May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

शरीरिक रुपमा अशक्त ६ जनालाई विशेष जुत्ता उपलब्ध

भैरहवा– शरीरिक रुपमा अशक्त भएका दुई महिना अघि आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागिका लागि सिद्धार्थनगर नगरपालिकामा निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ ।

Advertisement

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको थियो ।

Advertisement

शिविरमा खुट्टामा समस्या भएका १२ जनालाई आवश्यक पर्ने विशेष किसिमको जुत्ताका लागि उनीहरुको खुट्टाको नाप लिइएको थियो । नाप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार, जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । शिविर र सहायता साम्रागीमा सिद्धार्थनगरसहित आसपासका अन्य पालिकाका वासिन्दालाई पनि सेवा दिइएको थियो ।

‘शिविरमा सिद्धार्थनगरसहित अन्य पालिकाबासीहरु पनि सेवा लिन आएपछि सेवा भावले उनीहरुलाई पनि सेवा दिएका थियौं’, उपप्रमुख अधिकारीले भनिन्, ‘जसअनुसार जुत्ताको आवश्यक पर्ने शिविरमा सहभागी सवैलाई जुत्ता उपलब्ध गराएका छौं ।’

नगरपालिकाको कार्यालयमा सिद्धार्थनगरका तीन जना, सियारी, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका एक–एक जनालाई खुट्टाको नाप अनुसार जुत्ता उपलब्ध गराइएक हो । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका फोकलपर्सन राजाराम चौधरीले उपलब्ध गराइएको जुत्ताले खुट्टामा देखिएको समस्यालाई बढ्न नदिने बताए ।