August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

व्यवस्थित बन्दै लुम्बिनी प्रदेशका सीमानाका

रुपन्देहीको बेलहिया नाकामा प्रवासी नेपाली महिलाहरुलाई परामर्श गर्दै महिला सशस्त्र प्रहरी । तस्बिरः पब्लिक कुरा

भैरहवा– लुम्बिनी प्रदेशका भारतसँग सीमा जोडिएका नाकाहरु व्यवस्थित बन्दै गएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी तथा अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले नाकाबाट हुने आवतजावत्लाई व्यवस्थापन गरी प्रभावकारी बनाउँदै लगेपछि नाका व्यवस्थित बन्दै गएका हुन् ।

Advertisement

अघिल्लो वर्ष कोरोना महामारी सुरु हुँदा नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनै कठिन थियो । घर फर्कने प्रवासीले सुविधाभन्दा बढी दुःख पाएका थिए । तर अहिले अवस्था फेरिएको छ ।

सीमामै प्रवासीहरुको सरकारले एन्टिजेन परीक्षण व्यवस्था गरेको छ । संघसंस्थाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्दवासिनी बाहिनीले कोरोना नियन्त्रण तथा सीमा व्यवस्थापन कार्यक्रमअन्तर्गत नाकामै पिउने पानी, माक्स, पर्चापम्पेलट वितरण, प्रवासीसँगै मालबाहक गाडीका चालक, सहचालकको ज्वरो नाप्ने, महिलाहरुका लागि छुट्टै सहायता कक्ष स्थापना गरी उनीहरुको स्वास्थ्य समस्या समाधान गर्दै आएको छ ।

भारतबाट आएका नेपालीले नाकामा सेनिटाइजर लगाउँदै । तस्बिरः पब्लिक कुरा

नाकामै साबुनपानीले हात धुने, खाजानास्ता वितरण, महिला, पुरुष र बालबालिकाको छुट्टाछुट्टै लाइन लगाई स्वास्थ्य परीक्षण र सेनिटाइज गर्ने गरिएको छ । प्रवासीहरुको स्वास्थ्य जाँचपछि विस्तृत विवरण टिपोट गरी नाकामै बनाइएको होल्डिङ सेन्टरमा राखिन्छ । त्यसपछि जिल्लाअनुसार विवरण छुट्याएर यातायात व्यवसायीसँग सहकार्य गरी घर पठाउने गरिएको छ । यो सुविधा लुम्बिनी प्रदेशबाहेकका अन्य प्रदेशका सीमा नाकामा छैन ।

‘विगतमा नाका व्यवस्थित भएन भन्ने गुनासहरु आए । यसपल्ट हामीले पहिलाको अनुभव र व्यवस्थापनलाई सुधार गरी धेरै कुराहरु परिवर्तन गरेका छौं, प्रवासी नेपालीहरुका दुःखमर्का बुझ्ने गरेका छौं’, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्दवासिनी बाहिनी लुम्बिनी प्रदेश प्रमुख डीआईजी किशोर प्रधानले भने, ‘नेपाल आउँदावित्तिकै धेरै सुविधा पाएपछि प्रवासी दाजुभाइ, दिदीबहिनी खुशी हुनुहुन्छ ।’

लुम्बिनी प्रदेशका मुख्य तीन नाका रुपन्देहीको बेलहिया, बाँकेको जमुनाहा र कपिलवस्तुको कृष्णनगर लगायत प्रदेशका सबै नाकाहरुमा कोरोना निण्न्त्रका लागि सशस्त्रले मुख्यरुपमा व्यवस्थापकीय काम गर्दै आएको छ । लुम्बिनी प्रदेशमा भारतसँग सीमा जोडिएको ४३६ किलोमिटर सीमा क्षेत्र छ ।

सशस्त्रका मात्रै सीमा क्षेत्रमा तीन हजार ५ सय बढी सुरक्षाकर्मी २४सैं घण्टा तैनाथ छन् । उनीहरुले सीमा अपराध, चोरीपैठारी र कोरोना रोकथाममा योगदान दिँदै आएका छन् । प्रदेशका मुख्य नाकामा कोरोना नियन्त्रणमा सशस्त्रसँगै नेपाल प्रहरी र नेपाली सेना तथा स्वास्थ्यकर्मी पनि परिचालित छन् ।

डीआईजी प्रधान भन्छन्, ‘सीमालाई व्यवस्थित गर्नकै लागि हामीले प्रदेशका ६ वटा पहाडी जिल्लाबाट थप जनशक्ति ल्याएर काम गरिरहेका छौं ।’ भारतमा तीव्ररुपमा फैलिरहेको महामारीको प्रभाव नेपालमा पनि परेको छ । यस्तो अवस्थामा सीमामा खटिने सुरक्षाकर्मीले महामारी नियन्त्रणमा ठूलो योगदान गर्दै आएका छन् ।

भारतबाट आएका नेपालीहरुले नाकामा सावुन पानीले हात धुँदै । तस्बिरः पब्लिक कुरा

साधनस्रोतको अभावमा सधैजसो समस्या झेल्दै आएका सुरक्षाकर्मीलाई सरकारले पर्याप्त साधनस्रोत उपलब्ध गराउने हो भने लुम्बिनी प्रदेशमा मात्रै होइन्, नेपालभर नै सीमानाका थप व्यवस्थि हुँदै जाने सीमा क्षेत्रका स्थानीय बताउँछन् ।

