल्टीले । तर पूर्णिमा बोल्दै बोलिनन् ।

पूर्णिमा बोल्दै नबोलेपछि दुवै पाखुरामा समाएर झकझकाए जसरी भनेका थिए सोल्टीले–“म अरू कुरा जान्दिनँ । त्यहाँ दायाँबायाँ गर्ने होइन नि । …सुन्नु भो ??”

निकैबेरपछि पूर्णिमाले सुस्तरी भनेकी थिइन्–“हुन्छ ।”

उमेश सोल्टी पल्टन गए । पोहोर पहिलो छुट्टीमा आउँदा उनैले ल्याइदिएको हो पूर्णिमालाई त्यो घडी । पोहोर उमेश सोल्टीकोमा जुठो परेकाले उनीहरूको मगनी भने हुन पाएन । घडीलाई सुम्सुम्याइन् । किराहरूको किरीरी केही कम भएको थियो । आँखीझ्यालबाट जूनको उज्यालो हराइसकेको थियो । तर भ्यागुताहरू उसरीनै कराइरहेका थिए ट्वार् ट्वार …। खेतका आलीका समाह पनिउसरीनै बजिरहेका थिए, स्वाँस्वाँस्वाँ…।

सम्झनामा पूर्णिमाको मन बयली खेलिरहेका बेला मूलबाटोमा कुकुर भुक्यो ।  पूर्णिमा अचानक झस्किन् । हठात्उठिन् ।  अँध्यारोमा छामछाम छुमछुम गरेर  बेलुका ठिक पारेका लुगाको पोका समाइन् । आँखाबाट बगेका आँसुले सिरानी पनि भिजाइ सकेको रहेछ ।काखमा लुगाको पोका च्यापेर कुर्ताको फेरले आँसु पुछिन् । पुछेर पुछिएन आँसु । झन्झन् बगिरह्यो, पुछिरहिन् ।

विनोदेले पौने चार बजे मूलबाटोको अम्बकको फेदमा कुकुर भुक्छु अनि घरबाट निस्कनु, उज्यालो नभई घाट तर्नुपर्छ भनेको छ । पूर्णिमालाई जान मन छैन । तर जानै पर्नेछ ।

सदरमुकामबाट घर आउँदा एक्लै परेकी पूर्णिमालाई सहारा दिने निहुँ गरेर जबर्जस्ती गरेको छ बिनोदेले । त्यतिखेरनै आमालाई भन्न खोजेकी हुन् पूर्णिमाले । तर पार्वतीले धनसेरेको पेटबोकेको भनेर कचहरी राखेका बेला सबैभन्दा बढी पूर्णिमाको आमाले नै हो पार्वतीलाई थुकेको । “मेरो छोरीबुहारी यस्ता कुलङ्घार भयो भने म जिन्दगीभर तेसको मुख हेर्दिनँ । थुक्क ! पार्वती !” आमाले भनेकी थिइन् । “तँ तेसरी पार्वती जस्तो भइस् भने डाँडा काटेर जानू मलाई मुख नदेखाउनू !” बारम्बार आमाले पूर्णिमालाई थर्काएकी थिइन् । नबिग्रनू भनेर सम्झाउने आमाको तरिका होला भन्ने पनि लाग्छ पूर्णिमालाई । “कुहेको आलुले राम्रो आलु बिगार्छ आमा !” भनेर भन्न मन थियो, सकिनन् ।

“हल्ला गरेउ भने म पनि तिमीलाई लान्नँ, तिम्रो उमेश सोल्टीले पनि तिमीलाई लाँदैन” बिनोदेले डर देखाएको छ । पार्वतीलाई धनसेरेले अझै स्विकारेको छैन । पार्वती मुद्दा लडिरहेको कुरा झल्याँस्स सम्झना हुन्छ पूर्णिमालाई ।

माया गरेर पाल्छु , दुःख दिन्न भनेको छ बिनोदेले । तर चित्त बुझ्दैन पूर्णिमाको । “म त्यस्तो साधन हुँ जसले लाने र नलाने कुराले फरक पार्छ ? जून एक्लै छ, घाम एक्लै छ । फूल एक्लै भए नि फुल्छ । चरा मुसाले पनि आफ्नो जीवन पालेको छ । नकच्चरो मुर्दार ! के ठान्छस् बिनोदे मलाई ??” आवाज ननिकालेर हिक्हिकाइन् पूर्णिमा ।

दुईतीन पटक नै मूलबाटो अम्बकको फेदमा कुकुर भुकिसकेको छ । तर उठेर हिँड्न सकेकी छैनन् पूर्णिमा ।

त्यति नै खेर भाले बास्छ । खोरमा एउटा जखमले भाले छ । त्यो बाको शिर भाले हो । आउने उभौलीमा बाको शिरपूजा गर्नु छ । बिहान चारै बजे बास्छ त्यो भाले । भाले बास्नुबित्तिकै पूर्णिमाकी आमा उठ्छिन् ।

झ्यार्र सलाइ कोरेको आवाज आउँछ पल्लो कोठामा । आमाले कुपीको सलेदो सल्काएको थाहा पाउँछिन् पूर्णिमाले । बाआमा गानाङ्गुनुङ बोेलेको सुनिन्छ ।

त्यतिनै खेर फेरि बा खोक्छन्– ख्याँक् ख्याँक् ख्याँक् …

उनी सोल्टीको चिनो घडी बिस्तारै खोल्छिन् देब्रे हातबाट, दुवैहात छातिनेर ल्याएर मुठ्ठी कस्छिन् घडीलाई  र सिरानीमुनि राख्छिन् । झोला चेप्नेहुँदा अचानक पेटमा पर्छ उनको हात । ढुङ्गा जस्तो सारो बन्दै गरेको पेटभित्र बढ्दै हुन्छ बिनोदेको चिनो ।

बा खोकेको मौका पारेर बिस्तारै ढोका खोल्छिन् र बिरालोको चालमा हतार हतार भर्याङ ओर्लन्छिन् पूर्णिमा । nepalisahityaghar