June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

टिप्पणीः भ्रष्टाचार रोक्ने र सुशासनका एजेण्डाबिहीन उम्मेदवार

Advertisement

भैरहवा– यसपटकको निर्वाचनमा उम्मेदवारले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र बिकास निर्माणका परम्परागत एजेण्डालाई जोड दिइरहेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्न उम्मेदवार बनेका व्यक्तिले वडा र पालिकाले हल गर्ने विषयलाई मूल मुद्दा बनाएका छन् ।

Advertisement

संघीय संसदमा पुगेर जनताको पक्षमा नीति निर्माण गर्ने जिम्मेवारीबारे उनीहरु अवगत नै नभए जस्तो देखिन्छ । अधिकांश उम्मेदवारले सामाजिक सञ्जालमा सार्वजनिक गरेका ‘एजेण्डा’मा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यालय सुधार र आधारभूत पूर्वाधार निर्माण गर्ने देखिन्छ । यस्ता काम गर्नका लागि स्थानीय पालिका छन् ।

हुँदा हुँदा उम्मेदवारले पालिका अस्पताललाई पनि एजेण्डा बनाएका छन् । यसअघि नै सरकारले निर्णय गरेर प्रत्येक पालिकामा १५ शय्याका अस्पताल निर्माण भइरहेका छन् । यसपटक रुपन्देहीबाट उम्मेदवार बनेकाले आफ्नो व्यक्तिगत एजेण्डामा १५ शय्याको अस्पताल निर्माणलाई जोड दिएका छन् । उनीहरुले यस्ता अस्पतालमा बिज्ञ चिकित्सक आपूर्ति गर्नेबारे बोलेका छैनन् ।

हुन त रुपन्देहीका ग्रामीण क्षेत्रमा न्यूतमन आवश्यकताका पूर्वाधार अभाव छन् । यसअघि निर्वाचितले पनि यस्तै आधारभूत आवश्यकता पूर्ति गर्ने भन्दैं चुनाव जितेका थिए । तर, अहिलेसम्म पूरा भएका छैनन् । त्यसैले ग्रामीण क्षेत्रका मतदाताले सधैं भोट माग्न कै लागि आफ्ना समस्या हल नगरेका त होइनन् भनेर आशंका गर्न थालेका छन् ।

अहिले आम नागरिकले खोजेको भ्रष्टाचाररहित राज्य संयन्त्र र सुशासन हो । तर, कुनै पनि उम्मेदवारले भ्रष्टाचार बिरोधी एजेण्डा सार्वजनिक गरेका छैनन् । आफू निर्वाचित भएपछि कसरी भ्रष्टाचार कम गर्ने भन्नेबारे उनीहरुले सार्वजनिक गरेका प्रतिवद्धता बोलेका छैनन् । न त उनीहरुले गर्ने भाषणमै यस्तो प्रतिवद्धता सुन्न पाइएको छ ।

सुशासनको कुरा गर्छन् । तर, सुशासन कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे कुनै योजना सार्वजनिक गरेका छैनन् । बरु, पुरानै एजेण्डा र अधुरा बिकास निर्माण पूरा गर्ने भनेरै भोट मागिरहेका छन् । संघीय सांसदले सिधैं योजना कार्यान्वयन गर्न सक्दैनन् । उनीहरु स्थानीय पालिका मार्फत् नै गाउँमा आउनु पर्छ । त्यस्तो अवस्थामा उनीहरुले स्थानीय सरकारलाई बलियो बनाएर जनताले अपेक्षा गरेका योजना पूरा गर्ने वाचा गर्नु पर्ने हो ।

मुलुकमा व्यापक भ्रष्टाचार र बेथितिका कारण जनतामा चरम निराशा छाएको हो । बेला–बेला आन्दोलन र बिरोध मार्फत् उनीहरुको उकुसमुकुस सार्वजनिक हुने गरेको छ । तर, अहिले पनि उम्मेदवारले जनभावना बुझेका छैनन् । उनीहरु पुरानै शैलीले भोट माग्न पुगिरहेका छन् । बरु, जनताले बिगतका वाचा किन पूरा भएनन् भनेर प्रश्न सोधिरहेका छन् । जसले गर्दा यसपाली उम्मेदवारले खुलेयाम ‘झुटा’ प्रतिवद्धता गर्न सकेका छैनन् ।

अहिले नागरिकलाई चाहिएको ‘भिजन’ र ‘मिसन’ सहितको नेता हो । उम्मेदवार हो । जुन उम्मेदवारसित आफ्नो लक्ष्य र उद्देश्य हुँदैन, त्यस्तो व्यक्तिले कसरी जनताका भावना समेट्न सक्छ ? अरुबाट परिचालित भन्दा आफ्नो विवेक प्रयोग गर्न सक्ने उम्मेदवार आजको आवश्यकता हो । ‘आसेपासे र भरोसे’को कुरा सुन्दा वास्तवमै जनताले चाहेका ‘एजेण्डा’ प्रभावित हुन्छन् । हिजोदेखि नेताको पुच्छर बनेर हिंड्ने र प्रत्येक योजनामा आफ्नो स्वार्थ र अवसर हेर्ने कार्यकर्ता बोकेर मात्र चुनाव जित्न सहज छैन ।

नागरिकले पनि ‘राजनीतिक बिचौलिया’ चिनिसकेका छन् । नबोले पनि को मान्छे कस्तो भन्ने मतदातालाई जानकारी छ । बरु यस अवधिमा नेता र उनीहरुका निकट कार्यकर्ताको जनसम्पर्क टुटेको छ । माथिल्लो तह र टाउकामा भएका केही कार्यकर्तासित घुलमिल हुँदैंमा भूइँ तहका जनतासम्म पहुँच स्थापित हुन्छ भन्ने भ्रमबाट आज उम्मेदवार र दलका नेता मुक्त हुन सकेका छैनन् । ‘भ्रष्ट पथ’ र वेथिति आशन रुचाउने नेतालाई अब जनताले बढार्नु पर्ने आवाज बलियो भइरहेको छ । हैन भने फेरि पाँच वर्षमा निराशामा बिताउनु पर्ने तर्क पनि उठिरहेको छ ।

काँग्रेस, एमाले, नेकपा लगायत मधेशवादी दलहरुका परम्परागत नारा छन् । आफूलाई नयाँ भनेको रास्वपाले समेत सुशासनको खाका ल्याउन सकेको छैन । खाली भाषणामा सुशासनका कुरा यसअघिका परम्परागत दलहरुले पनि गरेकै छन्, सधैं सुशासनको नारा लगाइरहेको रास्वपाले समेत स्पष्ट खाका नल्याउँदा आममतदाता अन्यौलमा परेको जस्तो पनि देखिन्छ ।