May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यावारिधि’मै आशंका

भैरहवा– रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्व विद्यालयले वितरण गरेको विद्यावारिधि (पीएचडी) उपाधिमै शंका उब्जिएको छ । विद्यावारिधि जस्तो प्राज्ञिक उपाधिका लागि आवश्यक पक्रिया पूरा नगरेरै केही व्यक्तिलाई डिग्री प्रदान गरिएकाबारे अहिले विश्व विद्यालयमै खैलाबैला सुनिन थालेको छ ।

Advertisement

राजनीतिक पहुँच र मेलका साथै आर्थिक चलखेल गरेर उक्त उपाधि प्रदान गरिएकाबारे गुनासो पुगेपछि वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठको सचिवालयले समेत यसमा चासो दिएको छ । संघीय राजधानी काठमाडौंमा लुम्बिनी बौद्ध विश्व विद्यालयले केही व्यापारी, पत्रकार र राजनीतिक पहुँचवालालाई क्षमता, दक्षता र उपाधिका लागि आवश्यक मापदण्ड बिनै विद्यावारिधि उपाधि प्रदान गरिएकाबारे अहिले चर्चा छ ।

Advertisement

राजधानीका सञ्चारमाध्याममा यस विषयमा समाचार प्रकाशन भइरहेका छन् । शिक्षामन्त्री निकट एक व्यक्तिले पब्लिक कुरासित उपाधि वितरणमा भएको लापरबाहीबारे चासो व्यक्त गरेका थिए । ‘पीएचडीको डिग्री नै किनबेच भएको कुरा मन्त्रीज्युसम्म पुगेको छ,’ उनले पब्लिक कुरासित भने, ‘व्यापारीले डिग्री किनेको भन्ने छ ।’ उनका अनुसार विश्वविद्यालयले प्रदान गर्ने यस्तो उपाधिमाथि प्राज्ञिक जगतले प्रश्न गर्न थालेपछि मन्त्रालयले चासो दिएको हो ।

विश्व विद्यालयका निमित्त रजिष्टार तीलक आचार्य, उनका सहकर्मी पत्रकार बालकृष्ण चापागाईं र भैरहवास्थित शैक्षिक व्यापारी ज्ञानदेव हटुवालको उपाधिमाथि बेलाबेलामा प्राज्ञिक व्यक्तिले प्रश्न गर्ने गरेको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ । विश्व विद्यालयमा कार्यरत अन्य प्राध्यापकको शैक्षिक उपाधिबारे चासो राखेको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

विश्व विद्यालयमा कार्यरत प्राध्यापकहरुले छोटो अवधिमा प्राज्ञिक व्यक्तित्व नबन्दै हतारमा उपाधि प्रदान गर्ने गरिएको प्रतिक्रिया दिएका छन् । विद्या वारिधिका लागि आवश्यक मापदण्ड र भाइवा समेत अधुरो रहेका व्यक्तिलाई निमित्त रजिष्टार आचार्यको जोडबलमा उक्त उपाधि प्रदान गरिएको चर्चा छ । ‘रजिष्ट्रार व्यापारी हुन्,’ एक प्राध्यापकले भने, ‘उहाँले डिग्रीको पनि व्यापार गर्नुभयो ।’