July 14, 2026, Tuesday
२०८३ असार ३० मंगलवार

शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ

Advertisement

दाङ– दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमूना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी छन् । उनले असार २७ गते बिहान निर्वाचनमा मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए । घटनापछि बुढाथोकी फरार रहेका थिए ।

सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा असार २८ गते दाङ प्रहरीमा मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा वडा सदस्य बुढाथोकीलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।