June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

महोत्सवमा शौचालयदेखि होटल-रेष्टुरेन्टको व्यवस्थापनमा ध्यान दिन सुझाव

Advertisement

भैरहवा- आउँदो मंसिर ३ गतेदेखि भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सवमा कुनै पनि दर्शक सरसफाइको कमीले बिरामी हुने अवस्था आउन नदिन सरसफाइमा बिशेष ध्यान दिनु पर्ने सुझाव आयोजकलाइ दिइएको छ । साथै, स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन हुने खालको बास्तविक बातावरण बनाउन पनि आग्रह गरिएको छ ।

Advertisement

महोत्सवलाई सफल बनाउन आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीले महोत्सव सुरु हुनुको पूर्व सन्ध्यामा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग मागिएको सल्लाह सुझावका क्रममा यस खालको सुझाव महोत्सव आयोजकलाई दिइएको हो ।

महोत्सवमा आउने दर्शकका लागि उपलब्ध गराइने शौचालय देखि होटल तथा रेष्टुरेन्टमा उपलब्ध हुने विभिन्न खाद्य सामाग्रीका बस्तुसम्ममा सरसफाइ र गुणस्तरीतामा बिशेष ध्यान दिनु पर्ने सुझाव दलका प्रतिनिधिको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि अब्दुल रहमान खानले महोत्सवमा शौचालय देखि होटल रेष्टुरेन्टको व्यवस्थापनमा बिशेष ध्यान पुर्याउन आग्रह गरे । ‘बिगतका महोत्सवलाई हेर्दा सरसफाइमा कमजोर भएको देखिन्छ’, खानले भने, ‘ताकी महोत्सवमा आएका दर्शक फोहर र गुणस्तरहीन खाने कुराले बिरामी नहोउन् ।’

व्यवस्थित शौचालय र मेलामा खानकुुरा उपलब्ध गराउने होटल तथा रेष्टुरेन्टमा पकाउने भाडाबर्तनदेखि ग्राहकलाई दिइने प्लेट चम्चा काँटासम्म प्रयोग हुने सामाग्रीको धुलाइसम्ममा ध्यान पुर्याउन उनले आयोजकलाई सुुझाव दिए । ‘यसका लागि आयोजकले दैनिक एउटा टोली खटाएर आकस्मिक रुपमा छड्के चेकजाँच गरिराख्नु पर्यो’, खानको सुझाव थियो, ‘मेलामा कतिपय होटल तथा रेष्टुरेन्टले भाँडाबर्तन राम्ररी राम्ररी धुने पखाल्ने नगर्ने र बासी लगायत्का गुणस्तरहीन खाने पदार्थको सेवनले दर्शक बिरामी पर्ने गरेका छन् ।’

खानको सुझावलाइ नै पछ्याउँदै नेकपा माओवादी केन्द्रका सिद्धार्थनगरका उपाध्यक्ष मेराज खानले मेला महोत्सवको पहिलो परिचय नै सरसफाइबाट झल्किने बताए । ‘स्वदेशी बस्तु खरिद गरौं’, भन्ने महोत्सवको मूल नारालाई सार्थक बनाउनु पर्ने बताए । ‘महोत्सवमा सरसफाइदेखि शौचालय अपाङ्ग मैत्री बनाउनमा ध्यान दिन जरुरी छ’, खानले भने, ‘महोत्सवमा स्वदेशी बस्तु खरिद गरौं भन्ने नारा राख्ने महोत्सवमा आउने दर्शक किनमेल गर्न सुनौली जाने भए भने यसको अर्थ रहँदैन ।’

नेकपाका प्रतिनिधि शंकर ज्ञवालीले महोत्सवको उद्देश्य कृषि व्यापारको प्रबद्र्धन भनिए पनि स्वदेशी उत्पादन नहुनुले परनिर्भर हुनु पर्ने बाध्यता अन्त्य गर्न कृषि उत्पादनलाई प्रोत्साहित हुने बातावरण महोत्सवमा बनाइनु पर्ने बताए । नेकपा कम्युनिष्ट समाजवादी पार्टीका राम बहादुर बस्नेतले महोत्सवको प्रचार प्रचार प्रशार ग्रामीण क्षेत्रमा पुग्न नसकनेको बताए । महोत्सवको अवलोकन गर्न अपाङ्गलाई पनि सहज हुने बातावरण बनाउन उनले सुझाव दिए ।

संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक सचिन रोक्काले यस पटकको महोत्सवमा भैरहवा क्षेत्रमैं पहिलो पटक दर्शकलाई फिस टनेल र जलपरीको दृश्य सहज र सस्तो दरमा अवलोकन गर्न सकिने गरी नया कार्यक्रम समावेश गरिएको बताए । ‘यी दृश्य अवलोकन गर्नका लागि प्रति दर्शक ४ सय रुपैयाँ लागत पर्ने प्याकेजलाई १ सय ५० रुपैयाँको टिकटमा समावेश गरि सस्तो गराएका छौं’, रोक्काले भने ।

संगठनका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले बिगतमा आयोजना गरिएका मेला महोत्सवमा देखिएका त्रुटी तथा कमीकमजोरीलाई सच्याएर महोत्सव सफल बनाउन विभिन्न निकायहरुसँग सल्लाह सुझाव लिने क्रममा राजनीतिक दलका नेता तथा प्रतिनिधिसँग पनि सुझाव लिइएको बताए ।

सल्लाह सुझाव कार्यक्रममा नेपाली काँग्रेस, एमाले, राप्रपा, माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका ठूला राजनीतिक दलका नेता तथा प्रतिनीधिको उपस्थिति भने थिएन । जेनजी आन्दोलन पछि ठुला राजनीतिक दलका नेता तथा प्रतिनिधिको सार्वजनिक कार्यक्रमहरुमा उपस्थिति कम हुन थालेको चर्चा कार्यक्रम स्थलमा चलेको थियो ।