विश्वको उत्कृष्ट गन्तव्य बर्दियाको ‘बुरहान’का विशेषता कस्ता छन् ?

बर्दिया– बर्दियाको मधुवन नगरपालिका–१, डाँडागाउँस्थित बुरहान वाइल्डरनेस क्याम्प विश्वका एक सय उत्कृष्ट गन्तव्यको सूचीमा परेपछि उक्त रिसोर्टका बारेमा सोधीखोजी बढेको छ । धेरैले बुरहान रिसोर्टले प्रदान गर्ने सेवासुविधाबारे चासो दिएको पाइन्छ । जंगलबीच खुला चौरमा टेन्ट र ट्री हाउस (रुख घर) मा बसोबास गराइने रिसोर्ट स्वदेशी मात्र नभएर बिदेशीको समेत चासोको विषय भएको छ । अहिले उक्त रिसोर्टमा पुग्नका लागि सोधखोज गर्ने बढेका हुन् ।
क्षेत्रीय होटल संघ, बर्दियाका अध्यक्ष मोहन चौधरीका अनुसार थारु भाषामा ‘बुरहान’ शब्दले स्थान विशेषलाई जनाउँछ । ‘थारु भाषामा यसको अर्थ डुवान क्षेत्र हुनसक्छ,’ उनले भने, ‘हुन पनि बुरहान खौराहा र गेरुवा नदीको तटीय क्षेत्र हो ।’ दुबैतिर कर्णालीका भंगला छन् । क्याम्पको पूर्वतर्फ कैलासी गाउँ छ । पश्चिमतर्फ बर्दिया निकुञ्ज छ । उनका अनुसार बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारा बजारबाट करिब आधा घण्टा दूरीमा रहेको क्याम्प बस्तीबाट टाढा खाता वन्यजन्तु मार्ग अन्तर्गत छ ।
ठाकुरबाबा र मधुवन नगरपालिकाको सीमा क्षेत्रमा रहेको क्याम्पमा स्थायी संरचना छैनन् । चौधरीका अनुसार यो ‘टेन्टेड क्याम्प’ हो । पाहुना आएका बेला सञ्चालकले चौरमा टेन्ट जडान गरेर आवासीय सेवा प्रदान गर्दै आएका छन् । अहिले मनसुनको बेला भएकाले लगभग बन्द अवस्थामा छ । मनसुन सकिएपछि यो पूर्ण सञ्चालनमा आउने उनले बताए ।
बर्दियाका निकुञ्जका पथप्रदर्शक तथा संरक्षणकर्मी हेमन्त आचार्यले सुनसान स्थानमा रहेको चौरमा पक्की संरचना निर्माण नगरिएको बताए । उनका अनुसार शौचालयदेखि आवासका संरचना ‘इको–फ्रेण्डली’ छन् । पर्यटकका लागि चौरमा रहेका दुईवटा रुखमा आवास (ट्री–हाउस) निर्माण गरिएको छ । थप एउटा ट्री हाउस निर्माणको तयारी भइरहेको उनले बताए । ‘चौरमा दिउँसो गाईबस्तु चर्छन्,’ आचार्यले भने, ‘त्यहीं चौरमा पाहुना आएका बेला टेन्ट गाडेर बसाउने गरिएको हो ।’ टेन्ट लगायत अस्थाई संरचना भण्डारणका लागि गाउँमा एउटा घर भाडामा लिइएको उनले बताए । संरक्षणमा क्रियाशील स्थानीय युवाहरुसित सहकार्य गरिरहेकाले आफूहरुले बुरहान सञ्चालनमा सघाइरहेको उनले बताए । बुरहान क्याम्पमा आएका पर्यटकलाई स्थानीय सामूदायिक वनमा डुलाउने गरिएको छ ।
