May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

लुम्बिनीमा कृषि अनुदानमा मनपरीले उपलब्धी शून्य

भैरहवा– लुम्बिनी प्रदेश सरकारले मनपरी कृषि अनुदान वितरण गरेपछि लगानी बालुवामा पानी जस्तै भएको छ । विभिन्न क्षेत्रमा वितरण गरिएको अनुदान खेर गएको छ । कृषकको जीवनस्तर उकास्ने र उनीहरुलाई प्राविधिक सुविधा उपलब्ध गराउन वितरण गरिएको अनुदानको उपलब्धी शून्य छ । प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ मा कृषि तथा पशुपंक्षी अनुदान शीर्षकमा झण्डै ५० करोड रकम बिनियोजन गर्यो । त्यो मध्ये ३९ करोड ९१ लाख ७७ हजार रुपैयाँ अनुदानमा भुक्तानी भयो ।

Advertisement

त्यस्तै, कृषि यान्त्रिकरणतर्पm ४० करोड रुपैयाँ बिनियोजन गर्यो । त्यसमध्ये ३३ करोड ३८ लाख रुपैयाँ भुक्तानी नै भयो । मन्त्रालयले स्पष्ट मापदण्ड तयार नगरी मन्त्री, प्रदेश सभा सदस्य र कर्मचारीको स्वार्थमा अनुदान वितरण गर्दा ७० प्रतिशत रकम दुरुपयोग भयो । अनुदानको ठुलो रकम दुरुपयोग भएको देखिएपछि सरकार आफैले छानविन समिति बनायो । तत्कालीन प्रदेश सभा सदस्य कमलराज श्रेष्ठको संयोजकत्वमा बनाएको छानविन समितिले अनुदानका रुपमा वितरण गरिएको ७० प्रतिशत रकम दुरुपयोग भएको र व्यक्तिका निजी होटल संचालनदेखि कृषि उपकरण खरिद भएको तर, कुनै उपयोग नभएकोसम्म फेला पर्यो ।

Advertisement

मन्त्रालयले रोल्पाको रोल्पा नगरपालिकालाई ३ हजार लिटर क्षमताको दुध बोक्ने ट्यांकर खरिद गर्न ३५ लाख ५५ हजार भुक्तानी दिएको थियो । रोल्पा जिल्लाभरी २ सय लिटर पनि दुध उत्पादन नभएको अवस्थामा नगरपालिकाले खरिद गरेको ट्यांकरमा अहिलेसम्म पनि दुध ओसारपसार हुन सकेको छैन् । अनुगमन समितिले पनि पहुँचकै आधारमा अध्ययन नगरी यान्त्रिकरणमा अनुदान उपलब्ध गराउँदा त्यसको दुरुपयोग भएको निश्कर्षसहितको प्रतिवेदन दियो । मन्त्रालयले यान्त्रिकरणतर्पm दुध बोक्ने ट्यांकर, पिकअप भ्यान, चिलिङ भ्याट, पेलेट दाना बनाउने मेशिन, ह्याचरी मेसिन र मिनि टिलरलगायतका सामाग्री वितरण गरेको थियो ।

जिल्लामै दुध उत्पादन गर्ने गरी नगरपालिकाले भैसी खरिदमा लगानी गर्ने र प्रदेशको कृषि मन्त्रालयले दुध ओसारपसार गर्ने ट्यांकर दिने गरी योजना गराइएको भए पनि सफल हुन नसकेको तत्कालीन नगर प्रमुख पूर्ण केसीले बताए । केसी माओवादी नेता कृष्णबहादुर महराका बहिनी ज्वाई र उपप्रमुख मनकुमारी घर्ती बर्षमान पुनकी बहिनी हुन् । दुवै नेताको दवावमा प्रदेश सरकारले ट्यांकर उपलब्ध गराएको थियो ।

अहिलेका नगर प्रमुख सुरेन्द्र घर्तीले अघिल्लो कार्यकालमा अनुभवको कमीले पनि जिल्लामा दुध उत्पादन हुन नसक्दा ट्यांकर आएर चार वर्षदेखि थन्किएर बसेको बताए । उनले चालु वर्षमा नगरपालिकाले ४० लाख रुपैयाँ बिनियोज गरेर गाई खरिदको तयारी गरेको र आगामी वर्षदेखि ट्यांकरको प्रयोग हुने बताए । अहिले पनि ३ सय ५० लिटर दुध ट्यांकरले बोक्ने गरेको उनको दावी छ । ‘हामीले दुध उत्पादनका लागि चालु वर्षमा ४० लाखका गाई खरिद गर्दै छौं,’ उनले भने, ‘आगामी वर्षदेखि ३ हजार लिटर दुध उत्पादन भएर ट्यांकर फूल फेजमा संचालन हुन्छ ।’

अघिल्लो कार्यकालमा अनुभवको कमी र कोभिड महामारीका कारण ट्यांकर प्रयोग गर्न नसकिएको उनले बताए । मन्त्रालयले त्यही क्षमता र त्यही मूल्यका ट्यांकर प्यूठान र गुल्मीमा पनि वितरण गरेको थियो । ति पनि उपयोगविहीन अवस्थामा छन् । बजार मूल्यमा २७ लाख पर्ने ट्यांकरलाई ३५ लाख ५५ हजारमा खरिद गरेको देखिए पछि अहिले अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।

सोही आर्थिक वर्षमै मन्त्रालयले कृषि अनुदान कोष कार्यक्रम अन्तर्गत खाद्य तथा पोषण सुरक्षा, व्यवसाय उन्मुख कृषि तथा नवीन प्रविधि कार्यक्रम र व्यावसायिक कृषि कार्यक्रमतर्फ १ सय ८४ किसानलाई १० करोड रुपैयाँ वितरण गरेको थियो । त्यसमा व्यवसायिक किसान भन्दा दलका कार्यकर्ता र पहुँचवालाकै हालीमुहाली चलेको छ ।

प्यूठान नगरपालिका–२ को हरियाली पशुपंक्षी तथा कृषि फर्मले चार लाख रुपैंयाँ अनुदान बुझेको थियो । त्यसका सञ्चालक विक्रम विष्ट नेकपा एमाले प्यूठानका जिल्ला अध्यक्ष बिजयबिराट विष्टका भाई हुन् । बंगुरपालनका लागि अनुदान पाएको उनको फर्म दाखाक्वाडीस्थित झिमरुक खोला किनारमा थियो । बंगुलपालनका लागि अनुदान लिएपछि केही वर्ष फर्ममा जुनतारा कटेज एण्ड रिसोर्ट सञ्चालनमाा थियो । अहिले बन्द छ ।