May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बुटवलले दियो गर्मी विदा, अन्य पालिकाले के गर्दैछन् ?

बुटवल– अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । उपमहानगरले आज वैशाख २० र भोलि २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै गर्मी विदा दिइएको जनाएको हो ।

Advertisement

विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाले एक हप्ताअघि नै वैशाख २० गतेसम्म तातो हावा चल्ने जानकारी गराएको थियो । तर, उपमहानगरले १९ गते मात्रै विद्यालय बन्द गर्ने निर्णय गर्नुलाई अधिकांश अभिभावकले ढिला निर्णय भएको टिप्पणी गरेका छन् ।

Advertisement

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

पछिल्लो समय रुपन्देहीमा दैनिक तातो हावासहितको ‘ल’ चलिरहेको छ । यसबाट सबै नागरिकको जनजीवन प्रभावित भएको छ । बुटवलले विदा दिए पनि अन्य पालिकाले भने अझैसम्म विदा दिएका छैनन् । अभिभावकहरुले विदा दिन आग्रह गरिरहेका छन् । गर्मीका कारण विद्यार्थी निकै प्रभावित छन् । तातो हावामा विद्यालय आउजाउ गर्दा र दिनभरी पंखामुखी बसेर पठनपाठन गर्दा कयौं विद्यार्थी विरामी परिरहेका छन् । अभिभावकले विदाका लागि आग्रह गर्दासमेत पालिकाहरुले बेवास्ता गरिरहेको गुनासो गरेका छन् ।