उत्कृष्ट भनिएको तिलोत्तमा नगरपालिकाभित्र वित्तीय बेतिथिको चाङ


भैरहवा– संघीय सरकारको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तथा नेपाल नगरपालिका संघको मूल्याङ्कनमा लगातार उत्कृष्ट घोषित हुँदै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको वित्तीय बेतिथि उजागर भएको छ ।
आर्थिक र वित्तीय व्यवस्थापनमा विद्यमान नियम र परिधि बाहिर गएर गरिएका खर्चहरूलाई महालेखा परीक्षकको आर्थिक वर्ष २०८१–०८२ को लेखा परीक्षण प्रतिवेदनले औंल्याएको हो ।
महालेखाको प्रतिवेदनले तिलोत्तमामा आर्थिक अनुशासन विपरीत मापदण्डभन्दा बढी भुक्तानी, कार्यविधि विपरीत अनुदान निकासा, विद्यालयहरूलाई दोहोरो भुक्तानी र गैरसरकारी संस्थालाई जथाभाबी रकम बाँडिएको देखाएको छ । प्रतिवेदनले वित्तीय अनियमितता भएका र प्रमाण पेश नभएका धेरै शीर्षकका रकमहरू असुलउपर गर्न सुझाव समेत दिएको छ ।
प्रतिवेदन अनुसार मधवलिया सामुदायिक सिकाइ केन्द्रलाई कार्यविधि बमोजिम ३ लाख रुपैयाँ मात्र एकमुष्ठ अनुदान दिनुपर्नेमा विभिन्न शीर्षकबाट १४ लाख २ हजार ७५० रुपैयाँ भुक्तानी गरिएको छ । कार्यविधि भन्दा ६ लाख ५ हजार ७५० रुपैयाँ बढी निकासा भएकाले उक्त रकम स्थानीय सञ्चित कोषबाट समायोजन गरी संघीय सञ्चित कोषमा दाखिला गरेको प्रमाण पेश गर्न महालेखाले भनेको छ ।
त्यस्तै, शैक्षिक दरबन्दी वा कोटा प्राप्त नगरेका २ वटा विद्यापीठ दुर्गा वैदिक संस्कृत विद्यापिठ र दुर्गा संस्कृत वेद वेदांग विद्यापिठलाई कार्यविधि विपरीत भुक्तानी गरिएको भन्दै प्रतिवेदनले व्यवस्था भन्दा फरक ढंगले थप गरिएको कुल ४० लाख ९९ हजार ७१३ रुपैयाँको कानुनी आधार नभए असुलउपर गर्न भनेको छ ।
तिलोत्तमामा नगर प्रमुखमा रामकृष्ण खाँण र उपप्रमुखमा जगेश्वरीदेवी चौधरी छन् । खाँण काँग्रेस र चौधरी एमालेबाट निर्वाचित हुन् । तिलोत्तमाको यो बेतिथिमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र खुमलाल भुसाल छन् भने लेखा अधिकृत रमेश बस्याल छन् । भुसाल र बस्याल अहिले पनि कार्यरत छन् ।
नगरपालिकाले सेतो गुराँस बाल विकास सेवा नामक गैरसरकारी संस्थालाई संघीय सशर्त मार्फत ११ लाख ८ हजार ३२५ रुपैयाँ निकासा गरेको छ । जसको कानुनी आधार पेश गर्न वा असुल गर्न निर्देशन दिइएको छ । पशुपती माध्यमिक विद्यालयलाई पनि बिल भरपाई भन्दा बढी भुक्तानी गरिएको रकम असुल गर्न भनिएको छ ।
शून्य दरबन्दी रहेका विद्यालयहरूमा कार्यविधि विपरीत एउटै विषयका दुई–दुई जना अनुदान शिक्षक नियुक्त गरी बजेट खर्च गरेको प्रतिवेदनले औंल्याएको छ । मधवलिया माविमा अंग्रेजी विषयका लागि दुई जना (ममता चौधरी र सिमा राना) तथा दुर्गा माविमा विज्ञान विषयका लागि दुई जना (विष्णु पौडेल र सुशीला काफ्ले) शिक्षक नियुक्त गरी वार्षिक तलब भत्ताबापत भुक्तानी गरिएको ११ लाख ५५ हजार ९१४ रुपैयाँलाई प्रतिवेदनले नियमसंगत नभएको जनाएको छ ।
यस्तै, स्वास्थ्य सेवातर्फ स्वीकृत दरबन्दी अनुसार जनशक्ति आपूर्ति भइसकेको अवस्थामा पनि संघीय निजामती सेवाका १६ जना कर्मचारीलाई काज फिर्ता नगरी राखिएको र उनीहरूलाई संघीय सशर्त अनुदानबाट वार्षिक १ करोड २८ लाख ७९ हजार ७३३ रुपैयाँ तलब भत्ता भुक्तानी गरिएकोमा महालेखाले प्रश्न उठाएको छ ।
तिलोत्तमा नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता लगत कट्टा भइसकेको अवस्थामा समेत बैंकमार्फत रकम भुक्तानी गरेको पाइएको छ । महालेखाले उक्त रकम फिर्ता भएको प्रमाण पेश गर्न वा असुल गर्न भनेको छ ।
पालिकाले खरिद गरेको विद्युतको पोल गाड्ने मेसिन तथा लिफ्टसहितको ट्याक्टर सम्झौतामा उल्लेख भए अनुसारको गुणस्तरसँग मिलान नभएको पाइएको छ । गुणस्तर सुनिश्चित नभई गरिएको यस खरिद प्रक्रियामा २७ लाख ९४ हजार ९१८ रुपैयाँ अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।
बाहिर उत्कृष्ट स्थानीय तहको पहिचान बनाएको तिलोत्तमाभित्र दिवा खाजा निकासा, शिक्षण सहयोग, क्याम्पस व्यवस्थापन अनुदान लगायतका क्षेत्रमा देखिएका यी बेतिथिले पालिकाको वित्तीय अनुशासनमाथि प्रश्न उठाएको छ ।








लेखकको सम्वन्धमा