दाङबासीले सास्ती खेपिरहेको घोराही–तुलसीपुर सडकको ठेक्का खारेज


भैरहवा– लामो समय निर्माण ढिलाइले अलपत्र परेको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको छ । सरकारले निर्माणमा ढिलाई भएको र पटकपटक तोकता गर्दा पनि बेवास्ता गरिएको भन्दै सडकको ठेक्का रद्ध गरेको जनाएको छ ।
सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङको एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले ठेक्का रद्ध गरेको जनाइन् । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको उनको भनाई छ । शर्माले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’ उनले ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि बताइन् ।
नयाँ ठेक्का लगाउने काम छिट्टै सुरु गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन् । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उनले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताइन् । भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत छ । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ ।
घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको हो। तीस महिनामा काम सक्ने गरी सम्झौता भयो। उक्त सडकमा अहिलेसम्म सातजना पेटी ठेकेदार फेरिएका छन्। पटकपटक म्याद थप भइसकेको छ। विसं २०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन। काम सक्ने त टाढाको कुरा छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो।
तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन। अहिले खरिद ऐनको १२औँ संशोधनले चौथो पटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ। तर, अहिले बल्ल सरकारले ठेक्का रद्ध गरेको जनाएको छ ।
सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका हुन्।
पटक पटक म्याद थप हुने तर, काम नसकिँदा नागरिकस्तरबाट पनि विरोध हुने गरेको छ। केही महिनाअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। भारतीय एक्जिम बैंकको सहयोगमा चार लेन सडक एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (एक अर्ब २३ करोड) मा निर्माण हुन लागेको हो। भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले ठेक्का लिएको हो।
पछिल्लो समय गत पुस १८ देखि बुटवलका सुनलिजंग रायमाझीले पेटी ठेक्का पाएका छन्। तर उनले पनि काम अगाडि बढाउन सकेका छैनन्। कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई ढिालाई गरेवापत जरिवाना पनि गरिएको थियो । सडक निर्माण नहुँदा वर्षा हिलो र हिउँदमा धुलोले यहाँका बासिन्दाले निकै सास्ती पाएका छन् । नागरिकस्तरबाट पनि ठेक्का तोड्न पटकपटक आवाज उठ्दै आएको थियो ।








प्रतिकृया दिनुहोस्