June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी

Advertisement

भैरहवा– रुपन्देही–३ को आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा गरिरहेका युवा सन्तोष गिरीले शक्तिकेन्दैले जानीजानी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा अवरोध गरेको गम्भीर विषय उठान गरेका छन् । उनले विमानस्थलबाट नियमित उडान नहुँदा अर्बौं लगानी गरेका व्यवसायीहरु निरास बनिरहेको तर शक्तिकेन्द्रले संचालन रोकिरहेको जनाएका छन् ।

Advertisement

उनले भनेका छन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन अझै पूर्णरुपमा सञ्चालन हुन सकेन ? मिडियामा बारम्बार आएको तथ्य– प्रत्येक दिन करिब १० करोड रुपैयाँभन्दा बढीको सेटिङ र अवैध कारोबार (भिजिट भिसा, सुन तस्करी, लागु औषधी लगायत अन्य अवैध काममार्फत्) हुन्छ । यसरी जम्मा हुने रकम महिनामा ३ अर्ब रुपैयाँभन्दा बढी हुन्छ, जुन रकम विभिन्न तहका सत्ता र पहुँचवालाहरूबीच बाँडिन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि यो अवैध आम्दानीको ठूलो हिस्सा हराउने भएकै कारण, यो जालो चलाउने शक्ति केन्द्रहरूले जानाजानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रोकेको छन् ।’

गिरीले चुनाव आउँदा देखाउनका लागि ‘केही उडान’ अवश्य चलाइन्छ होला, तर वास्तविकतामा यो ठग्ने नाटक मात्र भएको जनाए । ‘रुपन्देहीका व्यवसायी र लगानीकर्ताहरू सरकारको आश्वासनमा नयाँ आशा अनुरुप अर्बौं लगानी गरेका छन् । तर, आज व्यवसायीहरु अन्याय र निराशामा छन् । धरासायी हुने अवस्थामा छन् । रुपन्देहीका लगानीकर्तालाई देखाइएको आशा भताभुङ्ग भएको छ’, उनले भने ।

त्रिभुवन विमानस्थलबाट हुँदै आएको महिनामा ३ अर्ब रुपैयाँ भन्दा माथिको भूमिगत भ्रष्टाचार प्रणाली तोड्न नसकिए गौतमबुद्ध विमानस्थल कहिल्यै पूर्णरुपमा सञ्चालन नआउने उनको दावी छ । ‘अब आवश्यक छ— सही उद्देश्य भएको नयाँ नेतृत्व । पारदर्शी प्रणाली र इमानदार राजनीतिक संकल्प । यो अन्याय, यो ठगी र यो सेटिङ संस्कृतिविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ’, उनले समाजिक संजाल फेसबुकमा भनेका छन् ।

गिरीले जस्तै भैरहवाका केही व्यवसायीले पनि काठमाडौंमा पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी गरेर अर्बौं कमाइरहेका कर्मचारी र नेताहरुले भैरहवा विमानस्थल संचालनमा उदासिनता देखाएको बताउँदै आएका छन् । व्यवसायीका अनुसार विमानस्थललाई लक्षित गरी ८० अर्ब हाराहारी लगानी भएको छ । तर, विमानस्थलबाट नियमित उडान नहुँदा निजी क्षेत्र डुब्नै लागेको छ ।