July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

भैरहवामा राजमार्गमै मालबाहक गाडी पार्किङ गराएर शुल्क असुली, सरोकारवाला मौन

Advertisement

भैरहवा– अन्नपूर्ण टर्मिनल्स प्रालिले पार्किङ शुल्क असुलीका लागि भैरहवा भन्सार परिसर अगाडिको राजमार्गलाई नै आफू अनुकुल उपयोग गर्दै आएको छ । जवकी अन्नपूर्ण टर्मिनल्स प्रालि भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङ तथा गोदामलाई व्यवस्थित गर्न ठेक्का लिएको एक निजी कम्पनी हो । उसले लिएको ठेक्का बमोजिम भन्सारको स्वामित्वमा रहेको गोदाम र पार्किङ स्थलको उपयोग गरे बापत मात्रै पार्किङ तथा अन्य शुल्क असुली गर्न पाउँछ ।

Advertisement

तर, सार्वजनिक राजमार्गमैं पार्किङ गराएर शुल्क असुली गर्न पाउने अधिकार उसलाई छैन । झण्डै डेढ बर्षदेखि भन्सार अगाडिको राजमार्गमा आयात र निर्यात हुने मालवाहक गाडीलाई सडकमैं दोहोरो पार्किङ गराएर करोडौं रुपैयाँ असुली हुँदा सम्बन्धित सरोकारवाला निकाय मौन छन् ।

सरोकारवाला निकाय मौन मात्रै होइन बरु उक्त निजी कम्पनीलाई राजमार्गमा पार्किङ गराएर शुल्क असुली गर्नका लागि सहजिकरण गरेका छन् । राजमार्गमा मालवाहक गाडीको लाइनले सडक दब्दै भत्किएको छ । स्थलमार्ग हुँदै भारतीय र तेस्रो मुलुकका सर्वाधिक पर्यटकको आवागमन हुने भैरहवा नाका गाडीको जामले अस्तव्यस्त छ । बारम्बार नाका अवरुद्ध हुने गर्छ । तर, सरोकारवाला निकाय यसप्रति मौन छन् । देखेको नदेख्यै जस्तो गर्छन् । पर्यटक आवागमनमा र नाकामा सहजीकरण गरेको भन्दै अनेक प्रचारबाजी हुने गरेको छ ।

भन्सार नाकामा सडकमैं गाडी पार्किङ गराइनुले आवामगनमा समस्या भएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको गुनासो ट्राफिक प्रहरीले राख्दै आएका छन् । सडक बिभागले त्यस खालको पार्किङले सडकमा असर पुगेकाले सडक भत्किएको भन्दै यस खालको पार्किङ हटाउन बारम्बार विभिन्न निकायमा पत्राचार गर्दै आएको छ । तर सुनुवाइ कतैबाट भएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह बिष्टले मालवाहक गाडीलाई राजमार्गमैं पार्किङ गराइनाले भैरहवा भन्सार आसपासको सिमानाकामा ट्राफिक व्यवस्थापन गर्न निकै समस्या भएको बताउँछन् । ‘यस खालको पार्किङले यातायात आवागमनमा बारम्बार अवरोध हुने गरेको छ’, बिष्टले भने ।

उनका अनुसार, राजमार्गमा लोड गाडीहरु दुई–तीन वटा लाइनमा पार्किङ गर्ने गरिन्छन् । भारत–नेपालबीच आवतजावत गर्ने पैदलमार्गी, आफ्नै गाडी लिएर नेपाल आउने भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक, भारत–नेपालबीच चल्ने लामो दुरीका बसहरु, बेलहिया–भैरहवाबाट छुट्ने नेपाल भित्रकै लामो दुरीका बसहरु, स्थानीय सेवा दिने बसको चापका कारण सिमानाकामा ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङस्थल सहितको जमिनमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण सुरु भएपछि पार्किङस्थल अपुग भएकाले अन्नपूर्ण टर्मिनल्सले भन्सार अगाडीको छ लेनको बेलहिया–बुटवल व्यापारिक सडक मार्ग र भन्सारबाट बिशेष आर्थिक क्षेत्र जाने सडकलाई आफू अनुकल प्रयोग गर्न थालेको हो ।
तर, उसले भन्सार क्षेत्रमा सडकसँग जोडिएको नीजि जमिन भाडामा लिएर पार्किङ व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको छैन । उसले सार्वजनिक यातायात आवागमन प्रभावित नहुने वा अन्य बिकल्प खोज्नु पथ्र्यो । सडकमैं पार्किङ गराएर करोडौं रुपैयाँ असुली गर्न पाइएपछि अनाबश्यक खर्च र भन्झट लिन चाहेन ।

अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल भित्रिने महत्वपूर्ण नाका हो । भन्सार अगाडिको सडकमा जथाभावी पार्किङ गराइनाले भन्सार नाका बारम्बार जाम हुने गरेको छ । आम सर्वसाधारण यात्रु र पर्यटकले सास्ती खेप्दै आएका छन् ।

सडक डिभिजन कार्यालय, बुटवलका इञ्जिनियर तथा सूचना अधिकारी महेश्वर लम्सालले भैरहवा भन्सार अगाडिको राजमार्गमा मालवाहक गाडीको पार्किङ गराइँदा लोडले सडक बिग्रेको र त्यसरी पार्किङ नगराउन भनेर सम्बन्धित निकायहरुलाई वारम्बार लिखित पत्राचार गर्दा पनि कुनै चासो नदिएको बताए । ‘त्यस क्षेत्रमा हुने गरेको ओभरलोडसहितको पार्किङले सडक भत्केर बिग्रेको छ । राजमार्गमैं पार्किङस्थल बनाइएको बिषयले निकै तनाव बनाएको छ’, लम्सालले भने, ‘केही समयका लागिमात्रै बाहिर पार्किङ गरिएको भन्ने जवाफ दिने गरेको डेढ बर्ष भन्दा धेरै भयो ।’

लम्सालका अनुसार, सडक डिभिजन कार्यालय बुटवलले २०७९ फागुन १४ गते भैरहवा भन्सार कार्यालयलाई भन्सार प्रयोजन कामले मालवाहक ट्रक कन्टेनर लामो समयदेखि राजमार्गमा पार्किङ भैरहेको र यसरी पार्किङ गरिँदा स्थिर लोडका कारण सडक दिन प्रतिदिन क्षती भैरहेको र सडक आवागमनमा समेत अवरोध सिर्जना भएको जनाउँदै यथासिघ्र त्यहाँबाट हटाउने व्यहोराको पत्रचार गरेको थियो । यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय, रुपन्देही र जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देही समेतलाई दिइएको थियो ।

कुनै सुनवाइ नभएपछि २०८० बैशाख १ गते त्यहाँबाट गाडी पार्किङ गराउन नछाडिएको भन्दै अघिल्लो पत्रको ध्यानाकर्षण गराउँदै पुनः तकेता पत्र पठाएको थियो । त्यसको पनि कुनै सुनुवाइ नभएपछि २०८० असोज ३० गते नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई पत्राचार गर्र्दै यस भन्दा अगाडिका पत्राचार गर्दा पनि पार्किङ नहटाइएकाले उपयुक्त स्थानमा पार्किङको व्यवस्था मिलाउन भनेर पत्राचार गरेको थियो ।

भारत हुँदै नेपाल आएका मालवाहक गाडी भन्सार भित्र पसेपछि ति गाडीबाट लोड र गाडीको साइज अनुरुप अन्नपूर्ण टर्मिनल्सले पार्किङ शुल्क अग्रिम असुली गरेपछि भन्सार जाँचपास नहुन्जेलसम्मका लागि पार्किङका लागि भन्सार बाहीर राजमार्गको प्रयोग गर्ने गरेको हो । भने, नेपालबाट भारततर्फ निर्यात गर्ने गाडीलाइ त भन्सार भित्र पनि नछिराइ राजमार्गमैं पार्किङ गराएर शुल्क असुली गर्दै आएको छ ।

‘यति धेरै पत्राचार गर्दा पनि र भन्सार र जिल्ला प्रशासन कार्यालयमा हुने गरेको बैठकमा वारम्बार मौखिक कुरा गर्दा पनि पार्किङका लागि राजमार्गमा गरिएको अतिक्रमण हट्न सकेन’, लम्सालले भने । २०७९ भदौदेखि अन्नपूर्ण टर्मिनल्सले भैरहवा भन्सारको गोदाम तथा पार्किङ व्यवस्थापन गर्नका लागि ६८ करोड ४ लाख रुपैयाँमा पाँच वर्षका लागि ठेक्का लिएको हो ।

एउटा निजी ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि अन्तर्राष्ट्रिय नाकामा हुने यातायात आवागमनलाइ नै अवरोध गर्ने गरि राजमार्गमा पार्किङ गर्नु र यस बिषयप्रति प्रशासन, प्रहरी, भन्सार लगायतका निकाय मौन रहनु रहस्यको बिषय भएको नागरिक समाजका अगुवा स्थानीय बिजय गोबिन्द श्रेष्ठले बताए । ‘नियमन गर्ने र सरोकारवाला निकायले यस बिषयप्रति कुनै पनि कारवाही प्रक्रिया अगाडि नबढाउनुले मौन रहेको मात्रै होइन अप्रत्यक्ष रुपमा नीजि ठेकेदार कम्पनीलाई पृष्ठपोषण गरेको सहज अनुमान गर्न सकिन्छ’, श्रेष्ठले भने, ‘अन्नपूर्ण टर्मिनल्सलाइ सार्वजनिक सम्पत्तिको उपयोग गर्ने अधिकार छैन । न त यातायात आवागमन नै अवरोध हुने गरि राजमार्गको भोगचलन उसलाई गर्न दिने अधिकार नै कुनै निकायलाई छ ।’

