May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

‘गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ सेवा प्रभावकारी तुल्याउनुपर्छ’

Advertisement

हाम्रो शहर भैरहवामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही वर्ष भए पनि अझै पूर्ण रूपमा संचालन हुन सकेको छैन । विमानस्थल तयार भएर अन्तर्राष्ट्रिय उडानका लागि तम्तयार छ । तर, विमानस्थल सञ्चालनका क्रममा केही कमीकमजोरी भइरहेका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय वायु सेवा भैरहवा उडान गर्न हिच्किचाई रहेका छन् ।

Advertisement

मेरो विचारमा यसको मुख्य कारण ग्राउण्ड ह्यान्डलिङ सेवामा देखिएको कमजोरी हो । यही सेवामा सुधार नगरिएका कारण विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन हुनबाट रोकिरहेको छ । पर्याप्त दक्ष कर्मचारी नहुँदा, समयमै सेवा र एयरलाइन्ससँग समन्वय गर्न नसक्दा विमानको अवतरण, पार्किङ, यात्रु चढाउने–आरोल्ने, सामान र कार्गो व्यवस्थापन, इन्धन र उपकरण लगायत सेवा प्रभावकारी रूपमा हुन सकेका छैनन् । यसले एयरलाइन्सलाई दीर्घकालीन सेवा सञ्चालन गर्न असहज बनाएको छ र यात्रु अनुभवमा नकारात्मक असर पारिरहेको छ ।

सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी अत्यन्तै गम्भीर चिन्ता हो । ग्राउण्ड ह्यान्डलिङमा सुरक्षा जाँच, पहुँच नियन्त्रण र आपतकालीन प्रतिक्रिया प्रणाली कमजोर भएको कारण, विमान, यात्रु र कार्गो दुवै जोखिममा परेको छ । यसबाहेक, एयरलाइन्सको आफ्नै सुरक्षा मापदण्ड पालनमा समस्या देखिनु, पर्याप्त प्रशिक्षित सुरक्षा स्टाफको अभाव, उपकरण सीमितता र समन्वयको कमीले विमानस्थल संचालनमा ठूलो चुनौती उत्पन्न गरेको छ । यी सबै कारकहरूले एयरलाइन्सको भरोसा घटाउँछन् र नयाँ विमानस्थलमा नियमित र दीर्घकालीन उडान सेवा सुनिश्चित गर्न कठिनाइ सिर्जना गर्छन् ।

त्यसैले, मेरो विचारमा ग्राउण्ड ह्यान्डलिङ समस्या समाधानका लागि तत्काल कदम चाल्न आवश्यक छ ।

पहिलो– ग्राउण्ड ह्यान्डलिङ सेवा सुधार गर्दै पर्याप्त प्रशिक्षित कर्मचारी राख्नुपर्छ, जसले विमान, यात्रु र कार्गो व्यवस्थापनलाई समयमै र सुरक्षित रूपमा सञ्चालन गर्न सकोस् ।

दोस्रो– सुरक्षा प्रणालीलाई पूर्णरूपमा सुदृढ पार्नुपर्दछ, जसमा एयरलाइन्स सुरक्षा मापदण्ड, पहुँच नियन्त्रण, सुरक्षा जाँच र आपतकालीन तयारी प्रणाली सुनिश्चित हुनु अनिवार्य छ ।

तेस्रो– आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी विमानस्थलको सेवा गुणस्तर उन्नत गर्नु जरुरी छ । यसरी ग्राउण्ड ह्यान्डलिङमा सुधार र सुरक्षा सुदृढीकरण भए मात्र विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्छ, एयरलाइन्स दीर्घकालीन सेवा दिन प्रेरित हुन्छन्, यात्रुमा विश्वास कायम हुन्छ र स्थानीय पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ ।

अन्ततः, कुनै पनि परिस्थितिमा ग्राउण्ड ह्यान्डलिङ अधिकार प्राप्त निकाय पूर्ण व्यवस्थापन र आवश्यक टीमसहित यस विमानस्थलमा उपस्थित हुनु अनिवार्य छ, जसरि त्रिभुवन विमानस्थल सञ्चालनमा छ, त्यसैगरी । ताकि विमानस्थलको सुचारु, सुरक्षित र द्रुत सञ्चालन सुनिश्चित गर्न सकियोस् र यसको पूर्णक्षमता उपयोगमा ल्याउन सकियोस् ।

साथै नेपाल एयरलाइन्सको एउटा जहाज स्थायी रुपमा भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थललाई दिएर नियमित उडान गर्ने हो भने एउटा फाउण्डेसनको निर्माण हुन्छ, जसले गर्दा अरु निजी एयरलाइन्सहरु पनि स्वत आउने वातावरण निर्माण हुन्छ । होइन् भने सरकारी लगानी डुब्छ नै, निजी क्षेत्र पनि धरासायी हुन्छन् । यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ ।

गौतमबुद्ध विमानस्थल नचल्नु अर्थतन्त्रका लागि ठूलो नोक्सानी

प्रधानमन्त्रीलाई भारत भ्रमणमा जाँदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न आग्रह

‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’

शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी

प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थल चलाउने विषय उठाउन माग

‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’

गौतमबुद्ध विमानस्थल नियमित संचालनमा नआए चुनाव बहिष्कार गर्ने चेतावनी

गौतमबुद्ध विमानस्थल नियमित संचालनमा दवाव दिन संघर्ष समिति गठन

‘आकाशको फल, आँखातरी मर’ जस्तै भयो गौतमबुद्ध विमानस्थल

भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)