आइतबार भारतको चेन्नईबाट घर फर्कंदै गर्दा बेलहिया नाकामा भेटिएकी रुपन्देहीको भलवारीकी गीता शर्मा भन्छिन्, ‘अघिल्लो वर्ष नाकामा आउँदा कति समस्या थियो, सामाजिक दूरी पालना थिएन । माक्स, सेनिटाइजरको व्यवस्था नै थिएन । योपल्ट धेरै सुविधा दिइएको पाइयो ।’

उनले सीमामा खटिएका सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीले नम्र व्यवहार गरेको सुनाइन् । ‘नेपाल आउँदावित्तिकै धेरै कुरा आनन्द लाग्यो । माक्स, सेनिटाइजर, खाजानास्ता, खाने पानी, हात धुने व्यवस्था, स्वास्थ्य जाँच पनि हुँदो रहछे’, उनले भनिन्, ‘महिलाका लागि भनेर सशस्त्रले छुट्टै हेल्थडेस्क राखेको रहेछ, त्यहाँ परामर्श दिनेमात्रै होइन महिनावारी भएकाहरुलाई प्याडसमेत वितरण गरेको देख्दा निकै हर्षित भएँ ।’

तीनवटै नाकाको सीमामा स्थापना गरिएका महिला सहायता कक्षमा सशस्त्रले दुई जना महिला सशस्त्र प्रहरी खटाएर महिलाहरुको समस्या बुझ्ने, आवश्यक पर्नेलाई प्याड वितरण, घरठेगना सोधखोज, स्वास्थ्य मापदण्डका बारे जानकारी दिने गरेको छ ।

‘महिलाहरुले महिला प्रहरीसँगै नै आफ्ना समस्या बताउन सक्छन् भनेर हामीले यो व्यवस्था गरेका हौं’, डीआईजी प्रधानले भने, ‘यसले गर्दा प्रवासबाट फर्किने हाम्रा दिदीबहिनीहरुका वास्ताविक समस्या पत्ता लगाउन सकिन्छ । यदि कसैलाई समस्या परेको भए हामीले तुरुन्तै आवश्यक सहयोग गर्ने र अन्य निकायसँग पनि समन्वय गछौं ।’

भारतबाट आएकी एक महिलाको नाकामा एन्टिजेन परीक्षणका लागि स्वाब लिँदै स्वास्थ्यकर्मी । तस्बिरः पब्लिक कुरा

महिला सहायता कक्षमा खटिएकी सशस्त्र प्रहरी हवल्दार बन्दना घर्तीमगरले खासगरी महिनावारी हुँदा प्याड नभएर र शौचालय नभेटाएर समस्यामा परेकाहरु सहायता कक्षमा आउने गरेको सुनाइन् ।

सशस्त्रले सीमा क्षेत्रमा कोरोना महामारीबाट बच्ने उपायबारे नेपाली, भोजपुरी लगायतका भाषामा बनाए सचेतनामूलक जानकारी बजाउनेसमेत गर्दै आएको सशस्त्र वीओपी डण्डा, रुपन्देहीका प्रमुख विजय थापाले बताए । यस्तै, सशस्त्रले नाकाबाट आउने प्रत्येक नागरिकलाई कोरोना महामारीबाट बच्ने उपायबारे लेखिएको पर्चापम्पलेट वितरण गर्दै आएको छ ।

डीआईजी प्रधान भन्छन्, ‘हामीले सीमा क्षेत्रमा खटिने प्रहरीहरुलाई तीन दिनको अनुशिक्षण तालिम दिएका थियौं । यसले गर्दा बोली ब्यवहार, स्वास्थ्य मापदण्डबारे सबै जानकार हुनुहुन्छ । यही कारण पनि यसपल्ट नाकाहरु व्यवस्थित हुँदै गएका हुन् ।

सशस्त्रले नेपाल भित्रिने प्रत्येकलाई नयाँ माक्स वितरण गर्दै आएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालयसँगै युनिसेफ, डब्लु एचओ, वाटर एडले सहयोग गरिरहेका छन् । प्रवासी नेपालीहरुले सीमा क्षेत्रमा भएको व्यवस्थापन देखेर राम्रो फिड ब्याक दिने गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा, रुपन्देहीका प्रमुख एसपी राजेश उप्रेतीले बताए ।

सशस्त्रले प्रत्येक नाकामा छुट्टै रेस्क्यू टिम बनाएर विरामी, बृद्धाबृद्धाहरुलाई सहयोग तथा उद्धार समेत गर्दै आएको उप्रेतीले जनाए । लुम्बिनी प्रदेशमा सशस्त्रका सीमा नाकामा ४१ वीओपी, ६४ अस्थायी पोष्ट तथा कोभिड नियन्त्रणका लागि पाल टाँगेर बनाइएका ८४ युनिट छन् । यी सबैबाट सीमाको २४सै घण्टा निगरानी हुँदै आएको छ ।

भारतबाट नेपाल आउँदै गरेको मालबाहक गाडी चालकको ज्वरो नाप्दै सशस्त्र प्रहरी । तस्बिरः पब्लिक कुरा

‘मुख्य नाकाबाहे भित्री नाकाबाट पनि लुकीछिपी आउजाउ हुने गर्छ । यसलाई रोक्न हामीले अन्य सुरक्षाकर्मी, स्थानीय नागरिक, काउन्टर पार्ट्ससँग पनि समन्वय गरेर काम गर्दै आएका छौं’, डीआईजी प्रधानले भने, ‘विगतमा जस्तो अहिले लुकिछिपी आउने निकै कम छन् । कोही आउजाउ गर्दा भेट्टाएमा रोगबारे बताउने र सचेतना जगाउने काम गरिरहेका छौं । यसले गर्दा पनि चोरीबाटो प्रयोग गर्ने धेरै घटेका छन् ।’