दाङका मनोज गौतम र उनकी दिदी प्रभा गौतम हुन् । संरक्षणकर्मी गौतमको अहिले बेलायतमा बसोबास छ । बुरहान वाइल्डरनेस क्याम्पमा पर्यटक पथ प्रदर्शन गर्दै आएका मन्जु महतराले पक्की संरचनाबिहीन यस क्याम्पसमा सञ्चालन हुने पर्यटकीय गतिविधिका कारण पाहुनाको प्रिय बनेको बताइन् । उनका अनुसार पर्यटक आएका बेला मात्रै चौरमा टेन्ट टाँग्ने गरिएको छ । पाहुना राख्नका लागि दुईवटा ट्री हाउस निर्माण गरिएको छ । यस्ता रुख घर निर्माणमा काठको मात्र प्रयोग गरिएको छ । ‘सिजनेवल टेन्टिड क्याम्प हो,’ उनले भनिन्, ‘पाहुना आएका बेलामात्रै सेवा दिने गरिन्छ । नत्र त चौर हो ।’
उनका अनुसार क्याम्पसमा बर्दिया निकुञ्जमा सञ्चालक भइरहेका पर्यटकीय गतिविधिभन्दा फरक वन्यजन्तुका पाइला पहिचान र रिभर वासिङ कार्यक्रम छ । यहाँ आएका पाहुनलाई वन्यजन्तुका पाइला देखाएर कुन जनावरको हो भनेर पहिचान गराउने गरिएको छ । रिभर वासिङ अन्तर्गत पाहुनाई स्वीम सुट पहिराएर नदीमा हिडाउने गरिएको छ । ‘पानीमा हिडाएर माछा र ढुंगा देखाउने गरिएको छ,’ उनले भनिन्, ‘साँझका बेला सन डाउन कार्यक्रम गरिन्छ ।’ सन डाउन कार्यक्रममा पाहुनालाई लहरै कुर्सीमा बसाएर सूर्यास्त अवलोकन गराउनुका साथै विभिन्न पेय पदार्थ उपलब्ध गराउने गरिएको छ ।
यस बाहेक निकुञ्जमा सञ्चालन हुँदै आएका जीप सफारी, जंगल वाक, बबई नदीमा फिसिङ लगायत कार्यक्रम सञ्चालन गरिन्छ । यस बाहेक क्याम्पसले स्थानीय गाउँमा ‘आँगन घर’ सञ्चालन गरेको छ । उक्त घरमा स्थानीय थारु लगायत खानाका परिकार पर्यटकलाई खुवाइन्छ । स्थानीय संस्कृति र प्रकृति संरक्षणबारे जानकारी दिइन्छ । ‘स्थानीयका कला, संस्कृति र खानपान समेटेर आँगन घर सञ्चालन गरिएको छ,’ उनले भनिन्, ‘यसले क्याम्प सञ्चालक र स्थानीयबीच सम्बन्ध प्रगाढ तुल्याएको छ ।’
सञ्चालक बेलायतमा रहेकाले यसको व्यवस्थापन दक्षिणा खड्काले सम्हालिरहेकी छन् । खड्काले प्रेस बिज्ञप्ती मार्फत व्यवस्थापनको धारण सार्वजनिक गरिएको जनाइन् । क्याम्प व्यवस्थापनले अघिल्लो बिहीबार साँझ जारी गरेको प्रेस बिज्ञप्तीमा टाइम म्यागेजिनले सार्वजनिक गरेको विश्वका अदभूत गन्तव्यको सूचीमा बुरहान छनौंट भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तीमा बुरहान वाइल्डरनेश क्याम्प बर्दियाको खाता जैविक मार्गको महत्वपूर्ण भागमा अवस्थित रहेको उल्लेख छ ।
साथै भावनापूर्ण संरक्षणबादीको समूहद्वारा सञ्चालित रहेको उल्लेख गरिएको छ । क्याम्प क्षेत्रमा एकसिंगें गैडा, पाटेबाघ, जंगत्ती हात्तीका साथै ब्ल्याक आइबीस, रुड्डी शेल्डक, नाइटजार, फिसिङ ओल जस्ता पंक्षी रहेको बिज्ञप्तीमा जानकारी दिइएको छ । ‘गत वर्ष क्याम्पमा ५ सय भन्दा बढी पाहुनालाई स्वागत गरेको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘स्थानीय होमस्टे र रेष्टुरेन्टलाई सघाइरहेको छ भने स्थानीय युवालाई उद्धार र गाइड सम्बन्धि तालिम दिन्छ ।’
प्रतिकृया दिनुहोस्