June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चीनमा लक्षण नदेखिएको प्याङ्क्रियाज क्यान्सर एआईले पहिचान गर्यो

Advertisement

चीनका एक ५७ वर्षीय किशान किउ सिजुन साधारण मधुमेह (डायबिटिज) को जाँच गराउन अस्पताल पुगे। उनी अस्पताल गएर मधुमेहको जाँच गराएर घर फर्किएका थिए। तर तीन दिनपछि उनलाई अस्पतालबाट डाक्टरको फोन आयो र तुरुन्त बोलाइयो। सिजुन आत्तिए, उनलाई केही नराम्रो हुन लागेको शंका भयो।

Advertisement

उनको शंका सही सावित भयो। जाँच गर्दा उनलाई प्याङ्क्रियाजको क्यान्सर भएको पत्ता लाग्यो। तर खुसीको कुरा के थियो भने, यो क्यान्सर एकदमै सुरुवाती अवस्थामा फेला परेको थियो। वास्तवमा, अस्पतालले एआईको सहयोगमा रोग पहिचान गर्ने परीक्षण गरिरहेको थियो। एआई टुलका कारण तुरुन्तै रोग पत्ता लागेपछि डाक्टरहरूले अपरेसन गरेर ट्युमर निकालिदिए।

प्याङ्क्रियाज क्यान्सरलाई सबैभन्दा खतरनाक क्यान्सरमध्ये एक मानिन्छ। यसबाट संक्रमित १० प्रतिशत बिरामी मात्र ५ वर्षभन्दा बढी जीवित रहन सक्छन्। यसको मुख्य कारण यो हो कि सुरुवाती चरणमा यसलाई चिन्न निकै गाह्रो हुन्छ। सामान्यतया यसका लक्षणहरू तब मात्र देखिन्छन्, जब क्यान्सर शरीरमा धेरै फैलिसकेको हुन्छ। एप्पलका पूर्व सिईओ स्टेभ जब्सको मृत्यु पनि यही क्यान्सरका कारण भएको थियो।

एआईको चामत्कारिक सफलता

अमेरिका, बेलायत र चीनमा विगत केही वर्षदेखि यस्ता एआई टुलहरूमा अनुसन्धान भइरहेको छ जसले सिटी स्क्यान, एमआरआई र रगत परीक्षणको माध्यमबाट क्यान्सर पहिचान गर्न सक्छन्। तर मधुमेहको नियमित जाँचको डाटाबाट सुरुवाती अवस्थामै क्यान्सर पत्ता लाग्नुलाई एउटा चमत्कार मानिएको छ। यो केसमा बिरामी मधुमेह जाँच गर्न गएका थिए र उनलाई क्यान्सरको कुनै शंका थिएन। तर एआई सिस्टमले पुरानो टेस्ट डाटामा असामान्य प्याटर्न फेला पारेपछि समयमै रोग पत्ता लाग्यो र अपरेसन सम्भव भयो।

जहाँ परीक्षण असफल भयो, त्यहाँ एआई सफल

किउ सिजुन अहिले स्वस्थ छन् र आफ्नो खेतमा तरकारी खेती गरिरहेका छन्। उनले भने, ‘मलाई एआईको बारेमा धेरै थाहा छैन, तर समयमै पाएको चेतावनीले मेरो ज्यान बचायो।’ यो घटनाले चीनका प्रविधि कम्पनी र अस्पतालहरूले क्यान्सर उपचारका कठिन समस्या सुल्झाउन कसरी एआईको प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ।

सामान्यतया यो क्यान्सर पत्ता लगाउन गरिने कन्ट्रास्ट सिटी स्क्यानमा धेरै रेडिएसन हुन्छ, त्यसैले विज्ञहरूले धेरै स्क्रीनिङ गर्न सल्लाह दिँदैनन्। अर्कोतर्फ, कम रेडिएसन हुने नन-कन्ट्रास्ट सिटी स्क्यानमा क्यान्सरका लक्षणहरू रेडियोलोजिस्ट (डाक्टर) ले सजिलै देख्न सक्दैनन्। अब एआईले यही कुरामा परिवर्तन ल्याउँदैछ। एआईले ती साना परिवर्तनहरू पनि चिन्न सक्छ जुन मानवीय आँखाले प्रायः देख्न सक्दैनन्।

‘पान्डा’ टुल र यसको क्लिनिकल ट्रायल

चीनको पिपुल्स अस्पतालमा प्रयोग भइरहेको यो टुलको नाम ‘पान्डा’ राखिएको छ। यसको पूरा रूप ‘प्याङ्क्रियाटिक क्यान्सर डिटेक्सन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ हो। नोभेम्बर २०२४ देखि यसको क्लिनिकल ट्रायल भइरहेको छ। अहिलेसम्म यस सिस्टमले १ लाख ८० हजारभन्दा बढी पेट र छातीको सिटी स्क्यानको विश्लेषण गरिसकेको छ।

यसको मद्दतले करिब २४ वटा क्यान्सरका केसहरू फेला परे, जसमध्ये १४ वटा एकदमै सुरुवाती स्टेजका थिए। डाक्टरहरूका अनुसार यीमध्ये धेरै बिरामीहरू पेट फुल्ने वा वाकवाकी लाग्ने जस्ता सामान्य समस्या लिएर अस्पताल आएका थिए।

९३ प्रतिशत सटीक जानकारी

एआई टुलले त्यस्ता धेरै स्क्यानहरूमा रोग फेला पार्योा, जसलाई पहिले सामान्य मानिएको थियो। वैज्ञानिकहरूले हजारौँ बिरामीहरूको पुरानो सिटी स्क्यान अध्ययन गरेर यो प्रविधि विकसित गरेका हुन्। यसले कम सफा तस्बिरहरूमा पनि क्यान्सर पहिचान गर्न सक्छ। सन् २०२३ को एक अनुसन्धान अनुसार, यस सिस्टमले ९३ प्रतिशत मामिलामा सही पहिचान गरेको छ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले पान्डालाई ‘ब्रेकथ्रु डिभाइस’ को दर्जा दिएको छ। यसको अर्थ यो प्रविधिले रोगको उपचार र पहिचानमा ठूलो परिवर्तन ल्याउन सक्छ। अहिले यो डिभाइसलाई छिटोभन्दा छिटो बजारमा ल्याउने तयारी भइरहेको छ।