‘गौतमबुद्ध विमानस्थल चलाउन संयुक्त धक्का दिनुपर्छ’


पछिल्लोपटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । हामी रुपन्देहीमा रहेका पर्यटन व्यवसायी विमानस्थल छिटो चलाउनु पर्यो भनेर दबाब दिइरहेका छौं । तर, सरकारले ठोस पहल नगर्दा सञ्चालन सम्भव हुन सकिरहेको छैन । विमानस्थल नचल्नुमा सरकारी निकायको मात्र कमी कमजोरी रहेको छैन ।
यसमा निजी क्षेत्रबाट समयमै योजनाबद्ध तरिकाले पहल नगरिनु र सरकारले पनि पर्याप्त सहजीकरण नगर्दा समस्या भएको हो । त्यसबाहेक पनि जस्तै श्रम स्वीकृति, भिसा सेवा, स्वास्थ्य परीक्षण, म्यानपावर, आउने जाने यात्रीलाई सामान्य चिया, कफी, पानि पिउने र बैंक सुविधाहरू व्यवस्थित छैनन् । निजी क्षेत्रले विमानस्थल नियमित सञ्चालनको प्रयास नगरेका होइनन् तर पर्याप्त नभएको हो ।
निजी क्षेत्रका बिभिन्न संघसंस्थाहरुबीच एकरुपता देखिएको छैन । बिगतमा पनि केही संस्थाहरुले दवावमूलक कार्यक्रम र हड्ताल आयोजना गरेका थिए । तर, ती कार्यक्रमहरु प्रभावकारी भएनन् । प्रभावकारी नहुनुको कारण त्यस्ता कार्यक्रममा चाहिने जति जनसहभागिता थिएन । जहिलेसम्म आम समुदायलाई बिमानस्थल चल्नुका फाइदा र नचल्नुका बेफाइदाका बारेमा जानकारी गराउन सकिँदैन, तबसम्म कुनै पनि संघसंस्था र समुदायको सहभागिता हुँदैन । जनसभागिता बेगर गरिने आन्दोलन र दवावका कार्यक्रम सफल हुँदैनन् ।
त्यसैगरी राजनीतिक सहभगिता र प्रतिबद्धता पनि अत्यावश्यक छ । जसका लागि सबैभन्दा पहिले सबै स्थानीय राजनीतिक दल (नगरस्तरीय नेता) का प्रतिनिधिहरु एकजुट हुन जरुरी छ । त्ससपछि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका यस क्षेत्रका जनप्रतिनिधिहरुलाई बिमानस्थल नियमित सञ्चालन गर्न र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक समाधान खोज्न अवश्यक पहलका लागि अनुरोध गर्नुपर्छ । गौतमबुद्ध बिमानस्थल नियमित सञ्चालन हुन नसक्नुले निजी क्षेत्र सबैभन्दा बढि प्रभावित छ । त्यसमा पनि अझ पर्यटन क्षेत्र थला परेको छ ।
रुपन्देहीका निजी क्षेत्रका व्यवसायी र लगानीकर्ताले जिल्लाका विभिन्न क्षेत्रमा गरि करिब ८० अर्ब रुपैयाँ लगानी गरेका छन् । विमानस्थल सञ्चालनमा ढिलाइले सबै लगानी जोखिममा परेको छ । जसमध्ये होटल र पर्यटन पूर्वाधारमा लगभग ३० अर्ब लगानी गरेर १ सय ४६ वटा होटल सञ्चालनमा ल्याइएको छ । भने, २१ वटा होटल निर्माणाधीन छन । तिनमा थप लगानी २० अर्ब रुपैयाँ हुने देखिन्छ । अर्कोतर्फ कयौं परियोजना बन्द हुने र बिचमा अलपत्र भएको अवस्था छ । लगानी सुरक्षित गर्न पनि विमानस्थल सिघ्र सञ्चालन हुन जरुरी छ ।








प्रतिकृया दिनुहोस्