July 13, 2026, Monday
२०८३ असार ३० मंगलवार

प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

Advertisement

प्युठान—जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८० थान भरुवा बन्दुक बरामद गरेको छ । अवैध रूपमा राखिएका र प्रयोग भइरहेका हातहतियार नियन्त्रण लिने अभियानअन्तर्गत प्रहरीले यी हतियार प्युठानको विभिन्न स्थानबाट बरामद गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले विभिन्न आपराधिक घटनामा प्रयोग भएका र लुकाईछिपाई राखिएको अवस्थामा ती हतियारहरू नियन्त्रणमा लिइएको बताए । ‘विगत ६ महिनायता जिल्लाका विभिन्न ठाउँबाट यी हातहतियार बरामद भएका हुन्’ अधिकारीले भने, ‘बरामद भएका हतियारहरूमा केही चालु अवस्थामा रहेका छन् भने केही चालु अवस्थामा नरहेका पनि छन ।’

प्रहरीका अनुसार, बरामद गरिएका हातहतियारमा भरुवा बन्दुकका अतिरिक्त तीन थान पेस्तोल समेत रहेको प्रहरीले जनाएको छ । इजाजतपत्र बिना अवैध रूपमा राखिएका हतियार नियन्त्रणमा लिएपछि जिल्लामा हुने आपराधिक गतिविधि तथा दुर्घटनाहरूमा कमी आउने भनाइ प्रहरीको छ ।

खासगरी जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकका कारण विभिन्न अप्रिय घटनाहरू हुने गरेकाले हतियार नियन्त्रणले त्यस्ता घटना रोक्न मद्दत पुग्ने डिएसपी अधिकारी बताउँछन् । प्युठान प्रहरीले अवैध हातहतियार सम्बन्धी तीन वटा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।