ताल अतिक्रमणसँगै उजाड बन्दै


बर्दिया– पश्चिम नेपालकै सबै भन्दा ठुलो मानिएको बर्दियाको बढैयाताल सिमसार क्षेत्र अतिक्रमणले खुम्चिँदै गएको छ । २ सय हेक्टर भएको बढैयाताल घटेर अहिले १ सय ४ हेक्टर क्षेत्रफलमा सिमित भएको छ ।
८५ प्रजाति र साइवेरियन चरा देखिने बढैयाताल यतिखेर सुख्खा र उजाड भएको छ । बढैयातालको संरक्षण र प्रर्वद्धन गर्ने जिम्मा लिएको बढैयाताल गाउँपालिकाको उदासिनताले दयनीय अवस्थामा पुग्दै गएको स्थानीय बताउ‘छन् । गुलरिया नेपालगन्ज सडक चारलेनको निर्माण भइरहेकाले ठेकेदार कम्पनीले ताल खनेर माटो झिकेका थिए । वातावरणीय मूल्यांकन नगरि हचुवाको भरमा तालको ठेक्का दिइएको थियो ।
बढैयाताल राजश्व परामर्श समितिका सदस्य दीपक खनालले वातावरणीय प्रभाव मूल्यांकन नगरि माटो खन्दा वातावरणमा प्रभाव परेको बताए । पालिकाले ताल खनेर एक टिपर माटो लैजाँदा सात सयका दरले असुली गरेको थियो । चौतर्फी विरोध पछि केही दिन अघि ताल खन्ने काम बन्द भएको उनले जनाए । जलकुम्भी सफा गर्न पनि ताल खन्न जरुरी भएकाले व्यवस्थित प्रक्रिया नगरि आफू खुशी खन्दा वातावरणलाई असर पर्दै गएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।
व्यवस्थापनको कमजोरीले पर्यटकिय दृष्टिले मात्रै नभई माछा उत्पादनका लागि प्रख्यात बढैयातालको पानी सुक्दै गएपछि आगुन्तक चरा आउन छाडेका छन् । पानी सुक्दै गएपछि यहॉ आउने आगन्तुक पाहुना चरा घट्दै गएका छन् । हरेक वर्ष हिमाली भेग लगायत साइवेरियाबाट आउने चरा घट्दै गएको पंक्षी विज्ञ राम शाहीले बताए ।
तालमा हरेक वर्ष हिउँदमा आउने सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुले, हुटिट्याउ, लोभीपापी, गरुड हरिहॉस लगायत करिब १५ प्रजातिका चरा भेटिएका छैनन् । विगतमा तालमा झाँडी मार्ने औषधीको बढ्दो प्रयोग, वनभोज खादा होहल्ला हुने, अव्यवस्थित रुपमा माछा मार्ने लगायतका कारणले सिमसार क्षेत्रमा पाहुना चरा घटेको पंक्षी विज्ञ शाहीले बताए । धेरै ठाउँ अतिक्रमणसँगै तालमा करिब ९५ प्रतिशत पानी सुक्दै गएको स्थानीयले गुनासो पोखेका छन् । विगतमा सधैं भरिभराउ हुने तालमा अहिले सिमित पानी देखिन्छ ।
एक अध्यनले बढैयातालमा सय बढी प्रजातिका पाहुना चरा आउने गर्थे । बढैयातालमा सरसफाई नहुनु, तालमा पर्याप्त पानी नहुनु र संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा चराको संख्या घट्दै गएको छ । बढैयाताल गापाले ताल संरक्षणका लागि दीर्घकालीन परियोजना लागु गरेको छ । ताललाई खनजोतका नाममा सुख्खा पारिएको स्थानीय ठाकुरसिंह थारु बताउँछन् । ‘संरक्षित ताल पछिल्ला दिनमा उत्खनन् गर्ने, पानी सुकाउने कामले संकटमा परेको छ,’ ‘उनले भने, ‘ताल खन्ने नाममा स्थानीयलाई कुनै जानकारी गराइएको छैन ।’ पानी सुकेकाले माछाको संख्या कम हुँदै गएका कारण आहाराको अभावमा पाहुना चरा आउन छाडेका छन् ।
प्रदेश सरकारको बजेटबाट इ–विडिङ मार्फत बढैयातालको ठेक्का गत वर्ष भएको थियो । गापाका अध्यक्ष हिमालय त्रिपाठीले तालको माटो निकाल्ने काम भई बॉध बनाउने काम जारी रहेको बताए । ‘चराचुरुङ्गीका लागि अहिले पर्याप्त पानी नभएको अवस्था छ,’ उनले भने ‘म निर्वाचित भएर आएपछि भूमाफियाले सात बिघा तालको जग्गा अतिक्रमण गरेका छन् ।’ लालपुर्जा समेत हात पारेका भूमाफियाले ताल कब्जा गरेका थिए । उनिहरु विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दिएपछि तालले जग्गा फिर्ता पाएको उनले बताए ।








प्रतिकृया दिनुहोस्