May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

भाग्यमानी नेता की रोल्पाली ? : जहाँबाट तीनैजना मन्त्री भए

भैरहवा– अहिले रोल्पाका घरघरमा एउटा चर्चा छ– त्यो हो, हामी रोल्पाली जनता भाग्यमानी की ? यहाँबाट जितेका नेता ? चर्चा किन नहोस्, जनयुद्धको उद्गम थलो रोल्पाबाट जितेका तीनैजना सांसद अहिले केन्द्र र प्रदेशको बागडोरमा छन् । अर्थात् संघ र प्रदेशमा जितेका तीनैजना मन्त्री बनेका छन् ।

Advertisement

प्रतिनिधि सभामा रोल्पाबाट निर्वाचित वर्षमान पुन मुलुककै महत्वपूर्ण मानिने संघीय सरकारको अर्थमन्त्री छन् । यस्तै, रोल्पा प्रदेशसभा (१) बाट निर्वाचित जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दा र रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित दिपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बनेका छन् । वर्षमान र महरा नेकपा माओवादीबाट निर्वाचित भएका हुन् भने दीपेन्द्र स्वतन्त्र उठेर चुनाव जितेका थिए । यद्यपि उनी अहिले माओवादीमै फर्किएका छन् ।

Advertisement

रोल्पा त्यो भूमि हो । जसले कृष्णबहादुर महरालाई जिताएर पटकपटक मन्त्री बन्ने अवसर दियो भने अन्तिमपटक महरा सभामुख समेत भए । २०६४ मा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पाबाट चुनाव जितेर मुलुकको प्रधानमन्त्री नै भएका थिए । यतिमात्र होइन्, यहाँबाट जित्दै आएका वर्षमान पनि पटकपटक मन्त्री बनेका छन् ।

रोल्पाबाट जितेका नेता राज्यको महत्वपूर्ण बागडोरमा पुग्दा जनताको अवस्था भने खासै परिवर्तन भएको छैन । जनयुद्धको उद्गम थलो रोल्पालीले शिक्षा, स्वास्थ्य, रोजगारका लागि भौतारिनु परिरहेको छ । पछिल्लो समय रोल्पामा पूर्वाधार विकासले फड्को मारे पनि शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा पछि नै छ ।

अहिले एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्री पाएपछि रोल्पाली खुशी छन् । उनीहरुमा विकास र समृद्धिको चाहना व्याप्त छ । यसअघि वि.स. २०७८ मा रोल्पाले मुख्यमन्त्री पाएको थियो । माओवादी केन्द्रका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए । यसरी रोल्पाली जनताले जिताएका नेताहरु मुलुकको महत्वपूर्ण पदमा पुग्दा जनताका दुःख भने जहाँका त्यही छन् । तर, नेता भने कहिले सुन काण्ड त कहिले अस्पतालको भवन निर्माण ठेक्का दिँदा विवादमा मुछिने गरेका छन् । नेता मोटाइरहँदा जनताको अवस्था बदलिएको छैन । यसैले रोल्पालीले भन्ने गरेका छन्– भाग्यमानी हामी होइन्, नेता हुन् ।