June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भूमिगत जलस्रोतको अनावश्यक प्रयोग नगर्न प्रशासन र स्थानीय तहको आग्रह

Advertisement

भैरहवा–रुपन्देहीका विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले भूमिगत जलस्रोतको अनावश्यक प्रयोग नगर्न आग्रह गरेका छन् । बढ्दो गर्मी र सुख्खायामका कारण भूमिगत पानीको स्रोत घटेर खानेपानीको समेत अभाव हुन थालेपछि स्थानीय तह र जिल्ला प्रशासनले यस्तनो आग्रह गरेका हुन् ।

Advertisement

यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाले पनि पानीको भूमिगत भण्डारमा कमी आएको जनाउँदैं अनावश्यक बोरिङ गाडन रोक लगाएको छ । खेतीपातीका लागि पानी अभाव भएपछि यस्तो निर्णय गरेको हो । सिद्धार्थनगर नगरपालिकालेपनि सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्रका डिप बोरिङ, स्यालो ट्युवेल सञ्चालन नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार केही दिनदेखि अत्याधिक गर्मी बढेको छ । वर्षा हुन सकेको छैन । जसले गर्दा सुक्खा बढिरहेको छ । झन किसानले बोरिङ, स्यालो ट्युवेलको प्रयोग गरि रोपाई सुरु गरेकाले भूमिगत जल भण्डारमा पानीको तह घट्दै जान थालेकाले पिउने पानीको धारा सुक्न थालेकाले भूमिगत पानीको अनावश्यक प्रयोग नगर्न अनुरोध गरेको हो ।

खडेरीका कारण कतिपय चापाकल, ह्याण्डपाइप र धारामा पानी सुक्न गइ जनजीवन कष्टकर हुँदै गएको भन्ने गुनासो आएपछि प्रशासनले यस्तो अनुरोध गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।

अनावश्यक रुपमा स्यालो ट्युबवेल बोरिङ चलाउने र आर्टिजनको अनावश्यक प्रयोग नगरी÷नगराई खानेपानी समस्या हुन नदिन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सूचनामार्फत अनुरोध गरेको छ । यस वर्ष मनुसन ढिलाइ र वर्षा न्यून हुने प्रक्षेपण मौसम पूर्वानुमान विभागले गरेको छ ।