June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनी प्रदेश सभाद्वारा ६ वर्षमा गाडी मर्मतमा सवा २ करोड खर्च

Advertisement

भैरहवा– नागरिकले प्रदेशको कुनै काम छैन भन्न छाडेका छैनन् । प्रदेश सरकारका गतिविधिले पनि आलोचना गर्नेलाई विषय प्रदान गरिरहेका छन् । पछिल्लो पटक प्रदेशसभाले गाडी मर्मतमा गरेको लाखौं रकम खर्चले आलोचनाका लागि नयाँ विषय प्रदान गरेको छ । प्रदेशसभाले नीति निर्माणमा उलेख्य उपलब्धि हाँसिल गर्न सकेको छैन । तर, खर्चमा भने अगाडि देखिएको छ । यसले पनि नागरिकमा बितृष्णा पैदा गरेको छ ।

Advertisement

पछिल्लो ६ वर्षमा लुम्बिनी प्रदेश सभा सचिवालयका गाडी मर्मतमा मात्र २ करोड २५ लाख रुपैयाँ बढी खर्च भएको छ । प्रदेश सभाले अहिलेसम्म सवारी साधन संचालन तथा मर्मत निर्देशिका बनाउन सकेको छैन । प्रदेश सभाका पदाधिकारी र सदस्यका लागि तोकिएको सेवासुविधा ऐन अनुसार नै सवारी साधन मर्मत तथा संचालन खर्च गरिँदै आएको छ ।

प्रदेश सभाले त्यही मापदण्डका आधारमा पदाधिकारी एवं सदस्यले पेश गरेको सवारी साधन मर्मत खर्च बिलका आधारमा भुक्तानी गर्दै आएको छ । प्रदेश सभा सचिवालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा सवारी साधन मर्मतमा ५३ लाख ९८ हजार ६ सय १९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ । २० वटा सवारी साधनका लागि खर्च भएको यो रकम इन्धनबाहेकको रकम हो ।

२० वटा गाडी मध्ये सबैभन्दा बढी पूर्वसभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्दै आएको गाडीको खर्च देखिन्छ । उनले प्रयोग गर्दै आएको बीएए १३०१ नम्बरको गाडीको गत आर्थिक वर्षको खर्च ६ लाख १६ हजार ३ सय २६ रुपैयाँ छ । पूर्वसभामुख घर्तीले यो गाडी गत वर्ष नै फिर्ता गरेका छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरे चढ्ने बीएए १३०६ नम्बरको गाडी मर्मतमा ५ लाख ३७ हजार ६ सय ३२ रुपैयाँ खर्च भएको छ । प्रदेश सभा सार्वजनिक लेखा समितिकी सभापति माया पुन चढ्ने बीएए १३०३ नम्बरको गाडीको खर्च ५ लाख १ हजार ६ सय ९२ रुपैयाँ छ । कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक चढ्ने बीएए १३०० नम्बरको गाडी मर्मतमा ४ लाख २६ हजार २ सय ४४ रुपैयाँ, माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा चढ्ने लु १ झ ६७९ नम्बरको गाडी मर्मतमा १ लाख ६ हजार ५६ रुपैयाँ खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले सभामुख तुलाराम घर्ती मगरलाई २ वटा सवारी साधन उपलब्ध गराएको छ । तीमध्ये बा १ झ ९७२९ नम्बरको गाडी मर्मतमा ४ लाख ६९ हजार अर्को प्रदेश ०३–०१–००२ झ ५२४४ नम्बरको गाडी मर्मतमा ८० हजार १ सय ८३ रुपैयाँ एकै वर्षमा खर्च भएको छ । सभामुखको सचिवालयमा प्रयोग भइरहेको अर्को बा २ झ २२८४ नम्बरको गाडी मर्मतमा ६९ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिकी सभापति माया पुनले सुविधामा प्राप्त सवारी साधनहरु पुराना भएको र अनुगमनका लागि दुर्गम गाउँसम्म पुग्दा बिग्रने र खर्च बढी देखिने गरेको बताइन् ।

प्रदेशसभा सचिवालयमा अहिले २० वटा ४ पाङ्ग्रे सवारी साधन छन् । यी सवारी मर्मतमा ६ वर्षमा २ करोड २५ लाख रुपैंयाँ भन्दा बढी खर्च भएको छ । प्रदेश सभा सचिवालयका अनुसार सवारी साधनको मर्मतमा २०७६–०७७ मा ४६ लाख ८७ हजार ७ सय ६९, २०७७–०७८ मा ३१ लाख ८७ हजार ४ सय ३५, २०७८–०७९ मा ३० लाख ६४ हजार ५ सय ८६, २०७९–०८० मा २६ लाख ३१ हजार १ सय ८८ र २०८०–०८१ मा ३९ लाख ३३ हजार ७ सय ७१ खर्च भएको छ ।

प्रदेश सभा सचिवालयमा २०८०–०८१ सम्म १५ र २०८१–०८२ देखि २० वटा चार पाङ्ग्रे सवारी साधन छन् । प्रदेशसभाले सभामुख, उपसभामुख, संसदीय समितिका सभापति, संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई चालकसहित सवारी साधन सुविधा उपलब्ध गराउँदै आएको छ । संघीय सरकारको सवारी साधन सञ्चालन तथा निर्देशिका २०७२ को ८ नम्बरमा सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीले नयाँ सवारी साधन भए ३ वर्षसम्म मासिक ५ हजार मर्मत सम्भार लागि रकम उपलब्ध गराउने व्यवस्था छ । यस्तै ३ वर्ष भन्दा पुरानो सवारी साधन प्रयोय गर्ने विशिष्ठ श्रेणीका पदाधिकारीलाई मासिक १० हजार र प्रथम श्रेणीका पदाधिकारीलाई ७ हजार रुपैयाँ मर्मत वापत रकम उपलब्ध गराउने व्यवस्था छ । तर, प्रदेश सरकारले सवारी मर्मत सञ्चालन निर्देशिका अहिलेसम्म पनि बनाउन सकेको छैन् ।