अन्नपूर्ण टर्मिनल्सले भन्सारको स्वामित्वमा रहेको पार्किङ उपलब्ध नभएमा राजमार्गसँग जोडिएको निजी व्यक्तिको जमिन भाडामा लिएर पार्किङको व्यवस्थापन गरि पार्किङ शुल्क असुली गर्नु पर्ने श्रेष्ठले बताए । भन्सार एजेन्ट महासंघ नेपालका कार्यबाहक अध्यक्ष तथा स्थानीयवासी डा.शान्तकुमार शर्माले भन्सारको पार्किङ क्षेत्रमा आईसीपी बन्दै गरेकाले भन्सार परिसर बाहिर पार्किङ गर्नु पर्ने परिस्थिती आए पनि सडकमैं पार्किङ गर्न नमिल्ने बताए । ‘ठेकेदार कम्पनीले सडकको बिकल्प खोजेर पार्किङको व्यवस्थापन गर्नु पर्छ । तर, सडकमैं पार्किङ गराएर शुल्क असुली गर्न पाइँदैन’, शर्माले भने ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले एकीकृत भन्सार जाँच चौकी निर्माणका क्रममा भैरहवा भन्सार कार्यालयको पार्किङ अपुग भएकोले व्यापार सहजिकरणका लागि सिमीत सामान ढुवानी गर्ने गाडीमात्र केही वेरमात्र राजमार्गमा रोकिने गरेको बताए । बरु, सुरक्षा चेकजाँच र ओभरलोड वापतको कारवाहीका लागि वापत प्रहरीले राजमार्गमा लोड गाडी राख्ने गरेको आरोप उनले लगाए । ‘पार्किङ समस्याको दीर्घकालिन समाधान हुने आईसीपी जस्तो महत्वपूर्ण पुर्वाधार तयार हुँदैछ’, गौतमले भने, ‘यस खालका पूर्वाधार तयार पर्ने क्रममा कसैलाई अप्ठेरो पर्यो भनेर रोक्ने हो भने पूर्वाधार कसरी तयार बन्ने ? ।’

भन्सार प्रमुख गौतमले भन्सार क्षेत्र आसपासको राजमार्ग पनि भन्सार क्षेत्रमा पर्ने दावी गरे । उनका अनुसार, दशगजा सिमानादेखि ४ सय मिटर राजमार्ग सहितको दुरी भन्सार क्षेत्रमा पर्छ । भन्सार क्षेत्र आसपासको राजमार्ग भन्सार क्षेत्र भित्र पर्ने उनको दावीलाई सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर लम्सालले खण्डन गर्दै सडक तथा राजमार्ग पूर्ण रुपमा सडक विभागको अधिकार क्षेत्रमा पर्ने बताए । ‘हामीले त्यस क्षेत्रमा राजमार्ग बिस्तारका क्रममा भन्सारकै संरचना भत्काएर बनाउँदै छौं’, लम्सालले भने, ‘अनि राजमार्ग भन्सारको क्षेत्रभित्र कसरी पर्छ र ?’

अन्नपूर्ण टर्मिनल्स प्रालिका संचालक सदस्य सुभाष सुवेदीले राजमार्गमा मालवाहक गाडी पार्किङ गराउनु रहर नभएर बाध्यता भएको बताए । ‘आईसीपी निर्माण नहुन्जेल पार्किङको व्यवस्था कहाँ गर्ने ? भनेर सवै सरोकारवाला निकायको बैठक गर्दा केही सडक क्षेत्रलाई पनि भन्सार क्षेत्र घोषणा गरिएको निर्णय गरिएपछि त्यही अनुरुप पार्किङ गरिएको हो’, सुवेदीले भने, ‘अव एक बर्षपछि आईसीपी तयार भएपछि यो समस्या समाधान हुने छ ।’

मालवाहक गाडी पार्किङका लागि भन्सार नजिकैको बिशेष आर्थिक क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा खाली जमिन नभेटिएको र आसपास क्षेत्रमा पनि निजी जमिन पार्किङका लागि फेला नपरेको दावी उनले गरे । अहिलेको अवस्थामा मालवाहक र नयाँ आयातित गाडी गरेर करिव ५ सय गाडी अट्ने क्षमताको पार्किङस्थलको आवश्यकता रहेको उनले जनाए ।