प्रधानमन्त्रीलाई भारत भ्रमणमा जाँदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न आग्रह


भैरहवा– सिद्धार्थनगरका नगर प्रमुखको संयोजकत्वमा गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओली आसन्न भारत भ्रमणमा जाँदा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न आग्रहसहितको पत्र प्रधानमन्त्री समक्ष पठाएको छ ।
अन्तर्राष्ट्रिय उडानबिहीन हुन पुगेको विमानस्थललाई नियमित र दीगो रुपमा संचालनका लागि सरकारलाई दवाव सिर्जना गर्न सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित उक्त समितिको मंगलवार बसेको बैठकले उक्त निर्णय गर्दै पत्र पठाएको हो ।
अर्बौको लगानीमा निर्माण भएको, राष्ट्रको गौरबको रुपमा रहेको आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा संचालन गर्नका लागि सरकारलाई दवाव दिने र प्रधानमन्त्रीले भैरहवा हुँदै दिल्ली प्रस्थान गर्दा आम जनताप्रति सकारात्मक सन्देश जाने भएकाले उक्त आग्रह गरिएको नगर प्रमुख खाँले बताए ।
‘प्रधानमन्त्री यो बिमानस्थल हुँदै भारत प्रस्थान गरेमा विमानस्थल संचालन सम्बन्धि सरकारप्रति स्थानीय जनताले राखेको धारणामा परिवर्तन आउने छ’, नगरप्रमुख खाँले भने, ‘यस क्षेत्रका आम पर्यटन व्यवसायी तथा जनतामा गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित संचालन नहुनुमा सरकारकै चाहना नभएको भन्ने आम बुझाइ छ ।’
समितिले अर्बौंको लगानीमा तयार भएको यो आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा संचालन गर्न आग्रह गर्ने, नियमित संचालनको सम्बन्धमा निर्माण भएको संघर्ष समितिमा रुपन्देहीका १६ वटा स्थानीय पालिकाहरुको प्रमुखलाई सल्लाहकारमा मनोनयन गर्ने पनि निर्णय गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै रुपन्देहीका सवै पालिकाका प्रमुखहरुसँग समन्वय गरि संघर्ष समिति आफ्ना माग राख्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निकट दिनमैं डेलिगेशन जाने भएको छ । प्रधानमन्त्रीसँगको भेटघाट पश्चात सबै क्षेत्र, पक्षलाई समेटेर समितिले वृहद भेला गर्ने र सोही भेलाबाट समिति समेत विस्तार गर्ने तयारी समितिले गरेको छ ।
विमानस्थललाई नियमित रुपमा संचालनका लागि बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएका गुम्बाहरुसँग बृहद छलफल गरी ठोस निर्णयमा पुग्नका लागि सम्बन्धित राष्ट्रका राजदुतहरुसँग समेत समन्वय गर्न समितिले अनुरोध गर्ने निर्णय गरेको छ । समितिको उक्त बैठकले विमानस्थलमा निर्माण गरिएको कार्गो समेत संचालनमा जोड दिएको छ ।
‘कार्गो संचालनमा ल्याएमा रुपन्देही लगायत् तराई र नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लाका कृषि तथा जडिबुटी उत्पादन सहज रुपमा बिदेश निर्यात हुने अवसर धेरै छ’, बैठकमा सहभागी समितिका सदस्य तथा स्थानीय व्यवसायी महेन्द्रकुमार श्रेष्ठले भने, ‘यस बिमानस्थलको कार्गो कहिलेदेखि संचालनमा आउँछ ? भन्दै हिमाली क्षेत्रका जडिबु्टी निर्यातका लागि आतुर भएका बसेका व्यवसायीले हामीसँग बारम्बार सोध्ने गरेका छन् ।’
बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, सूचना अधिकारी देवप्रसाद ज्ञवाली, लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी सहित क्लवमा आवद्ध पत्रकारहरु, सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी बिष्णुप्रसाद शर्मा, चेम्बर अफ कमर्श रुपन्देहीका बरिष्ठ उपाध्यक्ष सचिन रोक्का लगायतले पनि विमानस्थल नियमित संचालनका लागि आ–आफ्नो धारणा राखेका थिए ।
काठमाडौंमा रहेका ठूला पर्यटन व्यवसायीको दवावमा परेकाले नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि सरकारको चासो नभएको आरोप यस क्षेत्रका समग्र पर्यटन व्यवसायी तथा स्थानीयको छ ।
प्रधानमन्त्रीलाई पठाइएको पत्रमा के छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालनका लागि माग सहित प्रधानमन्त्री समक्ष पठाएको पत्रमा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै सिंगो विकास र समृद्धिको ढोका समेत बन्द भएको कुरा उल्लेख गरिएको छ ।
‘विमानस्थल दिगो रुपमा सञ्चालन हुन नसक्दा ऋण लगानीमा निमार्ण भएको यस विमानस्थलबाट नेपाल सरकारले अपेक्षित रुपमा लाभ लिन सकेको छैन’, पत्रमा भनिभएको छ, ‘त्यसमाथि विमानस्थललाई लक्षित गरेर यस क्षेत्रमा रहेका निजी क्षेत्रबाट पर्यटन, उद्योग जस्ता क्षेत्रमा भएको अर्बौंको लगानी समेत डुब्ने अवस्थामा छ ।’
लगानीकर्ताहरु बैंकको ब्याज समेत तिर्न नसक्ने विकराल अवस्थामा रहेको उल्लेख गर्दै पत्रमा विमानस्थल दिगो रुपमा सञ्चालन नआउने हो भने यस क्षेत्रले ठुलो आर्थिक संकट व्यहोर्ने र समग्र देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा उल्लेख छ ।
‘यो विमानस्थल पूर्ण एवं दिगो रुपमा सञ्चालनमा नआउँदा सरकार यसतर्फ चिन्तित एवम् गम्भिर नभएको होकी भन्ने भान मेरो मात्र होइन, यस क्षेत्रका आम जनताको समेत रहेको छ’, समितिका संयोजक नगर प्रमुख खाँले पत्रमा उल्लेख गरेका छन्, ‘विमानस्थल के–कती कारणले दिगो रुपमा सञ्चालनमा आउन नसकेको हो ? यसबारे सरकारले समेत स्पष्ट धारणा एवं जानकारी नगराएकोले थप अन्यौलता सिर्जना हुँदा जनस्तरमा आक्रोस बढ्दै गएको छ ।’
बिमानस्थल नियमित संचालनका लागि निजी क्षेत्रका विभिन्न संघसंस्था तथा नगरवासी तथा सरोकारवालाबाट पटक–पटक विभिन्न किसिमका आन्दोलन र ध्यानाकर्षणका कार्यक्रम समेत सञ्चालन हुँदै आएको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । विमानस्थल सञ्चालनको विषयलाई समयमै सम्वोधन गरि संचालन हुन नसक्नुका कारणहरु स्पष्ट पारिदिन समेत प्रधानमन्त्री समक्ष आग्रह गरिएको छ ।
‘सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गर्दछु’, पत्रमा उल्लेख गरिएको छ, ‘भ्रमणमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कुटनीतिक पहल गर्न समेत आग्रह छ ।’ यसका लागि आइपर्ने समस्या समाधान गर्न नगर प्रमुख खाँले आफूसहित सिंगो नगरवासी सरकारको साथमा रहेको उल्लेख गरेका छन् ।








प्रतिकृया दिनुहोस्