लुम्बिनी प्रदेशमा गाई–भैंसीमा लम्की स्किनको प्रकोप बढ्दो


भैरहवा– लुम्बिनी प्रदेशमा लम्की स्किनको प्रकोप ब्यापक बन्दै गएको छ । रोगका कारण गाई–भैंसी लगायतका लाखौं चौपाया विरामी परेका छन् भने हजारौं मरेका छन् । घाँटी, पुच्छर, पेट, थुनमा गिर्खा देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, फिँज काट्ने तथा दूध घट्ने लक्षण चौपायामा देखिने गरेको छ । सरकारले पनि चौपायामा यस्तो लक्षण देखिए तत्काल नजिकको पशु चिकिक्सकसँग परामर्श गर्न र त्यस्ता पशुलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा नलैजान आग्रह गरेको छ । साथै पशु बाँध्ने गोठ सफा राख्न र असल भेटेरेनरी अभ्यास गर्न गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
पछिल्लो पटक लुम्बिनी जिल्लाहरुमा रोगले महामारी नै लिएको छ । बाँके, बर्दिया, गुल्मी, प्यूठान, अर्घाखाँची, रोल्पा लगायतका जिल्लामा अहिले चौपायाहरुमा यो रोग ब्यापक रुपमा फैलिएको छ । स्थानीय पालिकाले रोग नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको किसानको गुनासो छ । खासगरी गाई–गोरु, भैंसीमा भाइरस संक्रमण ब्यापक रहेको छ ।
बाँकेमा रोगका कारण २५ पशुको मरेका छन् । यस्तै, सात हजार चौपाया विरामी परेका छन् । ती चौपायामा लम्की स्किनको संक्रमण देखिएको छ । अहिले बाँकेमा सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको सङ्क्रमणले ठूलो धन र चौपायाको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिए । ‘केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन,’ उनले भने, ‘यसका लागि हामीले पहल गरिरहेका छौं ।’
गुल्मीमा अहिलेसम्म ४ देखि ५ हजारसम्म गाईभैँसी र गोरु मरेको सम्बन्धित निकायले जनाएको छ । १२ वटा पालिकामध्ये मुसिकोट नगरपालिका वडा नम्वर २ र ३ का रामबहादुर महत, मिनबहादुर महत, बुद्ध थापा, राजु नेपाली, नरबहादुर कार्की, डम्बरबहादुर बोहरा, बासुदेव रिजालसहित दर्जनौं घरपरिबारका गोरु मरेको र त्यति भन्दा बढी संख्यामा बिरामी परेको पाइएको छ ।
प्रायः प्रत्येक घरका गोरुहरुको माल्चो सुन्निने, खटिरा शरिरका विभिन्न भागमा उठेका र पाकेर घाउ बनेको छ । गोरुहरुको त्यो विमारबारे अनविज्ञ किसानहरु ती गोरुहरुलाई बेसार पानी खुवाउँदै पालिकाले वास्तै नगरेको गुनासो गरेका छन् । ‘अहिले अधिकांश किसानले पालेका गाई–गोरुमा लम्की स्किन भाइरस संक्रमण बढ्दो छ, कयौं चौपाया मरिसकेका छन्’, प्यूठानको गौमुखी गाउँपालिकाका टेकुलाल शर्माले भने, ‘रोग नियन्त्रणका लागि कुनै निकायबाट ठोस काम भएको छैन । जसले गर्दा किसानले ठूलो क्षति व्यहोर्नु परेको छ ।’ यता गुल्मीका १२ वटै गाउँपालिकामा गाईगोरु, भैँसी र बाख्राहरुमा खटिरा उठ्ने, शरिरका विभिन्न भाग सुन्निने समस्या चौपायामा देखिएको छ । यसले गर्दा धमाधम चौपाया मरेर कृषकहरु चिन्तामा छन् । तर, संघ, प्रदेश र स्थानीय सरकारको कुनै रोकथामको तयारी र प्रयास नगरेको कृषकको गुनासो छ ।
सर्वसाधारण किसान भन्छन्, ‘यो के रोग लालेको हो ? अहिलेसम्म त यस्तो देखिएको थिएन । सर्वसाधरण किसानहरुका लागि यतिबेला चौपायहरुमा यो अज्ञात रोग लागे पनि खास त यो बिभिन्न मुलक हुँदै तराईबाट पहाडी जिल्लमा सल्किएको लम्की स्किन भाइस भएको बताइएको छ । यस भाइरसले गुल्मी जिल्लाका सबै पालिकाका चौपायहरु धमाधम बिरामी पर्दै र मर्दै गएका छन् । गत दुई महिनादेखि यो भाइरसले हजारौं किसानका हजारौं गाई भैँसी, गोरु र बाख्रा मरेर ठुलो क्षति हुँदा पनि स्थानीय सरकारको सामन्य खोप बाहेक प्रेदश र संघीय सरकार गम्भीर हुन नसकेको गुनासो बढीरहेको छ ।
मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले सबैतिर पशु चौपायमा लागेको भाइरसले असर गरेर कृषकहरु आपत्कालिन अबस्थामा पुगेको बताए । यहाँ एक हजार बढि चौपायहरुमा भाइरस बिरुद्धको खोप लगाइएको तर प्रदेश सरकारको प्रतिनिधि संस्था पशु सेवा तथा पशु चिकित्सक विज्ञ केन्द्रले केहि नगरेर घाँस मात्रै वितरण गरेर दिन कटाएको उनले बताए । मुसिकोट नगरपालिका प्रमुख खरेलले पशु स्वास्थ्यकर्मी नपुगेका वडाहरुमा तत्कालै आफूले खटाउन निर्देशन दिएको बताए । अधिकांश पालिका प्रमुखले प्रदेश सरकारको प्रतिनिधि संस्था पशु सेवा बिज्ञ केन्द्र गुल्मीले केही गर्न नसकेको आरोप लगाए ।
केन्द्रका प्रमुख पशु चिकित्सक भरत काफ्लेको कार्यालयमा आएको खोप पालिकाहरुलाई दिएको, थप खोप प्रदेश र संघ सरकार र अर्थमन्त्रालयले रकम निकासी गरेर नपठाई वितरण गर्न नसकिने बताए । उनले मानिस संक्रमित हुने कोभिड महामारी जस्त अहिले आएको पशुमा लाग्ने भाइरस त्यस्तै भएको बताउँदै खोप बाहेक अन्य उपचार नहुने स्पष्ट पारे । उनले ४ देखि पाँच हजारसम्म पशुचौपाय मरिसकेको र त्यो भन्दा बढि थला परेको जानकारीमा आएको बताए । यता अर्घाखाँची, रोल्पामा पनि सयौं चौपाया रोगका कारण मरेका छन् ।








प्रतिकृया दिनुहोस्