लुम्बिनीमा मनाइयो २५७०औं बुद्ध जयन्ती (फोटाहरू)


लुम्बिनी– लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती मनाइएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको उपस्थितिमा ध्यान र पुजाआजा गरी बुद्ध जयन्ती मनाइएको हो । विगतका वर्षहरुमा बुद्ध जयन्तीमा प्रधानमन्त्री सहभागी भएर भव्य औपचारिक कार्यक्रम गरिन्थ्यो । यसपटक भने त्यस्तो कुनै कार्यक्रम भएन, प्रधानमन्त्री पनि सहभागी भएनन् ।
बुद्ध जयन्तीका अवसरमा मायादेवी मन्दिरको पश्चिमपट्टी सानो मंच बनाएर सामान्य औपचारिक कार्यक्रम गर्ने तयारी थियो । तर, रातिदेखि परेको वर्षाले उक्त कार्यक्रम समेत हुन सकेन् ।
पानीले बाहिर कार्यक्रम गर्न नसकिएपछि मायादेवी मन्दिरको भित्र करिब एक घण्टा ध्यान र पुजाआजा भएको थियो । सभामुख अर्याल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश), संघीय सांसद तौफिक अहम्मद खान, डा.लेखजंग थापा, सुलभ खरेल, पुनमकुमारी अग्रवाल, श्रद्धा कुँवर, अनुष्का श्रेष्ठ, ज्ञानु पौडेल, भिक्षु, भिक्षुणी, डोल्मासर, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी लगायत ध्यानसहित पुजाआजा गरेका थिए ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा बुद्धजयन्ती मनाउने गरिन्छ । गौतमबुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रुपमा मनाउने गर्छन् ।
बौद्ध धर्मावलम्बीहरुले दान, ध्यान, प्रवचन लगायतका कार्य गरी बुद्ध जयन्ती मनाउने गर्छन् । तर, यसपटक लुम्बिनीमा त्यस्तो विशेष कार्यक्रम भएन । तत्कालीन राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए । वर्षाले बुद्ध जयन्तीका दिन आन्तरिक तथा बाह्य पर्यटक पनि सहज रुपमा घुम्न पाएनन् ।












प्रतिकृया दिनुहोस्